बन्द भए विन्डोज फोन

- नेपाल संवाददाता

माइक्रोसफ्टले विन्डोज फोन अपरेटिङ सिस्टम आधिकारिक रुपमै बन्द भएको घोषणा गरेको छ । यो घोषणसँगै अब विन्डोज फोनका अपरेटिङ सिस्टमहरु (विन्डोज फोन ७, ८ र ८.१) सदाका लागि बन्द भएका छन् । यसको मतलब, जसले यी ओएस प्रयोग भएका डिभाइस प्रयोग गरेका छन्, उनीहरुले त्यो डिभाइसमा सधँै त्यही नै फिचर प्रयोग गर्नुपर्नेछ । त्यसमा कुनै कमजोरी रहे त्यो सधैँ त्यस्तै रहनेछ र त्यसमा न कुनै सुधार आउनेछ न त कुनै अपडेट । 

यसै पनि यी अपरेटिङ सिस्टममा दुई वर्ष यता कुनै सम्झनलायक अपडेट आएको थिएन । अन्य कम्पनीले आफ्ना उत्पादनमा यी ओएस प्रयोग गर्न कुनै रुचि पनि देखाएका थिएनन् । अब स्मार्टफोनमा माइक्रोसफ्टको एउटा मात्रै ओएस बाँकी छ्, विन्डोज टेन मोबाइल । तर स्मार्टफोन बजारमा यसको उपस्थिति लगभग न्यून नै छ । यसले पूरा बजारको मात्रै ०.३ प्रतिशत भाग ओगट्छ । 
अघिका ओएस बन्द भएसँगै विन्डोज टेन मोबाइल ओएस के होला भन्ने कुराले अहिले बजार तताउन थालेको छ । त्यसमाथि माइक्रोसफ्टले विन्डोजको ओएस चल्ने लुमिया ब्रान्डका स्मार्टफोन पनि बन्द गरेको छ । एक समय एचटीसी, एसर लगायत केही कम्पनीले विन्डोज टेन मोबाइलमा आधारित केही प्रोडक्ट ल्याउन रुचि देखाएका थिए । तर अब सायद उनीहरु पनि गुगलको ओएस एन्ड्रोइडको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै यो कदमबाट फिर्ता हुनसक्छन् । 

प्रकाशित: श्रावण २, २०७४