पर्यटकको योग्यता

- छुल्याहा गुरु

चीन जान चिनियाँ भाषा, जापान जान जापानी भाषा सिकेको हुनुपर्छ । तर, नेपाल घुम्न भाषाभन्दा अन्य खूबी चाहिन्छ । यहाँ पानी पर्दा सहरको बाटो मिनेटभरमै खोला बन्छ । त्यसैले पौडी सिकेकै हुनैपर्छ । सडक जलमग्न हुँदा सडकपेटीको बारमाथिबाट हिँड्नुपर्ने हुन सक्छ । त्यसैले सर्कस सिकेको प्रमाणपत्र होस् नहोस्, तन्किएको डोरीमाथि हिँड्न जानेकै हुनुपर्छ । यहाँ लामा–ठूला हिले खाडलहरूको सामना कुनै पनि बेला हुन सक्छ । काठमाडौँ घुम्न कम्तीमा लङजम्पको च्याम्पियन हुनैपर्छ । घटीमा पर्यटक राजधानीको व्यस्त सडकमा तीव्र गतिमा हुइँकिएका सवारीहरू छल्दै बाटो काट्न सक्ने हुनैपर्छ । यी त भए, तपसिलका कुरा । आधा घन्टामा कम्तीमा आधा किलो धुलो सजिलै पचाउन सक्ने क्षमताको फोक्सो अनिवार्य हुनैपर्छ ।

 

प्रकाशित: श्रावण २, २०७४