मुख्यसचिवको आत्मकथा

- रून्चे राइँलो

पद भन्ने कुरा नपाउँदासम्म मात्रै के हो, के हो, पाएपछि केही होइन जस्तो लाग्ने रहेछ । मुखिया, खर्दार हुँदै सहसचिव भएँ । जुन पदमा पुगेँ, त्यसमा कहिल्यै सन्तोष भएन । झन्पछि झन् अर्को पदको लोभ लागेर आयो । त्यही लोभले मैले सामान्य ज्ञान कण्ठै पारेँ । सचिव भने सामान्य ज्ञान घोकेर मात्रै नहुने रहेछ । नेताका नाम, तिनका श्रीमती र आफन्तका नामठेगाना घोक्नुपर्ने रहेछ । यसो गर्न १३ वर्ष लाग्यो तर सफल भइछाडेँ । त्यसपछि मुख्यसचिव बन्न कुनै आइतबार लागेन । मुख्यसचिव पद त ठीकै थियो तर ५७ हजार रुपियाँको जागिर साह्रै नमज्जा लाग्यो । त्यसैले मैले बाध्य भएर एसियाली विकास बैंक (एडीबी)मा जाने निर्णय गरेँ । समस्या के भने पद यताको राम्रो, पैसा उताको ।

आफ्नो हातमा कलम मसी हुँदाको सजिलो पनि यही रहेछ । मुख्यसचिवको पदाधिकार कायमै राखी मनिला उड्ने निधो गरेँ । यसलाई अन्यथा नलिनुहोला । फुर्सद मिलेमा अवकाशपछिका दिन देश र जनताका लागि बिताउनेछु । जागिरको क्रममा मैले कहिल्यै राष्ट्र र जनता सोच्न भ्याइनँ । क्याम्पस नगएरै पीएचडीसम्म गर्न पाएँ । लोकसेवा तयारी र नेताको चाकडीमै मेरो सबै समय गयो । जाबो मुख्यसचिव भएपछि तीन वर्षमा के पो गर्न सक्थेँ र ? माइन्ड नगर्नुहोला । लागेँ एडीबीतिर । 

 

प्रकाशित: श्रावण १, २०७४