[फिल्म] पुरानो प्रेमकथाको नयाँ ‘प्याकेजिङ’

  • आधारभूत रूपमा नयाँ भन्नु खास केही छैन । तर सिंगल थिएटरका दर्शकका लागि ‘टाइम पास’को गतिलो खुराक बन्न सक्छ ।

- गोकर्ण गौतम

मेरो एउटा साथी छ कोरियन फिल्म अ मिलिनियर्स फस्ट लभको कपी त हो तर यसले हामीकहाँ ‘ट्रेन्डसेट’ गर्‍यो । पर्दामा सुकिलामुकिला र सहरिया युवायुवतीका प्रेमकथाको लहर छायो । यसको जस (अपजस ?) जान्छ, निर्देशक सुदर्शन थापालाई । उनले फिल्मको खिचाइ, लोकेसन र सेट ‘रिच’ बनाएकै हुन् । भलै त्यसपछि उनका आधा दर्जन फिल्म फिक्का साबित भए । डेढ वर्षअघि प्रेमगीतबाट गर्विलो ‘कमब्याक’ गरेका यी निर्देशक नयाँ फिल्म लिएर आएका छन्, म यस्तो गीत गाउँछु । पल शाह र पूजा शर्मालाई पर्दामा उभ्याएका सुदर्शन आफ्नो परिचित ‘ट्रयाक’भन्दा बाहिर गएका छैनन् तर यसपटकको कथामा ताजकी महसुस हुन्न । पहिल्यै हेरिसकेका प्रेमकथाका विभिन्न सिक्वेन्स र सन्दर्भलाई जोडजाड गरेर नयाँ बनाउने प्रयास मात्र गरिएको छ । उनमा नयाँ दर्शकसम्म पुग्ने इच्छाशक्ति देखिन्न, पुरानैलाई रिझाइराख्ने ध्याउन्न मात्र छ । 

गुन्डागर्दीमा संलग्न पल (पल शाह) र धनी बाबुकी एक्ली छोरी छाया (पूजा शर्मा) को संयोगले भेट हुन्छ । सुरुमा छुट्टिने हतारो हुन्छ तर परिस्थितिले उनीहरूलाई नजिक तुल्याउँछ । जब एकअर्कालाई प्रेम गर्न थाल्छन्, तब घरबाट भागेकी छायालाई उसको परिवारले फिर्ता लैजान्छ । त्यसलगत्तै छाया सडक दुर्घटनामा पर्छिन् । ज्यान बच्छ तर पुराना यादहरू सबै बिर्सन्छिन् । त्यसपछि उनीहरूको सम्बन्धमा आउने उतारचढावमै केन्द्रित छ फिल्म । जहाँ परिवारको अहं अवरोध हुन्छ । अन्तिम दृश्यले मन जिते पनि त्यसअघिका दृश्य बनावटी लाग्छ । 

दुर्घटनामा याद गुमाएका कथाहरू ज्यादै पुरानो हुन् । वास्तविक जीवनसँग ‘रिलेट’ गर्न मुस्किल हुन्छ । तैपनि त्यसलाई जीवन्तता दिन सकिन्थ्यो, प्रस्तुतिमार्फत । पात्रको पृष्ठभूमि बलियो बनाएर तीनको सामञ्जस्य मिलाउँदा पनि कथाको वजन बढ्थ्यो । तर निर्देशक सुदर्शनको यतातिर ध्यान पुगेको छैन । जबकि यसको पटकथा उनले दिनेश न्यौपानेसँग मिलेर लेखेका हुन् । दृश्यलाई कलात्मक र विम्बात्मक बनाउन सुरुआतबाटै चुकेका छन् । गुन्डाको ग्याङ मिलेर पैसा लुट्ने अनि भाग्न खोज्दा पैसा हराएर जसले बोकेको छ, उसैलाई अरूले शंका गर्ने शैलीमै अल्झनु किफायती होइन । बरू केटा र केटीको भेटलाई रोचक बनाइएको छ । तर उनीहरू पुलिसको भ्यानबाट भागेको दृश्य विश्वसनीय लाग्दैन । किनभने त्यसपछि उनीहरूलाई पुलिसले खोजतलास गरेको एउटै दृश्य छैन । लाग्छ, उनीहरू कहिले भाग्लान् भनेर मौका कुरिरहेका थिए पुलिस । 

अन्तिममा पललाई पूजाको घरमा प्रहरीले घेरा हालेको, छोरीसँगको बाबुको एकोहोरो रुखोपन, मोहन निरौलाले सुनको बाला हरबखत खल्तीमा बोकेर हिँडेको लगायतका दृश्यले निर्देशकको अपरिपक्वता झल्काउँछ । अर्को महत्वपूर्ण पक्ष चाहिँ, म यस्तो गीत गाउँछु हेरिरहँदा हिन्दी फिल्म सद्मा, अंग्रेजी फिल्म द भोउ र साउथ अफ्रिकन फिल्म तोब्स्तीको झझल्को आउँछ तर चोरेकै भन्न चाहिँ मिल्दैन ।  
भनिन्छ, फिल्मका हरेक दृश्यले कि नयाँ कथा भन्नुपर्छ, कि विद्यमान कथामा रहस्य थप्नुपर्छ । तर पलले छायालाई आफ्नो घरमा लगेपछिका घटनाक्रम यी दुवै दायित्वबाट चुकेका छन् । पलको ‘ फ्ल्यासब्याक’ले कथाको त्यही धिमा लयलाई पनि बिथोल्न खोज्छ । खासमा कथा र पात्रको विकासक्रममा अल्छीपना छ । यद्यपि पलका गुन्डा साथीहरूलाई भने निर्देशकले प्रशंसनीय शैलीले प्रयोग गरेका छन्, सुरुआतदेखि क्लाइमेक्ससम्म । पलको जीवनमा आएको परिवर्तनले उनीहरूको व्यवहारमा ल्याएको बदलाबलाई अनुभूत गर्न सकिन्छ । याद गुमाएपछि जब छाया पलको पछि लाग्छिन्, त्यसपछि फिल्मले गति लिएको छ । पलले याद फर्काउन गरेका प्रेमिल प्रयासले दर्शकको मन जित्छ । मध्यान्तरपछि दर्शक ‘इन्गेज’ हुँदै जान्छन् । 

म यस्तो गीत गाउँछुको सबभन्दा तारिफयोग्य पक्ष हो, गीत/संगीत । जसको श्रेय जान्छ, संगीतकार अर्जुन पोखरेललाई । गीत श्रुतिमधुर त छन् नै, सन्दर्भ मिलाएर राखिएकाले कथालाई थप सशक्त बनाउन भूमिका खेलेको छ । गीतको खिचाइमा पनि कन्जुस्याइँ गरिएको छैन । लोकेसन र सञ्जय लामाको खिचाइ प्रशंसनीय छ । अन्य प्राविधिक पक्ष पनि अब्बल लाग्छ । मध्यान्तरअघिका केही दृश्य सम्पादन गरेको भए फिल्म अझ छरितो हुन्थ्यो । पलले आफूलाई प्रमाणित गर्ने पर्याप्त ‘स्पेस’ पाए पनि सोही अनुरूपको मेहनत गरेका छैनन् । भलै डेब्यु फिल्म नाई नभन्नु ल ४ मा भन्दा केही निखारिएका छन् । उनको संवाद बोल्ने शैली कृत्रिम लाग्छ । सुरुमा चुल्बुले त्यसपछि संवेदनशील भूमिकामा पूजा जीवन्त लाग्छिन् । फिल्मको मूल चरित्र निर्वाह गर्ने क्षमता छ उनीसँग । पलसँगको ‘केमेस्ट्री’ स्वाभाविक छ । राजाराम पौड्यालको आगमनले दर्शकलाई ‘रिफ्रेस’ गराउँछ भने शोभित बस्नेतको आगमनले कन्पारो तताउँछ । 

विदेशी फिल्मका पारखीलाई म यस्तो गीत गाउँछुले रिझाउन सक्दैन । किनभने आधारभूत रूपमा नयाँ भन्नु खास केही छैन । तर सिंगल थिएटरका दर्शकका लागि ‘टाइम पास’को गतिलो खुराक बन्न सक्छ । किनभने यसमा गीत छ, फाइट छ, कमेडी छ, रोमान्स छ अनि रोनाधोना पनि छ । 

प्रकाशित: श्रावण १, २०७४