[अनुभूति] जो यसैगरी भेटिन्छन्

  • भरिएको हुने ।

- सुविन भट्टराई

केही एकथोक खोज्न लाग्दा कहीँ कतै अर्थोकै, पुराना कुरा भेटिन्छन्, जसरी रामलाई भेट्न भनी घरबाट निस्कँदा अप्रत्याशित रूपमा हरि भेटिन्छ । विनोदलाई खोज्दा विशाल भेटिएजस्तो । श्रीमतीसित सिनेमा हेर्न जाँदा जसरी भेटिन्छिन्, सिनेमाको मध्यान्तरमा पपकर्न किन्ने लाइनमा आफ्नी छोरीलाई फुल्याउँदै गरेकी पूर्वप्रेमिका । 

 

हो, यसैगरी भेटिन्छन् धेरै कुरा । जसको इच्छा गरिएको पनि हुँदैन तर जसलाई अनिच्छाले बेवास्ता पनि गर्न सकिन्न । कहिलेकाहीँ यस्ता नखोजिएका, नचाहिएका चीजहरू/मानिसहरू धेरै भेटिन्छन्, जसमा खोजेको या चाहेको चीजभन्दा/मानिसहरूभन्दा बढी अभिरुचि बढिदिन्छ । जो खोजिएका हुँदैनन्, तिनीहरू भेटिनुले, पटकपटक खोजिएका मानिसले भन्दा ज्यादा सन्तुष्टि दिन्छन् । 

 

हो, यस्ता कतिपय कुरा त अनिच्छा होइन अभिरुचिसहित फेला परिदिन्छन् । जसलाई आँखाभरि अटाउन मन लाग्छ, मुटुभरि समेट्न मन लाग्छ, सम्झनामा बेरेर राख्न मन लाग्छ । अनि स्मृतिभरि फिँजाइरहन मन लाग्छ । के यस्तो मलाई मात्र हुन्छ ? आफ् नो परिचयको पर्खाललाई भत्काएर घण्टाँै स्मृतिको खुला मैदानमा निर्बाध विचरण गर्न मन लाग्छ । आफ्नै सत्यबाट विचलित भइन्छ । हुन मन लाग्छ । यस्तो पनि धेरैपटक भएको छ, आफ्ना चीजहरू खोज्दा प्राय: अरुका चीज भेटिन्छन् र अरुका चीजहरू खोज्दाखोज्दै आफ्नै चीज पो कहाँकहाँबाट निस्किदिन्छन् । 

 

धेरै कुरा भेटिन्छन् जीवनमा । जस्तो : भेटिनुपर्ने ठाउँमा नभेटिने कुराहरू पनि भेटिन्छन् । र नभेटिनुपर्ने ठाउँमा भेटिनुपर्ने कुरा पनि भेटिन्छन् । वा भेटिनुपर्ने ठाउँमा भेटिनु नै पर्ने कुरा पनि भेटिन्छन् र नभेटिनुपर्ने ठाउँमा नभेटिनुपर्ने कुरा कहिल्यै भेटिन्नन् पनि । 

 

लाङ लिफले आफ्नो कविता ‘लस्ट थिङ्ग्स’मा बडो मीठोसँग भनेकी छन्, ‘हराएका चीजहरूको विकल्प भेटिन्छन् तर ती फेरि अरु नै चीजको खोजी हुँदा कुनै न कुनै बेला फुत्त निस्कन्छन् । म पनि त्यस्तै हुँ । जो बिर्सिइसकेकी छु । कुनै दिन तिमीले मलाई भेट्नेछौ र बुझ्नेछौ कुनै बेला म तिम्रा लागि के थिएँ !’

 

यो पंक्तिसँगै बिर्सिएका कैयौँ चीज एकसाथ याद आउँछन् । तिनको मूल्य कुनै बेला के थियो र अहिले के छ भनी बुझाउँछन् । जीवनमा कतिका लागि महत्त्वहीन थिएँ, जो आज मेरो महत्त्व बुझ्दै मेरा सामुन्ने आइरहेछन् । यस्तो सम्बन्ध पनि कैयौँ छ– कुनै बेला जसको जीवनको महत्त्वपूर्ण हिस्सा थिएँ, आज म उसैका लागि मूल्यहीन छु ।

 

कहिलेकाहीँ ड्रयरका घर्राहरूमा वर्षौंदेखि सुरक्षित राखिएको क्लियर ब्याग खोलेर हेर्छु केही अरु नै कुराका लागि । जस्तो कि मेरो शैक्षिक प्रमाणपत्र, नागरिकता, बिजुलीको कार्ड, कुनै रसिद वा अन्य केही । तर, गल्तीले अर्कै क्लियर ब्याग निस्कन्छ र म भेट्छु– एकादेशमा कलेज पढ्दाखेरि पिकनिक जाने साथीहरूको सूची, फेयरवेलमा वाचन गरेको एउटा बकवास कविता, अनि आफ्नो दुब्लो पातलो अनुहार टाँसिएको स्नातक प्रवेशपत्र, जसको तीन चौथाइ भाग उक्किसकेको छ ।

 

कहिलेकाहीँ जानाजानी खोतल्न मन लाग्छ आफ्नै पुराना, अझ धेरै पुराना, रफ गरिएका कापीहरू, जसको पछाडिका पानामा हुने गर्छन्, मैले कसैलाई सम्झेर लेख्ने गरेका गजलका केही शेर । 

कहिलेकाहीँ दराजमा केही अर्थोकै खोज्दाखोज्दै फोटोहरूको एल्बम एक्कासि झरिदिन्छ । एल्बमले पनि यस्तो भनिरहेको जस्तो लाग्छ, ‘बन्द हुँदाहुँदा म बोर भइसकेँ, मलाई पनि कहिलेकाहीँ फिँजाइदेऊ ।’

 

अनि, म पल्टाउन थाल्छु– मेरो पुरानो फोटो एल्बम । लामो कपाल पालेको, गितार बोकेको तस्बिरमा आफैँलाई देखेर आफैँसँग मुस्कुराउँछु । एउटा गु्रप फोटोमा मसँगै टाँसिएर बसेकी पूर्वप्रेमिकालाई देखेर स्मृतिको पुरानो संसारमा उडेर पुग्छु, यो बिर्संदै कि मैले अहिले, यतिखेर खोजेको, चाहेको, कुरा त अर्थोक नै पो हो । एल्बम पल्टँदै जान्छ । जसमा भेटिन्छन्, किशोरावस्थाका उटपट्याङ पोजहरू, मेरो उसबेलाको बेबकुफी देखेर म आज पनि आफैँलाई मनमनै बेबकुफ नभनी, आफैँप्रति नहाँसी बस्न सक्दिनँ । 

 

यस्तो धेरैपटक भएको छ । कहाँ प्रकाशकसित आर्थिक कारोबार गर्न जाँदाजाँदै बीच बाटोमा प्लस टू पढ्दाको प्रकाश हतारहतार हिँडिरहेको फेला पर्छ । आफ्नै टोलमा मासु किन्न जाँदा कुनताकदेखि अमेरिका भासिएको साथी भेटिन्छ, जसकी फूपू यसै टोलमा बसेकी हुन्छिन् र जसलाई भेट्न ऊ यतिखेर आएको छ । र, उनीहरूको पुछार लागेर आइरहन्छन्– ती बेलाका स्मृितहरू ।

 

र, यस्ता अप्रत्याशित संयोगहरूले हाम्रो मनोदशा र दिशा दुवै परिवर्तित गराइदिन्छन् । यस्ता धेरै जम्काभेटहरू हुन्छन्, जो भएपछि हामीलाई सम्पूर्ण दिन नै असाधारण लागिदिन्छ । अतीतबाट यस्ता साथी वा परिचितहरू फुत्त आइदिन्छन् र हामीलाई टपक्कै टिपेर अतीतमा लगिदिन्छन् ।

 

भेटिन्छन् नि घर सफा गर्दागर्दै डस्नामुनि कुनै बेला क्यूएफएक्समा हेरेको दुईवटा टिकटका अधकट्टी । अनि डस्नासँगै पल्टिन्छन्, त्यो दोस्रो अधकट्टीको प्रयोगकर्ता साथीसितको स्मृति, जोसँग झगडा परेर बोलचाल नभएको वर्षौं भइसक्यो । वर्तमानमा त्यो अधकट्टी हेर्दै, उसबेला उसैमाथि दोषारोपण गरेर टुटाएको मित्रता र एकएक घटना सम्झँदै मस्तिष्क यतिखेर यो निक्र्यौलमा पुग्छ, ‘ज्या † गल्ती त आफ्नै पो रैछ ।’

 

अझै सुरक्षित छ कक्षा १० को महेन्द्रमाला, जसको अन्तिम पृष्ठमा छ नेपालीमा सबैभन्दा राम्रो अंक ल्याइरहने साथीले लेखिदिएको ‘इच्छा’ कविताको सार, जो कोठा सफा गर्दागर्दै भेटिन्छ र म आफैँलाई थाम्न सक्दिनँ । म छाम्छु, सुमसुम्याउँछु, पल्टाउँछु त्यो किताबलाई । र, त्यो किताबसँगै आउँछ स्मृतिमा सिंगो स्कुल, टेबलटेनिस बोर्ड, होस्टल, सात जना केटा साथी, १३ जना केटीसाथी, पालेदाइ, प्रिन्सिपल, हेडमिस, कुक दाइ, नेपाली सर र अरु थुप्रै कुराहरू ।

 

कसैसित कहीँ अचानकसित भेटिनु माउ अनुभूित र सँगै पुच्छर लागेर आउने सस्याना स्मृति तिनका बच्चा अनुभूतिहरू । दुवैथरी उत्तिकै प्यारा हुन्छन् । 

 

धेरैपटक हुन्छ यस्तो । जब थानकोटबाट पृथ्वी राजमार्गको ओरालो झर्छु, हरेकपटकको यात्राले पुरानो यात्राको स्मृति ब्यूँताइदिन्छ । जब कुनै चोकबाट गुज्रन्छु, त्यो चोकसित गाँसिएका पुराना स्मृतिहरू पनि मबाट गुज्रिन्छन् । जब हेर्छु, १० वर्षअगाडि सिनेमाघरमा हेरेको सिनेमा टेलिभिजनको पर्दामा आज, त्यो सिनेमा हेर्नलाई रुझ्दैरुझ्दै साथीसित सिनेमाघर गएको सम्झन्छु । 

 

ती पुराना कुरा, जसलाई मैले सिरानीमुनि अथवा बुकसेल्फ, पलङको घर्रा वा दराजको कुनै कुनामा सम्हालेर नराखेको भए पनि त हुने π ती मैले उसबेलै फालेको भए पनि हुने । घरमा यस्ता धेरै कुराले ठाउँ ओगटेका छन् । मलाई केही पनि फाल्न मन लाग्दैन । के मेरो मन यी कुराबाट भरिएको छैन ? मलाई थाहा छ, मैले व्यर्थका कुरालाई ठाउँ ओगटेर राखेको छु । 

 

पुराना कुराले ओगटेका ठाउँका कारण कहिलेकाहीँ नयाँ कुरालाई ठाउँ मिल्दैन । तैपनि म फ्याँक्न सक्तिनँ । के हुन् र ती ? थोत्राथात्री, काम न काजका कागजका टुक्राहरू या कुनै पुराना कवाडझैँ लाग्ने सामान, जसको महत्त्व मेरा लागि मात्र छ । जो नभए पनि मेरो जीवन मज्जाले चल्छ । दौडन्छ ।

पुराना स्मृतिहरू, जसलाई पटकपटक फ्याँक्न मन लाग्थ्यो । साथीहरू भन्थे, ‘भो छाड्दे पुराना कुराहरू, बिर्सिदे सबै ।’ बिर्सन चाहेँ पनि । अतीतका केही अंशलाई पन्छाएँ पनि । मस्तिष्कलाई ती स्मृतिहरूबाट शून्य बनाएँ पनि । तर, केही समयसम्मका लागि मात्र । किनकि मान्छेसित छानीछानी स्मृति राखेर बस्न सक्ने क्षमता हुँदो रहेनछ । मीठा स्मृतिलाई अनुभूत गर्न सक्ने मान्छेले तीता स्मृतिलाई यस्सै विस्मृत गराउन कहाँ सक्छ र ? 

 

ती स्मृतिलाई मिल्काउन सकिनँ मैले । त्यसैले तिनलाई पनि जतन गरेर राख्ने गरेको छु । बेलाबेलामा स्मृतिले तिनलाई पनि फिँजाइरहन्छन् । र, म तिनमा पनि आनन्द मान्न थालेको छु । स्मृति पनि मदिराभन्दा कम नहुँदो रहेछ, जति पुरानो भयो उति नै त्यसको महत्त्व हुने, उत्ति नै गुणवत्ताले भरिएको हुने ।

 

जीवनमा नयाँ कुरा पाएको सबैलाई मन पर्छ । तर पुराना कुराले झस्काएको पनि कम रोमान्चक हुँदैन । चाहे लात मारोस्, चाहे थप्पड हानोस्, पुराना कुराले दिएको पीडा झन् मीठो हुन्छ । घण्टौँ उकालोमा हिँड्दा थाकिन्छ, गलेर लोथ भइन्छ, शरीरबाट तरतरी पसिना बगिरहन्छ, शरीर च्यापच्याप हुन थाल्छ । हिँडाइ रोकेर यात्रा रद्द गरिदिऊँ झैँ लाग्छ । घर फर्केर जाऊँजस्तो हुन्छ । यात्राको कठिनाइले हामीलाई विरक्त पारेको हुन्छ । तर, जब वर्षौंपछि त्यो यात्रा सम्झन्छौँ, त्यतिबेला हामी थाक्दैनौँ, गल्दैनौँ, विरक्त मान्दैनौँ । हामी त त्यसको स्मृतिमा चुर्लुम्म हुन्छौँ । हामी बाँचेको त्यो समयलाई मुख मिठ्याउँदै अनुभव गर्छांै । बेलाबेलामा त्यस बेलाका फोटोहरू हेर्छौं । जतिसुकै खराब यात्रा किन नहोस् । फेरि पनि त्यही ठाउँमा, त्यही टोलीसित, त्यसैगरी जाऊँजाऊँ लाग्छ । सम्पूर्ण अनुभव दोहोर्‍याउन मन लाग्छ । बाँचिसकेको समयमा हामी पुन: बाँचिरहेका हुन्छौँ, कमसेकम केही क्षणलाई, स्मृतिको डुंगा चढेर भए पनि । के यस्तो मलाई मात्र हुन्छ ?

 

कतिपय नयाँ कुरा मन पर्नलाई केही समय कुर्नुपर्छ । त्यसलाई पुरानो हुन दिनुपर्छ । स्मृतिहरू कोपिलामा भन्दा फूलमै सुन्दर देखिन्छन् । तिनलाई फक्रन दिनुपर्छ । आखिर कोपिला पुरानो भएर नै फूल हुने हो । 

 

अक्सर यसैगरी भेटिरहन्छन्, धेरै थोक अनि धेरै मानिस । मस्तिष्क चौबाटोजस्तै भएको छ, यहाँ जो कोहीको सम्झना आउन सक्छ । अथवा कसैको नआउन पनि सक्छ । तर, म पुराना स्मृतिहरूसँग डराएर भाग्दिनँ । किनकि मलाई थाहा छ, भागे तिनले लखेट्नेछन् । मेरो रफ्तार यस्तोमा गम खानेछ । त्यसैले चौबाटोजस्तै वा चौताराजस्तै बनाइदिएको छु मस्तिष्कलाई, कसैलाई निषेध गरेको छैन । पक्षपात गरेको छैन स्मृतिहरूको आउजाउलाई । 

प्रकाशित: श्रावण १, २०७४