इन्टरनेटमा अब चिनियाँ गेटवे पनि

- नेपाल संवाददाता

अब चाँडै नेपालले चीनको अप्टिकल फाइबरबाट इन्टरनेट सुविधा पाउँदै छ । अहिलेसम्म नेपालको अनलाइन सेवामा भारतको एकाधिकार थियो । भैरहवा, वीरगन्ज र विराटनगरमार्फत नेपाल भारतसँग अप्टिकल फाइबरमा जोडिएको थियो । चीनतर्फ अप्टिकल फाइबर बिछ्याउने काम जुलाई महिनाभित्रै सकिने अपेक्षासाथ अब यो अवसर व्यावहारिक रूपमै नजिकिएको हो । नेपालतर्फ भने उक्त काम पूरा भइसकेको छ । चीनतर्फको काम जुन महिनामै सकिने अपेक्षा गरिए तापनि त्यसतर्फ आएको पहिरोले ढिलो गराएको थियो । चीनतर्फ चार हजार मिटर उचाइमा बिछ्याइएको फाइबर पहिरोले अवरोध सिर्जना गरेपछि वैकल्पिक बाटो पहिचान गरेर काम सुरु गरिएको थियो । 

इन्टरनेट बजारमा चीनको प्रवेशसँगै नेपाली सेवाग्राहीहरूका लागि इन्टरनेट सुविधा अझ सस्तोमा उपलब्ध हुनेछ । प्रधानमन्त्रीका रूपमा केपी ओली चीन भ्रमणमा जाँदा यो सम्झौता भएको थियो । तर भारतीय दैनिक इकोनोमिक टाइम्सले लेखेको छ, ‘चिनियाँ इन्टरनेट गेटवे प्रयोग गर्दा त्यहाँ प्रतिबन्धित ट्वीटर, फेसबुक र गुगलजस्ता सेवाहरू नेपालका लागि चाहिँ के हुन्छन् भन्ने स्पष्ट छैन ।’ 

प्रकाशित: श्रावण १, २०७४