नोटबुक

  • एक गिलास चियाको पनि १ सय ७० रुपियाँ, एउटा अन्डाको पनि त्यही र चना–चिया खाए पनि त्यही । जेको पनि एउटै मूल्य ।

- माधव बस्नेत

ठगी शैलीमा छलाङ
राजमार्गमा अवस्थित अधिकांश होटलबाट यात्रुहरू बारम्बार ठगिनु कुनै नौलो कुरा रहेन । चर्को मूल्य र बासी खाजा/खाना खुवाउनुलाई पनि सामान्य मान्नुपर्ने स्थिति छ । सरकारका ‘ लाइन एजेन्सी’ र उपभोक्तावादी हौँ भन्नेहरु बेलाबेला अनुगमन र हरियो स्टिकरको प्रहसन पनि गर्छन् । समस्या जस्ताको त्यस्तै । यस्तै बेथितिको मूकदर्शक बन्नुपर्‍यो आफैँ । 

स्थानीय निर्वाचनका अवसरमा १३ वर्षपछि जन्मथलो फर्कंदै गर्दा मन पुलकित हुनु स्वाभाविकै थियो । बिहान ६ बजे भक्तपुरको कौशलटार चोकबाट सुरु यात्रा भकुन्डेबेँसीको स्टाफ होटलमा पुगेर रोकियो, चिया खाजाका लागि । त्यसबेला बिहानको पौने ८ बज्दै थियो । यात्रुबाहक गाडीमा गुरुजीबाहेक हामी एउटै टोल र नाताभित्रका नौ जना थियौँ । एउटै परिवारभित्रका भए पनि रुचि–स्वभाव, स्वाद, भोक अनुसार चिया–खाजा खायौँ । 

जसै रकम तिर्न काउन्टरतिर अघि बढियो, त्यसबेला भने अचम्ममा परियो । किनभने प्रतिव्यक्ति १ सय ७० रुपियाँ भएछ । अझ उदेकलाग्दो त के भने गुरुजीको खाजा खर्चसमेत उपभोक्ताकै बिलमा जोडिएको थियो ।

एक गिलास चियाको पनि १ सय ७० रुपियाँ, एउटा अन्डाको पनि त्यही र चना–चिया खाए पनि त्यही । जेको पनि एउटै मूल्य । त्यो अव्यावहारिक मूल्य सूचीबारे कुरा गर्न मन नलागेको त होइन । तर, एकातिर हामीसँग विवाद गरेर बसिरहने समय थिएन भने अर्कातिर कुरा उठाउँदा उल्टै झगडा गर्न आउँछन् भन्ने टिमभित्रकै आवाजपछि चुपचाप बिल तिरेर बाहिरिनुको विकल्प रहेन । राजमार्गमा मूल्यसूची र खानाको गुणस्तरबारे अनुगमन भइरहेको दाबी सरकारले गरेकै हो भने भकुन्डेबेँसीमा भएको के ?

सहरको रोग गाउँमा

काठमाडौँबाट सल्लेरी जिरो किलोसम्मका लागि मात्र गाडी ‘रिजर्भ’ गरेका थियौँ । त्यहाँबाट अझै १८ किलोमिटर कच्ची बाटोका लागि ‘फोरह्विल’ गाडी खोज्ने काम बाँकी नै थियो । 

गाडी सहजै पाउन सकिँदैन । पाए पनि निकै भाउ खोज्छन् भन्नेसम्म त जानकारी थियो । तर, पत्याउनै नसकिने भाउ गर्छन् भन्ने कल्पनै गरिएको थिएन । गाडी सजिलै पाउने छाँट नदेखिएपछि हिँडेरै गन्तव्यमा पुग्ने सल्लाह भयो । त्यसका लागि तीन घण्टा समय खर्चनुपर्ने थियो । यद्यपि मानवीय स्वभाव न हो, सडक नपुगुन्जेल बिहान–बेलुकी आवतजावत गरिरहने त्यही बाटोमा हिँड्न कसैको जाँगर चलेन । त्यसैले हामी गाडीको जोहो गर्नतिरै लाग्यौँ । त्यहाँबाट १५ किलोमिटर दूरीको नेले बजारसम्म टाटा सुमो पुग्थ्यो । गाडी लस्करै छन्, जान मान्दैनन् । किन त ? कारण रहेछ, सल्लेरीबाट नेलेसम्मको कहीँ ग्राभेल, कहीँ कच्ची सडकको भाडा १ सय २५ रुपियाँ निर्धारण गरिएको रहेछ । चुनावी माहोल र अलिअलि पानी परेर सडक हिलोसमेत भएको मौका छोपी गाडी सञ्चालकहरूले यात्रुलाई मजाले डस्ने योजना बनाएका रहेछन् । 

नौ जना अट्ने टाटा सुमोलाई १५ किलोमिटरको दूरीका लागि सात हजार रुपियाँ तिर्ने सहमति भएपछि भने जतिवटा गाडी पनि जान तयार भए । तिनैमध्ये एउटा गाडीमा १३ किलोमिटर पर तुम्सेडाँडा अनि त्यहाँबाट करिब तीन किलोमिटर हिँडेर घर पुगियो । अर्थात् १३ किलोमिटरका लागि सात सय रुपियाँ तिर्नु सामान्य मान्नुपर्‍यो । यसबाहेक पाँचदिने बसाइबाट के निष्कर्षमा पुगियो भने ठगीधन्दा सहरमा भन्दा गाउँमा फस्टाएको रहेछ । तर, त्यो भन्दा पनि उदेक आफैँसँग लाग्यो । गाउँ छाडेर नवसहरिया भएका हामी कतिसम्म सुविधाभोगी भएछौँ ? यही कमजोरी नै थियो, हामी ठगिनुको कारक । 

प्रकाशित: असार २८, २०७४