नेपालीपनको खोजी

  • सौरभको लेखन फगत बुद्धिविलास भने होइन । उनको ‘मिसन’ हो, नेपालीपनको खोजी ।

- राजकुमार बानियाँ

लेखक सौरभलाई दुई शब्दमै चिनाए हुन्छ, ‘एन्टी करेन्ट ।’ लेखनीकै कारण सहरका प्रिय लेखक पनि सौरभ हुन् र अप्रिय लेखक पनि उनै । उनलाई महान् मान्ने पनि उत्तिकै छन्, झूर ठान्ने पनि उत्तिकै । तर्क–कुतर्क, सहमति–असहमति, संगति–विसंगतिका अनेक शृंखलाले नै ‘मोस्ट मिस अन्डरस्टुड’ बनाएको छ उनलाई । 

सौरभको लेखन फगत बुद्धिविलास भने होइन । उनको ‘मिसन’ हो, नेपालीपनको खोजी । असीमित छ उनको अध्ययन । इतिहास, राजनीति, संस्कृति, वनस्पति, तन्त्र, मानवशास्त्र, अर्थशास्त्र, भूगोल आदि ज्ञानको अथाह भण्डार छ । अझ स्पष्ट भन्ने हो भने, अलग धारका लेखक हुन् सौरभ । अलग विषय, अलग प्रस्तुति, अलग अनुसन्धान र अलग तर्कका लागि उनी पढिँदै आएका छन् ।

तीन दशकको लेखकीय यात्रामा सौरभले जहिल्यै ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । उनको तेस्रो गैर–आख्यान पुस्तक असंगतिमा पनि त्यसको स्वाद कायमै छ । विषय र बुँदाका हिसाबले यसलाई पूर्ववर्ती पुस्तक असहमतिकै ‘सिक्वेल’ मान्दा हुन्छ । यसका आठ खण्डका ३१ लेखोटमार्फत उनको लेखकीय व्यक्तित्व थप प्रखर, गम्भीर र विवादास्पद हुन गएको छ । 

हामीले पढिरहेको, देखिरहेको र सुनिरहेको मुलुक सौरभले बुझेको नेपाल होइन, स्वीकारेको सत्य होइन अनि विगत र भविष्य पनि होइन । कथित आधिकारिक ज्ञानमा उनी आँखा चिम्लेर दस्तखत गर्दैनन् । कथित महान् संगतिलाई अस्वीकार गर्छन् । आम सहमतिलाई ठाडै नकार्छन् । त्यस अर्थमा हामीले बुझेको भन्दा अलग नेपाल छ असंगतिमा । 

पहिलो खण्डका दुई लेखोट ‘पराधीन स्वतन्त्र’ र ‘गैर–आर्थिक दरिद्रता’ नेपालीपनको पुन:जागरणका निम्ति बहसयोग्य छन् । पश्चिमा जडौरी मानसिकता हाम्रो पछौटेपनको एउटा कारण पक्कै हो । पश्चिमा विज्ञान र प्रविधिबाहेक विचार नै आयात गर्नुपर्ने अवस्था भने नभएको उनको जिकिर छ । बरू नेपाली सभ्यता र विरासत ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’को सिकार भएको हो ।

शक्तिपूजा होस् कि व्यक्तिपूजा, परिणामत: दुवै खराब हुन्छन् । नेपाली समाजमा यिनका गलत विश्वास र अभ्यास छन् । अझै पनि ‘आइकन’ निर्माणका नाममा व्यक्तिपूजा चलिरहेकै छ । व्यक्तिको पूजापाठ अन्तत: हेर्नै मन नलाग्ने, सुन्नै मन नलाग्ने हदमा पुगेका छन् । राजा महेन्द्र र कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको हकमा पनि त्यही भयो । न त महेन्द्र र राष्ट्रवाद एउटै हुन्, न त बीपी र प्रजातन्त्र एउटै । 

सौरभले बांगोटिंगो या टेढोमेढो शैली नपछ्याईकन लेखेका छन्, ‘महेन्द्र शाह र विश्वेश्वर कोइराला एउटै वर्गका मानिस हुन् भन्ने कुराको ख्याल तिनका राजनीतिक पक्षधरले कहिल्यै गरेनन् । त्यसैले महेन्द्र पूजाले पञ्चायत घृणित बन्यो र अतिशय विश्वेश्वर पूजाले कांग्रेसको नेमेसिसका रूपमा देश कम्युनिस्टमय भयो ।’

के ‘स्वरसम्राट’को पदवी नारायणगोपाललाई गुथाएर हामीले आउने हजारौँ वर्षका लाखौँ गायकहरूलाई निराश र पलायन गराएका छैनौँ ? के लेखनाथ पौडेललाई ‘कवि शिरोमणि’ भनेर आउने हजारौँ वर्षका कविहरूलाई पलायन हुन बाध्य पारेका छैनौँ ? प्रश्न स्वाभाविक छ– नारायणगोपालभन्दा राम्रो गायक वा लेखनाथभन्दा महान् कवि जन्मने कोख नै नियोजन भइसकेको हो र ?

मधेस छैन भन्ने आफ्नो दाबीमा सौरभले बाबुराम आचार्यले ०१४ मा लेखेको ‘भोट–मधेस नेपाल’को दृष्टान्त दिएका छन् । विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास सुम्निमा राम्ररी नपढीकन लहैलहैमा जलाइएको प्रसंग पनि उप्काएका छन् । ‘पुस्तकमा कतै पनि सुम्निमा र सोमदत्तको सहवास छैन । त्यो एक स्वैरकल्पनामात्र हो । अब राई–लिम्बू संस्कारको कसरी अपमान भयो ?’ 

खेलदेखि खानपिनसम्म, वनस्पतिदेखि बाइबलसम्म, टोपीदेखि टर्कीसम्म, भूराजनीतिदेखि भवन इन्जिनियरिङसम्म सौरभको ज्ञानको क्षितिज फैलिएको छ । ‘रबरको जिब्रो’मा कटाक्ष गर्छन्, ‘नेपाली जिब्रो चलायमान तर टेस्टबड नै नभएको रबरको हो ।’ बरियापुर (गढीमाई)को बलिप्रथालाई लिएर पश्चिमा मिडियाले हौवा फिँजाएको उनको अभिमत छ । राँगाहरू हात्ती र गैँडाजस्तो संरक्षित जनावर होइनन् र यो देशकै शिर निहुराउनुपर्ने प्रसंग होइन । करोडौँ कुकुरमाथि खर्बौं डलर खर्चने तर अफ्रिकी भोकमरीको गीत गाइरहने मिडियाप्रति उनको खेद छ ।

‘गाइडेड न्यारेटिभ्स’को प्रतिवाद सौरभको लेखकीय छवि हो । त्यसैले सिल्भाँ लेभीको ‘ खोटो इतिहास’विरुद्ध खनिन्छन् । नेवार जातिको सभ्यता, इतिहास र संस्कृतिबारे खोजीनिती ‘प्रिय महर्जनहरू’ उनको सुन्दर निबन्ध हो । नेपालमा २२ वटा तातोपानी भएकोदेखि ढुंगेधारा नेपालको हो भन्नेसम्मका दाबी छ उनको । राणा प्रधानमन्त्री जंगबहादुरबारे उनी लेख्छन्, ‘कुनै केटाले प्रश्न गर्‍यो, कसैकी अति राम्री पत्नी कसैले लगेमा काट्न पाइन्छ ? वृद्ध जंगबहादुरले पाइन्छ भनेका के थिए, उसले त्यही तरबारले छप्काइदियो ।’ 

प्रश्न के उठ्छ भने यस्ता दुर्लभ सूचना कहाँ र कसरी भेट्टाउँछन् सौरभले ? स्रोत या सन्दर्भ–सामग्री गोप्य राखेकाले उनका आलोचक स्थायी दरबन्दीमा गएका छन् । लेखकले नेपालको मौलिक अनुहार त देखाउन खोजेका छन् तर विस्तार नपुग्दा कतिपय पाठ अपूरो लाग्छन् । हरेक विषयमा सिंगो पुस्तक बनाउने खजाना भएका लेखक एउटै लेखोटमा अटेसमटेस खाँदिएका छन् । कतिपय लेखोट अनुसन्धान नभएर निबन्धमात्र बन्न पुगेको स्थिति छ । यति हुँदाहुँदै पनि पुस्तक आद्योपान्त पठनीय छ ।

असंगति (गैर–आख्यान)

लेखक : सौरभ

प्रकाशक : बुक हिल

पृष्ठ : २७८

मूल्य : ३९९ रुपियाँ

प्रकाशित: असार २८, २०७४