सधैँको जोखिम

  • मानव निर्मित संरचनाले प्राकृतिक गुफा क्षेत्र थप संकटमा

- लालप्रसाद शर्मा

पोखरा ।।  तीन दशकअघि सरकारले लालपुर्जा दिएपछि बद्रीनाथ पहारीको परिवार कम्ती खुसी थिएन । लगत्तै उनीहरूले घर बनाए र जीवनको स्थायी जग बसाले । यत्तिन्जेल ढुक्कैसँग बसे पनि । तर, स्थायी ठानिएको त्यही ठाउँ अहिले त्रासको थलो बनेको छ । वर्षात्का कारण पोखरा लेखनाथ महानगरपालिकाको गुप्तेश्वर महादेव गुफा वरिपरिको जमिन भासिन र भत्कन थालेपछि यहाँका बासिन्दा भयमा जिउन बाध्य छन् । पहारी भन्छन्,  “काल पर्खेर बसेजस्तो हुन्छ ।” 

गुफा क्षेत्रमा पर्ने डेभिज फल्स (पातले छाँगो) हेर्ने ठाउँनेरको ठूलो ढिस्को खसिकेको छ । कुनै पनि बेला जमिन दबेर ठूलै विपत्ति आइलाग्ने खतराका कारण यहाँका बासिन्दा ढुक्कले बस्न सकेका छैनन् । फेवातालको पानी पातले छाँगोबाट खसेर गहिरो गल्छीबाट गुप्तेश्वर गुफा हुँदै फुर्सेखोलामा मिसिएको छ । यसको बहावले गुफा क्षेत्र वर्षेनी खिइँदै गएको छ । गुफामाथि अवस्थित राजमार्गमा दैनिक गुड्ने हजारौँ सवारी साधनको धक्काले समेत यहाँको जमिन थर्कने गर्छ । त्यसमाथि गुफामाथि अनधिकृत रुपमा निर्मित ठूलाठूला भौतिक संरचनाले एकातिर गुफाको अस्तित्व संकटमा पारिरहेको छ भने अर्कोतिर जमिनलाई थप कमजोर बनाइरहेको छ ।

यस क्षेत्रको जमिन कमजोर भएकाले ठूला भौतिक संरचना बनाएर बस्ती बसाल्न नमिल्ने विज्ञहरू सम्मिलित विभिन्न अध्ययनबाट प्रमाणित भइसकेको छ । सन् १९७० देखि १९९८ को अवधिमा गरिएका चारवटा अध्ययनले यो क्षेत्रलाई जोखिमपूर्ण मानेका थिए । बरू यी क्षेत्रमा वाटिका, पार्क बनाउनुपर्ने अध्ययन प्रतिवेदनको सुझाव थियो । तर, बगैँचा बनाउने भनेको क्षेत्रमै मानव बस्ती बाक्लिँदो छ । गुफामाथि सयौँ घर बनेका छन् । गुफा व्यवस्थापन समिति स्वयंले गुफा हातामै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस भवन बनाएको छ ।

सन् १९७० मा ब्रिटिस कास्र्ट रिसर्च एक्सपिडिसन टोली, सन् १९७४ र १९७६ मा अर्को टोलीले गुफाको छुट्टाछुट्टै अध्ययन गरेका थिए । अध्ययनले गुप्तेश्वर गुफाको लम्बाइ १ हजार ४ सय ७९ मिटर र ६ वटा प्रवेशद्वार रहेको नक्सांकन गरेको थियो । गुफाहरूको छत पाँच मिटरसम्मको मोटाइमा रहेको र भूसतहमा सडक सञ्जालदेखि भौतिक संरचना निर्माण तीव्र हुँदा यस क्षेत्रको भौगर्भिक संवेदनशीलता चुनौतीपूर्ण बनेको अध्ययनमा उल्लेख छ ।

सन् १९९८ मा खानी तथा भूगर्भ विभाग र जर्मन संस्था बीजीआरले संयुक्त अनुसन्धान गरेर पोखरा उपत्यकाको जिओलोजिकल इन्जिनियरिङ र वातावरणीय नक्साको प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनले गुफाको दुई सय मिटर वरपर भौतिक संरचना नबनाउन र बनाउनै परे माटो मजबुत पारेर मात्र बनाउन भनेको थियो । 

नियमनकारी निकाय पोखरा महानगरपालिका र उपत्यका नगर विकास समितिले भने यस्तो जोखिमलाई नदेखेझैँ गरेका छन् । “अध्ययन–अनुसन्धानले जोखिम माने पनि हामीले कार्यान्वयन गराउन सकेनौँ,” महानगरपालिकाका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले निर्धक्क भन्छन् । 

विज्ञहरूले निरन्तर खतराको चेतावनी दिए पनि गुफा क्षेत्रमा बस्ती बस्ने क्रम रोकिनुको साटो तीव्र विस्तार भयो । पहिला तीनवटामात्रै घर रहेकोमा अहिले गुफामाथि मात्रै करिब डेढ सय घर ठडिएका छन् । यी सबै घर नक्सा पास नभई बनेका हुन् । 

सन् १९७८ मा छोरेपाटनमा खाली चौर ६८ हेक्टर रहेकोमा सन् २०१४ मा आइपुग्दा ७ दशमलव ६६ हेक्टरमा खुम्चिएको छ । उतिबेला शून्य दशमलव ३९ हेक्टरमा बस्ती थियो भने अहिले ३० दशमलव ३६ हेक्टरमा बस्ती फैलिएको छ । मानव निर्मित भौतिक संरचनाले जमिनमाथि हुने भार अत्यधिक बृद्धि भइरहेको छ । पोखराको भौगर्भिक अध्ययनमा सहभागी भूगोलविद् प्राध्यापक कृष्ण केसीका अनुसार सन् १९७८ मा १ दशमलव २२ हेक्टर भास क्षेत्र रहेकोमा २०१४ मा आइपुग्दा यो शून्य दशमलव ३५ हेक्टरमा खुम्चिएको छ । खतरा दिनप्रतिदिन बढिरहेको छ । 

केसीका अनुसार पोखराका अधिकांश भौगर्भिक संरचना अन्नपूर्ण क्षेत्रबाट सेती नदी हँुदै बगेर आएको गेग्य्रानले बनेको छ । गेग्य्रान पातलो भएकाले ठाउँ भासिने र भ्वाङ पर्ने गर्छ । छोरेपाटन क्षेत्रमा अन्य थुप्रै प्राकृतिक गुफा पनि रहेकोमा प्लटिङकर्ताले पुरेकाले देखिँदैन । “गुफा क्षेत्र प्राकृतिक रुपमै जोखिमपूर्ण छ । त्यहीँमाथि मानव निर्मित संरचनाले जोखिम र संकट थपिदिएको छ,” अर्का भूगोलविद् खगेन्द्र पौडेल भन्छन् । 

गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णु पौडेल संरक्षणको कार्य भइरहेको दाबी गर्छन् । मानव बस्ती विस्तार रोक्ने कार्य भने महानगरपालिकाले गर्नुपर्ने उनको भनाइ छ । ९ पुस ०४९ मा पत्ता लागेको यो गुफामा वर्षेनी साढे दुई लाखभन्दा बढी पर्यटक पुग्छन्, जसबाट वार्षिक सरदर दुई करोड रुपियाँ आम्दानी हुन्छ । 

प्रकाशित: असार २८, २०७४