प्रभावशाली नेता, पराजित नतिजा

  • शीर्ष नेताहरूले मतदान गरेको वडामा तिनकै पार्टीको पराजय

- बाबुराम विश्वकर्मा

पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा सबैभन्दा बढी सिट जितेर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पहिलो दल भएको छ । तर, दुर्भाग्य π त्यो दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको वडा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ मा चाहिँ नेपाली कांग्रेस विजयी भएको छ । संविधानसभा निर्वाचन झापाबाट जितेका भए पनि भक्तपुर बालकोट बस्ने ओली सूर्यविनायक–२ कै मतदाता हुन् । त्यसैले उनले ३१ वैशाखको पहिलो चरणको चुनावमा त्यहीँबाट मतदान गरेका थिए तर नतिजा उल्टो भयो । 

आफ्नै वडामा पराजय भोग्ने शीर्ष नेतामा ओली एक्ला होइनन्, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि त्यही हविगत बेहोरेका छन् । छोरी रेणु दाहाललाई चितवनको भरतपुर महानगरपालिकाको मेयरमा जिताउन कुनै कसर बाँकी नराखेका उनले मतदान गरेको भरतपुर–४ मा माओवादी केन्द्रले पराजय भोग्यो । त्यस वडामा जित्ने एमाले भयो । १० वर्षे सशस्त्र विद्रोहको नेतृत्व, शान्ति प्रक्रियामा नेतृत्वदायी भूमिका अनि दुईपटक देशको प्रधानमन्त्री, प्रचण्डको राष्ट्रिय रापको झल्को दिन यति नै काफी छ । तर, उनैले मतदान गरेको वडामा चाहिँ जनताले न प्रचण्डलाई साथ दिए न त उनको दल माओवादी केन्द्रलाई नै । 

यी दुई दृष्टान्त देशका दुई ठूला पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरूको वडामा तिनको सामाजिक राजनीतिक प्रभाव कस्तो छ भन्ने बुझ्न काफी छन् । प्रधानमन्त्री भएको, पार्टीको मुख्य नेतृत्वमा रहेको अनि राष्ट्रिय राजनीतिमा लामो समय हालीमुहाली गरेका शीर्ष नेताको वडामा उल्टो नतिजा †  

आफ्नो पुख्र्यौली घर भएको, जन्मे–हुर्केको, बसाइँ सरेर लामो समय बसोबास गरेको अनि परिवार तथा आफन्तको बाहुल्य रहेको वडामा प्रमुख राजनीतिक दलका प्रभावशाली नेता र तिनको दलको प्रभाव अरु वडा तथा ठाउँमा भन्दा बढी हुनुपर्ने हो । यो अपेक्षा किन पनि गरिन्छ भने कुनै पनि राजनीतिक दलका शीर्ष नेतालाई तिनका टोल तथा वडाबासीले भन्दा गहन रूपमा अरुले चिनेका हुँदैनन् । नेताका गुण दोष तथा राम्रा, नराम्रा कामको वस्तुनिष्ठ लेखाजोखा मात्र होइन, सत्ता र प्रतिपक्षमा हुँदा तिनले जनताका निम्ति गरेका समग्र कामको मूल्यांकन पनि अरुले भन्दा बढी तिनकै वडाबासीले गर्न सक्छन्् । जनताको यस्तो मूल्यांकन चुनावमार्फत नै अभिव्यक्त हुने हो । त्यसैले हरेक चुनाव दल र नेताको परीक्षणको कडी मानिन्छ । राजनीतिशास्त्री प्राध्यापक लोकराज बराल भन्छन्, ‘‘ठूला नेताहरूमा गाउँमै खटेर बस्ने, काम गर्ने चलन छैन, कार्यकर्ताको भरमा परेका हुन्छन् । त्यसैले चुनावमा अनुमान गरेभन्दा उल्टो नतिजा आउँछ ।’’ 

आफ्नै ठाउँबाट आफूले नेतृत्व गरेको राजनीतिक दल पराजित हुनु देश र जनताको भलो गर्छु भन्ने नेताहरूका लागि सुखद होइन । लोकतन्त्रमा जनता सबैभन्दा महत्त्वपूर्ण हुन् । त्यसैले स्थानीय तह र त्यहाँका जनता शीर्ष नेता र तिनको पार्टीको परीक्षणको सबैभन्दा महत्त्वपूर्ण इकाई हो । फेरि, तल्लो तहबाट चुनिँदै माथिल्लो तहसम्म पुग्ने परिपाटी अझ बढी लोकतान्त्रिक पनि हो । तर, 

विडम्बना ! शीर्ष नेता र तिनको पार्टी उनैको वडामै अस्वीकृत भएको छ । राजनीतिक विश्लेषक विष्णु सापकोटा भन्छन्, ‘‘ठूला नेताले वडामा हार्नु भनेको तिनले जनताबाट वैधानिकता नपाएको प्रमाण हो । जब सबभन्दा आधारभूत इकाईमै पार्टी हार्छ भने उनीहरूको स्वीकार्यता कसरी बढ्छ ?’’

हुन पनि ३१ वैशाख र १४ असारका चुनाव आफूले मतदान गरेको वडाबाट ठीक उल्टो नतिजा व्यहोर्न बाध्य छन् पूर्वप्रधानमन्त्री तथा ठूला दलका पार्टी अध्यक्ष, तिनका महासचिव तथा अरु प्रभावशाली नेताहरू (हेर्नूस् इन्फोग्राफिक्स) । अहिलेको संघीय संरचना अनुसार सबैभन्दा सानो राजनीतिक इकाई हो, वडा । उदाहरणका लागि, मनाङको एउटा वडाको जनसंख्या ९२ छ भने काठमाडौँको वडा नं. १६ को जनसंख्या सबैभन्दा बढी अर्थात् करिब ८४ हजार छ । तर, सबैभन्दा सानो राजनीतिक तथा जनसंख्यायिक इकाईमा समेत शीर्ष नेता र तिनको दल अस्वीकृत हुनु दुर्भाग्यपूर्ण हो । राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘‘नेताहरू शहर पसे, गाउँ बिर्से, थातथलो बिर्से, जनता र समुदायबाट टाढिए, त्यसैले ती आफ्नो वडामा सखाप भए ।’’ 

राजनीतिक दलहरूको केन्द्रीय सिन्डीकेटमा नेता भइरहने तर तल्लो तहमा कहिले पनि नफर्किने गरेका कारण पनि जनताले ठूला नेतालाई जवाफ दिएका हुन् । किनभने, धेरैजसो प्रभावशाली नेताहरू राजधानीमा घर बनाएर यतैका स्थायी बासिन्दा भएका छन् । उनीहरूको गाउँ तथा वडा फर्किने समय चुनावमात्रै हो । विश्लेषक श्रेष्ठ थप्छन्, ‘‘अरु बेला काठमाडौँ नछाड्ने अनि चुनावका बेलामा मात्र गाउँ गएपछि तिनलाई जनताले कसरी विश्वास गर्नू ?’’

राष्ट्रिय राजनीतिमा प्रभाव जमाइरहन सफल नेताहरूको जीवन, पढाइलेखाइ र राजनीतिको आधारविन्दु तिनको रैथाने थातथलो हो । गाउँबाट राजनीति सुरु गरे पनि ती कालान्तरमा सहर पसेर गाउँ खासै फर्किएनन् । कतिपयले आफ्नो ठेगाना नै काठमाडौँ सारे भने संसद्को चुनाव पनि जहाँबाट मन लाग्छ, त्यहीँबाट लडे । तर, नियमित रूपमा आफ्नो ठाउँमा आउजाउ गर्ने, त्यहाँको समस्या समाधानमा विशेष सक्रिय हुने अनि निरन्तर जनतासँग जोडिइरहेका शीर्ष नेताले आफ्नो वडामा त पार्टीलाई विजयी बनाएकै छन्, गाउँ र नगरमा समेत जिताएका छन् । जस्तो : भक्तपुर नगरपालिकालाई नै हेरौँ– देशका अरु जिल्लामा प्रभाव कमजोर भएको नेपाल मजदुर किसान पार्टीले भक्तपुरका ५० मा ५० सिट नै जित्यो । पार्टी अध्यक्ष नारायणमान बिजुक्छे र उनका सहयोगीहरूको भक्तपुर नगरबासीसँगको हातेमालो, उठबस, सहकार्य नै त्यसको कारण हो । भक्तपुरका मेयर सुनिल प्रजापति भन्छन्, ‘‘जनता छाडे हामी सकिन्छौँ ।’’ 

देउवाको गृहनगरमा कांग्रेस पराजित

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा–१ बाट मतदान गरेका हुन् । त्यो गाउँपालिकाका पाँच वडामध्ये एउटाबाहेक चारै वडामा नेपाली कांग्रेसले अत्यधिक मतले जित्यो । तर, यसको ठीक उल्टो, देउवाको पकड क्षेत्र मानिएको डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकामा भने कांग्रेसले पराजय बेहोर्‍यो । देउवाको गृहनगरको मानिएको अमरगढीको मेयरमा नेकपा एमालेका विपिन ओझा र उपमेयरमा एमालेकै संगीता भण्डारी चुनिए भने नगरका ११ वडामध्ये पाँच वडामा कांग्रेस र ६ वडामा एमालेले विजयी भयो ।

प्रकाशित: असार २८, २०७४