तीज कहिले, गीत अहिल्यै

  • सके व्यापार, नसके रहर पूरा गर्ने

- गोकर्ण गौतम

वर्षमा एक दिन 
रिङ्दै घुम्दै आउने
तीजको रमझम... ।’


लक्ष्मी न्यौपानेले तीजको यही भाका रेकर्ड गर्दै लोकसंगीतमा पाइला राखेकी थिइन्, ०५१ मा । पहिलो गीत हिटमात्र भएन, तीज गीतको सदाबहार गायिकाका रूपमा पनि परिचित भइन् । तीजका भाकाको लोकप्रियता फराकिलो बनाएको दरिलो जस लक्ष्मीलाई नै जान्छ । तीज गीतको ११ वटा एकल एल्बम जो निकालीसकिन् । तर, यस वर्षका लागि तीज गीत रेकर्डसम्म गरेकी छैनन्, बजारमा ल्याउनु त परको कुरा !  

सुनीता दुलाललाई चिनाएको तीज गीतले नै हो । ०६० मा आएको उनको पहिलो एल्बम चेलीको माइतीघरमा तीजका भाकाहरू समावेश थिए । त्यसयता वर्षेनी तीज गीतका एल्बम निकाल्छिन् । प्रायः दर्शक÷श्रोताको मुखमा झुण्डिन्छ । त्यसो नहुँदो त, विदेशमा सर्वाधिक कार्यक्रम गर्ने लोकगायिका कसरी हुन्थिन् होला र ? उनी स्वयं आफ्नो सफलताको राज तीज गीतलाई नै मान्छिन् । तर, यस वर्ष एल्बम निकाल्ने÷ननिकाल्ने दोसाँधमा छिन् । सुनिताले मसिनो स्वरमा भनिन्, “निकाल्नु त पर्ने हो । निकालिएला पनि तर अघिल्ला वर्षहरूमा झैँ उत्साही छुइनँ ।”

किन त ? लक्ष्मी र सुनीताको जवाफ एउटै छ, “तीज गीतको नाममा विकृति आयो ।” त्यो विकृति शब्द, शैली र भिडियोमा त छँदै थियो, त्यो भन्दा पिरलोचाहिँ तीज आउनुभन्दा चार महिना पहिल्यै गीत निकाल्ने होडबाजी सुरु भयो । लोकसंगीतमा विगत केही वर्षदेखि छाएको यो संक्रमणले यस वर्ष अझै गाँजेको छ । 

८ भदौमा हरितालिका तीज छ तर जेठ पहिलो साताबाटै युट्युबमा तीज भाकाको गीत अपलोड सुरु भयो । रेकर्डिङ स्टुडियोका सञ्चालकहरू भन्छन्, कति राम्रो र दिदीबहिनीको भावना जोडिएको गीत गाउने भन्दा कसले पहिला बजारमा ल्याउने होडबाजी चलेको छ । यसले स्वाभाविक रूपमा तीज भाकाको गुणस्तर र महत्व ओरालो लागिरहेको छ । “अहिले असार हो । असारे गीत पटक्कै आउँदैनन् । तर, तीजका गीतचाहिँ जेठबाटै,” लक्ष्मी दुखेसो पोख्छिन्, “संस्कृति र संस्कारलाई हेर्ने हो भने यो राम्रो होइन । किनभने तीज भाका व्यापारमात्र होइन ।” 

हुन पनि, तीज गीतको रौनक पहिले कृष्ण जन्माष्टमीबाट मात्र सुरु हुन्थ्यो। दिदीबहिनीहरू वल्लोपल्लो घरमा गएर तीज भाका गुन्गुनाउँथे । साउने संक्रान्तिभन्दा अगाडि त रेडियोमा पनि तीज गीत बज्दैनथ्यो । तर, अहिलेको विडम्बना चाहिँ तीज आउने बेलासम्म तीज गीत बासी भइसक्छन्, चमक घटिसकेको हुन्छ । त्यसैले अरू जसले जे गरे पनि लक्ष्मी आफ्नो ‘लिगेसी’भन्दा बाहिर जाने मुडमा छैनन् । अर्थात् साउने संक्रान्तिपछि मात्र तीज गीत बजारमा ल्याउने तयारीमा छिन् । 

अग्रज लोक स्रष्टाहरू लोकगीत, त्यसमा पनि विशेष महŒव र हाम्रो संस्कृतिसँग प्रत्यक्ष जोडिएको तीज भाकालाई व्यापारको अस्त्र बनाइनुहुन्न भन्ने मान्यता राख्छन् । हो पनि । तर, बजारले गर्दा तीज गीत धेरै, तीजभन्दा अगाडि नै अनि पुराना भाव र भाकामा अलि लचिलो (कमसल ?) भएर सार्वजनिक गर्नु बाध्यता रहेको पीडा पोख्छन्, अर्का लोकगायक खुमन अधिकारी । किन यसो भनिरहेका छन् भने यस वर्षका लागि उनले २१ वटा भाका गाएका छन्, जसमध्ये १४ वटा त आफ्नै शब्द र संगीतमा । 

उनका अनुसार अरू बेला दैनिक १० लोकगीत बजारमा आउँथे भने अहिले घटीमा २० तीज गीत । यस वर्षमात्रै पाँच सयको हाराहारीमा नयाँ तीज भाका बजारमा आउँदैछन् । खुमन नढाँटी भन्छन्, “अरू बेला निकाले पनि हुन्छ । ननिकाले पनि हुन्छ । तर, तीजमा चाहिँ निकाल्नैपर्ने बाध्यता छ । नत्र आफैँ हराइएला भन्ने डर पो हुन्छ ।” 

त्यो डर वा बाध्यता फेरि पनि कथित व्यावसायिकतासँग जोडिन्छ । जस्तो, तीज गीतको लहड छाउनुको मुख्य दुई कारण छन् । एक, देश÷विदेशका सांस्कृतिक कार्यक्रममा जान । अर्को, युट्युबमा भिडियो राखेर डलर झार्न । यसले स्तरीयभन्दा बिकाउ भाकाको बहाव बढाउने भइहाल्यो । सोही कारण तीज गीतलाई कमाई खाने भाँडो बनाइएको आरोप लाग्ने गर्छ । ‘चुम्म म्वाइँ खाउँला आमाको गालामा...’ की यी गायिका आक्रोश पोख्छिन्, “तीज गीतमा भावना जोडिएको हुन्न । हिट हुने र पैसा कमाउने एकोहोरो ध्याउन्न हुन्छ ।”

त्यसो त, पछिल्लो समय लोकगीतमा एकछत्र राज गरिरहेका गायक पशुपति शर्मा स्वयं तीज भाकाको लालित्य हराउँदै गएको स्वीकार्छन् । यस वर्ष १४ वटा तीज गीत गाएका पशुपति भन्छन्, “अलि भावुक र दिदीबहिनीका विरह पोखेका गीत बनाइयो भने चल्दै चल्दैन । त्यसैले सुन्दा रमाइलो लाग्ने अनि सन्देश पनि दिने गीत बनाउने गरेको छु । नत्र टिक्न मुस्किल छ ।”

आधुनिक नोट समातेर पारिवारिक र सामाजिक यथार्थलाई शब्दमा उन्न सिपालु छन् पशुपति । पशुपतितिर धेरै महिला कलाकारको ध्यान किन पनि तानिएको हो भने उनी शब्द लेख्ने, संगीत भर्ने र गाउने मात्र होइन, म्युजिक भिडियोमा अभिनय गर्छन् र आफैँ निर्देशन पनि गर्छन् । जसले गीतको बजेट कम हुन्छ । उनका अनुसार एउटा गीतको रेकर्डिङदेखि भिडियोसम्मको खर्च एक लाख रुपियाँको हाराहारी हुन्छ ।

तीजको याम (जेठ–भदौ) यति खर्च गर्दा उठ्ने सम्भावना अधिक हुँदोरहेछ किनभने लोक संगीतको माहौल यही बेला तात्छ रे ! फेरि लोक गायनमा रमाउन खोज्ने नवगायिकाहरू तीज भाकाबाटै आफ्नो करिअर सुरुवात गर्न चाहन्छन् । पुरुष कलाकारमा पनि ठट्यौली शैलीमा लोकभाका गाउँदा छिट्टै ‘मार्क’ हुने लालसा रहन्छ । हल्का मात्र हिट हुँदा पनि कार्यक्रमहरूमा गाउने अवसर मिल्छ । 

अरू बेला लोकगीत वृत्त सुस्ताउनु र यो बेला जुर्मुराउनुको मुख्य कारण यही हो तर दुःखद कुरा चाहिँ जति नवकलाकार तीज गीतबाट भित्रिन्छन्, तीमध्ये आधाजसो मात्र जसोतसो टिक्छन् । अधिकांश आउँछन्, जान्छन् । 

जस्तो: पोहोर खुमनले १९ गायिकाका लागि गीत कम्पोज गरेका थिए । तीमध्ये १० जना हराए । उनै खुमनले यसपटक ११ जना नयाँ महिला कलाकारका लागि गीत बनाएका छन् । उनी हाँस्दै सुनाउँछन्, “अब अर्को वर्ष उनीहरूमध्ये कति जना टिक्लान्, थाहा छैन ।” यही क्षेत्रमै भएका कति महिला कलाकार चाहिँ तीजको बेलामात्र झुल्कन्छन् । 

फेरि पशुपति र खुमनजस्ता चलेका कलाकारका लागि जेठ–असारमै गीत सार्वजनिक गर्नुको आफ्नै व्यावहारिक परिबन्द छ । किनभने उनीहरूलाई तीजको छेको त विदेशमा कार्यक्रम गर्नै भ्याइनभ्याई हुन्छ । खुमनकै कुरा गरौँ न, उनी अस्टे«लिया जाँदैछन् । त्यहाँ विभिन्न सहरमा तीज भाका घन्काएपछि दुबई पुग्नेछन् । त्यसपछि जापान र दिल्ली । सबै कार्यक्रम सकेर आउँदा तीज पनि सकिसक्छ । 

पशुपति पनि आगामी दुई महिनाका लागि ‘प्याक’ भइसके । तेजश रेग्मी, देवी घर्ती, पूर्णकला बीसी, शान्तिश्री परियार, सम्झना भण्डारीहरूको हालत पनि उही हो । त्यसैले विदेशका कार्यक्रमभन्दा अगाडि गीत/भिडियो ल्याउनैपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् । 

बाध्यता अनेक होलान्, तर बिकाउ र बेमौसमी तीज गीतको बाढी आएकोमा कुनै सन्देह रहेन । यो प्रवृत्तिले तीजमात्र होइन, समग्र लोकगीतकै छवि धुमिल्याउँदै लगेको छ । अझ गहिरिएर हेर्दा लोक गीत भनेकै तीज गीतमात्र हो भन्ने मानसिकताले जरा गाडेको छ, दर्शक-श्रोतामा मात्र होइन, कलाकारहरूमा पनि । सबै जना तीज कहिले आउला र गीत निकालौँला भनेर बसेका हुन्छन् । भाका जस्तो भए पनि तीजकै भाकाका रूपमा प्रचार गरिन्छ । पुरुष हाबी भएकाले शब्द छाडा र उत्ताउलो हुँदै गएको गायिका सुनीताको आरोप छ । भन्छिन्, “संख्यात्मक रूपमा धेरै भयो तर सुन्नलायक गीत छैनन् । वास्तविक तीज गीत ओझेलमा परेको छ । देखासिकीमा गाउने होड छ ।”

 

प्रकाशित: असार २५, २०७४