यसरी जित्यो एमालेले

- नेपाल संवाददाता

मधेसविरोधी छवि बोकेको नेकपा एमालेको स्थानीय निकाय निर्वाचनको पछिल्ला चरणमा देखिएको सफलताको अर्थ के हो ? एउटा सामान्य उत्तर अन्य मुख्य दलका तुलनामा उसको बलियो संगठन वा स्थानीय कार्यकर्ता परिचालनको क्षमता हो । 

सामान्यत: कम्युनिस्ट पार्टी मानिए तापनि खुला बजार अर्थतन्त्रतिर लहसिएकाले एमालेको कम्युनिस्ट छविलाई धेरैले गम्भीरतासाथ लिँदैनन् । समावेशी उम्मेदवारी दिने मामिलामा समेत एमालेले जनजाति र मधेसी बाहुल्य क्षेत्रमा उनीहरूलाई नै प्राथमिकता दियो । पाँच महिने भारतीय नाकाबन्दीका बेला अन्य दलहरू अनकनाएर बस्दा एमाले अध्यक्ष केपी ओलीले भारतविरुद्ध लिएको स्पष्ट अडानको छाप मतदातामा गहिरो परेको थियो । एमालेले ल्याएको सामाजिक सुरक्षाका कार्यक्रमले गर्दा पनि पुराना पुस्तामा उसको विशेष लोकप्रियता छ । प्रदेश नं १ र ५ मा राष्ट्रिय जनता पार्टी (राजपा)ले चुनाव बहिष्कार गर्दै भाँड्ने बताउँदा उसका थुप्रै उम्मेदवार तथा कार्यकर्ता अन्य दलमा प्रवेश गरे । पछि राजपा स्वतन्त्र हैसियतमा चुनावमा जान त बाध्य भयो तर मधेसी जनता भने द्विविधामा परे । आम मधेसी राजपाले उठाएको सीमांकनका मुद्दाभन्दा काठमाडौँबाट पाखा पारिएको कुरा ज्यादा गर्छन् । भारतीय अनलाइन द वायरमा विश्वास बरालले स्थानीय निर्वाचनको समीक्षा गरेका छन्, ‘दोस्रो चरणमा देखिएको राम्रो सहभागिताले उनीहरु पनि कुनै अतिवादी समाधानभन्दा प्रजातान्त्रिक प्रक्रियाप्रति नै दृढ छन् ।’ 

प्रकाशित: असार २५, २०७४