गल्फ खेलमा आनन्द कहाँनेर आउँछ ?

- मनबहादुर बस्नेत

सबै कुरा ठीकठाक भइदिएको भए प्रतिमा शेर्पा, १८, यतिखेर नेपालकै पहिलो प्रोफेसनल गल्फ खेलाडी भइसक्थिन् । किनभने उनले पाँच वर्षअघि नै २१ वर्षमुनिकाको सबैभन्दा ठूलो टुर्नामेन्ट फाल्डो सिरिज जितिसकेकी थिइन् । विश्वभरका फाल्डो सिरिज च्याम्पियनहरुको प्रतिस्पर्धा हुने गर्छ । तर विदेश जाने कागजात नहुँदा उनी विश्वव्यापी स्पर्धामा उत्रन सकिनन् । बुवाको नागरिकता हराएर नयाँ नबनेपछि प्रतिमाको समेत कागजात बनेन । फाल्डो सिरिजको विश्वव्यापी विजेताहरुसँग खेल्न नपाए पनि उनी यति बेला भने अमेरिकाको क्यालिफोर्नियास्थित भेन्टुराको गल्फ एकेडेमी अफ ओलिभिया लिङ्स गल्फ कोर्समा प्रशिक्षार्थीका रुपमा छानिएकी छिन् । यसै सन्दर्भमा प्रतिमासँगको कुराकानी :

गल्फ खेलतिर कसरी आकर्षित हुनुभयो ? 
मेरा बा २४ वर्षदेखि रोयल नेपाल गल्फ क्लबमा काम गर्नुहुन्छ । आमाले भने तीन वर्षअघि छोड्नुभयो । हामी गल्फ क्लबभित्रै बस्दै आएकाले म यो खेल खेलेको देखिरहन्थेँ । अनि हामी दाउराले बल हान्थ्यौँ । एकदिन एक व्यक्तिले बोलाएर भोलिदेखि प्राक्टिस गर्न आउनू भने । उनी नेपाल गल्फ एसोसिएसनका अध्यक्ष तासी घले रहेछन् । यो सन् २०१० तिरको कुरा हो । 

गल्फ त धनाढ्यहरूको खेल भनिन्छ । तपाईं सामान्य परिवारको व्यक्ति, कसरी जुटाउनुभयो खर्च ? 
म अभ्यासमा गएर राम्रो खेल्न थालेँ । त्यसपछि मलाई उहाँहरूले सबैकुरा ‘फ्री’ गरिदिनुभयो । अहिलेसम्म पनि मैले खर्च गर्नुपरेको छैन । आफ्नै खर्चले त कहाँ खेल्न सक्नु ! 

गल्फ खेलेरै जीवन निर्वाह हुन्छ त ? 
प्रोफेसनल बनियो भने हुन्छ । प्रोफेसनल टुर्नामेन्टमा नगद पुरस्कारहरू हुने भएकाले खासै गाह्रो नहोला । 

तपाईंलाई कुनै दिन गल्फ यति राम्रो खेल्छु जस्तो लागेको थियो ? 
थिएन । गल्फ खेल्छु भन्ने सोचेकै थिइनँ । अकस्मात् मौका आएर खेल्न थालियो । रमाइलोका लागि हामी दाउराले स्विङ गथ्र्यौं । त्यति हो । 

गल्फ कोर्टमै हुर्किनुभयो । सानैदेखि गल्फर बन्छु भन्ने लाग्नुपर्ने नि ? 
सानोमा त्यस्तो लाग्दैन थियो । राम्रो पढेर जागिर खान्छु जस्तो लाग्थ्यो । मेरो एकाउन्ट विषय राम्रो थियो । गल्फ खेल्न आउने दाइहरूलाई चिनेको थिएँ । राम्रो पढेपछि उहाँहरूले जागिर खोजिदिनुहुन्छ जस्तो चाहिँ लाग्थ्यो । सायद चार्टर एकाउन्टेन्ट पो बन्थें कि । बाआमाले पनि खेलेर केही हुँदैन भनेर पढ्न जोड गर्नुहुन्थ्यो । 

अमेरिकामा तालिम लिएर फर्केपछि कस्तो उपलब्धि होला ?
आफ्नो कमजोरी के रहेछ भन्ने थाहा पाउनेछु जस्तो लाग्छ । तालिममा नयाँ कुरा त पक्कै सिक्नेछु । आफ्नो गल्ती सुधारको मौका समेत पाउनेछु जस्तो लाग्छ । 

यहाँ पनि अभ्यास गर्नुहुन्छ । कमजोरी त थाहै होला नि ? 
जति थाहा छ, त्योभन्दा बढी हुनसक्छ । मलाई रूखहरू छलेर हान्नुपर्दा त्यत्ति धेरै आउँदैन । यो कुरा त्यहाँ सिकेर राम्रो गर्नेछु ।  अर्को कुरा यहाँ ‘लङ’, ‘सर्ट’ जस्तोसुकै हान्नुपरे पनि एउटै गुरु हो । मैले सुनेसम्म अमेरिकामा फरक फरक गुरुहरुले सिकाउनुहुन्छ । त्यसबाट मेरो कमजोरी बढी पत्ता लाग्छ होला । 

अब तपाईंको लक्ष्य चाहिँ के हुन्छ ? 
नेपालको पहिलो महिला प्रोफेसनल गल्फर बनेर कीर्तिमान राख्ने । अहिलेसम्म कोही पनि महिला प्रोफेसनल छैनन् । त्यो ठाउँ म लिन चाहन्छु । अबको एक वर्षभित्र मैले यो लक्ष्य पूरा गर्ने आशा राखेकी छु । त्यसपछि पुरुष गल्फरहरूसँग खेलेर टुर्नामेन्ट जित्न चाहन्छु । 

कहिलेकाहीँ यो खेल छोडिदिउँ जस्तो लागेन ? 
एकपटक भयो । सन् २०१२ र २०१४ मा म फाल्डो टुर्नामेन्ट जितेर पनि बाहिर जान पाइनँ । पहिलोपटक जान नपाउँदा त फेरि जित्छु अनि जान्छु भन्ने लागेर केही जस्तो लागेन । तर दोस्रो पटकसमेत जान नपाएपछि चाहिँ खेल्नै बन्द गरिदिएँ । एक महिना अभ्यासमा गइनँ । पछि गुरु, अन्य दाइहरूले सम्झाएपछि फेरि खेल्न थालेँ । 

वास्तवमा गल्फ कस्तो खेल रहेछ ? 
यो बल मात्र हान्ने खेल होइन । मस्तिष्कलाई एकत्रित गरिरहनुपर्छ । ट्रिकहरू लगाइराख्नुपर्छ । 

गल्फ खेलमा आनन्द कहाँनेर आउँछ ? 
यो आ–आफूलाई लाग्ने कुरा हो । मलाई चाहिँ जति माथि र टाढा बल स्विङ गर्‍यो उति मज्जा हुन्छ ।

प्रकाशित: असार २२, २०७४