नोटबुक

- सीताराम बराल

सलाम पुजन ! 
राणा शासनविरुद्ध क्रान्तिमा मुक्ति सेनाका रूपमा भाग लिएका र नेपाल प्रहरीको नेतृत्व गर्ने अवसरसमेत पाएका पूर्वमहानिरीक्षक खड्गजीत बरालसँग क्रान्तिदेखि प्रहरीको उच्च नेतृत्वमा रहँदासम्मको अनुभव सुन्न मन लाग्यो । फोन गरेँ । तर ९० वर्षको हाराहारीमा पुग्न लागेका बराल कहिले सन्चो छैन भन्थे, कहिले फुर्सद छैन भनेर टारिदिन्थे । अनेक बहाना निकालेर टार्न थालेपछि लाग्यो, ‘बूढाले नभेट्ने रहेछन्, भइगो अब प्रयास गर्दिनँ ।’    

केही समयपछि बराल फेसबुकमा देखिन थाले । कहिले प्रहरी सेवामा रहँदाका तस्बिर ‘अपलोड’ गरिएका हुन्थे, कहिले बर्मामा राजदूत छँदाका । फेसबुकमा देखिन थालेपछि भेट्ने र पुराना घटना सोध्ने पुरानो इच्छा फेरि जागृत भयो । उनका तस्बिरमा ‘लाइक’ ठोक्न थालेँ । मेरा ‘लाइक’ नियोजित थिए । खासमा यसो गरेर म उनलाई खुसी बनाउन चाहन्थेँ, ताकि भेटघाटको प्रयास गर्दा ‘नाइँ’ नभनून् ।    

एक दिन भेट्न चाहेको सन्देश लेखेँ, उनैको फेसबुकमा । तत्काल ‘ भोलि बिहान ९ बजे भेट्न आउनू’ भन्ने उत्तर आयो । तोकिएको समयमै पुगेँ । बराल मलाई भेट्न आइपुगे । मैले चाहेको कुराकानी नगर्लान् भन्ने डर थियो । त्यसैले, फेसबुककै प्रसंग सुरु गरेँ । खासमा उनको नामको फेसबुक नाति पुजन बरालले चलाउँदा रहेछन् । हजुरबुबासँग भेटघाटको समय पनि उनैले मिलाइदिएका रहेछन् । मेरो आगमनबारे बराल अनभिज्ञ रहेछन् । 

नाति पुजन साँच्चिकै अनौठो स्वभावका रहेछन् । पुजन पूर्वप्रहरी महानिरीक्षकका नाति मात्र होइनन्, चिकित्सक बाबुआमाका छोरा पनि हुन् । नपुग्दो केही छैन, पढेलेखेका पनि छन् । तर पनि स्थानीय तहको निर्वाचनका सिलसिलामा म्यादी प्रहरीमा भर्ना भएछन् । 

स्थानीय निकाय निर्वाचनको तयारीका सिलसिलामा जब पुजन पनि देश सेवाका लागि भन्दै म्यादी प्रहरीमा भर्ना भएको समाचार पढेँ, उनीप्रति मेरो श्रद्धा झनै बढेर आयो । पुजन ! तिमीसँग भेट त भएको छैन । तर हजुरबुबासँग भेट गराइदिएकामा धन्यवाद । म्यादी प्रहरीमा भर्ती भएकामा सलाम ! 

वर्गभेदको यो स्वरूप

न्यूरोडमा हिँड्दै थिएँ । अकस्मात् पिठ्यूँमा बोकिरहेको झोलाको एकातिरको फित्ता चुँडियो । नचुडियोस् पनि किन ! झोलामा ल्यापटप थियो, पानी परिहाल्छ कि भनेर रेनकोट हालेको थिएँ । डायरी, क्यामरा त छँदै थिए । त्यस दिन किनेका दुई–तीनवटा किताब पनि त्यही झोलाभित्रै हालेको थिएँ । धन्न, नचुँडिएको अर्काे फित्ताले झोला धान्यो र त्यसमा रहेका ल्यापटप लगायतका सामान जोगिए । 

चुँडिएको फित्ता अर्काे जोर्नीमा नजोड्ने हो भने बोकेर हिँड्न सजिलो थिएन । पीपलबोटमा ‘सु–मेकर्स’ (जुत्ता सिउने/पालिस लगाउने) सम्म पुगेर चुँडिएको फित्ता जोड्ने उपाय निकालेँ । नचुँडिएको फित्ता हातले समाउँदै पीपलबोट पुगेँ । त्यहाँ चार जना थिए, सबै फुर्सदिला । पहिलोसँग चुँडिएको फित्ता जोडिदिन अनुरोध गरेँ । खाली नै भए पनि उनले आफूलाई फुर्सद नभएको बताए । 

दोस्रोसँग अनुरोध गरेँ । उनी त झन् बोल्दै बोलेनन् । उल्टै आँखा तरे । उनको ‘ बडिल्याङ्ग्वेज’बाटै बुझेँ, उनी फित्ता जोडिदिन तयार छैनन् । तेस्रोले त हप्काए नै, ‘हामी जुत्ताको मात्र काम गर्छाैं भन्ने थाहा छैन ?’ हप्काइसँगै उनले सुझाव पनि दिए, ‘सुन्धारातिर जानु, त्यहाँ सिलाइदिन्छ ।’

मसँग विकल्प थिएन । झोला पेटमा च्यापेर सुन्धारा पुगेँ । नेपाल टेलिकम आडैको सडक छेउमा एकजना भेटिए । आफ्नो समस्या बताएँ । उनी तुरुन्त झोलाको फित्ता जोडिदिन तयार भए । अघिदेखि मर्मत गर्दै गरेको जुत्ता अर्काेतिर पाखा लगाए । र, मेरो चुँडिएको फित्ता जोड्न उनलाई एक मिनेट पनि लागेन । उनले जति पारिश्रमिक मागेका थिए, २० रुपियाँ थपेर दिएँ । 

न्यूरोडका सु–मेकर्सले गरेको व्यवहारले अझै औडाह छुटिरहेको थियो । त्यसबारे सुन्धाराका सु–मेकर्ससँग बेलिविस्तार लगाएँ । गाडी चढ्ने र बाटोमा हिँडने ग्राहकबीचको विभेद थियो, त्यो । अहिले पनि यो प्रश्नले घोचिरहन्छ, समाजमा व्याप्त यस्तो वर्गभेद कसरी र केले निर्मूल होला ? 

प्रकाशित: असार २२, २०७४