[स्मरण] डीएसपी हुँदा एसएसपी पक्राउ गर्नुपर्दा...

- खड्गजीत बराल

प्रहरी इन्स्पेक्टर भएको दुई वर्ष पनि बित्न पाएको थिएन, डीएसपीमा बढुवा भएँ । बढुवापछिको पहिलो पोस्टिङ भैरहवा भयो । मन त्यसै रोमाञ्चित भएर आयो । किन किन भैरहवाको नाम लिनासाथ मेरो मनले अपनत्व महसुस गर्छ । त्यहाँका जनता र मुलुकका अन्य भूभागका जनता मेरा लागि समान हुन् । तर, मनको एउटा कुनामा कतै त्यो ठाउँ र त्यहाँका जनतासँग विगतमा जोडिएको सम्बन्ध र अपनत्व अगाडि उभिन आइपुग्छ । मुक्ति सेनामा आबद्ध भएर त्यहाँका जनताका सुखदु:ख, पीरमर्कामा एक भएर लडेको विगत मेरा सामु उपस्थित हुन्छ र मलाई त्यस समयको गौरव र गर्व महसुस गराउँछ । राज्यको वैधानिक निकायको जिम्मेवारी सम्हालेर त्यहाँ पुग्दाको त्यो क्षण पनि मेरा लागि उत्तिकै रोमाञ्चित थियो । दुवै घटनालाई मैले उही रूपमा महसुस गरिरहेको थिएँ ।

सरुवा भएर त्यहाँ पुगेपछिको झन्डै दुई वर्ष कति छिटो बित्यो, पत्तै पाइनँ । जनताका माझमा जाने, उनीहरूको पीरमर्का सुन्ने र आफ्नो बलबुताले भ्याएसम्म उनीहरूका समस्या समाधानार्थ पहल गर्दैमा त्यो समय बितेको थियो । मर्चवार आसपासको क्षेत्र मात्र होइन, सिंगो भैरहवामा चोर, डाँका र सीमा क्षेत्रमा बसेर नेपाल र भारत दुवैतिर कोहराम मच्चाइरहेका समूहहरूका कारण त्यो क्षेत्र ज्यादै आतंकित थियो । जनता त्यस किसिमको आतंकसँग दिनहुँजसो लडिरहेका थिए । उनीहरूको त्यो जुझारूपनमा यसो हात थामिदिँदा मात्र पनि उनीहरू राहतको सास फेर्थे । 

समय यसरी नै बितिरहेको थियो । तर, तत्कालीन राजा महेन्द्रले आममानिस त के उच्च राजनीतिक नेतृत्वले समेत अनुमान गर्न नसकेको ‘कू’को कदम चाले र मुलुकमा एक्कासि राजाको प्रत्यक्ष शासन उद्घोष गरे । १ पुस ०१७ का दिन राजाले उक्त कदम चाल्दा म भने मर्चवार क्षेत्रका तिनै जनताको साथमा थिएँ र उनीहरूका सुखदु:खका वेदना सुनिरहेको थिएँ । सोही दिन अपराह्नतिर त्यस क्षेत्रमा मिल सञ्चालन गरिरहेका स्थानीय एक व्यक्ति हस्याङफस्याङ गर्दै म छेउ आए र एकै सासमा भने, “राजा महेन्द्रले राजधानीमा ठूलै कदम चाले रे, हामी सबैलाई अब पक्राउ गर्ने रे ! बजारतिर यस्तै हल्ला छ । त्यसैकारण म त मिल बन्द गरेर घरतिर लागेँ ।” मैले उनलाई सम्झाएँ, “पक्राउ गर्ने मानिसलाई नै यस्तो कुरा गरेपछि तिमी बाँकी रहौला त ? तिमीलाई यदि पक्राउ नै गर्नुपर्ने अवस्था आयो भने त्यो कामको नेतृत्व मेरै कमान्डमा हुन्छ ।” मेरा कुरा सुनिसकेपछि उनी फिस्स हाँसे, “तपाईंजस्तो हामीसँग यति नजिक र सधैँ हाम्रा कुरा सुनेर सहयोग गर्ने मान्छेले हामीलाई कहाँ पक्राउ गर्नुहुन्छ ? हामीले त त्यस्तो सोच्न पनि सक्दैनौँ ।” यति भनी नसक्दै उनले आफ्नो बाटो तताइसकेका थिए ।

उनका कुराले मलाई ज्यादै गम्भीर बनायो । जनताले प्रहरीलाई आफ्नो ठान्नु त्यतिबेला ठूलै कुरा मानिथ्यो । आखिर के नै गर्नुपर्दो रहेछ र जनताको प्रहरी बन्न ? जनतासँग मिलेर काम गर्दा यो सबै सम्भव हुँदो रहेछ । एकछिन भावुक पनि बनेँ । जनतासँग यस्तो सम्बन्ध रहेका कारण कुनै कारणवश उनीहरूलाई पक्राउ गर्नुपर्ने अवस्था आयो भने के गर्ने होला भन्ने मनमा कुरा खेलाउँदै गाउँलेको एउटा घोडा टिपेर मर्चवारबाट भैरहवा फर्किएँ र सरासर बडाहाकिमको कार्यकक्षमा उक्लिएँ ।

बडाहाकिम अनुहारमा चिटचिट पसिना निकाल्दै हातमा एउटा कागज समातेर आफ्नो कार्यकक्षमा ओहोरदोहोर गरिरहेका थिए । मैले आफू आएको जानकारी गराउनासाथ उनले ‘माथिको आदेश’ भन्दै हड्बडाउँदै र दुवै हात कमाउँदै (आवा) आकाशवाणीका रूपमा प्राप्त गरेको कागजको एउटा टुक्रा मतिर बढाए । तलदेखि माथिसम्म पढेँ । धेरै कुरा केही थिएन । गृह मन्त्रालयबाट जारी गरिएको गोप्य निर्देशन रहेछ । जसमा लेखिएको थियो, ‘विशिष्ट राजनीतिक परिस्थिति सिर्जना हुन पुगेकाले उल्लिखित ६ व्यक्तिलाई तुरुन्त पक्राउ गरी हिरासतमा लिनू र यस कदमविरुद्ध कुनै व्यक्ति वा समूहद्वारा राजनीतिक क्रियाकलाप प्रदर्शन गर्न खोजे उनीहरूलाई पनि यसै आदेशका आधारमा पक्राउ गरी माथि जानकारी गराउनू ।’

पाँच जना व्यक्तिको नाममा मलाई त्यस्तो अप्ठ्यारो लागेन । तर, एक जना व्यक्तिको नामले मलाई भित्रैदेखि झकझक्यायो । मैले ती नाम दोहोर्‍याएर–तेहेर्‍याएर पढेँ । एकपटक झस्किएँ पनि, कतै आफ्नै नाम त छैन भनेर । मेरो नाम त थिएन तर मभन्दा माथिल्लो तहका प्रहरी अफिसर अर्थात् एसएसपीको नाम त्यो पक्राउ गर्नू भन्ने पुर्जामा चौथो नम्बरमा थियो । उनी नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायका नातेदार थिए ।

मैले बडाहाकिमसँग सल्लाह गरेँ । यसलाई ‘ कम्प्लिकेटेड’ नबनाई समाधानतर्फ कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गर्‍यौँ । बडाहाकिमले ‘के गर्दा उपयुक्त हुन्छ, त्यही किसिमको कदम चाल्नूस् तर पक्राउ गर्न ढिला नगर्नूस् । पक्राउ गरेको जानकारी तुरुन्तै माथि गराउनुपर्छ’ भने । 

आफूभन्दा माथिल्लो तहको अफिसरलाई त्यत्तिकै पक्राउ गर्ने कुरा भएन । अझ प्रहरी प्रशासनमा त्यो कुरा झन् कम्प्लिकेटेड थियो । मैले सुझावस्वरूप बडाहाकिमलाई भनेँ, “उहाँ (एसएसपी)लाई पक्राउ गर्नुभन्दा माथिबाट बोलावट आएको छ । तपाईं तुरुन्त केन्द्रमा सम्पर्क गर्न भोलि नै काठमाडौँ जानूस् भनेर तपाईंले निर्देशन दिँदा उपयुक्त हुन्छ कि !”
 
सल्लाह बमोजिम नै बडाहाकिमले कदम चाले र एसएसपी केन्द्रतर्फ लागे । उनी उतै गिरफ्तारीमा परे । आफूभन्दा सिनियर अफिसरलाई पक्राउ गर्नुपर्ने निर्देशन सफलतापूर्वक पूरा गर्न सकेकामा मलाई पनि सन्तोष मिल्यो ।

प्रकाशित: असार २२, २०७४