[अनुभूति] मर्नु र बाँच्नु

- खगेन्द्र संग्रौला

जन्म मानिसको वशभन्दा बाहिर छ र मृत्यु छ मानिसको नियन्त्रणभन्दा धेरै पर । त्यसैले त जन्म र मृत्यु दुवै मानिसको राजीखुसीको रोजाइमा पर्दैनन् । केवल जन्म र मृत्युबीचको जीवनको अवधिका कतिपय घटना–प्रकरणहरू मानिसको स्वेच्छिक रोजाइमा पर्छन् । यो जटिल जीवनका बाँकी कुरा मानिसको इच्छाभन्दा कता हो कता बलशाली परिस्थितिद्वारा निर्णित हुन्छन् । र, मानिस आफूलाई हातलाग्ने नियतिको बुताभन्दा बाहिरको अंशलाई मुस्कुराउँदै वा सुस्केरा हाल्दै स्वीकार गर्न विवश हुन्छ ।

जन्म र मृत्यु संयोगका सदैव अभिन्न जुम्ल्याहा सन्तान हुन् । यी हरपल, हरघडी सँगै रहन्छन् । दिनमा होस् वा रातमा, जाग्राममा होस् वा निन्द्रामा, विपनामा होस् वा सपनामा, चैनमा होस् वा बेचैनीमा हर्दम सँगैसँगै, हर्दम एक तालमा । जीवन दृष्टिगोचर हुन्छ । मृत्यु अदृश्य भेषमा, लुब्ध सिकारी मुद्रामा, जीवनको हाराहारी चुपचाप हिँडिरहन्छ । सजग जीवन आफ्नो आयु लम्ब्याउन नित्य मृत्युलाई छल्न खोजिरहन्छ, धूर्त मृत्यु नित्य जीवनमाथि जाइलाग्ने दाउ खोजिरहन्छ । 

मान्यवर, कन्दै यो भूमिका बाँध्नुको कारण छ । अलि हप्ताअघि मृत्युसँग आम्ने–साम्ने झ्याप्पै जम्काभेट भयो । जम्काभेट हुनु के थियो, यी दुई परस्परविरोधी ब्रोबीच ‘कि तँ छैनस् कि म छैन’को इखाइखमा घम्साघम्सी चल्यो । संयोगवश भनूँ, एकपटकलाई मृत्यु हार्‍यो र जीवनले जित्यो । लाग्छ, यो जीत तदर्थ हो र यो हार पनि तदर्थै हो । तदर्थको निहितार्थ क्षणभंगुर हो ।

वैशाख २६, २०७३ । पोहोर रक्तरञ्जित संविधान जारी हुँदा दीपावलीको धुमधामसाथ हर्कबढाइँ गरिएको मुलुकको पहाडी भूभागमा रैथाने तहको पहिलो किस्ताको खण्डे चुनाव हुनुभन्दा पाँच दिनअघि । त्यो साँझ एक युवा विद्वान् मित्रसँग आफ्नै गृहनगरी चाबेलस्थित मित्र मोहन बस्नेतको ‘नुम्बुर सेकुवा कर्नर’मा थिएँ म । अलिकता आशा र अलि बढी भय भएर दीर्घ प्रतीक्षित चुनाव हाम्रो सामुन्ने खडा भयो । अब के हुने हो ? न्याय, मेल, शान्ति र सहअस्तित्व कि उही अन्याय, द्वन्द्व, अशान्ति र विग्रह ? उत्सुकतायुक्त चिन्तासाथ चुनावको चर्चा गरियो । चुनावपछिको सम्भावित यथार्थको चित्र उति साह्रो प्रीतिकर गोचर भएन । र, चिन्ता शमन गर्ने कर्मकाण्डीय बहानामा अलिकता मदिरा पान गर्‍यौँ र लाग्यौँ हामी दुई भाइ आ–आफ्ना टाउका लुकाउने निजी गुँडतिर ।

म घर आएँ । भात खाएँ । अनि ओछ्यानमा ढल्किएर अलिबेर गजल सुनेँ । सुनाइको क्रम गुलाम अलीको मेहफील मे बारबार किसी पर नजर गई बाट सुरु भई फैज अजमद फैजको वह दिन जिसका वादा है, हम भी देखेँगेमा पुगेर तुरियो । त्यसपछि बीबीसी नेपाली सुनेँ । त्यसपछि एलडस हक्सलेको अन द ह्युमन माइन्ड नामक गहन र रोचक लेक्चरमा ध्यानस्थ भएँ । र, दस बजे म घुप्लुक्क सुतेँ । सुत्दा म ठीकठाक थिएँ । मृत्युको आभास वा निजको आगमनको लाक्षणिक इसारा मनको छेउकुनामा कहीँ कतै कत्ति थिएन ।

सवा एक बजे म तर्सेर ब्युँझिएँ । जीउभरि अनौठो सनसनीका लहर सञ्चार भएको मैले छनक पाएँ । मेरो सास बढेको थियो र छाती हिटलरी ग्यास च्याम्बरको जस्तो निसासले त्यसैत्यसै अटेसमटेस भएको थियो । के के अनिष्टको पूर्वाभासले मलाई कसोकसो अत्यास लागेर आयो । सास र निसास दुवै बढ्दै गए । के गरूँ, कसो गरूँको हुटहुटीले मलाई औडाहा भयो । लक्षण ठीक छैन, बूढीमाउलाई बोलाऊँ कि ? मित्रहरूलाई खबर गरूँ कि ? अहँ, मलाई मनले मन्जुरी दिएन । भोजन, मनोरञ्जन र नवीन उत्तेजनाका नाउँमा जीवनभर शरीरका निर्दोष अंग–अवयवहरूमाथि अनेक यन्त्रणा थोपर्ने म, अहिले पीडित शरीरले प्रतिकार गर्दा दिनभरिको घरधन्दाले थकित बूढीमाउको निद्रा म किन खल्बल्याउँm ? अनि आफ्ना कृत्यहरूले निम्त्याएको चिन्ता मित्रहरूमाथि म किन थोपरूँ ? चकमन्न आधारातको बेला छ । समस्त लोक मस्त निद्रामा निमग्न छ । यो बेटाइममा अस्पताल जान वाहन कहाँ पाउनु ? उता डाक्टरका तीक्ष्ण स्वास्थ्यचेतयुक्त चनाखो नाकमा सायद मेरो सास ठुस्स गन्हाउला । र, सायद व्यंग्य एवं कटाक्षमिश्रित लबजमा डाक्टरले भन्ला— के चाल हो कुन्साङ काका ? त्यस्तो लाजमर्नुमा मैले के भन्नु ? मेरो चित्तको चञ्चल तलाउमा नैतिक द्वन्द्वको उत्पाती चक्रवात् उठ्यो । 

ह्यामलेटी दुविधा, अन्यमनस्कता र दोमनबीच समय सुस्त, ज्यादै सुस्त गतिमा घस्रिँदो छ । मेरो सास र निसासको चाल झन्झन् बढ्दो छ । सकी नसकी उठेर रक्तचाप जाँचिहेरेँ । माथि १५५ रहेछ, तल ९५ । रक्तचापलाई लगाम लगाउने मनसुवाले एक चक्की एमलोड खाएँ । सकसको त्यो घडीमा चित्तको पन्तुरोमा विचारका नानाओली तरंग उठे । जीवनभक्षक मृत्युलाई मनपर्ने जीवनको अवाक्, अचल र चीसो अवस्था हो । सुलसुले मृत्युको यो रुचि र रोजाइविरुद्ध म केही न केही जमर्को किन नगरूँ ? बस्, म गर्नथालेँ । खुट्टा तन्काएँ, खुट्टा खुम्च्याएँ । यो कोल्टो फेरेँ, ऊ कोल्टो फेरेँ । होचो सिरानी हालेँ, अग्लो सिरानी हालेँ । लामो सास फेरेँ, छोटो सास फेरेँ । उठेर बसेँ, लमतन्न सुतेँ । र, यो क्रम नित्य–निरन्तर दोहोर्‍याइरहेँ । यो मृत्युलाई अल्मल्याउने, छक्याउने, थकाउने र खाली हात फर्काउने जुक्ति हो कि होइन, मलाई थाहा छैन । तैपनि हातखुट्टा छाडेर आत्मसमर्पण गर्नुभन्दा प्रतिकारको मोर्चामा डट्नु उत्तम हो भन्ने ठानेर म यो अभिनयमा कटिबद्ध भएँ ।

नेत्रप्रिय सोलार बत्ती बलिरहेको छ । मेरा आँखाको सोझो अगाडि नाति आकाशको तस्बिरनेर टेबुलमा ढ्याके घडी छ । मृत्युविरुद्धका चेष्टाहरू राउन्डको राउन्ड दोहोर्‍याएर थकित भएपछि लाग्छ— एक घन्टा त पक्कै बित्यो होला । अतीव आशालु नजरले घडी हेर्छु, पाँच मिनेट बितेको हुँदैन । अहो † उज्यालो हुन अझै अढाइ घन्टा बाँकी छ । यो अढाइ घन्टा मेरा लागि सय वर्ष हुने भो † कष्टको यो आहालमा पौडी खेल्दै कसरी बिताउनु मैले यी सय वर्ष ? लामो, आजीत र थकित सुस्केरा हाल्दै कर्मकाण्डतुल्य प्रतिरोधकारी राउन्ड म पुन: सुरु गर्छु ।

बल्लतल्ल पौने तीन बज्यो । मुखमा दम र छातीमा निसास त यसै पनि छँदै थियो, अझ त्यसमाथि मेरो जीउ तातेर आगाको कोइलोजस्तो भयो । यो भयकारी नाटकको अर्को पर्दा उठ्यो । अरे, मलाई फेरि के भएको हो यो ? त्यो अग्निमय तापको अनुभूति कति शारीरिक हो, कति मनोवैज्ञानिक— मलाई थाहा छैन । तर मलाई अनुभूति भएको भने खसोखास साँचो हो । अब त बूढीमाउलाई बोलाउँm कि ? जेबी फोनबाट साथीहरूलाई गुहारूँ कि ? अहँ, फेरि पनि मेरो हठी मन मानेन । विचित्रको अपराधबोधी भावनाले फेरि पनि मलाई छेक्यो । गर्नु नगर्नु नकाम गरेर शरीरका निर्दोष एवं निष्पाप अंग–अवयवहरूलाई रुग्ण तुल्याउने म, ती अंग–अवयवहरूले प्रतिक्रिया गर्दा म किन कसैलाई दु:ख दिऊँ ? मैले किञ्चित् जान्नेसुन्ने भएदेखि जिन्दगीभरि भनेको छु— जहाँ अन्याय छ, छिटो वा ढिलो त्यहाँ विद्रोह नभई छाड्दैन । सके मेरो स्वर मेरा चरम उत्पीडित अंग–अवयवहरूले सुने हुनन् । र, सके मेरो यही आह्वानको कटाक्षकारी प्रत्युत्तरमा तिनले ममाथि न्यायोचित प्रतिक्रिया जनाएका हुनन् ।

दम उस्तै छ, छातीको निसास यथावत छ । बल्लतल्ल सवा तीन बज्यो । र, मेरो जीवनको रहस्यमय नाटकको अझ अर्को दृश्य खुल्यो । जीउबाट अग्निमय ताप शनै:शनै: अन्तध्र्यान भयो र खाली ठाउँमा अकल्पनीय जाडो सट्टाभर्ना भयो । जीउ लुगलुग काम्यो । ओठ स्युस्यु भए । दाँत कटकटाए । अहो, म त जमेर बरफै पो हुने हुँ कि † ओछ्यानमा दुई थान सिरक थिए, दुई थान कम्मल । मैले एकमाथि अर्को खापेर चारै थान ओडेँ । मलाई सुमेरु पर्वतले थिचेजस्तो लाग्यो । तैपनि त्यत्रो चापमुनि कताकता जाडो भइरह्यो । मैले मुख छोपेर अंग–सञ्चालनको प्रतिरोधी राउन्ड जारी राखेँ । 

घडी हेरेँ । साढे तीन बजेछ । उज्यालो हुन यतिको समय बाँकी छ ! लड्दा–लड्दा जीउ थाकेर छिनेको हल्लुँडसरह भइसकेको छ । मर्छु क्यार † मेरो अन्तरआत्मामा अत्यासको भावको ऐँठनकारी धूवाँ मडारियो । अब अस्पताल जान असम्भव छ । यी च–चार थान ओढ्ने ओढेर अस्पताल जानु कसरी ? कि त क्यारियरवाल गाडी खोजेर ओछ्यान गाडीको छतमा उकाल्नु पर्‍यो । कि कुल्ली लगाएर बिरामीसहितको ओछ्यान बोकाउनु पर्‍यो । नत्र जाडाले...!

साढे चार बज्यो । धपेटीले म अब हलचल गर्न नसक्ने भएँ । अब भने मैले हातखुट्टा छाडेँ । आ...जेसुकै होस् । जत्ति नै बाँचे पनि आखिर एक दिन मर्ने जुनी हो । जीवनमा जे गर्नु, लाग्छ, लगभग गरिसकेँ, जीवनमा जे भन्नु छ लगभग भनिसकेँ । अब..., अब...। यहाँनेर मेरा सबै प्रतिरोधकारी चेष्टाहरू शिथिल र निरुपाय भए । र, निस्तेज, अचल र सितांग भएर म लमतन्न सुतेँ । म भुसुक्कै निदाएछु । ब्युँझिँदा पौने पाँच बजेको थियो । जाडो मत्थर भएछ । दम र निसास घटेछ । शिकार नि:चेष्ट, निस्तेज र अचल भएको देखेर आखेटकारी मृत्युलाई लाग्यो होला— यो हरिप मर्‍यो । त्यसैले त मृत्युले सुइत्त आफ्नो बाटो तताएछ । 

म उठेँ । मैले हत्तपत्त खापका खाप लुगा लगाएँ । र एकदमै खुल्दुलीमय आँखाले ऐना हेरेँ । अनुहार धुस्रोफुस्रो र पहेँलो भएछ । ऐनामा ज्युँदो मानिसको जीवन्तपन रत्तिभर गोचर भएन । जीवन र मरणबीचको मोर्चामा सबै तागत निख्रिने गरी घम्साघम्सी परेछ भनी गम खाँदै म भित्रभित्रै फिस्स हाँसे ।

बूढीमाउलाई जो भएको सत्यसाँचो ब्यहोरा सुनाएँ । उनी हतप्रभ भइन् । बेलैमा किन नभन्या त ? प्रत्युत्तरमा मैले मौनधारण गरेँ ।

गंगालाल अस्पताल पुग्दा सवा पाँच बजेको थियो । म यति थकित थिएँ, मलाई केही भन्न र केही सुन्न मनै थिएन । मलाई त केवल गाढा निद्रामा निमग्न हुन मन थियो । तर अस्पतालको जातै केरकारे । मेरो किस्ताबन्दी केरकार सुरु भयो । युवा डाक्टरहरूले मेरो प्रेसर जाँचे, तापक्रम छामे, अक्सिजन लेबल हेरे । अक्सिजन लेबल गुल्टिएर चौरासीमा झरेछ । लेबल उकास्न मलाई अलिबेर अक्सिजन खिलाए । मलाई लागेको थियो— यो पक्का पनि हृदयाघात हो । तर अनेक यन्त्रहरूले जाँचबुझ गरेपछि कुरो अर्कै निक्लियो । प्रेमिल डाक्टर सतीशले भने— समस्या मुटुमा होइन, फोक्सोमा छ । यो आधा शताब्दीको धूमपानको अवश्यम्भावी दण्ड–सजाय हो, मान्यवर !

जनबोलीमा भन्दा कुरो यसो रहेछ । मेरो धूमपीडित र गलित फोक्सो आफ्नो नियमित कार्यभार पूरा गर्न असमर्थ भएछ । निजले आफ्नो कार्यभारको निकै ठूलो अंश मुटुतिर हुत्याएछ । र, बरा मुटु अतिरिक्त बोझको चापमा परेर आतेसको मुद्रामा निसासिएछ ।

बस्, छोटकरीमा यो त्रासद् कथा यहीँनेर तुरियो । एक पटकलाई मृत्यु छक्कियो, र जीवनले बाजी मार्‍यो । तर यो केवल तदर्थ विजय हो । 

प्रकाशित: असार २२, २०७४