नोटबुक

- राजकुमार बानियाँ

लाल कम्युनिस्ट पार्टी !

००७ को क्रान्तिअघि नेपालमा दुई जना गंगालाल श्रेष्ठ रहेछन् । एक– सहिद गंगालाल, दुई– कमरेड गंगालाल । सहिद गंगालाल नठानून् भनेर कमरेड गंगालालले पुच्छ्रे हालेछन्, ‘हलुवाई ।’ केही समयअघि इतिहास र संस्कृतिप्रधान पत्रिका रोलम्बका पुराना पाना पल्टाउँदा थाहा भयो– यी हलुवाईले पुष्पलाल श्रेष्ठले भन्दा पहिले कम्युनिस्ट पार्टी खोलेका रहेछन्, नेपाल लाल कम्युनिस्ट पार्टी ।

तत्कालीन अवस्थामा अधिकांश राजनीतिक पार्टी भारतमा जन्मेका थिए । तर, हलुवाईले भने नन्दलाल, केशवलाल मानन्धर, दिवाकर राजभण्डारी र श्रीरामसँग भूमिगत रुपमा काठमाडौँमै खोलेछन् २१ फागुन ००४ मा । पुष्पलाल लगायतको नेपाल कम्युनिस्ट पार्टी भने १२ वैशाख ००६ मा कोलकाताको श्यामबजारस्थित सरकारी टोलालिनामा जन्मिएको जगजाहेरै छ ।

लाल कम्युनिस्टको महासचिवको हैसियतमा ००५ को पुस–माघतिर बंगाल कम्युनिस्ट पार्टीका नेता महादेव देसाईमार्फत भारतीय कम्युनिस्ट पार्टीका नेता पीसी जोशीको एकहप्ते तालिम पाएछन् हलुवाईले । ००७ को १६ माघदेखि १५ फागुनसम्म ‘ला.क.नं ५’ उल्लेख गरिएका ‘लाल कम्युनिस्ट पार्टीबाट अपिल,’ ‘नेपाल लाल कम्युनिस्ट पार्टीबाट जनाउ,’ ‘अन्तरिम सरकारको एक झलक सन्देश’ शीर्षकमा चार थान पर्चासमेत भेटिएका छन् । त्यसमा ‘सर्वहारावर्गको हातमा शासन सत्ता सुम्पने,’ ‘समाजवादी रुसको जस्तै सोभियत सरकार कायम गर्ने,’ आदि लक्ष्य मात्र छैनन्, राजा–राणा–कांग्रेसविरुद्ध आगो नै ओकलिएको छ । सम्झौता नीति–मुर्दावाद, शाही घोषणा–मुर्दावाद आदि नारा त छँदै छन्, राजा त्रिभुवनलाई ठाडै एउटा मसहुर शोषक–सामन्त भनिएको छ । नपुंसक, पाल्तु कुकुर, दलाल, दानव भन्न कसैलाई छाडिएको छैन । यसो हेर्दा हलुवाईले भारतमा राम्रै तालिम पाएजस्तो लाग्छ । 

नेकपा बनेपछि बंगाली नेता रवि चटर्जीको घरमा गंगालाल र पुष्पलाललाई मिलाउने कोसिस पनि भएछ । केन्द्रीय कार्यालय भारतमा राख्ने, हातहतियार र युद्ध तालिमका लागि पाँच–पाँच जना समूह भारत पठाउने र दार्जीलिङलाई नेपालमा मिलाउने, कम्युनिस्टको विश्व सम्मेलनमा भारतीय नेताहरु मात्रले भाग लिने भन्नेमा मतभेद बढेपछि हलुवाईले पुष्पलाललाई ‘भारतपरस्त’ किटान गरिदिए । माणिकलाल श्रेष्ठ र बद्रीप्रसाद श्रेष्ठलाई कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा पठाउने हलुवाई ०१८ मा सुरक्षा कानुनअन्तर्गत जेल परेछन् । लाल कम्युनिस्टको त अस्तित्व छैन नै, हलुवाई पनि छैनन् । बरु हलुवाईमार्का कम्युनिस्ट यत्रतत्र सर्वत्र भेटिन्छन् ।

वृद्धाश्रममा आमाहरु

संसारकै महान् भनेर आमालाई नपुकार्ने को छ ? आमाबारे अनेक आदर्श छाँटेर थुप्रैले लेखेका छन्, बोलेका छन् । तर, ज्येष्ठ नागरिकग्राम बनेको धार्मिकभूमि देवघाटमा त्यस्ता आदर्श एकदमै नक्कली ठहरिन्छन् । जेठको ४२ डिग्रीको उखरमाउलो घाममा लौरी टेक्दै पैदल हिँडिरहेका धेरैजसो गेरुवस्त्रधारी आमाहरु घरबाटै लखेटिएका भेटिन्छन् । छोराछोरीका कथित इज्जत र प्रतिष्ठाका लागि नामसमेत नबताउने उनीहरु अझै पनि आशीर्वाद नै दिन्छन् । 

देवघाटमा तीनवटा आश्रम छन्, सरकारी वृद्धाश्रम अर्थात् देवघाट समाजकल्याण केन्द्र, देवघाट–एनआरएन वृद्धाश्रम र रोटरी करुणालय । सबै आश्रममा आमाहरुको संख्या ज्यादा छ । गलेश्वर आश्रम अन्तर्गत ‘मिनी वृद्धाश्रम’का रुपमा रहेको २ सय ३५ कुटीमा पनि तीन सयको हाराहारीमा आमाहरु नै छन् । ती आमाहरुको आँसु देखेर सहकर्मी रवि मानन्धर र म भावुक बन्यौँ ।

बल छउन्जेल पति, छोराछोरी, घरपरिवारका निम्ति मरिमेट्ने आमाहरु बुढ्यौलीले छोएपछि त्यही घरमा बस्न सक्दैनन् र वृद्धाश्रमको ढोका ढक्ढकाउन पुग्छन् । बाँचुन्जेल उपेक्षा, अवहेलना र दु:ख दिने तिनै छोराहरु मरेपछि भने त्यहीँ एक छाक खुवाउन जान्छन् र फेसबुकमा फोटो हालेर रमाउँछन् । हाम्रो समाज आमाहरुप्रति किन यति कृतघ्न भएको हो ? आमाहरुलाई छेउछाउमै राख्न नसक्ने हामी कति अभागी छोराछोरी हौँ ?

माड्सापको सम्मान !

शंकर लामिछानेलाई साहित्य चोरीको आरोप लगाउने कुमुदिनी को हो ? ४५ वर्षदेखि यो प्रश्न अनुत्तरित छ । कोही भन्छन्–माधवप्रसाद शर्मा । कोही भन्छन्– वासु शशी । कोही भन्छन्– साहित्यिक सिन्डिकेट । तर, यतिका वर्षसम्म कसैले सार्वजनिक रुपमा स्वीकार गर्न पनि चाहेन, कसैले ‘क्लिन चिट्’ लिन पनि चाहेन । चोरीको प्रसंग यति रहस्यमय पहेली हुनुपर्ने चाहिँ पटक्कै होइन । चोरीबारे पाठकपत्र लेख्ने (कुमुदिनी, २४६, पकनाजोल) जोसुकै होऊन्, जीवित हुन् या नहुन्, त्यसलाई छाप्ने समीक्षा साप्ताहिकका सम्पादक मदनमणि दीक्षित अझै पनि लेखिरहेकै छन् ।

रुपरेखाको अंक–११४ (०२९) मा प्रकाशित शंकरको निबन्ध ‘आभाँगार्दको सौन्दर्यशास्त्र’ माइकल कर्बीको पुस्तक द आर्ट अफ टाइम एसेस अन द एभाँ–गार्दको चोरी भएको दाबी गर्ने कुमुदिनीलाई धन्यवादसहित लेखनबाट सन्न्यास लिए शंकर लामिछानेले । अब त उनको निधन भएको पनि चार दशक नाघिसक्यो । लेखकीय जीवनको अवसान निम्त्याउने पत्रिकाका सम्पादक दीक्षितले भने यसबारे कतै एक अक्षर लेखेनन्, कतै एक वाक्य बोलेनन् । बरु, उनलाई शंकर लामिछाने प्रतिष्ठानले ७ चैत ०७३ मा राजधानीमा भव्य अभिनन्दन नै गर्‍यो । 

साहित्यका सामान्य पाठकलाई भने उत्सुकता छ– प्रतिष्ठानका हर्ताकर्तालाई शंकर लामिछानेको लेखकीय जीवनबारे थाहै छैन या थाहा पाएर पत्र छापेबापत अभिनन्दन गरेका हुन् ? मदनमणि दीक्षितले त्यस घटना बिर्सिसके वा त्यसलाई सुकार्य मानेर अभिनन्दन ग्रहण गरे ? दिनेले किन दिए ? लिनेले किन लिए ? चोरीको बात लागेका लेखकको नामको पुरस्कार लिन दीक्षितलाई अलिकति संकोच हुनुपर्ने होइन र ? 

प्रकाशित: असार २१, २०७४