हर्बल हब

  • जंगली च्याउ र जडिबुटीले समृद्ध बस्ती

- घनश्याम खड्का

बेनी ।। धुम्म बादल । सिमसिम झरी । बाक्लो घुम ओढेका गाउँलेहरू निगालाको झाडीले ढाकेको जंगलभित्र पल्टेका ठूल्ठूला रुखका मुढा खोज्न व्यस्त छन् । गाउँघरको जंगलमा खेर गइरहेको च्याउको माग म्याग्दीको बेनी, पोखरा, काठमाडौँ लगायतका ठूला सहरका घरानियाँ भान्सामा ह्वात्तै बढेपछि गुर्जाबासीलाई च्याउ खोज्न हतारो भएको हो । 

 

गुर्जामा मात्र होइन, लुलाङ र कुइनेमंगलेका लेकाली जंगलमा रातो च्याउ खोज्नेको भीड छ । असारदेखि भदौ जंगली च्याउ टिप्ने उपयुक्त मौसम हो । “हामीलाई च्याउ टिप्ने हतारो छ । हिमाली क्षेत्रको च्याउ किन्न व्यापारी हात–हातमा पैसा बोकेर दैलोमै आउँछन्,” धौलागिरि गाउँपालिका–१, गुर्जाका नवनिर्वाचित वडाअध्यक्षसमेत रहेका जडिबुटी व्यापारी झकबहादुर छन्त्याल भन्छन्, “जंगलका मुढामा पैसा फलेको छ । जति टिप्न सक्यो उति राम्रो ।”

 

असंख्य खोँच र गल्छीका विकटतासँगै धौलागिरि हिमशृंखलामा पर्ने चुरेन, पुथा र गुर्जा हिमालको जरोमा अवस्थित गुर्जावासीको जीवनशैली रोचक छ । धौलागिरि गाउँपालिका–१ मा पर्ने परम्परागत शैलीका घर, बाक्लो बस्ती रहेको गुर्जा गाउँ छन्त्याल जातिको जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखीझ्याल पनि हो । ‘टुप्पीदेखि माथी ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट चिनिने यस गाउँको परिचय अब बदलिँदै छ र यो ‘हर्बल हब’ बन्दै छ । समुद्र सतहबाट ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गुर्जामा २ सय ३० घरपरिवार बसोबास गर्छन् । तामा, फलाम, सिसाजस्ता खनिज उत्खनन गर्ने जातिका रूपमा परिचित छन्त्यालहरूले खानी बन्द भएपछि जडिबुटी संकलन र निकासी गरी जीविकोपार्जन गर्न थालेका हुन् । 

 

गुर्जाको जंगलमा यार्चागुम्बु, रातो, गुच्ची र खुत्के जातका च्याउ व्यापारिक प्रयोजनमा संकलन गरिन्छ । अघिल्लो वर्ष यार्चागुम्बुको ५ लाख, गुची च्याउको २० हजार, खुत्के च्याउको ८ हजार र रातो च्याउको एक हजार पाँच सय रुपियाँ प्रतिकिलोका दरले किनबेच भएको थियो । गुर्जाबाट कटुकी, पदमचाल, पाँचऔँले, सिलाजित, विष, सतुवालगायत तीन दर्जनभन्दा धेरै किसिमका जडिबुटी निर्यात गरी वार्षिक सरदर ८० लाख रुपियाँ भित्रिने गरेको व्यवसायीहरूको भनाइ छ । यार्चागुम्बु र खुत्के च्याउ चीन निर्यात हुन्छ भने गुची च्याउको माग दक्षिण भारतमा बढी छ । रातो च्याउको मुख्य बजारचाहिँ बेनी, पोखरा र काठमाडौँ हो ।

 

सुकाएको रातो च्याउ गाउँमै प्रतिकिलो १ हजार २ सय रूपियाँमा खरिद गरी बेनीमा १ हजार ६ सय, पोखरामा २ हजार र काठमाडौँ पुर्‍याएर २ हजार २ सयसम्ममा बेचेर मनग्ये आम्दानी गर्नेहरू पनि छन् । व्यवसायीहरू वार्षिक २५–३० किलो उत्पादन हुने खुत्ते च्याउ जंगलमै ६ हजार रुपियाँ प्रतिकिलोमा खरिद गरी काठमाडौँ पुर्‍याएर आठ हजारमा र गुच्ची च्याउ जंगलमा २० हजारमा संकलन गरी २५ हजारमा बेच्छन् । गुर्जाको हरेक व्यक्ति कुनै न कुनै रूपमा जडिबुटी व्यापारमा संलग्न भएका छन् र उनीहरूले दुई लाखदेखि २५ लाख रुपियाँसम्म कमाएको अनुमान छ । सरकारले गुच्ची च्याउबाट लिने राजस्व मात्र प्रतिकिलो तीन सय रुपियाँ छ । सहायक वन अधिकृत राजकुमार ठाकुर भन्छन्, “जंगलमा पाइने रातो च्याउको माग बढी भएकाले व्यापारीले राजस्व तिरेरै काठमाडौँसम्म पुर्‍याउँछन् । ”

 

जिल्ला वन कार्यालयको अभिलेख अनुसार जंगलबाट उत्पादन हुने ३० क्विन्टल रातो च्याउमध्ये २० क्विन्टल गुर्जाबाट मात्र संकलन हुन्छ । गुर्जाबाट रातो र खुत्ते भनिने साधारण च्याउ जिल्लाबाहिर निकासी गर्न यस वर्ष आठ क्विन्टलको संकलन पुर्जी जारी भएको छ । वन कार्यालयले जिल्लाभित्र खपत हुने च्याउको संकलन र छोडपुर्जी दिँदैन । त्यसैले व्यापारी थोरै मात्रामा पुर्जी लिएर धेरै परिमाणमा निकासी गर्छन् । गुर्जाको रुखाचौर, इङ्ले, खोलाखर्क, लगबाङ, ताम्जा, फेसताङ लगायतका जंगलमा रातो, गुच्ची र खुत्ते च्याउ पाइन्छ । यार्चागुम्बा भने चुरेन, पुथा, गुर्जा र धौलागिरी हिमाल फेदीका बुक्यान क्षेत्रमा पाइन्छ । 

 

हिमालमुनिका खोँचका घना जंगलभित्र लुकेको बस्ती गुर्जा भौगोलिक रूपमा विकट भए पनि खाद्यान्न उत्पादनमा आत्मनिर्भर छ । सानो तर समथर हिमाली उपत्यका गुर्जा पुग्न कठिन भए पनि गुर्जावासीले मकै, सिमी र आलु उत्पादन गरी काठमाडौँसम्म निर्यात गर्छन् । यहाँको सिमीसमेत प्रतिकिलो एक हजार रुपियाँमा बोटबाटै अग्रिम बिक्री हुन्छ । खेती तथा पशुपालन व्यवसाय खुम्चिँदै गएको छ । त्यसैले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गुर्जामा बिजुली, खानेपानी, विद्यालयजस्ता विषय राजनीतिक मुद्दा बनेनन् । बरू सबै दलका उम्मेदवारको पहिलो एजेन्डा बन्यो, ‘हर्बल हब, गुर्जा’ । वडाध्यक्ष छन्त्याल भन्छन्, “मैले चुनावमा गुर्जाबासीसँग हर्बल हब गुर्जा बनाउने वाचा गरेको छु ।” 

प्रकाशित: असार २१, २०७४