मध्यपूर्व द्वन्द्वको फराकिलो क्यानभास

  • सन् १९७९ मा सोभियत संघको अफगानिस्तानमाथिको आक्रमणदेखि कुवेत, सुडान, पश्चिमी सहारा, प्यालेस्टाइनका द्वन्द्वहरूको रिपोर्टिङ अनुभव निकै चाखलाग्दो छ ।

- सुरेशराज न्यौपाने

सर्सर्ती हेर्दा अन्तर्राष्ट्रिय विषय र भूराजनीतिमाथि गरिने पत्रकारिताको बेग्लै ग्ल्यामर छ । नाम चलेका अन्तर्राष्ट्रिय पत्रपत्रिका, प्रसारण संस्था तथा एजेन्सीका ती ‘बिट’मा काम गर्ने पत्रकारहरूको सार्वजनिक छवि कुनै सेलिब्रिटीभन्दा कम हुँदैन । तर, समाचार लेखनका क्रममा उनीहरूले भोग्नुपरेका अप्ठ्याराबारे भने धेरै कमलाई मात्र थाहा हुन्छ । भारतीय मूलका बेलायती पत्रकार श्याम भाटियाको पत्रकारिता जीवन पनि त्यस्तै रोचक र चुनौतीपूर्ण घटनाक्रमहरूले भरिएको छ । दर्जन हाराहारीमा पत्रिका र प्रसारण संस्थाको अनुभव हासिल गरेका भाटियाले अन्तर्राष्ट्रिय राजनीति र महत्वपूर्ण घटनाहरूमाथि समाचार लेखेका छन् । त्यो पनि अघिकांश ‘ग्राउन्ड जिरो’बाटै । त्यसक्रममा उनले कतिपय रोचक र कतिपय त्रासदीपूर्ण परिस्थितिको सामना गर्नुपर्‍यो । 

विश्वराजनीतिमा नाम कमाएका (राम्रो वा नराम्रो दुवै कारण) व्यक्तित्वहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर पाए । ती भेटहरूबाट कतिपय सनसनीपूर्ण समाचार बाहिर ल्याए भने कतिपय भेटघाट व्यक्तिगत सम्बन्ध सुदृढमै सीमित भए । उनले तीन दशकभन्दा लामो पत्रकारिता जीवनका यिनै रोचक र चुनौतीपूर्ण अनुभव समेटेका छन् आफ्नो पुस्तक बुलेट एन्ड बाइलाइन्स । पुस्तकको नामबाट नै यसभित्रका विषयवस्तु सहजै अनुमान लगाउन सकिन्छ । बेलायतबाट प्रकाशित हुने द अब्जर्भरको मध्यपूर्व संवाददाता र पछि कूटनीतिक सम्पादकको जिम्मेवारी पनि सम्हाले उनले ।  भाटिया डेक्कन हेराल्डको विदेश मामिला सम्पादक र एसियन अफेयर्स म्यागजिनको सम्पादक पनि रहिसकेका छन् ।

तत्कालीन विश्व राजनीतिका प्रमुख हस्तीहरूसँग भाटियाको पहुँच बडो ईष्र्यालाग्दो छ । भारतका राष्ट्रपति ज्ञानीजैल सिंहदेखि, पाकिस्तानी प्रधानमन्त्री बेनजिर भुट्टोदेखि प्यालेस्टिनी नेता यासेर अराफतसँगको प्रत्यक्ष सम्बन्धलाई भाटियाले पत्रकारिता जीवनको सफलता ठानेका छन् । हुन पनि त्यो पहुँच कमै मात्र पत्रकारहरूलाई हासिल हुन्छ । यसमा उनको शैक्षिक पृष्ठभूमिले पनि सघाएको छ । पन्जाबी परिवारमा जन्मेका भाटियालाई देहरादूनबाट सुरु भएको प्रारम्भिक शिक्षा बेलायतको अक्सफोर्डसम्म पुग्नु र पछि बेलायती पासपोर्टले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न थप मद्दत गर्न‘ लाभदायी साबित भएको छ । 

मध्यपूर्व चरम द्वन्द्वमा फसेका बेला उनी समाचार लेख्नका लागि त्यही क्षेत्रमा खटाइएका छन् । असीको दशकमा मध्यपूर्वमा द्वन्द्व चरमोत्कर्षमा थियो । त्यही ताका कायरो, बेरुत, जेरुसेलम र वासिङ्टन डीसीबाट रिपोर्टिङ गरेका थिए । जसले गर्दा प्रत्येक घटनाहरू उनी काम गर्ने सञ्चारमाध्यमहरूका लागि ‘स्कुप’ बन्छन् । लेबनान र इजरायलबीचको भीषण लडाइँ, इराक–इरान युद्ध, अफगानिस्तानमा सोभियत संघको आक्रमण असीको दशकमा संसारभरका सञ्चारमाध्यमहरूका प्रमुख विषय थिए । यी सबै घटनाक्रमलाई भाटियाले नजिकबाट केलाउने अवसर पाए । तर, त्यसका लागि उनले कतिपय घटनामा ज्यानकै माया मार्नु परेको थियो । कतिपय घटनामा त मृत्युको मुखबाट मुस्किलले उम्किन सफल भएका छन् । पुस्तकमा समेटिएका यी घटनाले पत्रकारिता र अन्तर्राष्ट्रिय राजनीतिमा चासो राख्ने जोकोहीलाई पनि संवेदित बनाउँछ ।  

पुस्तकले मध्यपूर्वको राजनीतिक द्वन्द्व र कारणहरूलाई प्रस्ट पारेको छ । आ–आफ्नो सामरिक स्वार्थका लागि महाशक्ति राष्ट्रहरूले कुन हदसम्मको खेल खेल्न सक्छन् भन्ने पनि थाहा हुन्छ । कतिपय घटना त सिनेमाका ‘प्लट’जस्ता लाग्छन् । धेरै पछिसम्म पनि स्मृतिमा घुमिरहने । जुनसुकै विदेशी देखे पनि जासुस हो कि भनेर शंका गर्ने अवस्थामा भाटिया लगायतका विदेशी पत्रकारहरूका लागि परिस्थिति कति प्रतिकूल थियो सहजै अनुमान गर्न सकिन्छ । सन् १९७९ मा सोभियत संघको अफगानिस्तानमाथिको आक्रमणदेखि कुवेत, सुडान, पश्चिमी सहारा, प्यालेस्टाइनका द्वन्द्वहरूको रिपोर्टिङ अनुभव निकै चाखलाग्दो छ । 

इरानमा शाह शासनको अन्त्यपछि अयातुल्हा खुमेनीको उदय र त्यसपछि तेहरानमा सडक र गल्लीमा देखिएको बदलावलाई पनि भाटियाले उल्लेख गरेका छन् । खुला र उदार इरानी समाज एकाएक बन्द समाजतर्फ धकेलिएको देख्दा भाटिया अवाक् बनेका छन् । उनले हेर्दाहर्दै तेहरानका महँगा बुटिक बन्द हुन्छन् । छोटा लुगा लगाएर अल्लाहको मानमर्दन गरेको भन्दै होटल परिसरभित्र रहेको टेनिस कोर्टबाट खेलाडीहरू पक्राउ पर्छन् । 

इरानका सर्वोच्च नेता अयातुल्ला खुमेनीसँगको भेटको प्रसंग कुनै जासुसी कथाको प्लटजस्तो लाग्छ । एकजना अपिरिचित युवा भाटियालाई खुमेनीसँग भेटाइदिने प्रतिबद्धता गर्छन् । त्यसबाट भाटिया दंग नपर्ने कुरै भएन । खुमेनीसँग भेट्नु कति कठिन थियो भन्ने तत्कालीन जर्मन राजदूतले विगत तीन वर्षदेखि प्रयास गर्दा समेत आफूले भेट्न नपाएको सुनाएबाट पनि प्रस्ट हुन्थ्यो । त्यसैले ती युवकको प्रस्ताव भाटियाले अस्वीकार गर्ने कुरै भएन । तजरिश नाम गरेका ती व्यक्तिले खुमेनीसँग भेट पनि गराइदिन्छन् । त्यति मात्र होइन, तत्कालीन सभामुख हुसेन रफसन्जानीसँग पनि भाटियाको भेट हुन्छ । त्यसमा पनि तजरिशकै भूमिका हुन्छ । ती दुई भेटपछि एउटा कार कम्पनीका प्रबन्ध निर्देशक तजरिशले भाटियासामु अचम्मलाग्दो प्रस्ताव गर्छन् । अल्जेरियाको राजधानी अल्जेयर्समा एउटा नयाँ कम्पनी खोल्ने र त्यसको प्रमुखमा भाटियालाई नियुक्त गर्ने । कर कटाएर चोखो तलब मात्र मासिक ३० हजार डलर । यो प्रस्तावले भाटिया आश्चर्यमा पर्छन् । तर, तत्काल कुनै जवाफ दिँदैनन् ।

घरसल्लाह गरेर जवाफ दिने भनेर त्यहाँबाट बाहिरिन्छन् । केही समयपछि भाटिया फेरि तेहरान फर्कन्छन् तजरिशलाई त्यो प्रस्ताव मान्न नसक्ने जवाफ दिनका लागि । जब उनी तजरिशले आफू प्रबन्ध निर्देशक भएको भनिएको कार्यालय पुग्छन् तब भाटियालाई आफू झन्नै षड्यन्त्रमा फसेको थाहा हुन्छ । उनी त्यहाँ पुगेर तजरिशबारे सोध्दा कसैले पनि चिनेको बताउँदैनन् । उल्टो त्यहाँ रहेका कर्मचारीहरूले तजरिशको नाम सुन्नासाथ अचम्म मान्छन् । खुमेनीलाई सीधै भेट गराउने उक्त व्यक्ति खुमेनीको अन्तिम संस्कारमा समेत देखिँदैनन् । त्यसपछि मात्र भाटिया राजनीतिक षड्यन्त्रको सिकार हुनबाट बचेको थाहा पाउँछन् । 

इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेनको पतनपछि बगदादका गल्लीका दृश्यहरूलाई पनि भाटियाले रोचक ढंगले पस्केका छन् । सद्दाम हुसेनको शासनकालमा निर्वासनमा जान बाध्य पारिएका वैज्ञानिक हुसेन साहरिस्तानीसँग सद्दाम निवासको भ्रमण पनि कम्तीमा रमाइलो छैन । सद्दाम दरबारमा लहरै राखिएका महँगा गाडी र उनका छोरा उदयले संकलन गरेका महँगा रक्सी लगायतका अन्य बिलासी सामग्रीको वर्णनले सद्दाम हुसेनको शासनकालका तस्बिर बुझ्न मद्दत मिल्छ । त्यहाँ खटिएका अमेरिकी सैनिकहरूले एकएक गर्दै दरबारको भ्रमण गराउँछन् । तीमध्ये सबैभन्दा अनौठो आधुनिक हतियारहरूको भण्डार हुन्छ । एक जना अमेरिकी सैनिकले त सद्दामका छोरा उदयले संकलन गरेको सुनको राइफल नै भाटियालाई उपहार दिन खोज्छन् । तर, भाटियाले त्यसलाई अस्वीकार गर्छन् । 

सन् १९८४ मा भारतमा भएको सिख विद्रोह र तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या प्रकरणपछिको परिस्थितिको विवरणले मुटु हल्लाउँछ । जुन १९८४ मा अमृतसरको स्वर्ण मन्दिरमा भारतीय सैनिकले गरेको कारबाहीको चार महिनापछि इन्दिरा गान्धीको हत्या भएको थियो ।

गान्धीलाई उनकै सुरक्षाकर्मीहरूले हत्या गरेका थिए । त्यसपछि भारतको राजधानी नयाँ दिल्लीमा भड्किएको हिंसामा हजारौँ सिख मारिएका थिए । उनकै आँखा सामुन्ने सयभन्दा बढी सिखहरूलाई जलाइएको थियो । त्यस घटनाले कति दिनसम्म विक्षिप्तजस्तो भएको भनी भाटियाले लेखेका छन् । दिल्लीमा हिंसा भड्किएका बेला सार्वजनिक सवारी साधनहरू प्राय: ठप्प रहेका बेला एक जना नेपाली भाषी ट्याक्सी ड्राइभरले घटनास्थल पुग्न सघाउँछन् । उक्त घटनापछि तत्कालीन राष्ट्रपति ज्ञानी जैल सिंहलाई भेट्न स्कुटरमा चढेर पुगेको प्रसंग पनि रमाइलो छ । स्कुटरमा चढेर राष्ट्रपतिलाई भेट्न आएको बताउँदा कार्यालयको गेटमा रहेका सुरक्षा गार्डले हाँसेर ‘बकवास’ भन्दै उल्टो हर्काछन् । सिख समुदायविरुद्ध लक्षित हिंसाप्रति राष्ट्रपति सिंहको निकै आक्रोश रहेको तर, उनी केही गर्न नसक्ने अवस्थामा रहेको भाटियाले लेखेका छन् । 

पुस्तकको मुटु भनेको पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोमाथि लेखिएको खण्ड ‘पिंकी’ हो । निकटका साथीहरूबीच भने बेनजिर पिंकीका रूपमा चिनिन्थिन् । बीबी, यांक, पिंकी, मिस साहिबा भनेर बोलाइने बेनजिर आफूलाई भने ‘मोहतर्मा’ भनेको रुचाउने भाटियाले दाबी गरेका छन् । स्वयं भाटिया भने बेनजिरलाई शाहज्यादी भनेर बोलाउथे । लन्डनको अक्सफोर्डमा अध्ययनरत रहँदा भाटिया र भुट्टोबीच मित्रता गाँसिएको थियो । त्यति बेलासम्म पनि ‘पिंकी’को लक्ष्य कूटनीतिक सेवामा जाने र आफ्नो प्राध्यापन क्षेत्रमा रुचि रहेको भाटियाको दाबी छ । तर, समयको आँधीले बेनजिरलाई राजनीतिमा र भाटियालाई पत्रकारितामा हुत्याउँछ । बेनजिरका भाइ मुर्तजासँग पनि भाटियाको विशेष सम्बन्ध रहेको पुस्तकले खुलाउँछ । तर, पछि बेनजिरका दुवै भाइ शाहनबाज र मुर्तजा मारिन्छन् । राजनीतिक महत्वाकांक्षाले परिवारबीच ठूलो अविश्वास सिर्जना गर्छ भन्ने भुट्टो परिवारभित्रको द्वन्द्वले पनि पुष्टि गर्छ । बेनजिरको सत्तारोहणलाई लिएर भाइ मुर्तजाले दमास्कसको एउटा होटलको बारमा रक्सी खाएर गरेको विष वमनले भुट्टो परिवारभित्रको अविश्वास र वैमनस्य उजागर गर्छ ।

मुर्तजाले आफ्नो पिताजीको सही उत्तराधिकारी आफू भएको दाबी गर्दै दिदीलाई जथाभावी गाली गर्छन् । आफ्नी दिदीबारे तथानाम बोल्ने मुर्तजाले भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको मुक्तकण्ठले प्रशंसा गरेको देख्दा लेखक स्वयं चकित पर्छन् । हुन त भाटियाले राजनीतिक रूपमा पनि बेनजिरलाई सघाएको दाबी गरेका छन् । बेनजिर र भाटियाबीचको आपसी विश्वास अप्रसारित रेडियो अन्तर्वार्ताबाट पनि पुष्टि हुन्छ । गएको वैशाखमा नयाँदिल्लीमा आयोजित एउटा अन्तक्र्रियामा भाटियाले उक्त अन्तर्वार्ता सुनाएका थिए । जसमा बेनजिरले ‘भारत र पाकिस्तानी जनताबीच कुनै वैमनस्य नरहेको तर द्वन्द्वको प्रमुख कारण राजनीतिक नेतृत्वको स्वार्थ मात्र परिणाम भएको’ बताएकी थिइन् । पहिलो मुस्लिम प्रधानमन्त्रीका रूपमा भुट्टोको उदयले लोकतन्त्र, महिला अधिकार र भारतसँगको सम्बन्ध सुधार भएको देख्न चाहनेहरू उत्साहित बनेको भाटियाको दाबी छ । बेनजिरको मृत्युपछि उनले गुडबाइ शाहज्यादी बायोग्राफिसमेत निकाले ।  

समाचार संकलनका क्रममा सामना गर्नुपरेका कतिपय परिस्थिति पत्याउनै हम्मे पर्छ । दक्षिणी सुडानको यात्रा र विद्रोही नेता गराङलाई भेट्न जाँदा भाटिया ग्रिनेडले भरिएको पोको सिरानी बनाएर सुत्छन् । त्यसैगरी भाटियाकै आँखा सामुन्ने भएका कतिपय घटना त्रासदीपूर्ण छन् । गराङलाई  भेटेर फर्कंदा आँखैअघि  सँगै फर्केका साथीहरू चढेको गाडी बारुदी सुरुङमा पर्छ । तर, उनी केही गर्न सक्दैनन् । काबुलबाट कन्दहार जाँदा आफूसँगै रहेका यात्रुहरूलाई मुजाहिद्दिनले एक एक गरी लास बनाएको देख्दा लेखकको मनोदशा के भयो होला सहजै अनुमान लगाउन सकिन्छ ।

भाटियाको भारतका राष्ट्रपति ज्ञानी जैल सिंहदेखि बेनजिर र यासर अराफतलगायतका तत्कालीन विश्व राजनीतिका प्रमुख हस्तीहरूसँगको पहुँच बडो ईष्र्यालाग्दो छ । पुस्तकमा उनले आफ्नो तीन दशक लामो पत्रकारिताको जीवनको बृहत् तस्बिर पस्केका छन् । जसलाई मध्यपूर्वको द्वन्द्व, सुडानको हिंसा, भारत र पाकिस्तानको आन्तरिक राजनीति समेटिएको एउटा क्यानभास नै हो भन्दा अतिशयोक्ति नहोला । जसलाई उनले मिहिन ढंगले पस्केका छन् । पुस्तकमा समेटिएका कतिपय घटना र विषय अहिले पनि सान्दर्भिक लाग्छन् ।

बुलेट्स एन्ड बाइलाइन्स

लेखक : श्याम भाटिया

प्रकाशक : स्पिकिङ टाइगर

पृष्ठ : २४८

मूल्य : ५९९ भारतीय रुपियाँ

प्रकाशित: असार २१, २०७४