हल्लैहल्लाको कर्नर

  • सूचनामाथिको पहुँचको दुरुपयोग

- गोकर्ण गौतम

एउटा निकै दुखद् खबर भाइरल भयो, १४ जेठमा, राष्ट्रकवि माधव घिमिरेको निधन भनेर । एकाध घन्टामै उनका तस्बिर र कविताका पंक्ति उधृत गर्दै फेसबुकको वाल र ट्वीट्रमा संवेदना पोख्नेको ओइरो लाग्यो, आखिर सर्वप्रिय कवि न परे । सामान्य प्रयोगकर्ताले मात्र होइन, विद्यावारिधि गरेका गन्यमान्य र तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले समेत श्रद्धाञ्जली प्रकट गरे । तर उत्तिखेरै अर्को खबर फैलियो, घिमिरे सकुशल छन् भन्ने । सत्य यही थियो । थोरैले क्षमा माग्दै अघिल्लो पोस्ट डिलिट गरे, धेरै चुपचाप बसे । 

‘यसलाई भाइरल बनाऔँ है हजुरहरू, सञ्चार माध्यममा सबैलाई ट्याग गरौँ । दार्जीलिङमा नेपालीमाथि भएको दमनको भत्सर्ना गरौँ ।’ दार्जीलिङमा नेपालीभाषीको आन्दोलन चर्कंदै गर्दा जेठ अन्तिम साता यो सन्देशसहितको भिडियो फेसबुकको वालमा पोस्ट गर्न तछाँडमछाँड भयो ।

म्यासेन्जरबाट भएजतिका चिनारुलाई ठेलियो । भारतीय च्यानल आजतकको उक्त भिडियोमा प्रहरीले महिलामाथि चरम दमन गरेको प्रस्टै देखिन्थ्यो । अनि यही भिडियोको सहारामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को विरोध गरियो । पछि के भेद खुल्यो भने, भिडियो त असली थियो, तर पाँच वर्ष पुरानो । जतिबेला भारतमा मनमोहन सिंह प्रधानमन्त्री थिए । अर्थात् गलत समय र सन्दर्भमा भिडियोको दुरुपयोग गरियो र अफवाह फैलाइयो । 

राष्ट्रकविकै छेकोमा अभिनेता राजेश हमाल र अभिनेत्री रेखा थापाको पनि मृत्युको हल्ला चलाइएको थियो फेसबुकमा । अझ हमालको त भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिएर रे । तर यो खबर धेरै फैलिन पाएन । केही फेसबुक एकाउन्ट र पेजमै सीमित भयो ।

दुई महिनाभित्रका यी तीन घटनाबाट प्रस्ट हुन्छ, सामाजिक सञ्जालमा कति हावादारी सूचनाहरूले प्रश्रय पाइरहेका छन् । यसले सत्यतथ्य नबुझी त्यसलाई बढावा दिने प्रवृत्ति डरलाग्दो शैलीमा बढेको देखाउँछ । यकिन तथ्यांक नभए पनि देशभित्रबाट फेसबुकको ८५ लाख र ट्वीटरको २० लाखको हाराहारीमा प्रयोगकर्ता भएको अनुमान गरिन्छ । र, सामान्य साक्षरताबिना सामाजिक सञ्जाल प्रयोग गर्न सकिन्न पनि । तर तिनै कथित साक्षरहरूमा लहड र देखासिकी हाबी भएको छ । फलत: फेसबुक (मुहार पुस्तिका) फेकबुक (मिथ्या पुस्तिका) झैँ हुन थालेको छ । सामाजिक सञ्जालका जानकार पत्रकार उज्ज्वल आचार्यका अनुसार सूचनामाथि आलोचनात्मक दृष्टिकोण नराखिनुको परिणाम हो यो । भन्छन्, “साक्षरता त भयो तर सूचना साक्षरता भएन । जे पढ्यो, देख्यो । त्यही पत्याउने र सेयर गर्न हतारो हुन थाल्यो ।” 

सामाजिक सञ्जाल प्रयोगकर्ता कति सतही र लहडी छन् भन्ने बुझ्न आचार्य नै कार्यकारी निर्देशक रहेको मिडियासम्बन्धी अध्ययन/अनुसन्धान गर्ने संस्था सेन्टर फर मिडिया रिसर्चले मंसिर ०६३ मा गरेको एक अध्ययन सशक्त दष्ृटान्त छ । सित्तैमा ब्लग बनाउन पाइने बेवसाइट ‘टम्बलर’बाट ‘कनिकुथीपुर’ नामक एक साइट बनाइयो र पत्याउनै नसकिने समाचार शीर्षक राखियो, ‘एमाले विश्वकै राष्ट्रवादी पार्टी : संयुक्त राष्ट्र संघ’ । यही समाचार फेसबुकमा सेयर गरियो, ६ वर्षअघिको मिति राखेर । २४ घन्टामा उक्त समाचारको लिंकले २१ हजार इन्गेजमेन्ट (लाइक, सेयर र कमेन्ट) पायो । १ लाख १४ हजारले त्यो शीर्षक देखे र १ हजार ८ सय प्रयोगकर्ताले लिंक सेयर गरे । 

जबकि त्यो लिंकमा एक क्लिक गर्नासाथ यस्तो पढ्न पाइन्छ, ‘समाचार हैन हेडलाइन मात्र पढेर नेपालीहरूले कत्तिको समाचार सेयर, लाइक गर्दा रहेछन् भनेर अध्ययन प्रयोजनका लागि फेक हेडलाइन बनाई हेरेको ।’ तर अधिकांश शीर्षककै पछाडी दौडिए । लिंक खोल्ने धैर्यसमेत देखाएनन् । आचार्य भन्छन्, “यो अध्ययनले हावादारी सामग्री कति छिटो र ठूलो समूहमा पुग्दो रहेछ भन्ने भयावह स्थितिको संकेत गर्छ ।” सामाजिक सञ्जालबाट गलत सूचना हटाउन प्रयोगकर्ताको ज्यादै न्यून पहल हुने पनि देखियो, अध्ययनबाट । किनभने, जम्मा १७ जनाले त्यो समाचार गलत हो भनेर फेसबुकलाई ‘रिपोर्ट’ गरे । 

कतिसम्म भने तीन वर्षअघि सरकारले फेसबुक बन्द गर्न लागेको अफवाहसमेत फैलियो स्वयं फेसबुकमा । सूचना तथा सञ्चार मन्त्रालयको नामबाट लेखिएको एउटा सरकारी विज्ञप्ति पोस्ट भयो, जसको आशय थियो, फेसबुकको माध्यमबाट राजनीतिक दलका नेताहरूलाई असभ्य भाषाशैली प्रयोग गरेर गाली गरेको र फोटोहरू पोस्ट गरेको कारणले नेपालमा फेसबुक बन्द गरिने । यसले सामाजिक सञ्जालहरूमा तरंग पैदा गर्‍यो । पछि सरकारले आधिकारिक विज्ञप्तिमार्फत नै ‘होइन’ भन्नुपर्‍यो । यदि यो सत्य हो भने मूलधारका मिडियामा समाचार आउँथ्यो, अधिकारकर्मीले विरोध गर्थे भन्ने सामान्य हेक्कासमेत नराखी पत्याइयो र धमाधम सेयर गरियो । सूचना/प्रविधिसम्बन्धी नियमित ब्लग गर्ने आकार अनिल भन्छन्, “जुन हिसाबमा फेसबुक, ट्वीटर प्रयोगकर्ता बढे । त्यो अनुसारको सचेतना अभिवृद्धि गराउन सकिएको छैन । सूचना आधिकारिक छ कि छैन । के राख्नुहुन्छ, के राख्नुहुन्न भन्ने ज्ञानै भएन ।” आफूले विश्वास गर्ने साथीले सेयर गरेको रहेछ भने शंकाबिना नै सेयर र लाइक बटन थिचिने उनको अनुभव छ । 

सामाजिक सञ्जालले हरेक व्यक्तिलाई सूचनाको स्रोत, पाठक, प्रकाशक र वितरक बनाएको छ । आफ्नो मत व्यक्त गर्न कसैको भर पर्नै पर्दैन । सूचनामाथिको यो पहुँच आफैँमा नराम्रो होइन तर यसको गलत अभ्यास हुनुचाहिँ प्रत्युत्पादक हुन्छ । हामीकहाँ त्यसकै बाछिटा देखिन थालेका छन् । कारण, फेसबुक वा ट्वीटर आफ्नो विचार व्यक्त गर्ने माध्यममा मात्र सीमित भएन, लाइक, कमेन्ट, सेयर र रिट्वीटको आशक्ति छ । जुन कुरा सनसनी खालको छ र त्यो सबभन्दा पहिले पोस्ट गर्न सकियो भने आफूतिर धेरैको ध्यान आकृष्ट हुने भ्रम व्याप्त छ । मनोविज्ञ नन्दिता शर्मा भन्छिन्, “त्यसैले मान्छेहरूमा स्वघोषित न्यूज ब्रेकर बन्ने लहड बढिरहेको छ । बहकिने स्वभावका मान्छेलाई यसले अझ चाँडै असर गर्छ ।”

कति अफवाहहरू फैलन्छन् तर त्यसले समाजमा प्रत्यक्ष असर गर्दैन । तर बेलाबेला यस्ता हावादारी हल्ला फिँजाइन थालेको छ, जसले सामाजिक सद्भावमा खलल पुर्‍याउने संशय पैदा हुन्छ । नजानीकन वा रमाइलोका  लागिभन्दा पनि नियोजित रूपमा चलाइने हल्ला अझ डरलाग्दो हुने जानकारहरू बताउँछन् ।

जस्तो, दुई वर्षअघि जनकपुर अस्पतालमा लासहरू भेटिएको भन्दै ज्यादै बीभत्स तस्बिर फेसबुकमा पोस्ट गरिए, जतिबेला मधेसमा आन्दोलन चलिरहेको थियो । आन्दोलनकारीको लास रिक्सामा बोकेर कतै लान खोजिएको दाबी गरियो । तस्बिर हेर्दै ज्यान काप्ने । तर त्यो पूर्णत: गलत साबित भयो । अन्त कतैको फोटो जनकपुरको भनेर दुरुपयोग गरियो । त्यसको केही समयपछि फेरि मधेस र पहाडको सम्बन्धमा दरार सिर्जना गर्ने अर्को फोटो जबर्जस्ती भाइरल बनाउन खोजियो, जहाँ कालो वर्णका एक व्यक्तिको वरपर पानीपुरी छरप्रस्ट थियो । ती व्यक्ति निकै दीनहीन देखिन्थे । अनि क्याप्सन लेखियो, ‘पहाडेले मधेसीलाई काम गरेर खान दिएन, पिट्यो । त्यसैले पहाडेविरुद्ध आन्दोलित होऔँ ।’ पछि थाहा भयो, अरू कुनै कारणले पानीपुरी छरिएको थियो । मधेसी जनताको भावनामाथि खेल्न सकिन्छ भन्ने उद्देश्यले नै नियतवश यी तस्बिरहरूको अपव्याख्पा गरिएको थियो । धन्न † त्यसले कुनै गम्भीर दुर्घटना निम्ताएन । 

यता, नेपाल र मलेसियाको क्रिकेट म्याच हुँदै थियो । त्यसको पूर्वसन्ध्यामा फेसबुकमा फेरि अर्को सनसनी मच्चाइयो । बीभत्स तस्बिरकै सहारामा मलेसियाका स्थानीयबासीले नेपालीलाई कुटीकुटी मारेको खबर फैलाइयो । मिर्मिरे नेपाल नामक फेसबुक पेजबाट उक्त पोस्ट ५१ हजार ५ सय प्रत्यक्ष सेयर भएको छ । जबकि त्यो पूर्णत: गलत खबर थियो । उद्देश्य एउटै, क्रिकेट म्याचलाई बिथोल्ने र नेपालीलाई अनावश्यक रूपमा आक्रोशित बनाउने । मनोविज्ञ शर्मा भन्छिन्, “भावना वा आवेगमाथि खेल्न यस्ता अफवाह चलाइन्छ । यसलाई रोक्न प्रयोगकर्ता आफैँ चनाखो हुनुपर्छ । राज्यले पनि निगरानी राख्नुपर्छ । अर्को विकल्प नै छैन ।”  

मूलधारका मिडियामा आएका समाचार सामग्रीको विश्वसनीयता जाँच गर्नु सचेत पाठक/दर्शकको परिचायक हो । तर यहाँ त फेसबुक वा ट्वीटरमा कसैले केही लेखिदियो भने त्यसलाई ‘लालमोहर’ मान्ने परिपाटी छ । जबकि कुनै सूचनालाई पत्याएर सेयर गर्नु पहिल्यै एकपटक गुगल सर्च मात्र गर्दा पनि सत्यताको नजिक पुग्न सकिन्छ । वा, एकैछिन धैर्य गरेर अरूको पोस्ट कुरे पनि केही बिग्रिँदैन । सञ्जाल प्रयोगकर्तामा यस्तो धैर्य हुनैपर्छ । संसारका अन्य देशमा पनि यस्ता अफवाह नफैलाइने होइन तर त्यहाँ ‘क्रसचेक’ गर्ने परिपाटी छ । तर हामीकहाँ न सूचनाको सत्यता मापन गरिन्छ, न धैर्य नै छ । यसो हुँदा वरदान भनिएको सामाजिक सञ्जाल अभिसाप हुने खतरा बढेको विश्लेषण गर्न थालिएको छ । मिडिया अनुसन्धानकर्मी आचार्य भन्छन्, “समाजका सचेत वर्ग अझ सचेत र प्रयोगकर्तामा सामाजिक सञ्जालको प्रयोगको असली ज्ञान हुनु अत्यावश्यक भइसकेको छ ।” 

प्रकाशित: असार २०, २०७४