हिजोआजका सन्तोष पन्त

  • पुराना दर्शकहरुलाई लाग्छ, ‘हिजोआजका कुरा’ भनेकै सन्तोष पन्त हुन्, सन्तोष पन्त भनेकै ‘हिजोआजका कुरा ।’

- राजकुमार बानियाँ

टेलिभिजनमा छन् भनुँ भने ‘भिजिबिलिटी’ नै छैन । छैनन् भनुँ भने टेलिभिजनमा नियमित कार्यक्रम आइरहेकै छ । टेलिभिजनका कुनै बेलाका प्रख्यात अभिनेता सन्तोष पन्त, ५८, यस्तै दोधारमा छन् । उनको ‘माटोले माग्दैन, आफैँले दिनुपर्छ’ नामक पाक्षिक कार्यक्रम ४२ वटा च्यानलमा आउँछ तर ‘कुटाइम’ मा । 

“बेलुकी साढे पाँच बजे आउने कार्यक्रम कसले हेर्छ ? युट्युबमा नेपाली सेनाको कार्यक्रम हेर्ने जाँगर कतिलाई छ ?” सन्तोष आफैँ भन्छन्, “नढाँटी भन्ने हो भने त्यो टेलिभिजन कार्यक्रम सिपाहीले समेत हेर्न भ्याउँदैनन् । उनीहरुको भात खाने बेला भइसक्छ ।” 

सैनिक कार्यक्रमको सीमा बुझेका यी अभिनेता इन्जिनियर कुलमान घिसिङले लोडसेडिङ हटाएपछि खुसीले फुलेल भएर नेपाल टेलिभिजनका महाप्रबन्धककहाँ पुगेछन् । उसले त समाचार, स्वास्थ्य, कृषि कार्यक्रमबाहेकको तीन वर्षको समय सबै व्यापारीलाई बेचिसकेको रहेछ । 

नेपाली टेलिभिजनका एक स्मरणीय पात्र हुन्, सन्तोष पन्त । उनको खातामा ६ सय ९९ भाग प्रसारण भएको कीर्तिमान छ ‘हिजोआजका कुरा’को । पुराना दर्शकहरुलाई लाग्छ, ‘हिजोआजका कुरा’ भनेकै सन्तोष पन्त हुन्, सन्तोष पन्त भनेकै ‘हिजोआजका कुरा ।’ 

झुपडीदेखि दरबारसम्म एकसाथ रुचाइएको त्यो कार्यक्रम राजनीतिक कोपभाजनमा परेर बन्द भयो, ०६३ मा । झन्डै एक दशकको विश्रामपछि उनले त्यो कार्यक्रम दुई वर्षसम्म कान्तिपुर टेलिभिजनमा देखाएकै हुन् १ सय १७ भाग । १६–१८ घन्टा लोडसेडिङको जमाना थियो । बाटोमा दर्शकहरु सोधिरहन्थे, ‘अब हिजोआजका कुरा आउँदैन ?’ उनी भनिरहन्थे, ‘कान्तिपुरमा आइरहेको छ त π’ ‘बत्ती छैन कसरी हेर्ने ?’ दर्शकको यस्तो विवशता बुझेका उनको जाँगर मरेतुल्य भयो ।

उनलाई सम्झना छ, ०५३ तिर तत्कालीन महाप्रबन्धक नीर शाहको अनुरोधमा सुरु भएको थियो ‘आजभोलिका कुरा ।’ त्यो नाममा १७ भाग प्रसारण भएपछि उनले प्रतिक्रिया पाए, भोलिका कुरा सन्तोष पन्तलाई कसरी थाहा हुन्छ ? त्यसपछि ‘हिजोआजका कुरा’ नाममा ५ सय ६५ भाग निरन्तर चल्यो । पहिले पाक्षिक कार्यक्रम थियो त्यो । पछि राजा वीरेन्द्रले दरबारमै बोलाएर भनेछन्, ‘आई युज्ड टू वाच योर प्रोग्राम सन्तोष । इट्स भेरी इन्ट्रेस्टिङ । ह्वाई डन्ट यू मेक विक्ली ?’ राजाको फर्माइस पूरा गर्नैपर्‍यो । ‘हिजोआजका कुरा’ साप्ताहिक भइहाल्यो ।

छोटो समयमै कार्यक्रम कति लोकप्रिय भयो भने हरेक सोमबार सन्तोष पन्तको घरअगाडि कलाकार बन्न चाहने दुई–तीन सय मानिसको ताँती लाग्थ्यो । उनी बालबालिकादेखि बुढाबुढीसम्मको एकदेखि डेढ घन्टा अडिसन लिन्थे र छानिएका सबैको फोटो र फोन नम्बरसहितको फाइल तयार गर्थेे अनि आवश्यकता अनुसार बोलाउँथे पनि ।

“तीन–चार एपिसोड काम गरेपछि कलाकारलाई पारिश्रमिक पनि दिन्थेँ । राम्रो गर्न नसकेर निकालिएकाहरू पैसा दिएन भनेर कुरा काटेको सुन्थेँ,” उनी सम्झिन्छन्, “नयाँ कलाकार फ्रीमै काम गर्न तयार हुन्थे । त्यो ट्रेनिङ स्कुलजस्तो थियो ।” 

रमा थपलिया, विजय गिरी, दिनेश डीसी, दीपकराज गिरी, दीपाश्री निरौला, केदार (माग्ने बूढा), जितु–दमन उनकै उत्पादन हुन् । ‘हिजोआजका कुरा’ का लागि नेपाल टेलिभिजनले सुरुमा १८ हजार रुपियाँ दिन्थ्यो, पछि ८० हजार रुपियाँसम्म दिन थाल्यो । टिमका सदस्यलाई कार्यक्षमता अनुसार रकम बाँडेको उनको दाबी छ । 

उसो त त्यो भन्दा पहिल्यै चिनिइसकेका थिए सन्तोष । ‘दोषी को ?’ ‘मित बा,’ ‘लौ आयो,’ ‘कठै,’ ‘एउटा कुरा,’ ‘कस्तो लाग्यो ?’ आदि टेलिसिरियलमार्फत । ०४५ मा ‘नरिसाउनुस् है’ नामक शृंखलामार्फत ‘क्रोमा टेक्निक’ भित्र्याएको देखेर अमेरिकी निर्देशक नै छक्क परेछन् । हलिउडमा भरखर आएको प्रविधि उनले ख्यालख्यालमै सिकेछन् । एउटै कार्यक्रममा उनले पाँच–६ जनाको चरित्र अभिनय गरे । ११ महिनामा ५८ वटा विभिन्न चरित्र निर्वाह गरेकाले गिनिज बुक अफ अल रेकर्डस्को हल्ला पनि चल्यो । “अमेरिकी टेलिभिजन कलाकार जेरिलिउसले ४८ वटा चरित्रमात्र गरेका रहेछन्,” उनी भन्छन्, “मलाई त्यसको प्रक्रिया थाहा नभएकाले त्यत्तिकै सेलायो ।”

आफूलाई जन्मजात कलाकार मान्छन् सन्तोष । तीन वर्षकै उमेरमा ल्याब्रोटरी स्कुलको वार्षिकोत्सवमा पहिलो नृत्य प्रस्तुति दिएछन् तत्कालीन युवराज वीरेन्द्रको अगाडि । सात वर्ष पुग्दानपुग्दै राष्ट्रिय नाचघरमा ‘मोनो एक्ट’ गरेबापत स्वर्णपदक पाए राजा महेन्द्रको हातबाट । मोनो एक्ट लेखेका थिए, उनका दाजु माधवराजले । त्यसै वर्ष बाल मन्दिरमा प्रस्तुति दिएर रानी रत्नबाट अर्को तक्मा पाए । तिनै दुई तक्मा उनको जीवनमा अविस्मरणीय छन् । काका गोपालराज पन्त र मास्टर केशवलाल मानन्धरको हौसला पनि उनले भुलेका छैनन् ।

सन्तोष पन्तको पुख्र्यौली थलो हो, गोरखाको छेपेटार । अध्ययनका लागि बनारस पसेको उनका पुर्खाले काठमाडौँमै खाँबो गाडे । सोह्रखुट्टे, नयाँ बजारको हारती नेवारी रेस्टुरेन्ट रहेको घर उनकै हो । सीडीओ पिता बन्धु पन्तका कारण उनको बाल्यकाल धेरैतिर छरपस्ट भयो । कहिले कता, कहिले कता । 

अहिले र्‍याडिसन होटल रहेको ठाउँको ल्याब्रोटरी स्कुलमा अमेरिकी सहयोग कटौती भएपछि शान्ति विद्यागृह लैनचौरमा पढे उनले । सुपरिटेन्डेन्टसँग झगडा परेपछि पहिलो वर्ष एसएलसी परीक्षामा ‘रेस्टिकेड’ भए । एक–दुई वर्ष खेर गएपछि मात्र उनको हातमा एसएलसीको प्रमाणपत्र आयो र सरस्वती क्याम्पसमा बीएसम्म पढ्न पाए ।

०३३ मा गाईजात्रा प्रहसन थालनी भयो काठमाडौँमा । अर्को वर्ष लक्ष्मण लोहनी, भीमनिधि तिवारी, हरिहर शर्मा, यादव खरेल आदि दिग्गजका सामु सबभन्दा कान्छा कलाकार सन्तोष पन्त फ्रिक हिप्पीको क्यारिकेचर ‘हाँडीघोप्टे’ गरेर उत्कृष्ट भए । लगातार १० वर्ष उत्कृष्ट भएपछि उनले गाईजात्रामा भाग लिन छाडिदिए । 

त्यो समय गाईजात्रामा सो हेर्नकै लागि बिहान २ बजेदेखि टिकट काट्ने लाइन लाग्थ्यो । “पहिले सूर्यबहादुर थापालाई गाली गर्नुपर्‍यो भने मदनकृष्ण–हरिवंश घामले पोल्यो भन्थे, नयाँ साथीहरूले त सीधै गिरिजाको तालु, प्रचण्डको जुँगा भन्न पाएका छन्,” उनको समीक्षा छ, “गाईजात्रे कार्यक्रम महिनौँसम्म हाउसफुल हुन्थ्यो । अहिले दुई–चार दिन पनि चल्न मुस्किल छ ।”

गाईजात्राकै कारण १६–१७ वर्षमै कृष्णा ताम्राकारको रेडियो कार्यक्रम ‘रसरंग’मा ब्रेक पाए र चर्चित पनि भए । उनले पहिलो जागिर खाए, लालीगुराँस कल्चर सेन्टरको व्यवस्थापकका रुपमा । लालीगुराँसले पर्यटकलाई सांस्कृतिक तथा सांगीतिक प्रस्तुति देखाउँथ्यो । उनको ‘कमान्डिङ भ्वाइस’ देखेर साथीहरूले सिटी गाइडको तालिम लिन उल्क्याए । “पर्यटकहरुलाई त आफ्नो परिचय लुकाएकै हुन्थेँ तर दर्शकले पर्यटक घुमाउँदै गरेको देखेर घेरा हाल्थे,” उनी भन्छन्, “कलाकार भएर किन गाइड गर्छस् भनेर सोध्थे, सुटिङका लागि गरेको भनेर झुक्याउनु पर्दा आफैँलाई खल्लो लाग्थ्यो ।”

उनले गाइडमात्रै गरेनन्, होलिडे नेपाल ट्राभल्समा टुर असिस्टेन्ट, टुर अफिसरदेखि टुर एक्ज्युकेटिभसम्म भए । उनका पिता बन्धुले राजाको सिन्दूर लगाउनैपर्छ भनेर करकर गरे । ०४० मा सेकेन्ड लेफ्टिनेन्टमा छानिए पनि । तर, नवविवाहिता पत्नी र कलाकारी करिअर छाडेर तालिममा गएनन् । धन्न सेनाले नै उनलाई अमलदार कर्मचारी (क्लर्क) का रुपमा प्रस्ताव गर्‍यो र सहसेनानी (क्याप्टेन) का रुपमा ३२ वर्षे अनिवार्य अवकाश पाए, १२ वैशाख ०७२ मा ।

त्यो थियो भूकम्प गएको दिन । भतिजाको घरमा बहुभतेर खान गएका थिए सन्तोष । तास खेल्दाखेल्दै हल्लाइहाल्यो । नयाँ बजारको घरमा ठूल्ठूला ट्रकले हल्लाएको थाहा पाएका सन्तोष टसमस भएनन् । तास समातेको समात्यै गरे । त्यहाँबाट फर्किएर धापासी हाइटको अर्थक्वेकप्रुफ घर ‘पल्लवी कुञ्ज’मा आएर ढुक्कले सुते । 

त्यसो त अवकाशपछि पनि उनी नेपाली सेनाकै मनोवैज्ञानिक शाखामा करार सेवामा छन् । द्वन्द्वकालमा सैनिक कार्यक्रममा एकसाथ २ सय ४८ विद्रोहीले आत्मसमर्पण गरेको देखाएपछि माओवादीले उनलाई सेनाको जागिर नछाडे ज्यान लिने उर्दी नै गर्‍यो । “परिवारका सदस्यहरू साह्रै आत्तिए । राजीनामा दिएँ भनेर मैले पनि राजनीति गरेँ,” उनी हँसाउँछन्, “माओवादीलाई नक्कली धम्की दिन आउँछ भने मलाई नक्कली राजीनामा दिन आउँदैन ?” 

माओवादीसित सन्तोष पन्त पटक्कै डराएनन्, बरु उल्टै थर्काए । ‘तपाईंहरुले मारे पनि मेरो भौतिक शरीर मात्र नष्ट गर्ने हो,’ उनले भनेछन्, ‘के नारायण गोपाल मरेका छन् ? के देवकोटा मरेका छन् ? मेरो नाम पनि कसैले मार्न सक्दैन ।” 

अझै पनि नयाँ पुस्ताका लागि सामाजिक कटाक्षमूलक कार्यक्रम देखाउने अतिरिक्त आकांक्षा छ उनमा । “हिन्दी चलचित्र र टेलिशृंखलाबाट थिचिएका दर्शकलाई मैले नेपाली स्वाद पस्किएको थिएँ, आज पनि त्यही शैलीका कार्यक्रम आइरहेका छन्,” उनी टिप्पणी गर्छन्, “तर, लोकप्रियताको नाममा म उत्ताउलो र सस्ता सामग्री पस्किन सक्दिनँ ।”

टेलिभिजन कार्यक्रममार्फत आफूले सामाजिक समस्यामात्र नउठाएर बन्दीपुर, सौराहा, दामनजस्ता ठाउँमा आन्तरिक पर्यटकलाई ध्यानाकर्षण गराएको उनको दाबी छ । “अमेरिकामा बस्ने केटो भन्नेबित्तिकै आँखा चिम्लेर छोरी दिने प्रवृत्ति थियो । एचआईभी, ड्रग्सजस्ता विषयमा मैले धेरै काम गरेँ,” उनी भन्छन्, “संयुक्त राष्ट्रसंघले एचआईभीका क्षेत्रमा सञ्चार क्रान्ति गरेको भन्दै मलाई पुरस्कृत नै गर्‍यो ।” 

आरोहण, पौडी, जलयात्रा, घोढचढी, फायरिङमा पनि रुचि राख्ने सन्तोष गीत पनि गुनगुनाउँछन् तर रेकर्ड गराएका छैनन् । किशोर कुमार, मोहम्मद रफी, नारायण गोपाल, बच्चु कैलाश र हरिप्रसाद रिमाल उनलाई सुनिरहन मन लाग्छ । बजाउन भने उनलाई ताली मात्रै आउँछ ।  समाजसेवातर्फ २ सय २० सदस्यको आरएच नेगेटिभ ग्रुप बनाएका छन् । अटिजम भएका बालबालिकाको संस्थामा पनि आबद्ध छन् । मुमाको उपहारका रुपमा अनुवांशिक मधुमेहले गाँजेका यी कलाकारको जोश कुनै तन्नेरीको भन्दा कम छैन ।

कलाकार जीवनमा कुनै संघर्ष गर्नुपरेन सन्तोषले । एकपछि अर्को सफलताको सिँढी चढे । पहिलो प्रस्तुतिमै पुरस्कार पाए । टेलिभिजनको ढोका पनि उनका लागि सजिलै खुल्यो । टेलिभिजन हेरेका भरमा बनाए टेलिफिल्म । जन्मेदेखि नै मोटरसाइकल चढे । राजा त्रिभुवनसँग विशेष सम्बन्ध भएका उनका पिता रसियन आर्मीको उका १८० नम्बरको प्लानेटा मोटरबाइक चढ्थे । पछि गएर उनले पनि ८० नम्बरको राजदूत मोटरसाइकल चढे । 

‘नेम’ र ‘फेम’ बाट सन्तुष्ट देखिने विरलै कलाकारमा पर्छन् सन्तोष पन्त । “नयाँ र पुराना दुईवटा घर, दुईवटा गाडी सबै कलाकार भएरै पाएको हुँ,” उनी थप्छन्, “मैले यस क्षेत्रमा लागेर केही गुमाइनँ, हरेक कुरा पाएको छु । कमाइको गृहलक्ष्मीले सदुपयोग गरिदिइन् ।” 

गृहलक्ष्मी प्रतिभा खतिवडा कुनै बेला सरस्वती कलेजकी ‘क्लासमेट’ थिइन्, अहिले ‘सोलमेट’ हुन पुगिन् । सुन्दरी प्रतिभालाई दुई वर्ष लगातार ठमेलदेखि बालाजुसम्म छायाँले जस्तो ‘फलो’ गर्थे । आफ्नो प्रेम प्रस्ताव सदर भएको दिन उनी जीवनकै सर्वाधिक खुसी भए । २९ जेठ ०३८ मा धुमधाम विवाह भयो । तीन सन्तान जन्मिए, अहिले दुईमात्र छन्, साकार र केटलिन । 

जीवनभरि अरुलाई हँसाउने सन्तोष पन्तको जीवनमा दु:ख आउँदै नआएको होइन । उनकी जेठी छोरीको सात वर्षको उमेरमा स्कुलबाट घर फर्कने क्रममा सडक दुर्घटनामा निधन भएको रहेछ । “म अमेरिका भ्रमणपछि ट्याक्सीमा घर फर्कंदै थिएँ, सडक दुर्घटनामा बालिकालाई किचेको खबर सुनेँ,” उनी भावुक हुन्छन्, “हेर्न जाँदा त आफ्नै छोरी पो रहिछन् ।” उनका छोरा साकार पन्त फिल्म लाइनमै छन् भने छोराकै रुपमा जन्मिएका प्रतीक ट्रान्स जेन्डर हुन् । उनी अहिले केटलिन पन्तको रुपमा अमेरिकामा पढिरहेकी छन् । छोराको कायाकल्पले उनको परिवार साँच्चै खुसी छ । खुसीका सूत्र पनि अनेक हुँदा रहेछन् । 

प्रकाशित: असार १९, २०७४