हिन्दी मिडियम: सुन्दर र उत्तिकै सशक्त

  • कम्तीमा बच्चालाई कस्तो शिक्षा आवश्यक छ भन्ने थाहा पाउन पनि यो फिल्म हेर्नैपर्छ ।

- गोकर्ण गौतम

स्टारकास्ट, ब्यानर र प्रचारप्रसार हेरेर फिल्मको मूल्याकंन गरिन्छ । विषयवस्तु र प्रस्तुतिहेक्का राखिन्न । त्यसैले कहिलेकाहीँ कम आँकिएका फिल्मले कमाल मच्चाउँछन् । प्रशंसा मात्र कमाउँदैनन्, लोभलाग्दो व्यापार पनि गर्छन् । हिन्दी मिडियम त्यसको गतिलो नमुना बनेको छ । २३ करोड भारुमा बनेको यस फिल्मको बक्स अफिस कलेक्सन दुई सय दुई करोड नाघेको छ । तारिफ पनि उस्तै । सोही कारण भारतीय मिडियाले यसलाई ‘स्लिपर हिट’ अर्थात् अपत्यारिलो सफलताको संज्ञा दिएका छन् । हुन पनि गम्भीर विषयको यति प्रभावशाली र विश्वसनीय प्रस्तुति ज्यादै कम फिल्ममा देख्न पाइन्छ । साकेत चौधरी निर्देशित यो फिल्म भारतीयको समाजमा विद्यमान ‘अंग्रेजी फोबिया’माथिको व्यंग्य हो । इरफान खान र दीपक डोबरियलजस्ता खारिएका अभिनेताले फिल्मको चमक बढाएका छन् । 

दिल्लीको चाँदनी चोकका व्यापारी राज बत्रा (इरफान) र उनकी पत्नी मिता (सबा कमार) ले आफ्नी छोरीलाई अंग्रेजी माध्यमको स्कुल पढाउन खोज्दा भोगेको हन्डरको फेहरिस्त हो, हिन्दी मिडियम । टन्न पैसा कमाए पनि राजलाई अंग्रेजी बोल्न आउँदैन । मितालाई हल्काफुल्का मात्र आउँछ तर उनलाई आफ्नी एक्ली छोरीलाई दिल्लीको नामी अंग्रेजी स्कुलमा पढाउनु छ जसरी पनि । त्यसका लागि उनीहरूले बसाइँ सर्नु मात्र पर्दैन, कहिले भए भन्दा ज्यादा धनी र कहिले साह्रै कंगाल बन्नुपर्छ । यत्ति गरेपछि चाहेको स्कुलमा छोरीले भर्ना पाउलिन् त ? क्लाइमेक्समा एकोहोरो सन्देश लाद्न खोजेको आभास हुन्छ ।

हामीकहाँ पनि अंग्रेजी मोह नभएको होइन तर भारतमा अझ बढी छ । अंग्रेजी नआउनेलाई त पूरै पाखे नै ठानिन्छ । त्यसैले आफूले पढ्न नपाएको कुण्ठा सन्तानमार्फत पूरा गर्न खोज्छन्, अभिभावकहरू । राज र मिता यसकै प्रतिनिधि हुन् । अझ गहिरिएर नियाल्दा यो जोडीमार्फत मध्यम वर्गको मनोविज्ञान उदांगो पार्ने प्रयास गरेका छन्, निर्देशकले । व्यावहारिक र स्तरीय शिक्षा दिने भनिएका विद्यालयभित्रको धन्दा, शिक्षाका बिचौलिया र यथार्थभन्दा लहडको पछि दौडने अभिभावक अनि त्यसले बच्चाको मनोविज्ञानमा पार्ने प्रभावलाई पटकथामा कसिलो शैलीमा बुनिएकोछ । छोराछोरीको भर्ना लिन अभिभावकको परीक्षा लिने पद्धतिको खिलापमा छ, फिल्म ।

विद्यालयको दौडधुपमा रुमल्लिरहेका राज र मिता जब सुकुमबासी बस्तीमा पुग्छन्, कथामा भावुकता र रोचकता थपिन्छ । यो जोडीले यस्तो परिस्थिति सामना गर्नुपर्छ किहाँस्ने वा रुने, दर्शक अलमलिन्छन् । खासमा सुकुमबासी बस्तीको दारुण चित्रलाई उतार्दै शिक्षा प्रणालीमाथिको बेथितिको मूल विषय बलियो बनाउन निर्देशकले निकै चोटिलो ‘ट्रिटमेन्ट’ गरेका छन् । ‘गरिबीमा जिउनु एउटा कला हो’ संवादले जोकोहीको मन जित्छ । 

श्यामप्रकाश (दीपक डोबरियल)मार्फत गरिबहरू आफ्ना सन्तानको शिक्षाका लागि कुन हदसम्म बलिदानी दिन तयार छन् भन्ने तथ्य प्रतिविम्बित गरिएको छ । उनी र राजको छोरीबीच दिल्ली ग्रामर स्कुलमा भएको भेट फिल्मको शक्तिशाली दृश्यमध्ये हो । श्यामप्रकाश र उनकी पत्नीले राजको जोडीलाई गरिब बन्न सिकाएको जुक्ति काव्यिक छ । मध्यान्तरपछि फिल्मको गति थोरै धीमा लाग्छ, तैपनि दर्शक ‘इन्गेज’ हुन्छन् । तर क्लाइमेक्समा निर्देशकको पकड गुमेको छ । अनि मिताको अंग्रेजी लगाव पनि कतिपयलाई बढ्ता लाग्न सक्छ ।

जस्तोसुकै चुनौतीपूर्ण भूमिकालाई जीवन्त बनाउनु इरफानको खुबी हो । राजकारूपमा उनले त्यो अब्बलपन कायम राखेका छन् । पाकिस्तानी अभिनेत्री सबा कमारको अभिनय त्यतिकै बुलन्द छ । उनीभित्रको छटपटी र आक्रोश उनकै अनुहारमा महसुस गर्न सकिन्छ । दर्शकले सबभन्दा सम्झने कलाकारचाहिँ डोबरियल हुन् । उनको भूमिका छोटो तर अति प्रभावकारी छ । ‘हुर...’, ‘फकिरी...’ लगायतका गीत सन्दर्भ मिलाएर राखिएको छ । 

सन्देश र मनोरञ्जनको उपयुक्त मिश्रण हो, हिन्दी मिडियम । कम्तीमा बच्चालाई कस्तो शिक्षा आवश्यक छ भन्ने थाहा पाउन पनि यो फिल्म हेर्नैपर्छ । अर्कोतिर फिल्म बनाउन बजेटभन्दा बुद्धि महत्वपूर्ण हुन्छ भन्ने पुन:प्रमाणित भएको छ, यसमार्फत।

 

प्रकाशित: असार १६, २०७४