[स्मरण] ‘पढेलेखेको मान्छे प्रहरीमा ?’

  • त्यति बेला प्रहरी सेवातर्फ प्रवेश गर्न शारीरिक व्यायाम, लिखित परीक्षा आदि केही दिनु पर्दैनथ्यो ।

- खड्गजीत बराल

उच्च शिक्षा अध्ययन गर्नेहरू डाक्टर–इन्जिनियर बन्थे । त्यो नभए प्राध्यापन तथा निजामती सेवातर्फ लाग्थे । पढेलेखेकाहरूका निम्ति तिनै क्षेत्र पहिलो रोजाइमा पर्थे । तर, सामान्य अध्ययन र अध्ययनमा असफलता बेहोरिरहेका मानिसहरूका लागि भने प्रहरी र राजनीति उपयुक्त क्षेत्र मानिन्थ्यो । समाजमा यो मान्यताले जरा गाडेर बसेको थियो । 

नेपाली कांग्रेसको क्रान्तिकारी रोमाञ्चकतामा लागेर पढाइलाई बीचैमा छोडी राणा शाही समाप्त गर्ने सशस्त्र संघर्षमा होमिनेमध्येमा म पनि एक थिएँ । हजुरबुबाको हतियार चोरेर मुक्ति सेनामा आबद्ध भइरहँदा बेग्लै रोमाञ्चकता थियो । तर, जब दिल्ली सम्झौतापछिको संयुक्त सरकार बन्यो, हामीलाई एउटा ठूलै झट्का महसुस भयो । राजनीतिक पार्टीको पछि लागेर मुलुक परिवर्तनको दिशातर्फ लाग्ने हाम्रो क्रान्तिकारी सपना बीचमै तुहिएजस्तो भयो । र, झन्डै तीन महिना जेल बसेपछि त त्यो क्रान्तिकारी रोमाञ्चकता पनि हराएर गयो । त्यसपछि त आफ्नो भविष्य नै अन्धकार देखिन थाल्यो ।

जेलबाट छुटेर घर फर्किंदा पिताजीको पहिलो फट्कार थियो, ‘सकियो क्रान्तिकारी रोमाञ्चकता ! अब पढाइतिर लाग् र भविष्य सुधार् ।’ आखिर सत्य पनि त्यही थियो । तर, मुखले कुनै जवाफ फर्काइनँ । बीएस्सी पढ्दापढ्दै टुटेको पढाइलाई निरन्तरता दिन नसकेपछि बीएमा भर्ना भएँ र नयाँ सिराबाट पढाइलाई अघि बढाएँ । एमएको पढाइ पूरा गरिसक्दा नसक्दै पाँच वर्ष बितेको पत्तै भएन ।

यसरी मुक्ति सेनाको रोमाञ्चकताबाट बाहिर निस्किएर एमएको पढाइ सकेर काठमाडौँ आएको थिएँ । ठमेल–११ का तर्फबाट फुटबल खेल्दै समय बिताइरहेको थिएँ । यत्तिकैमा एक दिन लोकसेवा आयोगले राजपत्रांकित सेवातर्फ केही प्रहरी इन्स्पेक्टर आवश्यक रहेको विज्ञापन गोरखापत्रमा प्रकाशित गरेको रहेछ । नजिकको साथीले जानकारी दिएपछि मैले पनि त्यसमा भाग लिने निर्णय गरेँ । 

विसं ०१२ मा ऐन निर्माण गरी प्रहरी सेवालाई पुन:गठन गर्ने काम भयो । त्यसअघि प्रहरी सेवा करारमा चल्थ्यो । एक–एक वर्षमा म्याद थप्दै अस्थायी ढंगले अगाडि बढिरहेको स्थिति थियो । ऐन बनेर वैधानिक अस्तित्व प्रदान गरिएपछि प्रहरी सेवा  व्यवस्थित बन्न पुग्यो । ०१५ मा नियमावली बनेपछि त सरकारको एउटा अभिन्न अंगकै रूपमा यसको विकास हुन पुगेको थियो । 

तर, ०१३ मा इन्स्पेक्टर पदका लागि अन्तर्वार्ता दिइरहँदा मैले धेरै कुरा सोचेकै थिइनँ । थाहा पनि थिएन । मुक्तिसेनाका हस्तीहरू जीबी याकथुम्बा, पूर्णसिंह खवास, दिलमानसिंह थापाजस्ता व्यक्तिहरूले सुसज्जित यो संस्था केही गरौँ भन्नेहरूका लागि अवश्य पनि सुन्दर फूलबारी होला भन्ठानेर एकाएक अन्तर्वार्ताका लागि तयार भएको थिएँ । सैनिक पृष्ठभूमिको परिवारमा जन्मेहुर्केको हुनाले पनि मेरो रगतमा त्यो जुनुन कतै सवार थियो कि, जसले मलाई सुरक्षा क्षेत्रमै जान प्रेरित गरिरहेको थियो । 

त्यति बेला प्रहरी सेवातर्फ प्रवेश गर्न शारीरिक व्यायाम, लिखित परीक्षा आदि केही दिनु पर्दैनथ्यो । खालि लोकसेवा आयोगले मौखिक अन्तर्वार्ता लिन्थ्यो र उत्तीर्ण भएपछि प्रहरी सेवामा प्रवेश पाइन्थ्यो । म पनि सोही प्रक्रिया पूरा गरेर प्रहरी सेवामा प्रवेश गरेको हुँ । 

अन्तर्वार्ता दिन जाँदा तीन जना लहरै बसेका थिए । नरेन्द्रमणि आचार्य दीक्षितले मलाई सोधेको पहिलो प्रश्न थियो, ‘पोस्टग्य्राजुएसन (एमए) गरेर पनि प्रहरी सेवामा आउने सोच कसरी पलायो ?’ त्यसको तयारी जवाफ मसँग केही थिएन । अनायासै मेरो मुखबाट फुत्किएको थियो, ‘पढेलेखेका मानिसहरूले प्रहरीमा जागिर खानु हुँदैन र ?’ मेरो यो जवाफपछि तीनै जनाले मुखामुख गरे र ‘एमए पढेको मान्छे दुई सय रुपियाँ तलबमा के टिक्ला र ?’ भन्दै कानेखुसी गरेको मधुरो स्वर मेरा कानसम्म पनि ठोक्किन आइपुग्यो । अन्य सामान्य प्रश्नको जवाफ मैले सामान्य ढंगले नै दिएँ । 

एक सातापछि थाहा भयो, म अन्तर्वार्ताबाट छनोट भएछु । तर, नरेन्द्रमणि आचार्य दीक्षितले सोधेको प्रश्नले मलाई लामो समयसम्म पछ् याइरह्यो । मेरो पिताजीले पनि भन्नुभयो, ‘प्रहरीमा तँ के टिक्न सक्छस् र † केही दिनको पाहुना त होलास् ।’ इन्स्पेक्टरको नियुक्ति बुझेर पहिलोपटक तत्कालीन प्रहरी महानिरीक्षकको कार्यालयमा प्रवेश गर्दा पनि मैले सामना गर्नुपरेको पहिलो प्रश्न त्यही थियो । तत्कालीन डीआईजी दिलमानसिंह थापाले त मुखै फोरेर भनेका थिए, ‘यत्रो पढेलेखेको मानिस पनि के प्रहरीमा जागिर खान आएको ? पहिले नै भनेको भए अन्यत्र भनिदिन्थेँ नि !’

प्रहरी प्रशासन भनेको डन्डाको भरमा चल्ने निकाय हो, त्यसमा शिक्षित र पढेलेखेका मानिस जरुरी नै हुँदैन भन्ने मान्यता जबर्जस्त रूपमा थियो त्यतिबेला । जसको सामना पलपलमा गरिरहनुपथ्र्यो । मैले प्रहरी सेवामा प्रवेश गरेर आफ्नो क्षमता प्रदर्शन गर्ने भरपूर अवसर पाएँ । मेरो अध्ययनले त्यो सेवालाई कति सहयोग मिल्यो, त्यो त म भन्न सक्दिनँ । तर, मलाई भने त्यही पढाइका कारण त्यहाँ बसेर काम गर्दा ठूलठूला चुनौती र अवसरको सामना गर्न सहयोग पुर्‍यायो र असफलताबाट बचाउन मद्दत गर्‍यो ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: असार १६, २०७४