डोल्पामा वैवाहिक भूमण्डलीकरण

  • डोल्पाली चलनअनुसार मागी वा भागी दुवै विवाहका लागि पहिलो कदम हो, केटाले केटीको हात समातेर भगाउनैपर्ने हुन्छ ।

- अंकलाल चलाउने

सडकले विवाह संस्कारमा कस्तो बदलाब ल्याइरहेको होला ? प्रश्न हाँसउठ्दो मात्र होइन, वाहियात पनि लाग्ला । तर, सहस्र समाजशास्त्री र विकासशास्त्री भएर के भो, यहाँ समाजका यस्ता तेर्सा–मसिना आयाम केलाउने फुर्सद कसैलाई छैन । भौगोलिक दूरी र भूमण्डलीकरणबीचको साइनो के हो ? यस लेखमा विवाह र सडकबीच के–कस्तो सम्बन्ध रहन्छ भन्नेबारे ‘सानो कुरा’ गरिएको छ ।

डोल्पाली चलनअनुसार मागी वा भागी दुवै विवाहका लागि पहिलो कदम हो, केटाले केटीको हात समातेर भगाउनैपर्ने हुन्छ । भगाएर ल्याएपछि घरमा पसाउने वा सिन्दुर हाल्ने प्रक्रिया हुन्छ, जसलाई घरपसियो भनिन्छ । घरपसियो भएको केही दिनसम्म विवाहित जोडीलाई लुकाइन्छ । किनकि माइतीपक्ष छोरीको खोजीमा आउने चलन हुन्छ । ‘छोरी मनले गई या अमनले ?’ माइती खोजीमा आउँदा सोधिने चल्तीको प्रश्न हो । यो प्रक्रियालाई धाद जाने भनिन्छ । ‘धाद’को अर्थ हो, ‘खोज’ । 

यदि लुकाएको भेटाए सोधपुछ हुन्छ । छोरीले आफूखुसी आएको भनिन् भने माइतीलाई धाद खुवाएर (खसी काटेर खुवाउने) पठाउनुपर्छ । छोरीले जबर्जस्ती आउनुपरेको भनिन् भने छोरी लिएर माइती फर्किन्छन् तर यस्तो दुर्लभै हुन्छ । किनभने, घरपसियो भइसकेपछि श्रीमती भइसकेको मानिने हुँदा भविष्यमा बेहोर्नुपर्ने झन्झटभन्दा ‘कर्ममै यही लेखेको रहेछ’ भन्नु सहज हुन्छ । 

यदि माइतीपक्ष धाद गर्न तीन/चार दिनसम्म आएनन् वा आएर पनि लुकाइएकी छोरी नपाई फर्किएको अवस्थामा पोइली अर्थात् केटापक्षबाट सोध्न जाने चलन हुन्छ । त्यसपछिका बाँकी प्रक्रिया पूरा गर्न पोइलीले माइतीसँग बफादारितासाथ सल्लाह लिनुपर्ने हुन्छ । औपचारिक विवाहको तिथिमिति तय गर्ने अधिकार माइतीसँग हुने भएको हुँदा आफ्नो अनुकूल गर्ने नै भए । यसो भनेर पोइलीको अनुकूलतालाई वास्ता नगरिने होइन ।

माइतीले अड्डी कसे पोइलीले सामाजिक प्रतिष्ठाका लागि भए पनि कमजोर नदेखिने भन्ने हुन्छ । तर अड्डी कस्ने अवस्था भने भागीको प्रकृतिले निर्धारण गर्छ । 

यो ‍औपचारिकतालाई पनि दुई किसिमबाट सुल्झाउने संस्कार छ : भ्या वा सरौटी । भ्या अर्थात् भव्य बिहे । खर्च, जन्ती, दाइजो, कर्मकाण्ड आदिको आकार ठूलो हुन्छ । सामाजिक प्रतिष्ठा झल्काउन यो विधि अपनाइन्छ । भ्याको औपचारिकता पूरा हुने गरी झन्डै आधा खर्चले नातासम्बन्ध फेर्ने, छोरीलाई एक घरबाट अर्को घरमा सारेर बुहारी बनाउने विधि सरौटी हो । पछिल्लो समयमा सरौटी व्यापक चलनचल्तीमा छ । भ्या बढी खर्चिलो हुनाले लगभग हराउन थालेको छ ।   

विवाहका सरसामान जोहो गर्न हाटबजार जाने चलन छ । आजभन्दा दुई दशक अघिसम्म र अहिले पनि डोल्पाको हाटको प्रमुख केन्द्र नेपालगन्ज हो । हाटका लागि तीन महिनाको यात्रा तय गर्नुपथ्र्याे । बजारसम्म पुग्नै महिना दिन लाग्थ्यो । हाट जाने भनेकै हिउँदमा । अरू बेला खोलानाला तर्नुपर्ने हुँदा गाह्रो हुन्थ्यो । 

वर्षभरिको आवश्यकता पूरा गर्न हिउँदे–यात्रा–योजना बनाइन्थ्यो । यसबाहेक भागीपछिको औपचारिकता भ्या वा सरौटी वर्ष दिनपछि गर्नुपर्ने बाध्यता नै संस्कृति थियो । तर अहिले साइतबाहेक पहिलेजस्तो हाटबजारकै कारणले लम्ब्याउनुपर्ने बाध्यता बदलिएको छ । किनभने अहिले हाटको गन्तव्य फेरिएको छ । महिनौँको यात्रा घन्टौँमा झरेको छ । 

साउन ०७३ देखि डोल्पा–रुकुमको सिमानामा पर्ने त्रिवेणीसम्म ट्रयाक खुलेपछि मोटरबाटोले छोएको छ, डोल्पा । भेरी करिडोर नामको यो सडक नेपाली सेनाले ०६० को दशकमा छिन्चु–सल्लीबजार खण्डबाट थालेको हो । ट्रयाक खुलेसँगै गाउँठाउँमा बजार बनेका छन् । सरसामान किन्न सहज बन्दै छ । सडकमा हुने आउजाउले नयाँ भूगोल र समाजसँग परिचय र हिमचिम बढाएको छ । अब डोल्पामा वैवाहिक भूमण्डलीकरणको स्वरूप देखिन थालेको छ । अझ भनौँ, विवाह संस्कारको अवधिलाई सडकले छोट्याएको छ । घरपसियोदेखिका यावत् विवाहक्रम छोटिएका छन् । अर्थात् संस्कृति नै फेरिदिएको छ, सडकले । अब, विवाहका लागि हाट र हाटका लागि हिउँद कुर्नु पर्दैन ।

मागी विवाह सफल र भरपर्दो मान्ने समाजमा नबुझेको/नजानेको ठाउँमा वैवाहिक सम्बन्ध बढाउन गाह्रै हुन्छ । छोरा/छोरी परिबन्धमा नपरुन् भन्ने चाहना हरेक आमाबुवाले राख्छन् । त्यसैले विवाहको औपचारिकतालाई लम्बाउने गरेको कतिपय अवस्थामा देख्न सकिन्छ । तर, डोल्पाको सन्दर्भमा विवाह र त्यसको औपचारिकतामा लामो समयको अन्तराल  हुन्थ्यो । सम्बन्ध नमिलेर हुने धोका, नि:सन्तानको आशंका, सम्पत्ति लोभ–लालचको सम्बन्धले निम्त्याउने समस्या आदि बुझ्न भएको अन्तराल नभई भौगोलिक विकटताले संस्कारमा पारेको असर थियो । 

प्रकाशित: असार १६, २०७४