‘हिमानीको हातमा तारा बनाइदिएँ’

  • एउटा कार्यक्रममा मैले केटाकेटीको गालामा कोरिदिएको पेन्टिङ देखेर हिमानीले पनि आफ्नो हातमा बनाइदिन आग्रह गरिन् र कोरिदिएँ ।

- मनबहादुर बस्नेत

ललितकला क्याम्पसबाट फाइन आर्टमा स्नातक केदार दाहाल, २७, फेस पेन्टिङमा स्थापित नाम हो । बालबालिकाको जन्मदिन, विभिन्न मेला, पर्व र पारिवारिक जमघटहरूमा गएर उनले मानिसको अनुहारमा आकर्षक शैलीका रङहरूले बुट्टा बनाइदिन्छन् । फेस पेन्टिङको चलन नेपालमा भित्रिएको त्यति लामो समय नभए पनि अहिले यस्तो प्रचलन बढिरहेको छ । सानैमा बुवा बितेपछि भक्तपुरकै एसओएस बालग्राममा हुर्किएका दाहालसँग यसै विषयमा गरिएको संवाद :  

फेस पेन्टिङ कस्तो खालको कला हो ? 
खासमा यो मुहार चित्रकारिता (पोट्रेट पेन्टिङ) कै एउटा रुप हो । यस खालको आर्टमा कुनै पनि महोत्सव, मेला, पर्वका बेला अनुहारमा कला कुँदिन्छ । 

अनुहारमा पेन्टिङ किन बनाइन्छ ? 
रमाइलोका लागि । कहिलेकाहीँ कुनै ‘इस्यु’मा आधारित बनेर विशेष सन्देश प्रवाह गर्न पनि यो काम लाग्न सक्छ ।

केटाकेटीले अनुहारमा कस्ता चित्र बढी मन पराउँछन् ? 
बालिकाहरूले पुतली, प्रिन्स, फूलजस्ता मुलायम किसिमका चित्र बढी मन पराउँछन् भने बालकहरूले सुपरम्यान, ड्रागन, मुर्कट्टाजस्ता डरलाग्दा चीजहरू कुँदेर आनन्द लिन्छन् । कार्टुनका पात्रहरू बनाइदिन समेत आग्रह गर्छन्, उनीहरू । 

मेला, पर्वमा चाहिँ कस्ता कुराहरू देखाइन्छ ? 
आफ्नो पहिचान, संस्कृति, भेषभूषा झल्कने कुरा अनुहारमा कोर्ने बढी हुन्छन् ।  

तपाईं किन फेस पेन्टिङमा नै लाग्नुभयो ? 
मलाई ‘मास’मा भिज्न एकदमै मन पर्छ । नयाँ ठाउँ, नयाँ मानिससँग घुलमिल हुदा आनन्द आउँछ । अर्को कुरा नढाँटी भन्नुपर्दा मैले आफ्नो जीवन गुजारा गर्न समेत यस्तो पेन्टिङ गर्ने गरेको हुँ । 

फेस पेन्टिङबाट गुजारा चल्छ ? 
फेस पेन्टिङको संस्कृति पश्चिमा जगत्बाट भित्रिएको हो । यस्तो चलन उच्च वर्गमा ज्यादा हुन्छ, जसले राम्रै पैसा दिन्छन् । केही घन्टा कला खिपेपछि तत्कालै पैसा आइहाल्छ । कहिले चित्र बिक्छ भनेर कुर्नुपर्दैन । 

सहजै पैसा कमाउने भएपछि तपाईं यसप्रति आकर्षित हुनुभयो ? 
पैसा एउटा कारण हो भन्न खोजेको हुँ, त्यो पनि कुनै एउटा कालखण्डमा मात्र । यसको अर्को फाइदा के भने समाजका हाई प्रोफाइल व्यक्तिहरूसँग सम्बन्ध जोडिन्छ । 

फेस पेन्टिङ गर्दाको सम्झिरहने क्षण छ, कुनै ? 
मलाई पूर्वयुवराज्ञी हिमानी शाहको शरीरमा पेन्टिङ बनाइदिएको समय यादगार लाग्छ । मैले उनको दाहिने हातमा ताराको चित्र बनाइदिएको थिएँ । 

कसरी जुर्‍यो त्यस्तो अवसर ? 
एउटा कार्यक्रममा मैले केटाकेटीको गालामा कोरिदिएको पेन्टिङ देखेर हिमानीले पनि आफ्नो हातमा बनाइदिन आग्रह गरिन् र कोरिदिएँ । 

अब फेस पेन्टिङमै केन्द्रित हुने हो ? 
फेस पेन्टिङ सिर्जनात्मक कला होइन । अहिले पनि म पोट्रेट पेन्टिङहरू गरिराखेको छु । तर पूरा समय त्यसमा दिएको छैन । अब भने बिस्तारै आफूलाई सिर्जनात्मक कलातिर बढी लैजाने सोचमा छु । अहिलेसम्म मैले धेरै समय अरूको ‘फन’का लागि दिएँ, अब आफ्नो आनन्दको विषयमा चित्र बनाउँछु । 

प्रकाशित: असार १६, २०७४