जीवन चलिरहन्छ...

  • प्रारब्धको खेललाई जसले इच्छाशक्तिको सहाराले जिते

- गोकर्ण गौतम

जीवन ३० औँ वसन्तमा दौडिरहेको थियो । मोटरसाइकल प्रतिकिलोमिटर ४० को गतिमा । अनि समय रातको ९ बजेर १० मिनेट हुँदै थियो । गजेन्द्र बुढाथोकीलाई कुपन्डोलस्थित राजधानी दैनिकको कार्यालयमा पुगेर समाचार फाइल गर्न हतारो थियो । पानी दर्किरहेको छ । चस्मा टल्किरहेको छ । दरबारमार्गबाट भद्रकालीको मोडमा आइपुगेपछि अगाडिबाट बडेमाको बस बत्तिँदै आयो, आँखै खाने बत्ती बालेर । गजेन्द्र मोटरसाइकल छेउ लगाउन खोज्दै थिए । ड्याम्म...† बसले बाइकलाई ठक्कर दियो । तर चोट बाइकभन्दा उनको शरीरमा लाग्यो । मेरुदण्ड पूरै भाँचिएछ । अब मुटुभन्दा मुनि पाइतालासम्म पूरै अचेत । न काटेको थाहा हुन्छ, न पोलेको । दिसापिसाब आएको पनि पत्तो हुन्न । जसलाई मेडिकल भाषामा ‘पाराप्लेजिया’ भनिन्छ ।

घटना फरक तर प्रबिन श्रेष्ठलाई पनि यही ‘पाराप्लेजिया’ले पिरोल्यो । उनी १८ वर्ष पुग्दै थिए । उनको म्युजिक ब्यान्ड थियो । उनी चाहिँ गिटारिस्ट । राती कार्यक्रम सकेर घर फर्कंदै गर्दा उनको समूहमाथि महाराजगन्जमा अज्ञात ‘ग्याङ’ले आक्रमण ग¥यो । १८ असोज ०५४ को त्यही दिन अन्तिम थियो, उनको पाइतालाले महसुस हुने गरी भुइँ छोएको । छातीमुनिको भाग जस्ताको त्यस्तै छ, भौतिक रूपमा । तर चेतना शून्य–शून्य ।

आठ वर्षकी फुच्ची पुतलीजस्तै हुन्छन्, चञ्चल र स्वच्छन्द । रोमा न्यौपाने त्यस्तै थिइन् । नाच्नुपर्ने, गाउनुपर्ने । एकदम फरासिली । सुनसरीको इटहरीमा घरबाट स्कुल जाँदै थिइन् । बाटो काट्न लाग्दा कोपिलाझैँ रोमालाई बसले किच्यो । श्वास त बल्लतल्ल बच्यो तर देब्रे गोडा पूरै गयो । अर्थात् पुतलीको एउटा पखेटा चुँडियो ।

भूकम्पको भोलिपल्ट अर्थात् ६ भदौ ०४५ को दिन मुसलधारे वर्षा भयो, रोकिँदै रोकिएन । ठूलो बाढी आयो र बगायो, सुनसरी प्रकाशपुरका प्रकाश तिमिल्सिनाको घर । घर मात्र बगाएन, एक वर्षका प्रकाश, उनका बुबा, आमा, हजुरबुबा र तीन काकालाई पनि लग्यो । प्रकाशलाई खोलाको किनाराबाट एक जना माझीले बचाए । अरू सबै कहिल्यै फर्केर आएनन् । धन्न ! त्यो दिन हजुरआमा अस्पताल भर्ना भएकी थिइन् र बचिन् । सम्पत्ति र परिवार सबै कोसीले बगाएपछि अर्काको घरमा काम गरेर प्रकाशलाई हुर्काइन्, ५७ वर्षीया हजुरआमाले । दौड्दा सधैँ लड्थे बंगलंग–बंगलंग । एक दिन रुँदै हजुरआमाकहाँ गए र सोधे, ‘मेरा अरू साथी कहिल्यै लड्दैनन् । मचाहिँ किन सधैँ लड्छु ।’ हजुरआमाले छाँद हालेर भनिन्, ‘तिमीले आँखा देख्दैनँैँ त्यही भएर ।’ प्रकाश चार वर्ष भइसकेका थिए, नियतिले आफ्नो आँखाको प्रकाश पूर्ण रूपमा लुटेको छ भन्ने थाहा पाउँदा । 

जीवनको उर्वर समयमा आधा शरीर अचेत हुनु, कखरा सिक्दा नसिक्दै एउटै गोडा पूरै गुमाउनु अनि आँखाको ज्योति हराउनु । बलिरहेको बत्ती झ्याप्प निभ्नु वा बगिरहेको नदी अडिनुजस्तै होइन र ? हो, उनीहरूको जीवन पनि रोकियो तर पूर्णविराम लागेन । वाक्यमा कमा जस्तै । तर त्यसपश्चातको रफ्तार जादूयी । सुन्दा नमज्जा र अप्रिय लाग्न सक्छ, तर त्यो पीडादायी घटनाले उनीहरूको जीवनमा नयाँ बहार बोकेर ल्यायो । त्यो कसरी पनि भने शारीरिक अपांगता उनीहरूको प्रगति र सफलताको बाधक बनेन । बरु सहायक बनिदियो । उनीहरूले आ–आफ्नो ‘करिअर’मा हासिल गरेको उपलब्धि कुनै सांग व्यक्तिको भन्दा रत्तिभर कम छैन । 

ह्वीलचेयरबाट काम गरेरै गजेन्द्र कारोबार दैनिकको समाचार सम्पादक भएका छन् । प्रबिनले एउटा फिचर फिल्म र झन्डै ८० वटा म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने एक हजारभन्दा बढी म्युजिक भिडियो सम्पादन । ‘वान लेग डान्सर’को परिचय बनाएकी रोमाले नृत्यबाटै मनग्ये नाम र दाम कमाएकी छन् । लोकप्रिय गायक प्रकाशले गायनबाटै परिवार पालिरहेका छन् । 

दुःख र संघर्षको आयतन भिन्न होला तर उनीहरूको भोगाइ उस्तै छ । उनीहरूको चमक र सक्रियता हेर्दा लाग्छ, श्वासचाहिँ बच्नुपर्छ, शरीर जति क्षति भए पनि कुनै न कुनै क्षेत्रमा सफल भइन्छ । हो, इच्छाशक्ति र आत्मबल हुनुप¥यो । प्रबिन साझा अनुभव सुनाउँछन्, “जीवन कहिल्यै विकल्पहीन हुँदो रहेनछ । केवल विकल्प (क्षमता)लाई पहिल्याउन र पछ्याउन सक्नुपर्छ ।”

पत्रकारितामा झ्न व्यस्त 

समाचार लेख्न अफिस हुइँकिएका गजेन्द्रको ८ असोज ०६५ पछिका पाँच महिना अस्पताल बास भयो । रिर्पोटिङको दौडधुपमा बित्ने दिन अस्पतालमै थन्कियो । बेडबाटै पत्रपत्रिकाका लागि लेख लेख्थे तर मन कहाँ मान्थ्यो र ? तैपनि सन्तोष नमानी धरै थिएन, किनभने अब प्रत्येक चालमा अरू कसैको सहारा चाहिन्थ्यो । अस्पताल हुँदा त साथीभाइ आउँथे, दिनहरू जसोतसो कट्थ्यो तर घरमा आएपछि पूरै न्यास्रोपन । चरम निराशाले गाँज्न थाल्यो । उम्कन खोज्थे । मुटुमुनिको भाग देख्नासाथ भक्कानो फुट्थ्यो । तर पत्नी कुन्ता थापाको साथ अनि पुस्तकले बिस्तारै मन भुलिन थाल्यो ।

खासगरी आर्थिक पत्रकारितामा दक्ष उनी घरमै उपलब्ध स्रोत–साधनको प्रयोगमार्फत अध्ययन–अनुसन्धानमा अभ्यस्त हुन थाले । ती पल यसरी सम्झिन्छन् उनी, “बिस्तारै ममा पश्चात्ताप र आत्मग्लानिमा पिल्सने कि जे छ, त्यसमै रमाएर अगाडि बढ्ने भन्ने सवाल पैदा भयो । मैले दोस्रो विकल्प रोजेँ ।” त्यही बेला उनी दैनिकी डटकम नामक अनलाइन न्युज पोर्टलको सम्पादकमा नियुक्त भए । आफू एक पाइला हिँड्न सक्दैनथे तर वेबसाइटमा समाचार छिन–छिनमा अपलोड गर्नुपथ्र्यो । यस्तो चुनौतीलाई सामना गर्न सकिन्थ्यो होला र ? भन्छन्, “सकेँ । किनभने मेरो आधा शरीर नचले पनि हात र दिमाग चल्थ्यो नि ।” 

बस्थे कलंकीमा, कार्यालय थियो धुम्बाराहीमा । प्रत्येक दिन ह्वीलचेयर चढेर कार्यालय पुग्थे । समाचार लेख्न, सम्पादन गर्न अनि पोस्ट गर्न भ्याईनभ्याई हुन्थ्यो । केही समयपछि कारोबार दैनिकमा जोडिए । त्यसपछि कलंकीबाट मध्यबानेश्वर धाउन थाले । घरबाट सडकसम्म ह्वीलचेयर, त्यसपछि ट्याक्सी अनि कार्यालयको आडैबाट फेरि ह्वीलचेयर । उनलाई कुनै समस्या थिएन तर अफिसले घरबाटै काम गर्ने बन्दोबस्त मिलाइदियो । पत्रिकाको विचार पेज सम्पादकका रूपमा आठ वर्ष काम गरे, घरबाटै । त्यो अवधिमा उनले लेखन र सम्पादनको काम त गरे नै, सँगै अर्थशास्त्रका पुस्तक र जर्नल पनि पढ्न भ्याए । तथ्यांक विश्लेषण गरे । त्यसका प्रतिफल हुन उनका दुई पुस्तक, आर्थिक उदारीकरणको बीस वर्ष र समकालीन नेपाली अर्थतन्त्र । नयाँ पुस्तकको लेखन अन्तिम चरणमा पुगेको छ । भन्छन्, “यस्तो लाग्छ, दुर्घटना नभएको भए रिर्पोटिङमै अल्झिन्थे होला, यति गहन अध्ययन गर्ने र पुस्तक लेख्ने मेसो यति छिटै जुर्दैनथ्यो कि ।” 

दुर्घटनाले नै उनको जीवनमा नयाँ पहिचान बनाएको छ । जस्तो, अभिप्रेरक प्रशिक्षणमा ठाउँठाउँ पुग्छन् । जहाँ उनी शारीरिक अपांगता भएकालाई मात्र होइन, सबलांगलाई पनि सफलता र संघर्षका कथा सुनाएर प्रेरणा दिन्छन् । विभिन्न कलेजमा ‘गेस्ट लेक्चरर’का रूपमा आबद्ध छन् । काठमाडौँलाई ह्वीलचेयर अनुकूल सहर बनाउने अभियानमा अग्रसरता लिइरहेका उनी अपांगता मामलासम्बन्धी उच्चस्तरीय संयन्त्रका सल्लाहकार हुन् । इच्छाशक्ति र आँट कतिसम्म बढेको छ भने अघिल्लो वर्ष ह्वीलचेयरबाटै ११ दिन लगाएर अन्नपूर्ण पदयात्रा छिचोलेर आए । दुई पटक आत्महत्याको प्रयास गरेका गजेन्द्र हाँस्दै सुनाउँछन्, “कमाइ पनि बढेको छ । पहिले भाडामा बस्थेँ, अहिले कपनमा आफ्नै कमाइले ह्वीलचेयर अनुकूल घर बनाएको छु ।” 

ह्वीलचेयरबाटै एक्सन–कट

गिटारिस्ट भए पनि प्रबिनको सपना थियो, कि सैनिक कि चाटर्ड एकान्टेन्ट बन्ने । काठमाडौँमै जन्मे÷हुर्केका उनी पढाइमा अब्बल थिए तर मेरुदण्ड भाँचिएपछि दुवै सपना चकनाचुर भयो । १९ दिन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल र डेढ महिना वीर अस्पतालमा बिताए । अस्पतालबाट घर फर्कंदा चिकित्सकले हिँड्न सक्ने सम्भावना औँल्याएका थिए । त्यसैले प्रबिनले हरेस खाएनन् ।

नियमित फिजियोथेरापी गर्थे । डेढ वर्ष बित्यो तर केही उपलब्धि भएन । बिस्तारै साथीभाइ घर आउन पातलियो । परिवारका सदस्य पनि आ–आफ्नै काममा व्यस्त हुन थाले । “अनि मलाई एकदमै निराशा र एक्लोपनले सताउन थाल्यो,” ती कठोर दिन स्मरण गर्छन्, “जोसँग पनि झगडा गर्न थालेँ । सामान तोडफोड गर्न थालेँ । रक्सी र चुरोटको कुलतमा फसेँ । जिन्दगीदेखि धिक्कार लाग्थ्यो ।” 

हुन पनि त्यस्तो मोजमस्ती र रमाइलो गर्ने बेलामा घरमा थुनिएर बस्नुपरेपछिको पीडा कम्ती गहिरो थियो होला र ! दिन, महिना र वर्ष बित्यो । प्रबिनको जीवन अन्धकारको अन्धकारमै । आफैँ र दुनियासँग रिसाएर दिन काट्नुको विकल्प थिएन । कार्यक्रम र स्टुडियो धाउन सक्दैनथे । त्यसैले संगीत पनि छोडे । 

यसरी सात वर्ष गुज्रिसकेको थियो । एकदिन इमेज च्यानलमा कार्यरत सुरज श्रेष्ठ उनलाई भेट्न घर पुगे । सुरजको यही आगमनसँगै उनको जीवनमा सुनौला दिन फर्किए । भिडियो सम्पादन सिक्न सल्लाह दिए । कम्प्युटरमा बसेर काम गर्ने भएकाले प्रबिनका लागि यो काम सम्भव र अनुकूल थियो । भोलिपल्टैबाट एक जना प्रशिक्षक घरमै आएर सिकाउन थाले । प्रबिन मुस्कुराए, “अरू केही काम थिएन, सम्पादन सिक्न थालेपछि मलाई संसार पाएजस्तो भयो । दिनकै १६–१७ घन्टा कम्प्युटरमा रमाउन थालेँ ।” किशोरवयदेखि नै सिर्जनात्मक कार्यमा तल्लीन उनले सम्पादनमा छोटै समयमा ठूलो उपलब्धि हासिल गरे । योगेश्वर अमात्यको ‘छैन तिम्रो भेट...’बाट सुरु भएको म्युजिक भिडियो सम्पादन यात्राले रफ्तार लियो । त्यसपछि व्यस्त पनि, पैसा पनि । बोझिलो लागेको आफ्नै जीवनदेखि माया लाग्न थाल्यो ।

सम्पादनमा कति सफल भए आजभन्दा छ वर्षअघि नै उनी महिनाको डेढ लाख रुपियाँसम्म कमाउँथे । त्यसमाथि भिडियो आफैँ निर्देशन गर्न थाले, ह्वीलचेयरबाटै एक्सन–कट भन्दै । तीन दर्जन भिडियो निर्देशनपछि फिल्म निर्देशन गरे, मोक्ष । डाँडाकाँडा जहाँ त्यही क्यामेरा लिएर पुग्थे । उनकै जीवनीमा आधारित यस फिल्मले सकारात्मक समीक्षात्मक प्रतिक्रिया बटुल्यो । समय कस्तो आएको छ भने हिजो सुको कमाइ नगर्ने उनी आजकल अरूलाई रोजगारी दिन सक्ने हैसियतमा पुगेका छन् । एउटा भिडियो बनाउँदा घटीमा एक दर्जनले काम पाउँछन् भने फिल्मबाट त दर्जनौँले । 

यही बीचमा उनले विवाह गरे । बाबु पनि बने । कहीँकतै ग्लानि र पीडा छैन । भन्छन्, “हिम्मत हार्नु भएन, दुर्घटनालाई नयाँ जन्म सम्झेर अघि बढ्नुपर्छ । जीवन कहिल्यै नीरस हुन्न ।”

एउटै गोडामा छमछमी

गोडा गुमेको वर्ष रोमाको पढाइ रोकियो । छ महिना त अस्पतालमै । बैसाखी टेक्न सिक्नै समय लाग्यो । आर्थिक स्थिति कमजोर थियो । सबै काममा जान्थे, उनको कामचाहिँ घर कुर्ने । कि क्यासेटमा गीत सुन्ने कि टिभी हेर्ने । तेस्रो विकल्प थिएन । गीत सुने पनि टिभी हेरे पनि नाच्थिन् तर ढोका थुनेर । “म हिँड्दा त मान्छेहरू जिस्क्याउँथे भने नाच्दा त झन् बेइज्जत गर्थे,” रोमा भावुक सुनिइन्, “त्यसैले घरकालाई समेत नाच्छु भनिनँ ।” त्यति सानी बच्ची तर अरूको व्यवहार यति रुखो हुन्थ्यो कि गोडा गुमाउँदाको भन्दा तीखो तीरले बिझाउँथ्यो ।

जसोतसो एसएलसी पास गरिन् । त्यसपछि उनलाई इटहरीमा बस्न पटक्कै मन लागेन । साहस यति बलियो कि एक्लै काठमाडौँ आइन् । यहाँ आएपछि खिसी गर्ने कम भए । एकपटक पिकनिक जाँदा नाच्ने मौका पाइन् । एउटा गोडाले मस्त नाचेको फोटो पारा ओलम्पिक कमिटीको सदस्यको हातमा प¥यो । त्यसको केही समयपछि कमिटीले प्रज्ञा भवनमा गरेको कार्यक्रममा रोमाले ‘गुरास फुल्दा वनै घमाइलो...’ गीतमा नृत्य गरिन् । यो उनको पहिलो स्टेज डान्स थियो र दर्शकबाट आठ सय रुपियाँ उपहार पाइन् । त्यो भन्दा ज्यादाचाहिँ सबैले उनको नृत्यको तारिफ गरे । कार्यक्रम सकिएपछि उनलाई भेट्नेको लर्को लाग्यो । मिडिया कभरेज पनि उस्तै । माया, सम्मान अनि पैसा सबथोक । त्यसपछि के चाहियो, रोमाको नृत्य मोह झन् गहिरियो । यो प्रसंग हो, ०५६ को । 

केही समयपछि चलचित्र विकास बोर्डको एक कार्यक्रममा रोमाले नृत्य गर्ने मौका पाइन् । लामो कपडा लगाएकाले उनले एउटा गोडाले मात्र नाचेको भन्ने धेरै दर्शकलाई पत्तै थिएन । त्यही कार्यक्रममा अतिथि थिए, नेपालका लागि इजरायलका तत्कालीन राजदूत डन विन एलिजर । जब अभिनेत्री जल शाहले एलिजरलाई रोमाबारे बताइन, उनी यति प्रभावित भए कि एक महिने इजरायल भ्रमणको निम्तो दिए । यो उनको पहिलो विदेश यात्रा थियो । त्यहाँ उनले नेपाली मात्र होइन, विदेशीमाझ पनि आफ्नो नृत्यकला पस्किइन् । सामान्य भाषामा भन्दा, त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । लोकप्रियताको सिँढी उक्लेको उक्लै । ५ असारमा प्रज्ञा भवनकै प्रांगणमा उनले नेपालसँग भनिन्, “इजरायल जानु पहिले मैले स्टेज माग्दै हिँड्नुपथ्र्यो, फर्केपछि स्टेजले मलाई खोज्न थाल्यो ।” पत्यार नलाग्ला, नृत्य पस्कनकै लागि देशका ४० भन्दा बढी जिल्लाका गाउँगाँउ मात्र होइन, १७ वटा देश पुगिसकेकी छन् । 

सुरु–सुरुमा रोमालाई सबै भार थेग्नुपर्ने भएकाले केही बेर नाच्दा गोडा ज्यादै दुख्थ्यो । तर अहिले बानी परिसकेको छ । एकै पटक आठ–दशवटा गीतमा नाच्न सक्छिन् । जब स्टेज उक्लिन्छिन् र गीत बच्छ, एउटा गोडा नभएको नै बिर्सन्छिन् । दर्शकले पनि बिचरा पात्रका रूपमा लिँदैनन्, बरु उनको गीतमा मन्त्रमुग्ध भएर प्रशंसा गर्छन्, रमाउँछन् । त्यसो त स्टेज नृत्य मात्र होइन, मैदान फिल्ममा राजेश हमालकी बहिनीका रूपमा अभिनय गरेकी छिन्, उनले । मह जोडीको डा.सुनिता, अंशजस्ता सिरियल र एक दर्जन म्युजिक भिडियोमा काम गरेकी छन् । 

भूकम्पपश्चात् शिविर–शिविर धाएर नृत्य देखाइन् । प्रत्येक साताजसो स्कुल र कलेज पुगेर ‘मोटिभेसनल स्पिच’ दिन्छिन् । तर उनको चाह अझ दुर्गममा पुगेर नृत्य गर्नु हो । किन 

त ? भन्छिन्, “गाउँमा अपांग सन्तानलाई बाबुआमाले समेत हेयको दृष्टिकोणले हेर्छन् । म त्यहाँ पुगे भने त्यो व्यवहार बदल्न सक्छु जस्तो लाग्छ ।”

संगीतबाट ज्योति

कोसीले सबथोक बगाएपछि हजुरआमाले धरान लिएर आइन्, प्रकाशलाई । त्यहाँ उनकी हजुरआमा एउटा घरमा सहयोगीका रूपमा काम गरेर बस्थिन् । त्यो घरको आफन्तको बिहे भोजमा प्रकाश र हजुरआमा पनि जान पाए । ठूलो स्वरमा गीत घन्किरहेको थियो । प्रकाशलाई लाग्यो, कोही मान्छे बोलिरहेको छ । उनी ध्वनि पछ्याउँदै गए । धुनले तान्यो । बडो आनन्द लाग्यो । सुन्दै जादा शब्द र स्वर कपी गर्न सके । अरूको अगाडि गाए । उनको स्वरमा यति मिठास रहेछ कि सबैले काखमा लिएर गाउन लगाउन थाले । त्यसपछि त एक कान दुई कान मैदान गर्दै छरछिमेकीमाझ प्रकाश प्रिय हुन थाले । सायद दृश्यविहीन र टुहुरो भएकाले थप संवेदना पलाएको हुँदो हो । भन्छन्, “तर त्यतिबेला मलाई क्यासेट र रिलले गाउने हो भन्ने लाग्थ्यो । मान्छेले गाउँछन् भन्ने धेरैपछि थाहा पाएको ।” 

खान–लाउनै मुस्किल थियो, गायनमा प्रकाश कसरी अगाडि बढ्नु ? तर यही गायनकलाको कारण उनले स्कुल भर्ना हुने मँैका पाए । कक्षा–५ पास गरेपछि एक विदेशीले उनलाई काठमाडौँको ल्याबोरेटरी स्कुलमा ल्याएर पढाउनुमा गायनकै भूमिका थियो । गीत त सुन्थे तर यहाँ आएपछि पढाइमा व्यस्त भए किनभने सामान्य स्कुल पढेका उनलाई त्यो स्कुलका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न हम्मेहम्मे प¥यो । तर ब्रेल लिपिमा पढेरै प्रथम श्रेणीमा एसएलसी पास गरे । 

यता, ११ कक्षामा भर्ना भए । उता, म्युजिक रियालिटी सो साउथ एसियन स्टारको नेपाल पार्टनरका रूपमा इमेज च्यानलले कार्यक्रम गर्ने भयो । प्रकाश भन्छन्, “अगाडि बढिएला भन्दा पनि कलेजबाट निस्कने बहाना मिल्छ भनेर सोमा भाग लिएको थिएँ तर नसोचेको सफलता पाइयो ।” त्यो भनेको, चार हजार प्रतियोगीबाट उनी र अमूल सापकोटा उत्कृष्ट ठहरिए र नेपालको प्रतिनिधि गर्दै भारतको कोलकातामा भएको सोमा पुगे । दक्षिण एसियाली मुलुकका प्रतिभाहरूबीचको उक्त प्रतिस्पर्धामा उनी चौथो भए । जुन कार्यक्रम स्टार उत्सव टेलिभिजनबाट प्रसारण भएको थियो ।

दृश्यविहीन प्रकाशले भारतमा त्यो सफलता हासिल गरेपछि नेपालमा उनको चर्चा बढ्दै गयो । उनको डेब्यु एल्बम दिव्यदृष्टि तत्कालीन राष्ट्रपति रामवरण यादवले विमोचन गरे । त्यसपछि रि–रेकर्डेड गीतहरूको सँगालो श्रद्धान्जली एल्बम निकाले । तर उनलाई आममानिसमा चिनाएको गीत चाहिँ ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न पाऊँ...’ हो । त्यसपछि स्टेज सोमा उनको माग ह्वात्तै बढ्यो । ०६७ मा ‘प्रकाश’ एल्बम लिएर आए । गीत गाउनकै लागि २० वटा मुलुक पुगिसकेका छन्, त्यो पनि एक्लै ।

आठ भाषामा गाउन सक्छन् । ड्रम, पियानो, गितार, हार्मोनियम, बाँसुरी बजाउँछन् । गाउन मात्र होइन, गीत लेख्न र कम्पोजमासमेत माहिर छन् । तैपनि भन्छन्, “आँखा र स्वरको कुनै सम्बन्ध छैन । त्यसैले म दृश्यविहीन छु भनेर कसैले मेरो गायनलाई सहानुभूति दिएको फिटिक्कै मन पर्दैन ।” 

समाजको परम्परागत आँखाबाट हेर्दा गजेन्द्र, प्रबिन, रोमा अनि प्रकाशहरू निरीह पात्र हुन् । तर उनीहरूको शरीरको सानो अंग मात्र अपूर्ण हो । मन सबल र सक्षम छ । न पश्चात्ताप छ, न ग्लानि र पीडाबोध । हिजोआज उनीहरूको आँखा कहिल्यै रसाउँदैन । प्रारब्धको पीडादायी खेलमा अथाहा इच्छाशक्तिको सहाराले जीत जो हासिल गरे । गजेन्द्रले लेखेकै छन्:

कैदी जीवन नीरस हुन्छ भन्छन् सुनको दरबारमा

मायाले नै बचाउँछ जिजीविषा हरदिन मनको घरबारमा

जीत मात्रै लेख्छन् र भावीले सबैको भाग्यमा कहाँ

आफूसँग हार्दैन जो मान्छे यहाँ, हुन्छ विजयी संसारमा 

प्रकाशित: असार १३, २०७४