युद्ध सहभागीको वर्णन

  • विजयको झन्डा फहराउन पैदल फौज रणभूमिमै पुग्नुपर्ने भएकाले गोर्खाली उतारिएका थिए, फोकल्यान्डमा ।

- सीताराम बराल

बेलायती मुख्यभूमिबाट आठ हजार माइल परको फोकल्यान्ड टापु जब २० चैत ०३८ मा अर्जेन्टिनाले कब्जा गर्‍यो, त्यसको तरंग नेपालसम्मै आइपुग्यो । कारण थियो, फोकल्यान्ड टापु अर्जेन्टिनाबाट बेलायतलाई फिर्ता गराउन गोर्खा सैनिकलाई समेत लडाइँमा पठाउने निर्णय । गोर्खा फौज त्यसतर्फ पठाउनुपूर्व बेलायती पक्षले गोर्खाली सैनिकहरू अति भयावह हुन्छन् भनेर प्रचार गरिदियो । शत्रु फेला पारेपछि तिनलाई छप्काएर मात्र गोर्खालीहरू शान्त हुन्छन् भन्दै चम्किलो खुकुरीसहित दुस्मनमाथि जाइलागेको तस्बिर बीबीसीलगायतमा छापिए । 

जीवन शर्माको गीत ‘फोकल्यान्डको टापुबाट...’ले समेत फोकल्यान्डमा खटिएका गोर्खालीबारे त्यस्तै भाव सम्प्रेषित गरिदियो । यस गीतमा त्यस युद्धमा सहभागी कुनै गोर्खा सैनिकले पत्नीलाई पत्र पठाएको हुन्छ, जसमा आफूले युद्धका क्रममा अर्जेन्टिनीहरूको घर–झुप्रामा आगो लगाउनुपरेको, बालबच्चाहरूलाई कुल्चेर मारेको, आफूजस्तै वर्गीय हैसियत (गरिब)को संगीन रोपेर हत्या गरेको उल्लेख छ । 

तर, फोकल्यान्ड युद्धका एक सहभागी गणेश राई (खोटाङ डम्बर्खु, शिवालय)ले के दाबी गरेका छन् भने– हो, युद्धको नियमबमोजिम गोर्खालीहरूले लडाइँमा गोली चलाए, आफ्नो साहस र वीरताले शत्रुपक्ष अर्जेन्टिनी सेनालाई परास्त गरे । तर, त्यस्तो दानवता उनीहरूले प्रदर्शन गरेनन्, जस्तो प्रचार गोर्खालीहरूलाई रणभूमिमा पठाउनुअघि बेलायतले गरिदियो । उनको युद्ध संस्मरणात्मक पुस्तक फोकल्यान्ड जर्नल पढ्दा के थाहा हुन्छ भने मर्ने–मार्ने लडाइँमा खटिए पनि गोर्खालीहरूको पनि कोमल हृदय थियो । त्यसैले युद्धका क्रममा उनीहरूले त्यस्तो कुनै हर्कत गरेनन्, जसलाई युद्ध अपराधको रूपमा व्याख्या गर्न सकियोस् । 

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले फोकल्यान्ड टापुमाथि कब्जा जमाउँदा राई अर्काे दक्षिण अमेरिकी राष्ट्र ग्वाटेमाला–सिमानामा रहेको बेलिजको सुरक्षाका लागि बेलायती फौज अन्तर्गतको फाइटिङ युनिट सदस्यका रूपमा गस्तीमा थिए । उनी बेलायती सेनामा प्रवेश गरेको भर्खर साढे दुई वर्ष मात्र भएको थियो । बेलिजमा नै उनले फोकल्यान्डमाथि अर्जेन्टिनाले कब्जा गरेको खबर सञ्चार सेटबाट सुने । संस्मरणको सुरुआत त्यही समाचारबाट हुन्छ । लगत्तै राई संलग्न गोर्खा फौज बेलिजबाट फिर्ता हुन्छ र युद्धका लागि फोकल्यान्डतर्फ लाग्छ । 

लडाइँमा जाने डर गोर्खालीहरूमा पनि हुँदो रहेछ, चाहे जतिसुकै वीरका रूपमा प्रचार गरिएको होस् । जस्तो : युद्धमा खटिनुपर्ने भएपछि गोर्खालीहरू कति पिरोलिएका थिए भन्ने कुराको शब्द मात्र होइन, तस्बिर पनि छ, पुस्तकमा । 

फोकल्यान्डमाथि अर्जेन्टिनी कब्जापछि बेलायती सेना र समाजमा अर्काे कुनै विषयमा चर्चा नै हुँदैनथ्यो । अहिले सम्झँदा लेखकलाई के लाग्दो रहेछ भने यस्तो चर्चा सायद आफूहरूलाई लडाइँमा होम्नका लागि मानसिक रूपमा तयार पार्न पो गरिएको थियो कि ? ‘ उहिले हाम्रा बाउबाजेलाई घोडेरम खुवाएर शूरवीर बनाई दुस्मनमाथि जाई लाग्न लगिन्थ्यो रे !’ उनी लेख्छन्, ‘फोकल्यान्ड लडाइँसम्बन्धी अनवरत समाचार पनि हाम्रो निम्ति सायद आधुनिक घोडेरमजस्तै थियो, ताकि सिपाहीले युद्धबाहेक अर्थाेक केही सोच्न नपाओस् ।’ 

युद्धभूमिमा जानुपूर्व यसरी एकोहोर्‍याइएका गोर्खाली सिपाहीहरूलाई बेलायतीहरूले जसरी बिदाइ गरे, त्यससम्बन्धी वर्णनले पाठकलाई भावुक बनाउँछ । बिदाइ हुने र गर्नेहरू दुवै पक्ष त्यो क्षण मर्माहतजस्तै देखिन्थे । दुवैथरीका आँखामा आँसुको खहरे बगेको थियो । खासमा उनीहरू मन्दिरमा चढाउन लगिएका बलिको बोकाजस्तै थिए, जसको फर्कने सम्भावना शून्यप्राय: थियो । हुन त विज्ञानको प्रगतिले दुई सय वर्षअघि र त्यसयताको युद्धको स्वरूपमा नै बदलाव ल्याइदिएको छ । हजारौँ माइल टाढाबाट एक मिसाइल प्रहारले शत्रुलाई तहसनहस पार्न सकिन्छ । यति हुँदाहुँदै पनि शत्रुको अखडामा आफ्नो पैदल फौज पुगेर झन्डा नगाड्दासम्म कसैको विजय भएको मानिँदैन ।

विजयको झन्डा फहराउन पैदल फौज रणभूमिमै पुग्नुपर्ने भएकाले गोर्खाली उतारिएका थिए, फोकल्यान्डमा । खुकुरी उज्याएका र भयावह तरिकाले शत्रुमाथि जाइलागेका गोर्खालीहरूको तस्बिर र समाचारको भित्री उद्देश्य पनि आखिर यही थियो । 

तर, गोर्खालीहरूले त्यस्तो लडाइँको चरणमा पुग्नै परेन । एकातिर फोकल्यान्डको मुख्य सहर स्ट्यान्लीमाथि गरिएको लगातारको भीषण बम वर्षा, अर्काेतिर गोर्खालीहरूले शत्रुको घाँटी काटेर मात्र छाड्छन्, जो फोकल्यान्ड पुगिसकेका छन् भन्ने बेलायती प्रचार । फोकल्यान्ड कब्जा गरेको ७५ दिनपछि ३१ जेठ ०३९ मा अर्जेन्टिनी फौजले बेलायतसँग आत्मसमर्पण गर्‍यो । अर्जेन्टिनाले आत्मसमर्पण गरेकाले लेखक राईको टोली स्ट्यान्ली पुग्नै पाएन, लडाइँको एउटा मोर्चा बनेको टम्बलडाउन डाँडाबाटै फिर्ता हुनु पर्‍यो । 

जितको खुसीयालीमा स्ट्यान्ली पुगेर झन्डा गाड्ने अवसर नपाएकामा राई दु:खी देखिन्छन्, पुस्तकमा । तर, डम्बलडाउन डाँडाबाटै सही, उनले अर्जेन्टिनी आत्मसमर्पणपछिको स्ट्यान्ली र दुवै पक्षका सैनिकको भाव शब्दमा उतारेका छन् । 

ठेट गाउँले शब्द प्रयोग गरिएकाले यो पुस्तकको भाषा सुरुदेखि अन्त्यसम्म मीठो छ । यस पुस्तकको सीमा के हो भने यसमा फोकल्यान्ड लडाइँमा लेखक राई सहभागी टोलीका गतिविधि मात्र सामेल छन् । त्यहाँ भएको लडाइँको सांगोपांगो विवरण पुस्तकमा छैन । दुवै मुलुकका लागि फोकल्यान्ड कब्जाको रणनीतिक महत्त्व किन थियो भन्ने चाहिँ लेखकले उल्लेख गरेका छैनन् । 

फोकल्यान्ड जर्नल 
लेखक    :    गणेश राई
प्रकाशक    :    वी रिड
पृष्ठ    :    १५०
मूल्य    :    ३२५ रुपियाँ

प्रकाशित: असार ८, २०७४