कारुणिक कथापुञ्ज

  • मौलिक कृतिको आनन्दानुभूति दिनु कुशल अनुवादकको योग्यता हो । अनुवादलाई ऊँट बन्न नदिए पनि यज्ञशले ठेट नेपाली शब्द खोज्न भने अलिकति अल्छी गरेकै हुन् ।

- राजकुमार बानियाँ

होर्खे लुइस बोर्खेसका छोटा–चोटिला कथा स्पेनिस भाषाबाट हिन्दीमा छापियो, १५ वर्ष पहिले । १ सय २२ पृष्ठको पाकेट साइजमा १९ थान लघुकथाको संग्रह कालजयी कहानियाँ । टाइम म्यागेजिनले ‘बीसौँ शताब्दीका स्पेनिस भाषाका महान् लेखक’ घोषणा गरेका होर्खेलाई हिन्दीमा उतारेका थिए, उदय प्रकाशले । 

तिनै होर्खेका पारखी उदय प्रकाशलाई नेपालीमा ल्याएका छन्, लेखक–पत्रकार यज्ञशले । उदय प्रकाशको कथाकारितासँग उनको लामो ‘अफेयर’ नै देखिन्छ । उदय प्रकाशकृत लघु उपन्यास मोहनदासको अनुवाद गरेको आठ वर्षपछि पाँच कथालाई नेपालीमै ल्याएका छन्, नेलकटर । यसको आकार र पृष्ठ पनि होर्खेकै जस्तो छ । समकालीन भारतीय साहित्यमा उदय प्रकाश कस्ता लेखक हुन् भने अजमल कमालले लेखेका छन्, ‘ पाकिस्तानमा हिन्दुस्तानका सबै चीज छन्, उदय प्रकाशजस्तो अफ्सानानिगार (कथाकार)बाहेक ।’

शीर्षकथा ‘नेलकटर’ आमा र छोराको सम्बन्धको कारुणिक कथा हो । त्यसमा गाउँ, झरी, आमा अनि स्मृतिहरू छन् । नीलो काँचको सानो सितार झुन्डिएको नेलकटरमा घाँटीको क्यान्सरले आवाजविहीन आमाको अस्तित्व खोजिएको छ । आमाको स्मृति बोकेको नेलकटर सिरानीमुनि भेटिँदैन । कथा भन्छ– चीजहरू कहिल्यै हराउँदैनन्, ती त्यहीँ रहन्छन् आफ्नो पूरा अस्तित्व र वजनका साथ । खालि हामी राखेको ठाउँ बिर्सिन्छौँ । 

अर्को कथा ‘अपराध’ जन्मजात पोलियोग्रस्त दाजुको सुन्दरता र क्षमतासँग इखालु भाइको कथा हो । हीनताबोध, उपेक्षा र नगन्यताका रापमा जलिरहेको भाइ बाबुआमासँग हुँदै नभएको चुक्ली लगाएर दाजुलाई सजाय दिलाउनसमेत पछि पर्दैन । अलि प्रौढ भइसकेपछि भयानक छटपटी र पश्चात्ताप गर्छ । तर, त्यतिबेला सत्य खोल्न न बाबुआमा रहन्छन्, न त दाजुकै सम्झना । 

तेस्रो कथा ‘तिरिछ’ सहरमा निर्ममतापूर्वक मारिएको एक ग्रामीण वृद्धको कहानी हो । अदालतको तारेख धाउन सहर जाँदा ऊ कसरी मारियो भन्ने छोराको बयान छ यसमा । सहरको बाटो भुल्ने वृद्ध बरु जंगली विषालु छेपारोले टोक्दा मर्दैन । तर, सहरको अपमान, तिरस्कार र घृणाका कारण मारिएको छ । मार्खेजको ‘ क्रोनिकल अफ द डेथ फोरटोल्ड’को निकटवर्ती यस कथामा सहरीको संवेदनहीनता र कुरुपता झल्किन्छ । तिरिछ एउटा मेटाफर हो । भारतीय समाजका मनगढन्ते कहानी र अन्धविश्वास बोकेको छ यसले । 

भारतीय घर–परिवारका नितान्त निजी, आत्मीय र अविस्मरणीय कथा छन् नेलकटरमा । ‘नेलकटर’ आमा–छोराको, ‘तिरिछ’ बाबु–छोराको र ‘अपराध’ दाजु–भाइको सम्बन्धको कथा हो । उदय प्रकाशका कथामा बच्चाहरू स्थायी पात्रजस्ता छन् । तिनीहरू सत्यको ढाकछोप रुचाउँदैनन् । बाल संसारको सुन्दर चित्रण गरिएको अर्को कथा हो, ‘अरेबापरेबा’ । कपासका साना डल्लाजस्ता दुई खरायो एकै रात हराएपछि उत्पन्न बाल मनोदशा छ यसमा । न भोक, न प्यास, न निद्रा । शीर्षक प्रतीकात्मक छ । संसारका कोमल, पवित्र, निहत्था र सुन्दर जीवनहरूको जोखिम दर्साउनु नै कथाको उद्देश्य हो । लेखिएको छ, ‘अचेल त बग्घाहरू झुन्ड र गिरोहमा डुल्छन् । मैले उनीहरूलाई ठूलठूला भवनभित्र कुर्सीमा बसेको देखेको छु । हाम्रो समयका प्रत्येक भित्तामा रगतका छिटा छन् ।’

अन्तिम कथा ‘दिल्लीका पर्खाल’ झन् विस्फोटक आख्यान हो । इज्जतदार र धनीहरूको सहर दिल्लीमा माग्ने, गरिब, रोगी र सर्वसाधारण अचानक गायब हुन्छन्, स्मृतिसम्म बाँकी नरहने गरी । महिला, दलित, गरिब, आदिवासी आदि किनाराका पात्रहरू छन् यसमा । कालो धनको कहानी पनि छ । दिल्ली महानगरमा झाडु लगाउने रामनिवासले जिमखानाको भित्तामा झाडुको मुठोले हान्दा भ्वाङ पर्छ । खोक्रो गुफाजस्तो भित्तामा १०–१५ करोडका नोटको बिटा फेला पर्छन् । झाडुुवाला करोडपति बनेपछि के हुन्छ ? त्यो जान्न कथा नै पढ्नुपर्ने हुन्छ । 

कथाको शास्त्रीय सिमानामा नभेटिन पनि सक्छन् उदय प्रकाश । पात्र, परिवेश र भाषाका दृष्टिले कथाको प्राचीन पर्खाल उनले भत्काएका छन् । इतिहास–कल्पना, मिथक–यथार्थ, स्मृति–संवेदनाको मिश्रणलाई मार्खेजको जादुई यथार्थ पनि मान्छन् कतिपय । तर, उदय प्रकाश भने हजारीप्रसाद द्विवेदी र आफ्नो छुट्टै शैली भएको दाबी गर्छन् । मृत्यु या अनुपस्थिति उनको कथा–औजार हो । भारतीय जीवनको बदलिँदो यथार्थ लेख्ने उदय प्रकाशको कल्पनाशीलता ज्यादै डरलाग्दो छ ।

माक्र्सवादी, अझ सीपीआईएमका पूर्वनेता उदय प्रकाश लेखनमा कतै कार्यकर्ता देखिँदैनन् । बरू, उनी त आफूलाई ‘स्पिरिचुअल बुद्धिस्ट, गान्धियन माक्र्सिस्ट’ मान्छन् । एउटा कथाबाटै क्रान्ति हुन्छ भन्ने भ्रम उनमा छैन । उनमा कवि संवेदना कति छ भने हरेक कथा कविताको आख्यानात्मक विस्तारजस्तो लाग्छ । शिल्प र कथ्यमा नयाँपन हेर्दा उनी विलक्षण कलाकार लाग्छन् । 

मौलिक कृतिको आनन्दानुभूति दिनु कुशल अनुवादकको योग्यता हो । अनुवादलाई ऊँट बन्न नदिए पनि यज्ञशले ठेट नेपाली शब्द खोज्न भने अलिकति अल्छी गरेकै हुन् । समन, घाघ, महुआ, बग्घा आदि शब्दलाई निखुर नेपालीकरण गर्नै नसकिने होइन । तपसिलका कुरा छाडिदिने हो भने सबैभन्दा उपलब्धि– उदय प्रकाशलाई अब हिन्दीमा खोज्नुपर्ने छैन । नेपाली स्वादमै हाजिर छन्, मोहनदास र नेलकटर । 

नेलकटर
लेखक    :    उदय प्रकाश
अनुवादक    :    यज्ञश
प्रकाशक    :    फाइन प्रिन्ट
पृष्ठ    :    १२५
मूल्य    :    २२० रुपियाँ

प्रकाशित: असार ८, २०७४