अन्योलमा आयोजना

  • अन्तर सरकारी समन्वयको अभावले बुटवल (गोरुसिंगे)–लुम्बिनी १३२ केभीए प्रसारण लाइन निर्माण अवरुद्ध

- श्यामशंकर पाण्डे

भैरहवा ।। निर्माणाधीन बेलहिया–बुटवल व्यापारिक सडक मार्गको एक छेउबाट १३२ केभीए प्रसारण लाइन लैजान मोनोपोल राख्न स्वीकृति माग गर्दै बुटवल (गोरुसिंगे)–लुम्बिनी १३२ केभीए प्रसारण आयोजनाले व्यापारिक मार्ग विस्तार आयोजनालाई पत्राचार गरेको सात महिना भयो । २ मंसिर ०७३ मा मोनोपोल राख्न स्वीकृतिका लागि माग गर्दै पत्राचार गरेको विद्युत् प्रसारणलाई आयोजनाले कुनै जवाफ दिएको छैन । यसभन्दा पहिला प्रसारणले यही बेहोराको पत्र डिभिजन सडक कार्यालय बुटवललाई असार ०७३ मा पठाएको थियो । मोनोपोल राख्न दिने/नदिने भन्ने स्वीकृति व्यापारिक मार्गसँग लिन सुझाउँदै डिभिजन सडक कार्यालयले ६ महिनापछि विद्युत्लाई जवाफ लेख्यो । उक्त कार्यालयले सुझाए अनुरूप विद्युत्ले अनुमति लिन व्यापारिक मार्गमा पत्राचार पनि गर्‍यो । 

बुटवलको योगीकुटीबाट प्रसारण विस्तार गरी शंकरनगर, भलबाडी, लखनचोक हुँदै रूपन्देहीको मैनहियामा स्टेसन रहनेछ । आयोजनाले मैनहियामा चार बिघा जग्गा खरिद गरी स्टेसन, कर्मचारी आवास र पर्खाल लगाउन बोलपत्र गरिसकेको छ । यीमध्ये कर्मचारी आवास र पर्खाल निर्माणको काम सुरु गरिसकेको छ र स्टेसन निर्माणमा परेका बोलपत्र मूल्यांकनमा छन् । तर, योगीकुटीबाट विद्युत् विस्तार र स्टेसन एकसाथ सुरु गरी ०७५ मा सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनालाई लाइन विस्तार गर्न सडक कार्यालयले कुनै जवाफ नदिँदा रोकिएको छ । जसले गर्दा यो वर्ष आठ करोड रुपियाँ बजेट फ्रिज हुने अवस्था सिर्जना भएको आयोजना प्रमुख इन्जिनियर हरिप्रसाद पाण्डे बताउँछन् । 

१ अर्ब २० करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा चालू आर्थिक वर्षमा स्टेसन निर्माण र प्रसारण विस्तार गर्न १३ करोड रुपियाँ बजेट विनियोजन भएको छ । यसमध्ये पाँच करोड स्टेसन निर्माणमा खर्च भए पनि बाँकी आठ करोड फ्रिज हुने भएको हो । सडक कार्यालयले जवाफ पठाउन गरिरहेको ढिलाइले विद्युत् आयोजनाको आयु पनि लम्बिने भएको छ । 

अर्कोतर्फ सडक कार्यालयले मोनोपोल विस्तार गर्न स्वीकृति दिने सम्भावना कम छ । किनभने, व्यापारिक मार्ग बहुउद्देश्यसाथ निर्माण गरिएको र तत्काल विद्युत् प्रसारणका लागि ग्रिनबेल्ट दिन सक्ने अवस्था नरहेको आयोजना प्रमुख इन्जिनियर लीलाबहादुर भण्डारीको तर्क छ । “ग्रिनबेल्टबाट प्रसारण लाइन लैजाँदा विद्युत् सजिलो र सस्तो पर्न सक्छ तर सडकको बनोट र मानव स्वास्थ्यका हिसाबले जोखिमपूर्ण हुन्छ । त्यही पनि हामीले आफ्नो राय–सुझावसहित सडक विभागमा पत्र पठाएका छौँ,” आयोजना प्रमुख भण्डारी भन्छन्, “स्वीकृति दिने/नदिने विभागबाटै हो । माथिबाटै जवाफ आएको छैन ।” 

सडक कार्यालयले स्वीकृत नदिएकै अवस्थामा तिलोत्तमा व्यापार संघ रूपन्देहीले राजमार्ग क्षेत्रबाट प्रसारण लाइन लैजान प्राविधिक र सुरक्षाको हिसाबले उपयुक्त नहुने भन्दै विरोध जनाइसकेको छ । संघका अध्यक्ष झविन्द्रप्रसाद कँडेलले सडक छेउबाट प्रसारण लाइन लैजाँदा दुर्घटनाको जोखिम बढ्ने, सवारीसाधन वा अन्य कारणले पोल ढलेमा त्यसबाट ठूलो क्षति हुने भन्दै जमिनमुनिबाट तार लैजानुपर्ने या दोस्रो विकल्प खोज्नुपर्ने बताउँछन् । उनले भनेजस्तै योगीकुटीबाट तिनाउ खोलाको किनार हुँदै लाइन विस्तार गर्ने दोस्रो विकल्पबारे प्रारम्भिक सर्वेक्षण गरिसकेको छ । तर, तिनाउ नदीको किनारमा पोल राख्दा बाढीको जोखिम, योगीकुटीबाट तिनाउसम्म घना बस्ती रहेका कारण जमिनमुनिबाट लैजानुपर्ने बाध्यता, व्यक्तिगत जग्गा र घर धेरै पर्ने हुँदा समस्या झन् ठूलो देखेर आयोजनाले सडक नै उपयुक्त ठानेको छ । 

अन्तिम अवस्थामा तिनाउ किनार विकल्प हुन सक्छ । त्यो विकल्पमा जान पनि विद्युत्ले सडक कार्यालयको जवाफ कुरिरहेको छ । नेपालमा नमुनाका रूपमा प्रयोग हुन लागेको मोनोपोल सडकबाटै लैजानुपर्ने प्रसारण आयोजना प्रमुख पाण्डे बताउँछन् ।

०६७ मा सुरु भएको यो आयोजना पाँच वर्ष निष्क्रिय रह्यो । ०७२ देखि फेरि पुनरावलोकन भएको आयोजनाको मुख्य लक्ष्य रूपन्देहीको भैरहवा, लुम्बिनी क्षेत्रको विद्युत् समस्यालाई समाधान गर्नु हो । सुरुमा भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज), निर्माणाधीन अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल, लुम्बिनी क्षेत्रमा रहेका होटल, लुम्बिनी करिडोरमा अवस्थित उद्योग तथा स्थानीयलाई विद्युत् वितरण गर्ने लक्ष्य थियो । पछिल्लो समय नयाँ औद्योगिक क्षेत्रका रूपमा अध्ययन भइरहेको तिनाउको मोतीपुर करिडोरमा समेत मैनहिया स्टेसनबाट विद्युत् लैजाने गरी योजना अगाडि बढाएको छ । मैनहियामा ९० एमबीएको स्टेसन निर्माण र प्रसारण लाइन विस्तारको काम सकिएपछि भैरहवा क्षेत्रसहित रूपन्देहीको विद्युत् समस्या हट्ने आशा गरिएको छ । 

हाल बिजुली नभएकै कारण भैरहवामा निर्माण सम्पन्न भएको सेजमा उद्योग स्थापना हुन सकेका छैनन् । आगामी वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन पनि सुरुमा विद्युत् नै आवश्यक पर्नेछ । सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष रामकुमार शर्मा रूपन्देहीको समग्र औद्योगिक तथा पर्यटकीय विकास गर्न हाल मुख्य समस्या बिजुली नै भएको बताउँछन् । भन्छन्, “१३२ केभीए आयोजनामा विलम्ब गर्न नहुने र यसलाई जसरी भए पनि 
अगाडि बढाउनुपर्छ ।” 

प्रकाशित: असार ८, २०७४