[अनुभूति] असार प्रेम

  • डेटिङ जान पाइनँ भने निदाउनुअघि उसको विम्ब बोलाउँछु र उसलाई लोरी गाउन लगाउँछु । अनि, म मस्त निदाउँछु ।

- निरुपा प्रसून

पुर्खों की कमाई चन्द दिनों मे खलास किए

मै नेपाल से बम्बई आया, तुम्हारी तलास लिए ।  

यो कुनै प्रसिद्ध हिन्दी कविको कवितांश होइन । आफ्नो प्रेमानुभूतिलाई अभिव्यक्त गरेको साह्रै साधारण कविता हो, यो । तर, मलाई यो कविता विशेष लाग्छ । किनभने, यो कविता मेरो बुबा हरिबहादुर ढुंगानाले सन् १९६३ मा भारतमा लेख्नुभएको हो । उहाँ चितवन, शिखरवासको साहित्यिक उपनामले चिनिनु हुन्छ । 

उहाँ कुनै बेला हिन्दी सिनेमाकी विख्यात नायिका मीनाकुमारीसितको एकतर्फी प्रेममा गजबले पर्नुभएको रहेछ । घामकिरीमा नयनराज पाण्डे उर्फ राजु पद्मिनी कोल्हापुरेको प्रेममा परेजस्तै । राजुजस्तै मेरो बुबा पनि आफ्नी नायिकालाई भेट्न मुम्बई नै जानु भएछ । 

मेरो बुबा मीनाकुमारीको बंगलाअगाडि उनको एक दर्शन पाउन दिनभरि ढुकिरहनुहुन्थ्यो रे, उता । तर, यता घरमा उहाँका बहिनीहरू र मुआलाई (बुबाहरू सानै हुँदा दिवंगत हुनुभएको थियो हजुरबुबा) भने अथाह चोट लागेको थियो । हजुरमुआलाई कसैले सत्यनारायणको पूजा गरेपछि मात्र छोरो फर्किन्छ भनेर लगाइदियो । आमाको मन न हो, पूजा लगाउनुभयो । संयोगवश बुबा पनि फर्किनुभयो । 

यति प्रसंग मैले मेरो बुबाभित्रको अथाह प्रेमभाव अभिव्यक्त गर्न लेखेकी हुँ । अब त्यस्तो ‘पागल प्रेमी’की छोरी, जसले प्रेम कति छ भनेर बेलाबखत जाँच दिनुपर्छ । 

***

एक दिन उसले भन्यो, ‘तिमीमा प्रेमको उत्साह नै छैन ।’

मैले उसलाई कुनै जवाफ दिइनँ । फिस्स हाँसेँ र मनमनै भनेँ, ‘ पक्का प्रेम–पुजारी बाबुकी छोरी हुँ । म कम्ती प्रेमिल हुँला त ? बस्, तिमीले मेरो मनको त्यो प्रेमिल सतहलाई स्पर्श गर्न जान्नु पर्‍यो नि !’

उसले स्पर्श गर्न जानेन वा भनूँ सकेन । हाम्रो बाटो मोडियो ।

तर, बुबा र मभित्रको प्रेम भावमा गजबको फरक छ । म सिनेमाको प्रेमकथा खुब रुचाउँछु । मन पनि छुन्छ । हेर्दाहेर्दै आँसु पनि आउँछ । तर, म आफैँले त्यस्तो खालको प्रेम गर्छु या गर्नुपर्छ भन्ने मलाई लाग्दैन । त्यसैले मेरो सपनामा कहिल्यै पनि कुनै फिल्मी हिरो आएन । मैले त सपनामै पनि त्यस्ता कुनै नायकलाई आफ्नो सपनाको राजकुमार बनाइनँ र त्यससित डेटिङ गइनँ । 

मलाई त मैले प्रत्यक्ष भेटेका मान्छेहरूले छिटो प्रभाव पार्छन् । जब मलाई कोही मन पर्छ, सामान्य युवतीको जस्तै मेरो मुटुमा पनि हल्लीखल्ली हुन्छ । त्यहाँ कसैले आफ्नो दस बाई बाह्र साइजको फोटो भने झुन्ड्याइदिन्छ । केही दिन म आफ्नो मुटुमा त्यही फोटो लिएर हिँडिरहन्छु र मस्त भइरहन्छु । मन त पर्‍यो तर के म अभिव्यक्त गर्न सक्छु त ? 

हिम्मत आउँदैन मलाई । तर, उसले मन पराओस्/नपराओस्, उसको मनमा मप्रति जस्तोसुकै भावना होस् । म भने उसलाई कल्पनामा बोलाएर डेटिङ जान्छु । उसको काँधमा शिर राख्छु, मायाका केही मीठा तर मौलिक संवाद बोल्छु । यसरी म काल्पनिक–स्वप्निल प्रेममा लिप्त हुन्छु । 

डेटिङ जान पाइनँ भने निदाउनुअघि उसको विम्ब बोलाउँछु र उसलाई लोरी गाउन लगाउँछु । अनि, म मस्त निदाउँछु । 

मैले मन पराएको मान्छेलाई म अप्रत्यक्ष किसिमले फलो गरिरहन्छु । सामाजिक सञ्जालमा उसका गतिविधि नियालिरहन्छु । उसलाई झ्याउ लाग्ने गरी च्याट पनि गर्छु । जब उसले भाउ दिँदैन नि, हेर्नूस् न कम्ता रुन मन लाग्दैन । 

मलाई कसैको रूपले प्रभाव पार्छ, कसैको कामले । ठ्याक्कै यस्तै मान्छेले प्रभाव पार्छ भन्ने छैन । कहिलेकाहीँ त कसैको हाइटै देखेर पनि प्रभावित हुन्छु । कतिपल्ट त कसैको लेखन मन परेर पनि फिदा भएकी छु । कतिसित आफ्नो अनुभूति सामान्य पाराले अभिव्यक्त पनि गरेँ । तर, समस्या के भइदियो भने भोलिपल्टदेखि मलाई नै झ्याउ लाग्ने गरी उसैले पिछा गर्न थाल्यो । 

तर, एउटा यस्तो पनि छ, जसले मलाई अझै भाउ दिँदैन  । अझै पनि । ह्या, के उसलाई याद गरेर बसेको भनेर आफैँलाई हकार्छु । तर, ऊसित यति फिदा छु कि उसको पक्षमा लागेर म आफ्नै छायासित झगडा गर्न थाल्छु र भन्छु, ‘तँलाई के थाहा, ऊ कति प्रिय छ !’

आफ्नै छाया रिसाउँछ मसित र राती ठुस्स परेर मलाई छोडेर भाग्छ । त्यो भागेपछि म कल्पनामा ती मान्छेलाई बोलाउँछु र भन्छु, ‘यार, कम्तीमा पहिलो प्रस्ताव तिमीबाटै आओस् न !’ 

तर, कल्पनामा तत्काल मेरो प्रिय मान्छेको पछाडि उसकै प्रिय मान्छे कुचो लिएर उभिन्छिन् ।

त्यसपछि म अलमलमा पर्छु । आफ्नो कल्पनाबाट आफैँ भागूँ या भगाऊँ, प्रिय मान्छेलाई ! म दुवै गर्न सक्दिनँ । बस्, आफ्नै कल्पनाको कोठामा कुनै सुरक्षित स्पेस खोज्छु र त्यहीँ लुक्छु । 

मेरो प्रिय मान्छे, त्यतिबेला आफ्नी प्रेयसीलाई फकाइरहेको हुन्छ । तैपनि, मलाई ऊ मन पर्छ त म के गरुँ हजुर !

यस्तै हो । यस्तै छ, मेरो ताल । अक्सर म जसलाई प्रेम गर्छु, त्योसम्म मेरो अभिव्यक्ति पुग्दै पुग्दैन । जब पुग्छ, म प्रेमको डोरीले बाँधिन्छु । त्यसपछि त्यो डोरी हतपती फुकाल्न सक्दिनँ । जसलाई प्रेम गर्छु, बेहद गर्छु । त्यसैले म डोरी लिएरै हिँड्छु । कहिले बाँधिन्छु । कहिले कपाल नदुखेको बेला, त्यही बाँधेर दुखाउँछु । प्रेममा दुख्न मजा हुन्छ ।

अहिलेसम्मको तथ्यांक अनुसार कसैप्रति प्रेमभन्दा आकर्षणको संख्या बढी छ ममा । प्रेम भएन भनेर ढाँट्नु किन ? प्रेम भयो । एक–दुई जनासित भयो । तर, सँगै मर्ने, सँगै बाँच्ने कसम ती दुईसित पनि खान सकिनँ । किनभने, मलाई कसममा विश्वास छैन । किनभने, म प्रेममा आनन्दित हुन चाहन्छु । जन्मजन्मान्तरको सम्बन्धमा बाँधिएर बस्न सक्छु जस्तै लाग्दैन ।  

मलाई प्रेम औधि मन पर्छ । तर, विवाहको डर यति भयानक किसिमले मनभित्र गाडिएर बसेको छ कि कसैकी स्वास्नी भएर बस्न सक्छुजस्तै लाग्दैन । स्वास्नी भएपछिका दायित्वको भारी म केटाकेटीजस्तै स्वभाव भएकी युवतीले धान्न सक्छुजस्तो पटक्कै लाग्दैन । मलाई त आफू यसरी नै स्वतन्त्र र निर्बन्ध भएर बाँच्नै सर्वाधिक प्रिय लाग्छ । 

ए मेरो प्रिय मान्छे ! के तिमीले यो नेपाल पढिरहेछौ ? पढिरहेका छौ भने पक्कै अलिअलि त मेरो बेकुफीमा मुस्कुराइ पनि रहेका हौला । मुस्कुराऊ । तिमी मुस्कुराएको मन पर्छ मलाई । 

तर, तिमी मोटाउँदै किन गएको ? दुब्लाऊ के । किनभने, मेरो सपनामै सही, तिमी र म डेटिङ जानु परेन के ? उकाली–ओराली चढ्नु परेन ? यो मोटो कायाले थाक्दैनौ तिमी ? थाकेर बीच बाटैबाट मलाई छोडेर फर्कियौ भने ? तिमीलाई थाहा छ प्रिय मान्छे, मलाई तिमीसित विवाह गर्ने रहर छैन । तर, तिम्रो नाममा जिन्दगी रित्याउन भने मन छ ।

तर, यो मेरो वैशाख–जेठतिरको भाव हो । असार–साउनमा के हुन्छ, म भन्न सक्दिनँ । जाडोमा झन् के हुन्छ, भन्न सक्दिनँ । त्यति बेलासम्म म उसको प्रेममा अझै डुबिरहेकी पनि हुन सक्छु । या, डुब्दाडुब्दै निसास्सिएर भागिसकेकी पनि हुन सक्छु ।

म काठमाडौँ आएकै वर्ष मेरो दाइले एउटा कार्पेट एक्सपोर्ट गर्ने अफिसमा काम लगाइदिनुभयो । अफिसकै कामले विशालबजारको हिमालय बैंक जानुपर्ने भयो । त्यहाँ पुग्नासाथ ढोकैको क्याबिनमा एक जना सुन्दर युवक देखेर म हेरेको हेर्‍यै भएँ । ऊ थुकले खाम टाँसिरहेको थियो र ननस्टप चुइगम चपाइरहेको थियो । 

त्यो दिन त्यत्तिकै भयो । तर, दिमागमा ऊ आइरह्यो । लगातार अविछिन्न रूपमा आइरह्यो । 

मैले त्यो न्युरोडको अफिस छाडिदिएँ । त्यसपछि क्लासिक एफएम ज्वाइन गरेँ । फ्रन्टलाइन मिडियाले किनेको समय थियो त्यो । मैले साहित्यिक कार्यक्रम चलाउन थालेँ । कविता र गजलवाचन गर्थें । फोन र चिट्ठी प्रशस्त आउँथे । 

०६२/०६३ सालतिरको कुरा हो । बिहान डिल्लीबजार कन्या कलेज पढ्न जान्थेँ । साँझ ६:३० बजे अनएअर हुने मेरो कार्यक्रमको तयारीका लागि म दिउँसो नै एफएम जान्थेँ । एक दिन एउटा फोन आयो स्टुडियोमै । उसले मेरो आवाजको तारिफ गर्न फोन गरेको थियो । त्यसपछि फोन आउने क्रम चलिरह्यो । हामी फोनमा धेरै गफिन थाल्यौँ । हामी फोनमै गज्जबका साथी भइसकेका थियौँ । एकदिन भेट्ने निश्चय गर्‍यौँ । बालुवाटार चोककै ट्रेन्डी क्याफेमा । 

ऊ आयो । म गज्जबले झस्किएँ । ऊ त त्यही व्यक्ति पो रहेछ, जो थुकले खाम टाँसिरहेको देखेकी थिएँ । जसको सुन्दरता देखेर म मुग्ध भएकी थिएँ । ऊ मेरो कल्पनामा सधैँ आउँथ्यो, चुइगम चपाउँदै । त्यसपछि हामी आपसमा के–के चपाउँथ्यौँ, चपाउँथ्यौँ ।

म एकदमै नर्भस भएँ । सोचेँ, हामीबीचको मित्रतालाई यहीँ पूर्णविराम दिनु जाती हुन्छ । हामी कफी खाएर छुट्टियौँ । मैले बाई गरेँ उसलाई । सोचेँ, यही नै गुड बाई हो । 

तर, मित्रता रोकिएन । झन् झाँगियो । एक दिन मायालु पारामा मैले भनेँ, “हजुर काठमाडौँ सहरको, म चितवनको गाउँकी । हजुर यति सुन्दर, म त राम्री छुइनँ ।”

उसले फकाउँदै भन्यो, “दिल लगी गधी पे तो परी क्या चीज है !” 

यति भनेर ऊ मज्जाले हाँस्यो । उसको हाँसो नराम्रो थिएन । तर, मेरो मनमा साह्रै नमीठो गरी गाडियो त्यो हाँसो । के म ‘गधी’ नै थिएँ त ? 

म त्यसपछि चुपचाप भएँ । त्यो दिन पनि बाई गरेँ । तर, त्यो दिनको बाई भने साँच्चिकै गुड बाई थियो, सदाका लागि । त्यसपछि मलाई गधी हुने रहर भएन । उसलाई भेट्ने रहर पनि भएन । 

प्रिय मान्छे ! तिमी यो मेरो अनुभूति पढिरहेका छौ, हैन ? हाँसिरहेका छौ, हैन ? तिमी हाँसेको मन पर्छ । हाँस्दा तिम्रो गालामा पर्ने डिम्पल पनि मन पर्छ । तर, प्लिज अलिक दुब्लाऊ न ल ? 

छिटो दुब्लाऊ । 

असार आउँदै छ । मेरो मन फेरि असार नहोला के !

प्रकाशित: असार ७, २०७४