सिंगापुर होइन, बास्क मुलुकजस्तो

  • युद्ध, कलह र विभेदले क्षतविक्षत भएको बास्क फिनिक्स चराजस्तो खरानीबाट उठेर अहिले समुन्नत बनेको छ भने हामी पनि आशावादी हुनैपर्छ ।

- उज्ज्वल प्रसाईं

नेपालमा विकासबारे चर्चा गर्दा अक्सर सिंगापुर र ली क्वान यूको नाम लिइन्छ । आधुनिक सिंगापुरको विकास गरेका यूको जीवनी यहाँ सर्वाधिक बिक्री भएका किताबमध्येमा पर्छ । सतहमा देखिएका नयाँ राजनीतिक दलले समेत यूको बाटो समाते उपयुक्त हुने उपदेश नेपाली छापामा प्रशस्तै आइरहेका छन् । नयाँ ढंगले राजनीति गर्छु भनेर दाबी गर्ने युवा नेता र नयाँ दलका नेता आफैँले समेत बेलाबखत सिंगापुरका किस्सा सुनाउन भुल्दैनन् । अरू त अरू, सशस्त्र विद्रोहबाट खारिएका भनिएका माओवादी नेताले समेत छापा र टेलिभिजनमा सिंगापुरकै गफ गर्न थालेका छन् । केही वर्षअघि एक जानेमानेका कृषिविज्ञले यस पंक्तिकारलाई यूको जीवनी अनुवाद गर्न सल्लाह दिए । त्यसका लागि खर्च जुटाउने आश्वासन पनि दिए । अर्थात्, सिंगापुर धेरैका लागि आदर्श विकासको मोडल हो र ली क्वान यू धेरै नेपालीका हिरो हुन् । 

ली क्वान यूका कथा–कहानी पढ्दा कुनै बेफाइदा नहुने भए पनि विकासको सिंगापुरे रटान खासै काम लाग्दैन हामीलाई । सिंगापुरे रटानभन्दा बढी उपयुक्त अरू अध्ययन सामग्री हुन सक्छन् । जस्तो : भारतका प्रसिद्ध समाजशास्त्री दिपांकर गुप्ताले केही वर्षअघि लेखेको रिभोलुसन फ्रम अबोभ: इन्डियाज फ्युचर एन्ड सिटिजन एलिट नामको पुस्तकमा उल्लेख भएका केही दृष्टान्तहरूमा छलफल बढी सान्दर्भिक र उपयोगी हुन्छ भन्ने लाग्छ । गुप्ताको एउटा किताबले हामीलाई उन्नतिको बाटो देखाउन सक्छ र उनले भनेको बाटो नै सबैभन्दा उत्तम हो भनेर यहाँ दाबी गर्न खोजिएको होइन । उनका केही प्रस्तावमा प्रशस्त सन्देह पनि छ । तर, राज्यलाई बढीभन्दा बढी कल्याणकारी बनाउने, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा व्यापक लगानी बढाएर छोटो समयमा समतामूलक र उन्नत समाजको निर्माण गर्न सकिन्छ भन्ने उदाहरणका लागि यो किताब बहसको प्रस्थानविन्दु भने हुन सक्छ । राज्यको कल्याणकारी रूप कस्तो हुन्छ भनेर गुप्ताले आफ्नो अध्ययन र अनुभवबाट केही उपयोगी उदाहरण पेस गरेका छन्, ती सबैमा हामीले विमर्श बढाउन सक्छौँ । त्यसका लागि सञ्चारमाध्यम नै उपयुक्त थलो हुन सक्छ । 

गुप्ताले पेस गरेको एउटा उदाहरणबारे चर्चा गरौँ । भारतले स्पेन राज्य अन्तर्गत पर्ने बास्क राष्ट्रले गरेको उन्नतिबाट सिक्न सक्छ भन्ने हेतु उनले बास्क मुलुकको विगत र वर्तमानको छोटो तर स्पष्ट चित्र खिचेका छन् । यो उदाहरण भारतको छिमेकमा रहेको र धेरै सांस्कृतिक समानतासमेत भएको नेपालका लागि पनि उपयोगी हुन सक्छ । बास्क मुलुक आफ्नो विशिष्ट भाषा, संस्कृति र समाज सञ्चालनको मौलिक कानुनसमेत भएको राष्ट्र हो । स्पेनमा जनरल फ्र्यांकोजस्ता तानाशाहले शासन गरेका बेला बास्कलाई अधिनस्थ बनाएका थिए । यो क्षेत्र उनको अधीनमा त थियो नै, यहाँको विशिष्ट भाषालाई पनि उनले अवैध करार गरेका थिए । बास्कविरुद्ध चरम विभेद गरिएको थियो र त्यो विभेद कायम गर्न बास्केलीहरूमाथि उनले ठूलो अत्याचार गरेका थिए । त्यो क्षेत्रलाई स्पेन राज्यबाट अलग गर्नुपर्छ भनेर स्वतन्त्र बास्कका लागि सशस्त्र विद्रोह पनि भएको थियो । इकादी टा अकाटासुना अर्थात् ‘ईटीए’ भनेर चिनिने पृथकतावादी सशस्त्र समूहले स्पेनसँग लामो लडाइँ लडेको इतिहास छ । यो समूहले स्थानीय जनता र त्यहाँको प्रख्यात क्याथोलिक चर्चको समेत समर्थन प्राप्त गरेको थियो ।

तानाशाह फ्रान्कोका समर्थकहरूलाई तारो बनाएका कारण पनि सो समूह स्थानीयमाझ चर्चित थियो । फ्रान्कोले हिटलर र उनका इटालियन समर्थकलाई बास्क क्षेत्रमा शक्तिशाली बम खसालेर विस्फोटको परीक्षण गर्न अनुमति दिएका थिए । बास्क क्षेत्रको गुएर्निका नामको सहरमा त्यो बम सन् १९३७ मा स्थानीय चर्चमा चार सयभन्दा बढी भेला भएका बेला खसालिएको थियो । त्यहाँ भएको संहारको सम्झनामा नै प्रसिद्ध चित्रकार पाब्लो पिकासोले गुएर्निका नामको चित्र बनाएका थिए, जो अद्यापि चर्चित छ ।

बास्क क्षेत्र समुद्री यातायात र स्टिल उद्योगका लागि प्रख्यात थियो । स्पेन राज्यले सो क्षेत्रका यिनै दुई स्रोतलाई सक्दो दोहन गरेको थियो । तर, यी दुवै क्षेत्रको स्तरोन्नति गर्न भने उदासीन थियो । फलस्वरूप १९७० को आर्थिक मन्दीले सिंगो बास्क क्षेत्रलाई नराम्रोसँग गाँज्यो र विपन्नता भोग्यो । सन् १९८० मा स्पेनमा लोकतन्त्रको स्थापनापश्चात् बास्कले स्पेन राज्यसँगै रहने सम्झौता गर्‍यो । तर, सो क्षेत्रले आफ्नो स्रोतको प्रयोग आफ्नो तजबिजले गर्न पाउनुपर्ने सर्त राख्यो । स्थानीय कर बास्क सरकारले उठाउने उसको सर्त मान्य भयो । केही अंश केन्द्रीय सरकारलाई बुझाएर करको ठूलो अंश आफ्नो अनुकूलतामा प्रयोग गर्ने सो आर्थिक सम्झौताले नै बास्कलाई प्रगति र लोकतान्त्रिक व्यवस्थाको नमुना क्षेत्रका रूपमा विकास गरेको गुप्ताको दाबी छ । 

बास्क मुलुकले गरेको प्रगति हेर्न, त्यसबारे अध्ययन गर्न र त्यहाँ अभ्यास गरिएको कल्याणकारी राज्यको प्रकृतिबारे बुझ्न गुप्ताले पुस्तक र रिपोर्टहरूको अध्ययन मात्रै गरेनन्, त्यहाँ बसेर जिम्मेवार पदमा रहेर काम गर्नेहरूसँग अन्तरंग अन्तक्र्रिया पनि गरे । उनका अनुसार ईटीएजस्तो पृथकतावादी सशस्त्र विद्रोह गर्न सक्ने बास्कका नागरिकहरूको ऊर्जालाई पछिल्लो समयमा त्यस क्षेत्रको उन्नतिका लागि भरपूर उपयोग गरियो । २५ वर्षको छोटो अन्तरालमा उनीहरूले शिक्षा, स्वास्थ्य, उद्योग र पर्यटनमा असाध्यै ठूलो छलाङ मारे । सन् १९८० मा दुर्गन्धित लेदो बगाएर बसेको नर्भियन खोलालाई उनीहरूले सफा र नीलो पानी बग्ने सुन्दर खोलामा परिणत गरे । जम्मा तीनवटा पुल भएको यो खोलामाथि हिँडडुल सहज बनाउन अहिले १३ वटा पुल छन् । बिल्बाओ सहरलाई पर्यटकीय नगरका रूपमा विकास गरेर बडो शान्त र सुन्दर बनाएका छन् । आकाश उघ्रिएका बेला वरपर उभिएका हरिया पहाडमा पर्यटकहरूले निर्बाध चरिरहेका भेडा हेरेर दंग पर्ने गरेको गुप्ताले आफ्नो किताबमा लेखेका छन् ।

पुराना उद्योगहरू जो वातावरणीय प्रदूषणका मुख्य कारण थिए, लाई अत्याधुनिक मात्रै बनाएनन्, प्रदूषणलाई उल्लेख्य मात्रामा कम पनि गरे । त्यसैले पहाडमा हरियाली बँचेको छ, भेडाबाख्रा निर्बाध चर्न पाएका छन् । उद्योग र कलकारखाना चलाएर स्पेनले भन्दा दोब्बर निर्यात गर्ने क्षमताको वृद्धिसमेत गरेका छन्, बास्केलीहरूले । 

यसरी विकास गर्नका लागि उनीहरूले विगतका सांस्कृतिक विभेद र अन्यायी व्यवस्थाको अन्त्य गरे । अहिले उनीहरू पुराना घाउ सुमसुम्याएर बसेका छैनन् । विभेदका पुराना कथा दोहोर्‍याउनुपर्ने अवस्थाबाट समेत मुक्त भइसकेका छन् । कारण, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा सबैले समान पहुँच पाएका छन् । गुप्ताले सन् २०१० को तथ्यांक उल्लेख गर्दै आफ् नो पुस्तकमा भनेका छन्, ‘बास्कले कुल बजेटको ३५.८ प्रतिशत स्वास्थ्य क्षेत्रमा र २५ प्रतिशत शिक्षामा लगानी गरेको छ ।’ औसत आयुमा युरोपमा बास्क क्षेत्रले सबैलाई उछिनेको छ । जबकि, नेपालले शिक्षामा कुल बजेटको ९.९१ प्रतिशत मात्रै छुट्याएको छ । एक दशकअघि कुल बजेटको १७ प्रतिशतसम्म पुगेको शिक्षाको लगानी निरन्तर घटिरहनु सुखद संकेत होइन ।

बास्कमा भव्य संग्रहालय, वैज्ञानिक अनुसन्धानका केन्द्रमा प्रचुर लगानी र उद्यमशीलता बढाउन गरिएको योजनाबद्ध कामबाट नेपालजस्तो देशले काम गर्ने हौसला प्राप्त गर्न सक्छ । गुप्ताको दलिल अनुसार यी सबै काम गर्नका लागि क्याबिनेटमा पुगेका केही ‘भिजनरी’ नेताहरू र तिनलाई सघाउन तत्पर अध्ययनशील मानिसहरूको भूमिका अहम् रह्यो ।

समाजशास्त्री गुप्ताको अध्ययनबाट सापटी लिएर यहाँ चर्चा गर्नुको ध्येय नेपाललाई अर्को बास्क बनाउने सपना देख्न थाल्नुपर्छ भन्ने होइन । वा, स्वीट्जरल्यान्ड बनाउने कोरा सपनाको नयाँ संस्करण जरुरी छ भनिएको पनि होइन । बस्, संसारमा जथाभावी निजीकरण नगरी, राज्यले लिनुपर्ने जिम्मेवारी बेइमान बजारको जिम्मा नलगाई भएका प्रगति हाम्रा लागि अध्ययनको विषय बन्न सक्छ भन्ने मात्र जिरह गर्न खोजेको हो । नेपालमा पनि हाम्रा राजनीतिक दलले कचल्टिएको नवउदारवादलाई शिरमा बोकेर हिँड्नुभन्दा राज्यलाई कल्याणकारी बनाउन अवलम्बन गर्न सकिने उपायहरूको खोजी गर्नु उपयुक्त हुन्छ । विश्व बैंक र अन्तरार्ष्ट्रिय मुद्राकोषका प्रयोगशाला नबनेर शिक्षा र स्वास्थ्यमा राज्यको लगानी व्यापक बनाउन सकिन्छ । त्यो लगानीको सदुपयोग भए/नभएको चुस्त अनुगमन गर्न सकिन्छ ।

त्यसरी गरिएको प्रचुर लगानीबाट वर्चस्वशालीले मात्रै लाभ लिइरहने खतरा हुन्छ । त्यसैले राज्यलाई सक्दो समावेशी बनाउन र समावेशिता सिद्धान्तलाई अहिलेको संविधानले जस्तो भुत्ते नबनाउन सकिन्छ । साथै, आलोचनात्मक चेतनासहितको बलियो नागरिक समाज बनाउने खालको शिक्षा प्रणालीको विकास र त्यही अनुसारको उन्नत राजनीतिक संस्कार स्थापित गर्न सकिन्छ । यसरी छोटो समयमा उन्नत र समतामूलक समाजको निर्माण गर्न सम्भव छ ।

यहाँनेर प्रश्न उठ्छ, के विद्यमान नेतृत्वबाट यो सम्भव छ ? खासै उत्साहित हुने ठाउँ छैन । तर, युद्ध, कलह र विभेदले क्षतविक्षत भएको बास्क फिनिक्स चराजस्तो खरानीबाट उठेर अहिले समुन्नत बनेको छ भने हामी पनि आशावादी हुनैपर्छ । बौद्धिक हस्तक्षेपले अहिले सुषुप्तजस्ता देखिएका भिजनरी र हिम्मतिला नेतृत्वले बल पाउनेछन् भन्ने आशा गर्न सकिन्छ । अहिलेलाई ली क्वान यूको सस्तो हल्लाखल्लाबाट मुक्त भएर गहिरो अध्ययन, चिन्तन र सार्वजनिक विमर्श व्यापक बनाउन सके काफी हुन्छ । 

प्रकाशित: असार ७, २०७४