नोटबुक

- रवि मानन्धर

पर्सको झमेला
बिहान १० बजे बन्द हुने मुग्लिन–नारायणगढ सडक खण्ड छिचोल्न हामी चढेको टुरिस्ट बस तीव्र गतिमा बत्तिँदै थियो । हाम्रो सिटमुनि एउटा पर्स हुत्तिँदै आइपुग्यो । कसको हो भनेर हल्ला गर्दा जोसुकैले दाबी गर्न सक्थ्यो । त्यसैले पर्स उठाएर जाँच–पड् ताल गरियो । पर्सको माथिल्लो भागमै मतदाता परिचयपत्र थियो । नाम थियो, कसम बानियाँ । ठेगाना : भरतपुर–१६, चितवन । फोन नम्बर थिएन । एकै थर भएकाले चिनेकै मानिसको हो कि भनेर सँगै रहनुभएका सहकर्मी राजकुमार बानियाँ एकछिन घोत्लिनुभयो । तर, पार लागेन । 

हाम्रो हर्कत सँगैको सिटमा बसेकाहरुले नियालिरहेका थिए । फोन नम्बर पाइने आशमा हामीले फेरि पर्स खोतल्न थाल्यौँ । पाँच सयका केही थान नोटका साथमा अरु नोट पनि थिए । तर, कति थियो गन्नतिर लागिएन । पर्सको अर्काे भागमा एनसेलको नम्बरसहित सिमकार्डको खोल भेटियो । मैले त्यही नम्बर डायल गरेँ । ‘हेलो...’ उताबाट झर्किएको आवाज आयो । 
‘बानियाँजी बोल्नुभएको हो ?’
‘हो, को ?’ 

पर्स हराएको तनाव थियो सायद, कर्कश थियो स्वर । मैले नरम हुँदै सोधेँ । तपार्इंको केही हराएको छ ? अब स्वर परिवर्तन भयो । ‘हो, हो, पर्स हराएको छ । हिजो चितवनबाट काठमाडाैँ आउँदा हराएको । महफ्वपूर्ण कागज पनि छ ।’ उनले एकै सासमा भनिसिध्याए । मैले पर्स सुरक्षित रहेको र हामी पाँच दिन चितवनकै वरिपरि रहने भएकाले कुनै पनि बेला आएर पर्स लैजान सकिने जानकारी दिँदै कुरा टुंग्याएँ । 
पाँच मिनेट नबित्दै फोन बज्यो । फोन उठाएँ । उताबाट महिला आवाज आयो, ‘मेरो भाइको पर्स तपाईंले भेट्नुभएको छ रे, मलाई दिनूस् ।’ ‘अरे तपाईंलाई कसरी दिने ? यसका लागि त बानियाँजीले मलाई भन्नुपर्‍यो नि,’ मैले भनेँ । मिनेटभरमै पर्स दिनु भन्दै काठमाडाैँबाट बानियाँजीको फोन आयो । हस् भन्दै फोन राखेँ । आधा घन्टा नबित्दै हैरानी सुरु भयो । कहिले तिनै महिलाको त कहिले म भाउजू हो अनि कहिले बहिनी हो भन्दै नारायणगढ कति बेला आइपुग्ने भन्दै तारन्तार फोन आउन थाले । स्वर पनि रुखो ।

त्यसमाथि बसको सहचालक नै सम्झिएछन् क्यारे, ‘ए गाडीको भाइ कति बेला आइपुग्ने’ भनेर सोध्न थालेपछि रिसको पारो चढ्यो । अति भएपछि कडा स्वरमा बानियाँजीलाई फोन गरेँ । भनेँ, ‘हेर्नुस् तपार्इंको पर्सबारे धेरैले सोधखोज गरेर हैरान पारे । अब हामी कुनै प्रहरी कार्यालयमा पर्स बुझाइदिन्छाैँ, तपार्इंले प्रहरीबाटै पर्स लिनुहोला ।’ मेरो भनाइ सक्दा नसक्दै बानियाँजी नरम भए । भने, ‘अब कुनै फोन आउनेछैन । पर्स पुलिसकहाँ नबुझाउनु होला, म आफैँ तपाईं भएकै ठाँउमा आएर लिन्छु ।’ 

त्यसपछि पर्सबारे मेरो फोनको घन्टी बजेन । तेस्रो दिन उनै बानियाँ फोन गरेर देवघाटमा हामी भएकै ठाउँमा आइपुगे । उनले पर्स बुझे र ४२ डिग्रीको तापक्रममा निथु्रक्क भिजेको हत्केलाको पसिना मेरो हत्केलामा सार्दै थुप्रैचोटि माफी माग्दै धन्यवाद दिएर बाटो लागे । 
 
खुला मिटर
रिपोर्टिङका क्रममा तनहुँ, देवघाटमा देखिएको अनौठो दृश्यले मेरो ध्यान खिचिरहेको थियो । त्यो के भने त्यहाँ केही घर र आश्रममा बिजुलीका मिटर खुला अवस्थामा थिए । जहाँबाट विद्युत् चोरी गरिएको प्रस्टै देखिन्थ्यो । दुइटासम्म खासै ध्यान दिइनँ । तेस्रोपटक जब निर्माणाधीन एक आश्रममा मिटर खुला देखेपछि फोटो खिच्न थालेँ । फोटो खिच्दै थिएँ, माथिबाट ४०–४५ वर्षका दुई मानिस झरे । मैले खुला मिटरको फोटो खिच्दै गरेको देखेर एक जना आफ्नो गोडाको गतिलाई दुगुना पार्दै बाहिरिए । अर्काेलाई भने मैले छेकेरै यो बिजुलीको मिटर किन खुला हो भनेर सोध्न भ्याएँ । उनी अकमकिए तर होसियार भइहाले । पहिले दुवै हात आफ्ना दुई कानमा लगेर हल्लाए अनि एक हात मुखमा लगेर हल्लाउँदै आफू सुन्न पनि नसक्ने र बोल्न पनि नसक्ने इसारा गर्दै बाहिरिए । माथिबाट एकअर्कासँग बोल्दै ओर्लिएका उनीहरुको चलाखीसामु म लाचार भएँ । 

फर्कने क्रममा बाटोमा पर्ने अर्काे एक सशुल्क वृद्वाश्रममा पनि बिजुलीको मिटर खुला अवस्थामा देखेँ । मैले खुला मिटरको फोटो खिचेँ तर कसैलाई सोधिनँ । किनभने, यहाँ पनि यस विषयमा बोल्ने र सुन्ने मान्छे भेट्न सकिँदैन भन्ने मैले बुझिसकेको थिएँ । 

मूर्खलाई निषेध
प्रसंग फेरि पनि देवघाटकै । फर्कने दिन मध्याह्न १२ बजेको घामबाट राहत पाउन हामी श्रीमणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको कार्यालयमा छिर्‍यौँ । भित्र टेबलभरि किताब असरल्ल छरिएका थिए ।

सरसर्ती हेरेपछि एउटा किताबले मेरो ध्यान तान्यो । प्रबुद्ध शीर्षकको किताबको कभर पेजमा नै ठूलठूला अक्षरले मूर्ख बन्धुहरुले नपढ्नुहोला भनेर लेखिएको थियो । माथिबाट तातो हावा फाल्दै गरेको पंखामा शीतलता खोजिरहनुभएका सहकर्मी राजकुमारजीलाई देखाएँ । पसिनाले निथ्रुक्क भिजेको उहाँको मुखमा हाँसोको फोहोरा छुट्यो । भित्र नियालेँ । म र म, तिमी र तिमी, अज्ञानी मूर्ख र माओ आवो खावो जस्ता शीर्षकका लेख थिए । हामीसँग समय निकै कम थियो । दुर्गाप्रसाद अमात्यकृत १ सय ४६ पृष्ठको त्यो किताब पढ्न हामीसँग समय थिएन । किताब यथास्थानमा राखेर लेखकको प्रचार शैलीबारे कुरा गर्दै हामी बाहिरियौँ । केही त हामीले पढ्यौँ, पूरै मूर्ख त बनेनाैँ नि भन्दै बाटोमा हिँड्दै गर्दा हाम्रो हाँसोसँगै पसिना पनि छुटिरहेको थियो । 

प्रकाशित: असार ४, २०७४