वन्डर वुमन: छुटाउन नहुने सुपरहिरो

  • रोमाञ्चकतासँगसँगै गहिरो दर्शन र भावनाले भरिएको वन्डर वुमन जोकोहीले हेर्दा पछुताउनु पर्दैन ।

- गोकर्ण गौतम

सुपरहिरो फिल्म हलिउडको प्राथमिकतामा पर्छ, सधैँ । जहाँ ठूलो बजेट, स्टार कास्ट अनि जादूयी भीएफएक्सको बोलवाला हुन्छ तर मानवीयता र संवदेनालाई छुन सक्ने सुपरहिरो फिल्मको भने खडेरी छ । यसरी साख खसिरहेको यो समयमा एउटा जबर्जस्त सुपरहिरो फिल्म आएको छ, वन्डर वुमन । जसले आँखा मात्र लोभ्याउँदैन, मन पनि जित्छ । अनि हलबाहिर निस्केपछि पनि कथा र पात्र मष्तिष्कमा खेलिरहन्छन् । प्याट्टी जेन्किन्स निर्देशित यस फिल्मले शान्ति स्थापनार्थ लागिपरेकी एउटी शक्तिसम्पन्न राजकुमारीको कथा भन्छ । जेन्किन्सले आफ्नो मूल चरित्र प्रिन्सेस डायनालाई ‘युद्धको भगवान्’को विपक्षमा उभ्याएकी छन् । अलि गहिरिएर हेर्दा निहित स्वार्थका लागि युद्धलाई प्रश्रय दिने कथित शासक र मानवीय सोचप्रतिको रोष देखिन्छ । हरेक दर्शकले आत्मसात् गर्नुको मूल कारण यही हो ।

अम्याजोनकी राजकुमारी डायना (गल गडोट) ले बच्चैदेखि कठिन युद्ध तालिम लिएकी छन् । बाँकी दुनियाँबाट पूर्ण बेखबर रहेको उनको थेमिस्क्रिया टापुमा एकदिन एउटा विमान दुर्घटनाग्रस्त हुन्छन् । सोही क्रममा उनले अमेरिकन पाइलट स्टिभ ट्रेभर (क्रिस पिन) लाई बचाउँछिन्, जो जर्मन सैनिकको फन्दाबाट भागेर त्यहाँ पुगेका हुन्छन् । जासुस स्टिभबाट डायनाले विश्वमा भयंकर युद्ध र त्यसले दिएको अथाह पीडाबारे थाहा पाउँछिन् । र, युद्ध अन्त्यकै लागि थेमिस्क्रिया टापुबाट बाहिर निस्कन्छिन् । उनले चाहेजस्तै संसारमा शान्ति स्थापना गर्न सफल होलिन् त ? किनभने यहाँ युद्ध कारणसहित हैन, नियोजित र स्वार्थसिद्धका खातिर भइरहेको हुन्छ । 

प्रथम विश्वयुद्धले पिरोलिरहेको बेला डायनाको उदय हुन्छ । उनी जसरी हुन्छ, युद्धका नायकहरूलाई सिध्याउन चाहन्छिन् । शक्तिले भरिएकी पनि छन् तर युद्ध यसरी जेलिएको हुन्छ कि त्यसलाई तोड्न साँच्चै मुस्किल पर्छ । फेरि उनी त महिला मात्र भएको टापुबाट यो दुनियाँमा आएकी हुन्छिन् । तर निर्देशक प्याट्टीले डायनाको एकोहोरो देवत्वकरण गर्नुभन्दा उनी युद्धविरोधी हुनुको कारणलाई खोतलेकी छन् । जसले गर्दा डायनाप्रतिको दर्शकको प्रेम जीवन्तता र तार्किक हुन्छ । उनलाई युद्ध उकास्नु भित्रको फोहोरी खेल बुझाउन स्टिभको प्रयोग सुन्दर छ । अरु फिल्ममा मूल चरित्र पुरुष हुन्छ, उसलाई महिलाको सहयोग मात्र हुन्छ । यसमा मूल चरित्र महिला छिन्, पुरुष उसको सहयोगी बनेको छ ।

डायनाको चरित्रकरण, मनोविज्ञान र सोच स्थापित गर्न त यथेष्ट प्रयास गरिएकै छ, महिला मात्र भएको टापु अनि युद्धका बहुआयामिक असरलाई पनि पटकथामा जीवन्त शैलीमा बुनिएको छ । सोही कारण दर्जनौँ युद्धपिपासुलाई डायना एक्लैले परास्त गर्दा पनि विश्वसनीय लाग्छ । खासमा तर्कसहित सिर्जना गरिएको सुपरहिरो हुन्, डायना । त्यसैले पनि वन्डर वुमनलाई विशेष बनाएको छ । जर्मन सैनिकसँग टापुका महिला योद्धाको भिडन्त होस् वा क्लाइमेक्सको एक्सन, गज्जब शैलीमा खिचिएको छ । टापुमा स्टिभ पुगेपछि र डायना टापुबाट निस्किएपछिका कतिपय दृश्य हास्यप्रधान छन् किनकि दुवैका लागि त्यो माहौल बिल्कुलै अनौठो हुन्छ । क्रिसको आगमन अगाडिका केही दृश्यले कथालाई तन्काउने काम मात्र गरेको छ ।

डायनाको भूमिकामा गल गडोट बुलन्द रुपमा प्रस्तुत भएकी छन् । सन् २०१२ मा काठमाडौं नामक इजरायली टेलिसिरियलमा देखिएकी गडोटको यो पहिलो एकल फिल्म हो । र, उनले जस्तोसुकै चुनौतीपूर्ण भूमिकामा पनि जम्न सक्ने प्रमाणित गरेकी छन् । पुरुष सुपरहिरोको भीडमा उनी अलग मात्र होइनन्, अग्लो पनि देखिन्छिन् । जबकि कतिपय दृश्य छायांकन गर्दा उनी पाँच महिनाकी गर्भवती थिइन् । क्रिस पिनसँग उनको रसायन सुहाएको छ । क्रिस अर्का प्रशंसाका हकदार हुन । बृहत्तर हित र शान्तिका लागि उनको चरित्र सम्झनालायक छ । फिल्मका अन्य सहायक पात्र पनि निकै बलिया छन् ।

रोमाञ्चकतासँगसँगै गहिरो दर्शन र भावनाले भरिएको वन्डर वुमन जोकोहीले हेर्दा पछुताउनु पर्दैन । अर्थात् यसलाई बिनासन्देह हेर्नैपर्ने फिल्मको कोटिमा राख्न सकिन्छ ।              

 

प्रकाशित: असार २, २०७४