घोषणाको हतारो

- नेपाल संवाददाता

फिल्मलाई निर्देशकको माध्यम भनिन्छ । निर्देशकबिना फिल्म निर्माणले गति लिन सक्दैन तर हामीकहाँ निर्देशक नै नछानी फिल्म घोषणा गरेर रमिता देखाइन्छ बेलाबखत । पछिल्लो उदाहरण हो, फिल्म दीपेन्द्र सरकार । काठमाडौँको पाँच तारे होटल याक एन्ड यतीमा निकै तामझामसाथ यस फिल्मको घोषणा त गरियो तर निर्देशक मात्र होइनन्, लेखक र प्राविधिक पनि चयन भएका छैनन् । प्रदीप खड्का पूर्वराजा दीपेन्द्र शाहको भूमिकामा रहने जानकारी मात्र गराइएको छ । प्रदीप तिनै हुन्, जसको प्रेमगीत २ प्रदर्शनको क्रममा छ । र, प्रेमगीत २ कै निर्माता सन्तोष सेनले बनाउन लागेका हुन्, दीपेन्द्र सरकार । त्यसैले त फिल्मवृत्तमा चर्चा चल्न थालेको छ, प्रेमगीतले पर्याप्त चर्चा नपाएपछि हतारमा दीपेन्द्र सरकार घोषणा गरिएको हो । नत्र बिना आधार फिल्म बनाउँछु भनेर फुई हाँक्नुको कुनै तुक छ र ?

प्रकाशित: असार २, २०७४