[अनुभूति] एकादेशका बा

  • मनले मात्र ज्यान धानिँदैन, शरीर धानिन दरिलो तन नै चाहिन्छ । आमाको शरीरले एक दिन मुखबाट रगत निकालेर बिलौना गर्‍यो । लुकाउन खोजिन्, लुकेन । पन्छाउन खोजिन्, पन्छिएन ।

- विधान आचार्य

एकादेशमा एक जना बा थिए । छन त बाका बा पनि थिए, तर आफू सानै छँदा बाका बा परलोक गएपछि यी बा साह्रै नियास्रिए । यी बाका भागमा घरभरि दुहुना भए पनि मोही पर्‍यो ।

पढाइलेखाइप्रतिको आफ्नो उत्कट अभिलाषा आली–हिलोमा पोख्नु पर्‍यो ।

बाको सानैमा बिहे भयो । अनि, तिनीहरू बाआमा भए । एउटीका बाआमा भएर नपुगेर अर्को तयारी चल्दै थियो, बालाई सहिनसक्नु भयो । बा अमिलिए । आफ्नै परिवारमा दोस्रो दर्जाको नागरिक ? एक दिन, दिन होइन एक रात छोरी, आमा र उनको कोखमा हुर्कंदै गरेकोलाई चटक्क छोडेर बा परदेसिए ।

बा नभएका समयमा आमा भने नोकर्नी आमा भइन् । लोग्ने नभएपछि घर कहाँ घर भइराख्छ र ? घर, मालिक भयो । आमा सेविका भइन् । पानीले गिज्यायो र पिठ्यूँभरि त्यसैका धारा बगिरहे । आधा दर्जन सासूहरू मालिक अवतारमा उनीमाथि खनिए । सासू नभएकाहरू पनि सासूजस्तै बने । सबैका लुगा समेटेर आफ्ना आङका लुगा पनि बिर्सिइन् उनले ।

बालाई परदेशले हन्डर खुवायो । घरदेशमा आफ्ना अनुपस्थितिमा जन्मेर हुर्केको छोरो ठूलै भएपछि समाजले बालाई सम्झ्यो । भाइ बाले बालाई खोजखन्तर गरे ।

बा फर्के । तर, उनका परदेशमा आफ्नो अधिकार र अस्तित्व गुम्ला भन्ने डरले नतमस्तक हुँदाहुँदा आमा खोक्री भइन् । खोक्री भए पनि उनले आफ्नो शरीरलाई भरिलो बनाएर बालाई समर्पित गरिराखिन् । बा फेरि बा भए ।

***

पहिला सायद बा थाहै नपाई बा भए । अर्को बा हुने बेला बा घरमै भएनन् । बाले बा हुनुको वास्तविक अनुभव बल्ल गरे होलान् । तर, बाको बिथोलिएको मन, परिवारमा भएको बाप्रतिको असहज अवस्थाले बालाई सामान्य बा हुनै दिएन । फर्केर आउनासाथ, आ–आफैँ गरिखाने भनी छुट्याइएका बाका भागमा रोजी अरूले राखेर छोडी परेको सम्पत्ति र आफू नहुँदा सास्ती खेपेर रोगी भएकी आमा पनि साथै थिइन् । आफू हुँदाहुँदै त कति थोक एकाएक अलप हुन्छन् भने आफू नभएपछि बाका धेरै कुरा अलप भए ।

घर ठूलो, सम्पत्तिको मात्रा ठूलो । बाका भागमा भने पकाउने र खाने भाँडा पनि आमाले माइतीबाट ल्याइन् । बा डिलमा बसेर हेरिरहे । 

***

नेमी थियो नाम उसको, जसले बालाई रहरको बा बनाएको थियो । रहरको नभएर बिस्तारै कहरको बा बनाएजस्तो भयो । 

सयौँ योद्धाहरूका प्रहारले पहिल्यै आहत भएको रथ युद्धका करकापले मात्र कृष्णले जोगाएका थिए । कृष्णले छोड्नासाथ रथ जसरी भष्म भयो, त्यसै गरी आफ्नो अस्तित्व र अधिकारै जाला भनी बा घरमा नहुँदा ज्यान दिएर सेवा गरेकी आमाको शरीर पनि चकनाचूर भएको थियो । बा आएपछि बाका काखमा घोप्टेर आमा रोएकी थिइन् । आमाको रुवाइ प्रीतमा परिणत भयो । 

मनले मात्र ज्यान धानिँदैन, शरीर धानिन दरिलो तन नै चाहिन्छ । आमाको शरीरले एक दिन मुखबाट रगत निकालेर बिलौना गर्‍यो । लुकाउन खोजिन्, लुकेन । पन्छाउन खोजिन्, पन्छिएन । उमेरमा बाले छोडेर गएका थिए । अहिले उमेरमा उनले छोडौँलाझैँ पो गरिन् ।

अकस्मात् आफ्नो घर चलाउने आफ्ना सन्तानकी आमा रगतका आँसुमा आएपछि भने बा हडबडाए । बाँकी एउटी दिदी थिइन् । दिदीले हौसला दिइन् । उपचारका लागि आमा नेपाल सहरमा बसेपछि भने बामे सर्ने नेमी पनि आमासितै पुग्यो । तर, अस्पतालले बच्चा राख्दैनथ्यो । चारखुट्टे नेमी दुईखुट्टे हुन नपाउँदै धेरै हन्डर खायो । भर्‍याङबाट लडाइयो । घरि आमासित राखियो, घरि छुटाइयो ।

उता बा पश्चिम पहाडमा लहरोजेउरो गरेर घर धान्दै थिए भने यता आमा नेपाल सहरमा आफ्नो शरीर र सन्तानका लागि संघर्षरत थिइन् । बाका अनुपस्थितिमा जन्माएको बाको बीउ उनका लागि सबैभन्दा प्रिय थियो । नेमी त थियो तर नेमीभन्दा पनि उनको प्राण उसैमा थियो । दु:खमा उसले आमा भनेर काखमा बसेर गाला मुसार्दै ‘नरुनु आमा’ भनेको सम्झेर उनी भक्कानिन्थिन् । बालाई हुन त उनले फेरि फेरि बा र बा बनाइराखिन् । तर, आमा हुनुको गौरव उनलाई उही पहिलो छोरोबाट भयो । किनभने, उसलाई उनले एक्लै र अद्वितीय संघर्षसाथ हुर्काएकी थिइन् ।

***

आमाबेगर मर्ला कि भनेको नेमी, आमाको सान्निध्यका लागि भनेर सहरमा राख्दा झन् बिनाकामको सिकार भयो । ऊ इच्छाइएको पात्र थिएन । अर्घेलो थियो । बा घरदेशमा थिए, आमा अस्पतालमा थिइन् । बालाई खबर गयो, नेमीको बेहाल छ । ‘बा भाइलाई ल्याउनू’, दिदी र दाजुले पनि आँखा भिजाए । बा नेपाल सहर पुगे ।

घुतुमुने नेमी कालो र ख्याउटे भएको थियो । बाले चिन्न पनि नसकिने अवस्थामा थियो । मन छोयो । एकातिर आफ्ना सन्तानकी आमा अस्पतालको बिछौनामा, अर्कातिर छरिएका छोराछोरी बटुल्दै थिए बा । बालाई पहिलोपटक सायद घर छोडेर नहिँडेको भए म पनि अरूका सामु केही बन्न सक्थेँ भन्ने लाग्यो ।

बा, बा थिए । त्यत्रो टुकुटुकु हिँड्ने बच्चोलाई पनि एउटा ठूलठूलो झोलामा हाले । काँधमा बोके । नेपाल सहरदेखि पश्चिमको तीन नम्बर चार दिनको बाटो थियो । बा, बा थिए । चल्लालाई माउले लिएर हिँडेझैँ बाबुछोराको यात्रा चल्यो ।

***

‘बाबु के खान्छस् ? बिस्कुट ?’

 

नेमी ‘अँ’मा टाउको हल्लाउँथ्यो । बा एउटा बिस्कुट किनेर खोलेर झोलामा हालिदिन्थे । ऊ कुपुकुपु खान्थ्यो । बाटामा भेटिएका एक हूल भेडालाई देखेर ऊ रोमाञ्चित हुन्थ्यो । बा एकछिन उसलाई झोलाबाट बाहिर निकालेर नदी, भेडा र सँगै हिँडेका बटुवाहरूको लस्कर देखाउँथे । घरि ऊ पनि झोलाबाट बाहिर निस्केर हिँड्छु भन्ने जिद्दी गथ्र्यो । बा ऊतिर हेर्थे । मुस्कुराउँथे । फेरि कर्‍याककुरुक पारेर उसलाई झोलामै हाल्थे । काँधमा बोकेर हिँड्थे । साँझमा पुग्नुपर्ने बासले बाबुछोरालाई बोलाउँथ्यो ।

ढुंगाको चुलोमा ढाक्रेहरूसितै पाक्थ्यो भात । शिरमाथि मडारिएको धर्म र संस्कृतिको बादलले बालाई आफैँ पकाउन बाध्य पाथ्र्यो । नेमीका लागि बटुको थापेर पसलबाट दूध लिएर आउँथे । अँगेनाको दाउरामा झुक्किएर कुल्चिँदा दाउराले उछिट्याएर चुलामा बसालेको गुन्द्रुक घिप्लिक्क पोखिन्थ्यो । बा आखिर बा थिए । छोरालाई खुवाएपछि निस्तो भातले पनि बाको पेट भरिन्थ्यो ।

बाको झोला नेमीको घर थियो । बिसौनीमा थकाइ मारेर उठ्नासाथ लौ जाने बेला भयो भन्ने ठानी नेमी झोलाछेउ आइपुथ्यो । 

घर पुग्ने पुग्ने बेला हुँदै आएपछि आफ्नै गाउँ आइपुग्न लागेको थियो । चिन्ने–जान्नेहरू पनि बढ्दै गए । चिन्नेहरूले झोलामा चिचिलो नेमीलाई देखेर भावुक भए । कति रुन थाले । प्राय: सबैका मनमा के आएछ भने, ‘आमाचाहिँ गइछन् र बाले दुब्लो र टीठलाग्दो भएको छोरालाई मात्र लिई आएछन् ।’ बाले पहिले त खालि छोराका कारण मात्र गाउँलेहरू भावुक भएका भनी ठाने तर पछि छोराकी आमा नै नरहेकी शंका आयो भन्नासाथ बा फेरि एक गाउँसम्म फर्की आमा बितेर छोरालाई ल्याएको होइन है भन्ने स्पष्टीकरण दिए । आमाबारे गाउँलेले नानाभाँती शंका गरेपछि बाले छोरालाई एक चौतारामा राखेर छातीमा च्यापे । आमाबारे गरिएको शंका मात्रले पनि बालाई एकैछिनमा भावुक र पूर्ण बा बनायो । बाका पनि आँखामा आँसु आए ।

***

बा साँच्चैका बा थिए । धेरै वर्षसम्म बाले नेमीलाई बोकेर लगेको झोला दलिनमा झुन्डिरह् यो ।

नेमीहरूका पढाइमा बा साह्रै चिन्तित हुन्थे । आफूले चाहेजति पढ्न नपाएको दु:ख बाका आँखामा सधैँ रौद्ररस बनेर आयो । कहिले कसले के सुरमा भन्यो, बाले बताएनन् तर भन्थे, ‘तँ गोठालो होस्, तेरा छोरा पनि गोठालै हुन्छन् भनेको आवाज मेरा कानमा होइन, मुटुमा छ ।’ त्यसैले आली–हिलो, घाँसकुँडो बाले गरे, कहिल्यै छोराछोरीलाई लगाएनन् । 

कलेज पढ्ने, जागिर खाने र कालान्तरमा आफैँ अर्को पुस्ताको बा हुँदासम्म पनि नेमीहरूका जीवनमा बा हमेसा बा नै भइरहे । पहिले बाको जीवनप्रति खिल्ली गर्ने र उनलाई पशुवत् व्यवहार गर्नेहरू बाको जीवनसित डाहा गर्थे । कारको अघिल्लो सिटमा पेटी बाँधेर मधेस–पहाड गर्दा वा दसैँमा टीका लगाउन हिँड्दा बाका आँखामा सन्तोष आउँथ्यो । त्यति बेलासम्म पनि ६–६ जनामध्ये कुनै सन्ततिका काम गराइमा अलिकति तलमाथि देखियो भने बा तुरुन्तै गरम दलका नेता भइहाल्थे । आफैँ बा भएका छोराहरू बाले बोलाउनासाथ तु हाजिर हुन्थे, तत्काल आदेश पालना हुन्थ्यो । बा कडा हाकिम थिए । यस्तो लाग्थ्यो कि छोराहरूका प्रत्येक प्रमाणपत्र र नियुक्तिका कागजमा अरू कसैको नभएर खालि बाकै मात्र हस्ताक्षर थिए ।

***

बा आफ्ना सन्ततिका लागि मात्र होइन, गाउँलेहरूका पनि बा थिए । जवानीमा घर छोडेर बाहिर हिँड्दा खाएको हन्डरले कुनै बेला बाका हातमा इन्जेक्सन थमाएको रहेछ । त्यसको पूरापूर उपयोग बाका गाउँलेहरूले गरे । गाउँ पञ्चायतमा अलिक समाजसेवी किसिमको कोही वडा सदस्य (अहिलेको अध्यक्षजस्तो) चाहियो, बाको नाम अघि आउँथ्यो । स्कुलको काम गर्ने कोही चाहियो, फेरि बा । गाउँघरमा केही तलमाथि भयो कि बा । जन्ती जानपर्‍यो बा । मलामी जानपर्‍यो बा । त्यति मात्र नभएर बाले समाजका सुख–दु:ख दुवै काममा छोराहरूलाई कि सँगै लगे, कि ‘जा’ भनेर पठाए । अनि, सानैदेखि उनीहरूलाई पनि जिउँदोमा जन्ती र मर्दा मलामी हुन सिकाए । बा, बा थिए ।

***

बा जति बाँचे, सधैँ बा नै भएर बाँचे । बाका प्रत्येक अनुमान र प्रक्षेपण सत्यका साह्रै नजिक हुन्थे । जीवनका ८८ हिउँदबर्खा बाले बिताउँदासम्म जसले जहाँ गम्भीर भएर बोलायो बा खुसीसाथ उसकहाँ गए । सानोठूलो भन्ने भेद राखेनन् । आफूभन्दा सानाले बोलाए पनि उनले, तैँ मलाई भेट्न आइज भनेनन् । सधैँ सिकाए, मान गर अनि बल्ल मान पाइन्छ । अरूको अपमान गर्नेले कि आफ्नो जीवनकालमै, नत्र मरेपछि भए पनि त्यस अपमानको बदला तिर्नुपर्छ । बाले उदाहरणसाथ सिकाए । बा, बा थिए ।

***

बा, बा थिए । सबैले बोलाएका ठाउँमा जाने बालाई एक दिन अस्पतालले पनि बोलायो । बा गए । अस्पतालका शय्यामा बाले भने, ‘गंगासागरबाट मलाई लिन आए । दूतहरूले शंख फुके, म जाने बेला भयो । तिमीहरू पीर नगर । कसैलाई दु:ख नदेऊ । सक्दासम्म आफैँ काम गर । जीवनमा उचित समयमा उचित निर्णय लिन न लक्पकाऊ !’

सधैँ बालाई शंका लाग्थ्यो, मेरा अन्तिम समयमा तिमीहरू को कता हुन्छौ कुन्नि ! बाको चिन्ता एक मात्र विषयमा हुन्थ्यो, अरूको उदाहरण दिएर भन्थे, आफूले जन्माएका सन्तान आफ्नो अन्त्यकालसम्म र खास गरी प्राण त्याग गर्दा साथै भएनन् भने यस जुनीमा केही पुण्य नपुगेको हुन्छ । मेरो अन्त्य अवस्थामा तिमीहरू तीनै भाइ छोरा सँगै भए हुन्थ्यो ।

बा, बा थिए । बाको इच्छा नपुग्ने कुरै थिएन । आर्यघाटमा तीनै छोराको प्रदक्षिणा लिएर बाको चिता जल्यो । बा कसैको ऋण राख्दैनथे । सापटी लिएर बाँचेका आफूभित्रका माटो, पानी, आगो, वायु र आकाश तिनैलाई बुझाएर बा अनन्तको यात्रामा चले ।

***

नेमीका मनमा भने बाले दिएको पाठ, उनले उसलाई बोकेर नेपाल सहरदेखि पहाडको गाउँसम्म पुर्‍याएको झोलामा पुग्यो । बाले बा भएर त्यो झोलामा उठाएको बोझ नेमी भएको छ । बा, बा थिए । आउँदो पुस्ताका लागि त्यो झोलाको बोझ कति उठाउन सकिएला ? केही मात्र सकिएला, त्यति त कुन्नि ? बा पो बा थिए । हामी खोइ ? 

प्रकाशित: असार १, २०७४