[स्मरण] सशस्त्र आन्दोलनका लागि हतियार खोजतलास

- खड्गजीत बराल

भारत, गोरखपुरको फौजी क्यान्टोनमेन्टमा उच्च पदमा कार्यरत मेरा पिताजीलाई भेट्न बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, डा केआई सिंह, गोपालप्रसाद भट्टराई, बालचन्द्र शर्मा आदि नेताहरू बरोबर आउँथे । राणा शासनविरोधी अभिव्यक्तिका साथै प्रजातन्त्र आगमनपछिका सुनौला दिनहरूबारे उनीहरू बरोबर चर्चा गर्थे । र, पिताजीलाई आश्वासन पनि दिन्थे, ‘प्रजातन्त्र आगमनपछिको सुरक्षाफौजको नेतृत्वका लागि तपाईंजस्ता व्यक्ति नै हो हामीलाई आवश्यक पर्ने ।’ साथसाथै, त्यही बाटो भएर बनारस, पटना, दिल्ली आदि ठाउँमा संगठन निर्माण गर्ने सिलसिलामा आर्थिक सहयोग पनि लिएर जान्थे । ती सबै कुरा देखेकाले म पनि नेपाली कांग्रेसको राजनीतिबाट नजानिँदो ढंगले प्रभावित हुन पुगेछु ।

त्यही सिलसिलामा विद्यालय तहमा पढ्दै गर्दा नेपाल विद्यार्थी संघ खोलेर काम गर्न थालेँ र बीएस्सीसम्म पुग्दा नपुग्दै त नेपाली कांग्रेसको ‘बोनाइफाइड’ कार्यकर्ता नै बनिसकेको थिएँ । भारतको ब्रिटिस उपनिवेशवादविरुद्धको ‘ भारत छोडो’ आन्दोलनमा सरिक भएँ र त्यही क्रममा केही दिन जेल अनुभव पनि सँगालेँ । 

भारत स्वतन्त्र भएपछि मुलुकबाहिर र खास गरी भारत प्रवासमा रहेका नेपालीहरू राणाविरोधी आन्दोलनमा ज्यादै उत्साहका साथ सहभागी भए । लामो समय शान्तिपूर्ण आन्दोलन चल्दा पनि त्यसले परिणाममा व्यवस्था परिवर्तनको कुनै छनक देखिएन । त्यही भएर आगामी रणनीति तय गर्न नेपाली कांग्रेसले १० र ११ असोज ००७ मा भारतको बैरगनियामा सम्मेलनको आयोजना गर्‍यो, जो बैरगनिया सम्मेलनका नामले चिनिन्छ । त्यही सम्मेलनमार्फत राणा शासनविरुद्ध सशस्त्र आन्दोलनको घोषणा गरिएको थियो । भारत, बिहारको बैरगनियास्थित एउटा गोदामघरमा सम्पन्न उक्त सम्मेलनले आ–आफ्नो ठाउँमा फर्केर मुक्ति सेना निर्माण गर्ने र हातहतियार जम्मा गर्दै ‘गर या मर’को ढंगले आन्दोलनलाई अघि बढाउने निर्णय भएको थियो । म पनि त्यस सम्मेलनमा गोरखपुरबाट प्रतिनिधि भएर सहभागी भएको थिएँ ।

सम्मेलनबाट घर फर्किनासाथ मनमा एकैचोटि धेरै कुरा खेल्न थाले । राती त्यस्तै ११ बजेको हुँदो हो, मेरा बाजेले बेलायतबाट ल्याएर घरमा राखेको दुईनाले बाह्रबोर बन्दुक र टोटा लिएर झ् यालबाट भागेर भैरहवाको मुक्ति सेनाको क्याम्पमा पुगेँ । जम्मु कश्मीर राज्यको पल्टनमा जमदार पदमा कार्यरत नेपाली मूलका व्यक्ति उक्त पल्टन छोडेर मुक्ति सेनालाई सघाउन भैरहवा क्याम्पमा आएका रहेछन् । हातहतियार व्यवस्थापनको जिम्मेवारी उनैले सम्हालेका थिए । मैले पनि आफूले लगेको हतियार उनैलाई जिम्मा लगाएँ । 

मजस्तै थुप्रै व्यक्ति त्यहाँ भरुवा बन्दुक र अरू हातहतियार लिएर पुगेका थिए । मुक्ति सेना र सशस्त्र क्रान्तिप्रतिको स्वस्फूर्त आकर्षण थियो त्यो । साथै, राणा शासनविरुद्धको जनआक्रोश पनि । काशीप्रसाद श्रीवास्तव, रामवरण शर्मा, डा केआई सिंहलगायतका नेताहरू त्यस क्याम्पका हर्ताकर्ता थिए । त्यहाँ जम्मा भएका प्राय: बन्दुक भरुवा र गाउँघरमा चराचुरुंगी मार्न प्रयोग गरिने किसिमका मात्र थिए । ती हतियारले राणा शासनविरुद्ध लड्न सम्भव थिएन । किनभने, उनीहरू त आधुनिक हतियारले सुसज्जित थिए । सामान्य नै भए पनि तालिमप्राप्त थिए । 

मुक्ति सेनालाई संगठित गर्ने र कामको बाँडफाँट गर्ने क्रममा पल्टनेको सन्तान भएको नाताले मलाई भारतका विभिन्न ठाउँमा गएर हातहतियार र ती चलाउन सक्ने तालिमप्राप्त व्यक्ति खोजेर ल्याउने जिम्मेवारी दिइयो । काठमाडौँका देवेन्द्र शाह, कपिलवस्तुका विष्णुबहादुर क्षत्री र देहरादुनकी कमला गुरुङसहित हामी देहरादुन, भाग्सु, बक्लो, चक्रता, सिलोङजस्ता गोर्खा पल्टन र गोर्खालीहरूको बसोवास रहेका क्षेत्रमा पुग्यौँ । आधुनिक हातहतियारका साथै उल्लेख्य मात्रामा गोलाबारुद जम्मा गर्‍यौँ र केही तालिमप्राप्त मानिसलाई लिएर मोर्चामा फर्कियौँ । 

प्रवासमा रहेका गोर्खा फौज र व्यक्तिसँग सम्पर्क र सम्बन्ध बढाउन पिताजीसँगको उनीहरूको परिचय र सम्बन्धले मलाई धेरै सजिलो भयो । आफन्त र चिनेजानेका व्यक्तिका अतिरिक्त पिताजीमार्फत फौजमा रहेका धेरैसँग सम्पर्क कायम गरी आन्दोलनमा होमिन प्रोत्साहित गरेँ । 

हातहतियार जम्मा गरेर आन्दोलनलाई एउटा उचाइमा पुर्‍याउँदै थियौँ । आधुनिक हतियार र गोलीगठ्ठा जम्मा गरेर राणाविरोधी आन्दोलनमा लडिरहँदा मुक्ति सेनाका जवानमा ऊर्जा र मनोबल पनि थपिएको थियो । पश्चिम नेपालका धेरै गौँडा, सदरमुकाम कब्जामा लिँदै राणाविरोधी सशस्त्र आन्दोलन सफलताको अन्तिम विन्दुतिर लम्किरहेको थियो । दुर्भाग्य ! त्यति नै बेला राजनीतिक तहमा भने दिल्ली सम्झौता गरियो । सशस्त्र क्रान्तिमा होमिएका हामी मुक्ति सेनाका जवानहरूलाई आन्दोलनको मझधारमा ल्याएर छोड्ने काम भयो । त्रिपक्षीय सम्झौताद्वारा राणा शासक मोहनशमशेरलाई नै प्रधानमन्त्री बनाएर अघि बढ्ने भइयो । यसरी सशस्त्र क्रान्तिमार्फत मुलुकको अधिनायकवादी एकतन्त्रीय राणा शासन समाप्त गर्ने सपना र अभियान असफल पारियो ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: जेष्ठ ३१, २०७४