काष्ठमण्डपको जगभित्र लुकेको कथा

  • भूकम्पपछिको उत्खननले काष्ठमण्डपको ऐतिहासिकताको नवीन अध्यायको खुलासा

- गोकर्ण गौतम

काष्ठमण्डप पुन:निर्माणका लागि अभियानले पिगननीमा वृद्धवृद्धाहरूबाट कथा सुन्ने कार्यक्रम राख्यो, १० जेठमा । त्यही कार्यक्रममा एक जनाले काष्ठमण्डपबारे रोचक कहानी सुनाए– मरुहिटीको मुहान जोगाउन काष्ठमण्डप बनाइएको थियो । त्यहाँ सुत्यो भने मध्यरातमा पानीको कलकल आवाज आउँछ । उनी आफैँले त्यस्तो आवाज सुनेका थिए । र, यो कथा उनले आफ्ना पूर्वजबाट सुनेका हुन्, बाल्यकालमै । 

यसको सत्यता पुष्टि गर्ने आधार छैन, अहिलेका लागि । तर, स्थानीयवासी र सम्पदाप्रेमीहरू भने यसको खोजमा लागेका छन् । किनभने, हिजोअस्तिसम्म बेवास्ता गरिएका काष्ठमण्डपसम्बन्धी कति किंवदन्ती अहिले तथ्यमा परिणत भएका छन् । जस्तो : संस्कृतिविद् यज्ञमानपति बज्राचार्यले लीलाबज्र : काष्ठमण्डप निर्माता नामक पुस्तकमा काष्ठमण्डप आठौँ शताब्दीमा निर्माण भएको दाबी गरेका थिए तर कसैले पत्याएनन् । १२आँैँ शताब्दीमा काष्ठमण्डप बनेको इतिहासकारहरू बताउँथे । सबैका लागि सत्य यही थियो तर १२ वैशाख ०७२ को भूकम्पपश्चात् जसै यसको उत्खनन भयो, यज्ञमानको दाबीमा सत्यता रहेको पुष्टि भयो । त्यो पनि नेपाल, बेलायतलगायतका देशका गिनेचुनेका पुरातत्त्वविद्हरूले गरेको काष्ठमण्डपको जग उत्खननबाट ।

टोलीमा संलग्न पुरातत्त्वविद् कोषप्रसाद आचार्य भन्छन्, “हाम्रो उत्खननले काष्ठमण्डपको प्राचीनता धेरै अगाडि लग्यो । यहाँ जिजस क्राइस्टको समयदेखि नै बसोवास थियो भने संरचना नै सातौँ र नवौँ शताब्दीमा पटक–पटक बनेको प्रमाणित भयो ।” पुरातत्त्व विभागका पूर्वमहानिर्देशक आचार्यका अनुसार अँगार र बालुवाको कणको परीक्षणबाट काष्ठमण्डप निर्माणको मिति पत्ता लागेको हो । बेलायतको स्टर्लिङ विश्वविद्यालयमा पठाएर यसको वैज्ञानिक परीक्षण गरिएको थियो । उत्खननमा बेलायतकै डुर्‍याम विश्वविद्यालयका विज्ञहरू पनि सामेल थिए ।

यी हुन्, नयाँ तथ्य 

मूर्त सम्पदा मात्र होइन, काष्ठमण्डपसँग जोडिएका अमूर्त सम्पदाबारे समेत नवीन प्रमाणहरू फेला परेका छन् । काष्ठमण्डपको संरचनाकै इतिहास १ हजार ३ सय वर्ष पुरानो हो भनेर थाहा पाउन हामीलाई भूकम्प र त्यसपछिको उत्खनन कुर्नुपर्‍यो । जबकि, १२आँैँ शताब्दीभन्दा पहिले नै यसको अस्तित्व रहेको भनेर म्यारी सल्सर र गौतम बज्राचार्यले सन् १९७४ मै एक अनुसन्धान लेखमा इंगित गरिसकेका थिए । गुठीका सदस्यमार्फत काष्ठमण्डप उल्लेख गरिएको सन् १०९० को ‘अष्टसहश्रीका–प्रज्ञापारमिता’ हस्तलिपि देखेको तर फोटो खिच्न नपाएको सल्सर र बज्राचार्यको भनाइ थियो । यो हस्तलिपि अमेरिकाको सान डियगो आर्ट म्युजियममा छ अहिले । लुसियानो पेटेकको पुस्तक मिडियभल हिस्ट्री अफ नेपालमा पनि काष्ठमण्डपबारे यस्तै उल्लेख गरिएको छ । यसको ऐतिहासिकता र पुरातात्त्विक महत्त्वबारे अध्ययन गरिरहेकी पुष्पाञ्जली कोजू भन्छिन्, “तर, उहाँहरूले ठ्याक्कै स्रोत दिन सक्नुभएको छैन । आफूले देखेको मात्र भन्नुभएको छ । तैपनि, अहिले उत्खननले यसलाई प्रमाणित गरेको छ ।”

अर्कोतिर भूकम्पभन्दा पहिले काष्ठमण्डपको संरचना मण्डप शैलीको थियो भन्ने थाहा थिएन । उत्खननका क्रममा नौवटा कुण्ड (मण्डप बनाउन खनिने खाल्डो) पाइयो । डुर्‍याम विश्वविद्यालयको रिपोर्टमा सुरुमा चारवटा मात्र खम्बा राखेर सत्तल बनाइएको उल्लेख छ । खासमा तिब्बत र भारतको व्यापार मार्गको ठ्याक्कै बीचमा पथ्र्यो यो भूभाग । पवित्र भूमि हुनुको नाताले धार्मिक यात्रीका लागि पनि प्रिय थियो यो क्षेत्र । ‘नुन–तेलको दरभाउ समान हुनुपर्छ’ भन्ने प्रसंगले काष्ठमण्डप बजारको केन्द्रका रूपमा रहेको पुष्टि हुन्छ । सोही कारण आराम गर्ने ठाउँका रूपमा यहाँ सत्तल बनाइएको थियो । जुन सबैभन्दा पुरानो र ठूलो सत्तल भन्नेमा कुनै सन्देह रहेन अब । मन्दिरमा बाहिरबाट देखिने बुट्टामा बुद्ध जन्मनुअघि र पछिका विभिन्न कथा कुँदिएको थियो । त्यस्तै, इन्द्र, पार्वती, शिव, गणेशजस्ता हिन्दु भगवान्का चित्र पनि त्यहीँ थिए । यसले उति बेलैदेखिको धार्मिक सहिष्णुतालाई प्रतिविम्बित गर्ने विज्ञहरू बताउँछन् । 

धेरैलाई ख्यालै थिएन, काष्ठमण्डपलाई अष्टभैरवले घेरेको छ भनेर । चार दिशामा मात्र होइन, प्रत्येक दिशाको मझधारमा भैरव छन् । जसको धार्मिक अर्थ हुन्छ, काष्ठमण्डपलाई सुरक्षा गरिरहेको । र, ती प्रत्येक भैरवको आ–आफ्नै विशेषता र महत्त्व छ । जस्तो : पूर्वतिर भएको अंसिटंगा भैरवको पूजा गर्नाले सिर्जनात्मक क्षमता बढ्छ भन्ने विश्वास छ भने उत्तरको भिसना भैरवले नकारात्मक भावबाट जोगाउँछ । तर, दुर्भाग्य † यतिबेला अशोक विनायकको सिंहको छेउ र भीमसेनस्थान जाने बाटोमा रहेको भैरव पुरिएको छ । काष्ठमण्डप पुन:निर्माणका लागि अभियानका संयोजक वीरेन्द्रभक्त श्रेष्ठ पुन:निर्माणका क्रममा आठै भैरवको उचित सम्भार र संरक्षण गरिने बताउँछन् । 

काष्ठमण्डपको उत्खननकै क्रममा श्वेतभैरव पनि भेटिएको छ । काष्ठमण्डपको जात्रापर्वजस्ता अमूर्त सम्पदाको अध्ययनमा अग्रसर स्थानीय तन्नेरी सन्देश मुनिकारका अनुसार यहाँ वर्षको एकचोटि पिचास चतुर्दशीको मध्याह्नमा बेलविवाह र व्रतबन्ध नगरेका कुमार/कुमारीलाई चौरासी व्यञ्जन खुवाउने प्रचलन रहेछ । उनलाई यो कुरा ऊबेला चौरासी व्यञ्जन खाएकी स्थानीय वृद्धाले बताएकी थिइन् । यसको प्रामाणिकता र थप परम्परा खोज्न लागिपरेका मुनिकार भन्छन्, “काठमाडौँमा जति पनि जात्रा हुन्छन्, ती सबै प्रत्यक्ष/अप्रत्यक्ष रूपमा काष्ठमण्डपसँग जोडिएकै हुन्छन् तर कतिपय लोप भएका छन् । अब हामी ती अर्मूत सम्पदाको खोजी र जगेर्ना गर्दै छौँ ।” पर्व, जात्रा, उत्सव र परम्पराबिना काष्ठमण्डप ठड्याइयो भने त्यो आत्माबिनाको शरीर मात्र हुनेछ । संस्कृतिविद्हरू यस्तै भन्छन् । त्यही कारण स्थानीयवासी काष्ठमण्डप पुन:जागरणमा जागरुक भएका छन् । “काठमाडौँको नामै काष्ठमण्डपबाट आएको हो । अनि, काठमाडौँको मुटुमा छ काष्ठमण्डप । अथाह पुरातत्त्व र ऐतिहासिक गाथा बोकेको छ । तर, सधैँ बेवास्तामा पर्‍यो,” अभियान संयोजक श्रेष्ठ भन्छन्, “अब त्यस्तो हुन दिँदैनाँैँ ।” 

स्थानीय समुदाय यति सचेत र सक्रिय हुनुको पनि आफ्नै कथा रहेछ । त्यसभन्दा पहिले प्रत्येक शताब्दीको महाभूकम्प झेल्दै आएको काष्ठमण्डप यस पटकचाहिँ किन ढल्यो ? त्यो थाहा पाउनु जरुरी छ । पुरातत्त्वविद् आचार्यको टोलीले दुई सिजनमा ६–६ हप्ता लगाएर गरेको अध्ययनबाट के पत्ता लाग्यो भने काष्ठमण्डपको पूरै जग अहिले पनि सातौँ शताब्दीमा झैँ जस्ताको त्यस्तै छ । तर, चारमध्ये एउटा थाम राम्रोसँग नठड्याइएकाले सन्तुलन बिग्रिएको र भत्किएको अनुमान छ । यो गडबडी भएको थियो, ४८ वर्षअघि मर्मत–सम्भार गर्दा । त्यतिबेला कमचलाउ हिसाबमा थाम नराखिएको भए सम्भवत: यस पटकको भूकम्पले पनि काष्ठमण्डपलाई ढाल्न नसक्ने डुर्‍याम रिपोर्टको ठम्याइ छ । त्यसैले फेरि त्यस्तो हबिगत हुनबाट जोगाउन स्थानीयवासीको प्रत्यक्ष भूमिका आवश्यक रहेको संयोजक श्रेष्ठ बताउँछन् । 

प्राचीन निर्माण पद्धतिमा जगमा गाह्रो लगाइएको हुन्छ, जहाँ खोपिल्टो भएको ढुंगा राखिएको हुन्छ ।

अनि, काठको थाममा चुकुल बनाएर त्यही खोपिल्टोमा अड्काइन्छ । भूकम्प आउँदा हल्लिन्छ तर भाँचिँदैन । फेरि ढुंगामा राख्नुको उद्देश्य जमिनको ओसले काठ नबिगारोस् भन्ने पनि हो । तर, त्यतिबेला मर्मत गर्दा ढुंगा र थामको यो तालमेल मिलाइएन । हचुवाका भरमा थाम बिसाइयो । यसो गर्दा माथिबाट आएको तौल त थेग्यो तर भूकम्पले सजिलै ढालिदियो । क्षतिको अर्को कारणचाहिँ काष्ठमण्डपमा प्रयोग भएका काठको समयमै मर्मत नगरिनु हो । यहाँ पनि फेरि त्यही ४८ वर्षअघिकै मर्मतको प्रसंग आउँछ । “समय–समयमा आलसको तेल लगाएर काठको आयु बढाउन सकिन्थ्यो । त्यसो पनि गरिएन । न होम नै हुन्थ्यो । अनि, काठ कमजोर हुने भइहाल्यो,” सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी भन्छन्, “तैपनि, हाम्रो परम्परागत निर्माण सामग्री र प्रविधि एकदमै विश्वसनीय र भरोसायोग्य छ भन्ने फेरि प्रमाणित भएको छ ।”

तर, अहिले काष्ठमण्डप जगभित्र लुकेर बसेको इतिहासको नवीन अध्याय खोतलिएन मात्र, किन भत्किएको रहेछ भन्ने तथ्य पनि पत्ता लागेको छ । त्यसैले पुन:निर्माणमा ती गल्तीलाई नदोहोर्‍याउँदै प्राचीन र पुरातात्त्विक महत्त्वलाई निरन्तरता दिनु मुख्य चुनौती हो । तर, काष्ठमण्डपका रहस्यका सबै पोकाहरू खोलिए भन्नेचाहिँ होइन । जस्तो : काष्ठमण्डपको सवालमा एउटा कथा छ, यो पूरै एउटै रूखको काठले बनेको हो । अझ काष्ठमण्डप बनाएर बाँकी रहेको सोही वृक्षको काठले दक्षिणतिर कविनपुर र सिंह सत्तल पनि बनाइएको हो, जसलाई नेवारीमा सि:लेउ दवु: भनिन्छ । यसको अर्थ हो, बचेको काठ भण्डार गर्ने । के यो सत्य होला त ? पुरातत्त्वविद् आचार्य भन्छन्, “हामीले काठको नमुना परीक्षणका लागि बेलायत पठाएका छौँ । त्यसको रिपोर्ट आउन बाँकी छ । हामीलाई आशा छ, काठसँगै काष्ठमण्डपसम्बन्धी अन्य नयाँ तथ्य पनि पत्ता लाग्नेछ ।” 

यसरी हुँदै छ, पुन:निर्माण 

काष्ठमण्डप भत्कियो । नयाँ ऐतिहासिक तथ्यहरू खुले तर अबको मुख्य चासो भनेको काष्ठमण्डपको पुन:निर्माण कसरी हुन्छ भन्ने हो । के यसको संरचना र स्वरूपले प्राचीन स्वरूपलाई आत्मसात् गर्ला त ? करिब नगर्ने अवस्था आइसकेको थियो किनभने पुरातत्त्व विभागले यस्तो खाका कोरेको थियो, जहाँ फलामे नटबोल्टको प्रयोग हुन्थ्यो । जबकि, यो विभागकै निर्देशिकाको खिलापमा छ । त्यति मात्र होइन, विभागको ड्रइङमा काष्ठमण्डपको पश्चिमपट्टि एक जोडी सिंह राखिएको छ, जुन त्यहाँ छँदै थिएन ।

लचिलो शैलीको परम्परागत निर्माण पद्धतिभन्दा विपरीत थियो । यो कुरा स्थानीयवासीलाई पचेन र जागे । सोही कारण अब प्राचीनता र यसको ऐतिहासिक महत्त्वलाई प्राथमिकतामा राख्दै पुन:निर्माणको गृहकार्य सुरु भएको छ । यसका लागि काष्ठमण्डप पुन:निर्माणका लागि अभियान, काठमाडौँ महानगरपालिका, पुरातत्त्व विभाग र पुन:निर्माण प्राधिकरणबीच सम्झौता भइसकेको छ । अभियानका संयोजक वीरेन्द्रभक्त श्रेष्ठ भन्छन्, “ढिला होला तर काष्ठमण्डपको मूर्त र अमूर्त दुवै सम्पदालाई ज्यूँका त्यूँ राख्ने छौँ ।” श्रेष्ठकै नेतृत्वमा काष्ठमण्डप निर्माणको ठेक्का रोकिएको थियो भने अब स्थानीयवासी आफैँ काष्ठमण्डपको पुन:निर्माण क्रियाशील भएका छन् र यो कार्यले गति पनि लिन थालेको छ । 

काष्ठमण्डपको पुन:निर्माणको प्राविधिक टोलीको संयोजन गरिरहेका छन्, सम्पदा संरक्षण अभियन्ता रवीन्द्र पुरी । अहिले उनको टोली यसको संरचना र बनोटको सूक्ष्म शैलीमा अध्ययनका साथै ड्रइङलाई अन्तिम रूप दिन व्यस्त छ । उनी पुन:निर्माणमा काठ, इँटा, माटो, ढुंगा र झिँगटीको मात्र प्रयोग हुने बताउँछन् । काठ पनि पुगेसम्म पुरानै प्रयोग गरिनेछ । काष्ठमण्डपले ’९० सालको भूकम्पभन्दा पहिलेको पनि प्रत्येक शताब्तीमा महाभूकम्प थेग्यो तर भत्किएन । यो सबलतालाई जगबाटै निरन्तरता दिने प्रयास गरिँदै छ, यसपटक । पुरी भन्छन्, “परम्परागत आर्किटेक्चर जुन अवस्थामा हाम्रो हातमा परेको हो, भावी पिँढीलाई सोही अवस्थामा सुम्पनु हाम्रो दायित्व हो । काष्ठमण्डपमा हामी त्यही गर्दै छौँ ।”

 

 

प्रकाशित: जेष्ठ ३०, २०७४