निवासको हालीमुहाली

  • शीर्ष पार्टीका शीर्ष नेताहरूको प्राथमिकतामा पार्टी कार्यालयभन्दा आफ्नो वासस्थान नै

- सीताराम बराल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अघिल्लो दिन (२३ जेठ) मात्र चौथो पटक सरकार प्रमुख निर्वाचित भएका थिए । तिनै देउवालाई बधाई दिन २४ जेठको बिहान जानेहरूको भीडले महाराजगन्ज–बूढानीलकण्ठ मूल सडकबाट एक किलोमिटर पूर्वतर्फ रहेको उनको निवासमा पुग्ने सडक जन्तीजस्तै लाग्ने गाडी र मानिसहरूको लस्करले छपक्कै थियो । लस्करमा सामेल हुने अधिकका हातमा बुके र खादा थिए । जतिसक्दो चाँडो पुग्ने, देउवाको गलामा खादा पहिर्‍याउने, बुके हस्तान्तरण गर्ने र बधाई दिनेको सूचीमा आफ्नो नाम दर्ज गराउने अचम्मको हतार तिनीहरूमा देखिन्थ्यो । निवासमा चाहिँ खादा र बुके लिएर उभिएका दर्जनौँ मानिस भेटघाट कक्षतिर जाने ढोका कहिले खुल्ला र बधाईका साथ देउवालाई खादा–बुके चढाउन पाइएला भन्दै अधीरतासाथ प्रतीक्षारत थिए । 

यस्तो दृश्य अचेल देउवा निवासमा मात्र होइन, केपी शर्मा ओलीको भक्तपुर बालकोट र लाजिम्पाटस्थित पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा पनि देखिन्छ । माओवादी केन्द्रका धेरै बैठक प्रचण्ड निवासमै हुने गरेका छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा होस् वा नहुँदा– महत्त्वपूर्ण बैठकका लागि समेत पार्टीका शीर्ष नेताहरूले प्रचण्ड निवास नै धाउनुपर्ने बाध्यता छ । पार्टीको बैठकबाट गरिएको निर्णय भनिए पनि धेरैजसो उनकै तजबिजमा हुने गरेका छन् । 

खासमा कार्यकर्ताबाट निर्वाचित भएर आएका नेताहरूले निर्णयको थलो पार्टी कार्यालयलाई बनाउनुपर्ने हो । जनताबाट निर्वाचित भएपछि संसद्, सरकारजस्ता वैधानिक निकायहरूबाट निर्णय गर्नुपर्ने हो । तर, नेताहरूले निर्णयको थलो पार्टी कार्यालय र संसद्–सरकारजस्ता वैधानिक निकायलाई होइन, निजी निवासलाई बनाउने गरेका छन् । निवासबाटै व्यक्तिगत तवरमा निर्णय गर्ने, छलफलबिना आसेपासेहरूलाई अवसर प्रदान गर्ने प्रवृत्ति बढ्दै गएपछि कार्यकर्ता र शुभेच्छुकहरूमा पनि चाकडीका लागि नेताहरूको निवास धाउने आमप्रवृत्ति बन्न पुगेको छ । 

झन्डाबिनाका दरबार 
नेताले आफ्नो निजी निवासलाई ‘दरबार’ बनाउने वा कार्यकर्ता–समर्थकहरू दरबार मानेर नेताकहाँ जाने प्रवृत्ति नयाँचाहिँ होइन । नेपाल एकीकरणदेखि नै भारदारका निवासमा पनि अहिले शक्तिमा रहेका नेताहरूका निवासमा जस्तै ‘दरबार लाग्न’ सुरु गरेको हो । पृथ्वीनारायण शाह जीवितै छँदा उनका भाइहरू शक्तिशाली बन्दै थिए, तिनले आफ्नो निवासलाई ‘दरबार’मा परिणत गरेका थिए । यो क्रमले राणाकालमा मात्र होइन, गणतान्त्रिक नेपालमा पनि निरन्तरता पाइरहेको छ ।

राणा शासन र पञ्चायती व्यवस्थाको अन्त्यपछि नेताका निवासहरू ‘दरबार’जस्तै बन्दै जानुमा केही व्यावहारिक कारण पनि छ । प्रतिबन्धित कालमा एकातिर राजनीतिक पार्टीहरूको संगठन र प्रभाव तीव्र रूपमा विस्तार भइरहेको थियो । अर्कोतिर, प्रतिबन्धित पार्टीका कार्यालय थिएनन् । भए पनि ती कमै खुल्थे, त्यो पनि थोरै समयका लागि । व्यवस्थित पार्टी कार्यालय नभएकाले शीर्ष कार्यकर्ताहरू भेटघाटका लागि नेताको घर पुग्थे । काठमाडौँमा बसोवासको प्रबन्ध नभएका ती कार्यकर्ताहरूको आश्रयस्थल पनि नेताकै निवास हुन्थ्यो । 

पञ्चायतविरुद्धको संघर्ष सफल भएपछि कांग्रेस, एमालेले कार्यालयलाई व्यवस्थित त गरे । तर, कार्यकर्ता–समर्थकलाई भने निजी निवासमै धाउन प्रोत्साहित गरिरहे । जहाँसम्म एमाले नेताहरूको प्रसंग हो, लामो भूमिगत जीवन व्यतित गरेर आएका महासचिव मदन भण्डारीलाई कांग्रेसले ‘दुलोबाट निस्केको नेता’ भनेर प्रचारित गरिदियो । अर्थात्, कसैले नचिनेको नेताका रूपमा कांग्रेसले महासचिव भण्डारीलाई प्रचारित गरिदियो । हुन पनि आमजनताले त परै जाओस्, स्वयं तत्कालीन मालेका कार्यकर्ताले समेत महासचिव भण्डारीलाई चिनेका थिएनन् । 

कांग्रेसले गरेको आक्रामक प्रचारका कारण एमालेका नेताहरूलाई पनि धेरै कार्यकर्ता–समर्थकले चिन्छन् भन्ने देखाउनैपर्ने बाध्यता आइलाग्यो । महासचिव भण्डारीविरुद्ध कांग्रेसले जसरी प्रचार गर्‍यो, त्यसको कारण एमालेका अरू नेताहरूमा नेता बन्ने हो भने घरमा र वरिपरि भीडभाड जम्मा गर्नुपर्ने रहेछ भन्ने पर्‍यो । र, त्यही संस्कार मौलाउँदै गएर ओलीको निवासले बालकोट, माधव नेपालको कोटेश्वर निवास पाइसकेको छ, भलै राणा र राजतन्त्रकालमा जस्तो त्यहाँ राष्ट्रिय झन्डा नफहराइएको होस् । 

कांग्रेसका हकमा चाहिँ गिरिजाप्रसाद कोइरालाकहाँ नै भीड जम्मा हुन्थ्यो । जीवित छँदा बीपी कोइराला तारिणीप्रसाद कोइरालाको जयवागेश्वरीस्थित निवासमा जान्थे । प्रतिबन्धित भएकाले पार्टी कार्यालय थिएन । देशभरिबाट काठमाडौँ आइपुगेका नेता–कार्यकर्ता बीपीलाई भेट्न जयवागेश्वरी पुग्थे । बीपीको निधनपछि पार्टी संगठनमा गिरिजाप्रसाद कोइराला प्रभावी भए पनि पार्टी केन्द्रीय कार्यालयमा चाहिँ सभापति कृष्णप्रसाद भट्टराई प्रभावी थिए । त्यसैले पार्टीभित्र आफ्नो प्रभाव थप विस्तार गर्न कोइरालाले आफू समर्थक नेता–कार्यकर्तालाई पार्टी कार्यालयमा होइन, आफ्नो निवासमा आउन प्रेरित गर्न थाले । पार्टी कार्यालयभन्दा नेताको निवास बलियो बन्ने क्रम त्यहीँबाट सुरु भयो । 

जहाँसम्म प्रचण्डको प्रसंग हो, माओवादी केन्द्रको सांगठनिक पद्धति र प्रचण्डको स्वभावका कारण पनि पार्टी कार्यालयमा होइन, प्रचण्डको निवासमा भीड लाग्ने गरेको हो । अघिल्लो साता प्रधानमन्त्री रहुन्जेलसम्म त्यो भीड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै जम्मा भइरहेको थियो । माओवादी केन्द्रका एक नेताको भनाइमा, पार्टी पंक्तिले उनैलाई हेडक्वार्टर मान्ने र आफैँ पनि व्यक्तिवादी स्वभावका भएकाले पार्टीका अधिकांश निर्णय व्यक्तिगत तवरले निवासबाटै गरिदिने गरेका छन् । नेतृत्वको आलोचना गर्ने प्रवृत्ति अझै विकसित भई नसकेकाले पनि पार्टीका निर्णय निवासबाटै गर्न प्रचण्डलाई सहज भएको छ । 

पार्टी कार्यालयबाट निर्णय गर्दा छलफलबाट गर्नुपर्ने हुन्छ । निर्णयअघि प्रस्तावको पक्ष–विपक्षमा बहस हुन्छ । पार्टी कार्यालयबाट हुने निर्णयमा पारदर्शिताको मात्रा पनि धेरै हुन्छ । सामूहिक आधारमा निर्णय हुने हुँदा पार्टी कार्यालयबाट हुने निर्णयले नेताको कतिपय निजी चाहनामा अंकुश लगाइदिन्छ । पार्टी कार्यालयबाट हुने निर्णयमा पारिवारिक स्वार्थ र दबाबहरूको भूमिका पनि न्यून हुन्छ । एमाले उपमहासचिव घनश्याम भूसाल भन्छन्, “यही कारण पनि नेताहरू सकभर पार्टीबाट निर्णय गराउनु नपरोस् भन्ने ठान्छन्, पार्टी कार्यालय होइन, निवासबाट गर्न चाहन्छन् ।” 

समाज पनि उस्तै 
सांस्कृतिक–धार्मिक रूपमा पनि नेपालीले शक्तिपीठहरूमा पूजा गर्ने भएका कारण अध्येताहरू नेपाली समाजलाई शक्तिपूजक समाज भन्न रुचाउँछन् । शक्तिको पूजा गर्नु भनेको खासमा शक्तिमा रहेकाहरूको चाकडी गर्नु हो । यही कारण पार्टीका कार्यकर्ता–समर्थकहरू पनि जो शक्तिमा छन्, तिनैको नजिक हुन चाहन्छन् । नेताहरूको ध्याउन्नचाहिँ शक्ति आर्जन गरेर सत्तामा पुग्नु हुन्छ । यसका लागि भीड सहायक हुन्छ । त्यसैले उनीहरू पनि निवासमा कार्यकर्ता/समर्थकको भीड जम्मा गर्न चाहन्छन् । नेता र कार्यकर्ता–समर्थक दुवैको स्वार्थ मिलेकाले चाकडीका लागि भीड लाग्ने गरेको छ । 

नेपाली समाजको शक्तिपूजक प्रवृत्ति काठमाडौँमा मात्र होइन, गाउँघरमा पनि देख्न पाइन्छ । आफूकहाँ जति ठूलो भीड जम्मा गर्न सक्यो, स्थानीय ठालूहरू आफूलाई शक्तिशाली महसुस गर्छन् । राणाकालदेखि नै हामीकहाँ आफूप्रति बफादारिता प्रकट गर्नेलाई अवसर र पुरस्कार दिने प्रचलन छ । र, बफादारिता प्रकट गर्ने उत्तम अवसर नेताहरूका पुगेर गरिने स्वस्ति हो । राजनीतिशास्त्री कृष्ण पोखरेल भन्छन्, “मप्रति बफादार छ र त फलानो मलाई स्वस्ति गर्न आयो भन्ने ठान्छन् नेताहरू । र, अवसर तिनै स्वस्ति गर्नेले पाउँछन् । नेताकहाँ लाग्ने भीड खासमा त्यही अवसर प्राप्तिका लागि हो ।”

हामीकहाँ चाकडी परम्पराले जरा गाड्नुको मूल कारण योग्य–अयोग्य छुट्याउने मापदण्ड नभएकाले पनि हो । शैक्षिक योग्यता वा अनुभवलाई मापदण्ड मान्न नसकिने त होइन । तर, त्यसको गणना विरलै हुने गरेको छ । त्यसको साटो कुनै व्यक्ति कतिपटक आफूकहाँ आयो, त्यसैका आधारमा शक्तिमा पुगेकाहरूले अवसर दिने गरेका छन् । मानवशास्त्री प्राध्यापक डिल्लीराम दाहाल भन्छन्, “कसैलाई चाकडी गर्नु भनेको म तपाईंको भक्त हुँ भनेर चिनाउनु पनि हो, मान्छे चिन्ने एउटा प्रभावकारी माध्यम हो चाकडी । आफूलाई चिनाउनकै लागि मानिसहरू शक्तिमा रहेका नेताहरूकहाँ धाउने गरेका हुन् ।”

खासमा राजनीति सत्ता र शक्तिको खेल हो । सत्ता पक्षको नेतालाई शक्ति आर्जन गर्नु छ, विपक्षीलाई शक्ति प्रदर्शन गरेर तर्साउनु छ र प्रतिस्पर्धामा अगाडि देखिनु छ । यसैका लागि उनीहरू आफ्नो निवासमा भीड जम्मा गर्छन् । उता नेताको चाकडीमा जानेहरूको स्वार्थचाहिँ आफूलाई नेताको नजिक देखाएर अतिरिक्त लाभ लिने हुन्छ । शक्तिमा रहेका नेताको घर धाएर पहुँच बनाउन सक्दा गाह्रो–साह्रो पर्दा नेताको सहयोग पाउने त छँदै छ, यो सम्बन्धका आधारमा उसले अरूबाट समेत मानमनितो पाउन सक्छ, अप्ठ्यारो परेका बेला प्रहरी–प्रशासनको सहयोग पनि पाउन सक्छ । चाकडी गर्ने र खोज्ने दुवैको स्वार्थ मिलेकाले पनि नेताका निजी निवासमा भीड लाग्ने गरेको हो ।

निवासमा भीड जम्मा गर्न सक्दाको लाभ बुझ्न गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला वा शेरबहादुर देउवा र शैलजा आचार्यको नियति हेरे पुग्छ । कोइराला आफ्नो निवासमा अपार भीड जुटाउन सफल थिए । उनको निवासमा पुग्ने कार्यकर्तालाई लाभ र अवसर पनि दिए । यस्तो अवसर सिंह र भट्टराईले दिन सकेनन् । त्यसैले उनीहरूलाई विस्थापित गरेर पार्टीलाई नै आफू मातहत बनाए । आचार्य आदर्श, संघर्ष र बौद्धिकताका दृष्टिले देउवाभन्दा अब्बल थिइन् । तर, भीडमा विश्वास नगर्ने आचार्य कांग्रेसबाट त्याज्य बनिन् । भीड जम्मा गर्न सकेका देउवा चार–चारपटक प्रधानमन्त्री र सभापति बन्न सफल भएका छन् । 
जहाँसम्म राणा र राजतन्त्रजस्तो सामन्ती व्यवस्थाविरुद्ध संघर्ष गरेका नेताहरू आफैँ किन ‘राजा’ हुन र निजी निवासलाई दरबारजस्तो बनाउन खोज्छन् भन्ने प्रसंग हो, आफू अनुकूलको निर्णय गर्न पाइनुका अलावा नेताहरूको वर्गीय धरातल र चिन्तनको सीमाका कारण यस्तो भएको हो । सामन्तवादविरुद्धको हरेक संघर्षमा सामन्ती सत्ता–संरचनाभित्रैका मानिसहरू ईष्र्या–डाह र विभिन्न स्वार्थका कारण सामेल भए । जस्तो : राणा शासनविरुद्ध राणा परिवारकै सदस्यहरू । त्यसैले राणा शासनको पतनपछि त्यो ठाउँमा आफूहरू पुगेको ठाने । र, उही व्यवहार देखाए । राजतन्त्रविरुद्धको संघर्षमा लागेका नेताहरूले पनि उनीहरूकै सिको गरे । 

खल्तीमा पार्टी 
२३ जेठका दिन प्रचण्डले बहुजन शक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष राधेश्याम पासवानसहितको समूहलाई माओवादी केन्द्रमा प्रवेश गराए भने बेलौरी (कञ्चनपुर) नगरपालिकाका कांग्रेसका नगर सभापति रामलाल राना र सचिव विक्रम चन्दलगायतलाई २५ जेठमा माओवादीमा भित्र्याए । कार्यक्रम थियो, माओवादी केन्द्र प्रवेशको । तर, कार्यक्रम स्थलचाहिँ प्रचण्ड निवास रोजियो । पहिलोको कार्यक्रम बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गरिएको थियो भने दोस्रो कार्यक्रम लाजिम्पाटस्थित निवासमा । पार्टी प्रवेश कार्यक्रम खासमा पार्टी कार्यालयमा गरिनुपर्ने हो तर कांग्रेस–एमालेका नेताहरूले समेत यस्तो कार्यक्रम निजी निवासमा गर्ने गरेका छन् । 

बहुदलीय व्यवस्थामा राज्य चलाउने वैधानिक मञ्च भनेका राजनीतिक दलहरू हुन्, जसले प्राप्त जनमतका आधारमा यो जिम्मेवारी वहन गर्छन् । राज्य चलाउने जिम्मेवारी राजनीतिक दललाई भएकाले पार्टी संयन्त्र बलियो र व्यवस्थित बनाइनुपर्ने हो । तर, व्यक्तिगत स्वार्थमा धक्का पुग्ने भएकाले नेताहरू पार्टी होइन, आफूलाई बलियो बनाउन चाहन्छन् किनभने पार्टीभन्दा आफू बलियो हुँदा आफ्नो तजबिजमा निर्णय गर्न पाइन्छ ।

निर्णय गर्ने पार्टीका औपचारिक अंगभन्दा नेता निवास बलियो भएको पछिल्लो उदाहरण हो, स्थानीय निकाय निर्वाचनमा भएको टिकट वितरण । एमालेमा हेरौँ, पहिलो चरणमा निर्वाचन भएका चारवटा महानगरको मेयरको टिकट ओलीले आफ्नो गुटकालाई मात्रै दिए । काठमाडौँ र ललितपुर महानगरका उपमेयरको टिकट माधव नेपाल–झलनाथ खनाल समूहलाई दिनु नपरोस् भनेर ओलीले राप्रपासँग तालमेल गरिदिए । यति मात्र होइन, गृह जिल्ला झापाको दमक नगरपालिकामा आफ्नै भतिज रोमनाथ ओलीलाई मेयरको टिकट दिलाए । जबकि, उनको नाम तल्लो कमिटीबाट सिफारिससमेत भएको थिएन । 

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रभित्रको अवस्था पनि यसभन्दा भिन्न छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको टिकट दिलाए भने उम्मेदवारी दर्ता हुने दिन (१९ वैशाख)मा देउवाले दिनेश कोइरालालाई उम्मेदवार बनाएर पठाए । भरतपुरमा कांग्रेस–माओवादी केन्द्रबीच तालमेल गर्ने निर्णय पनि प्रचण्ड–देउवाको तजबिजमा भयो, पार्टी निर्णयका आधारमा होइन । देउवाले पार्टीका उम्मेदवार कोइरालाको उम्मेदवारी फिर्ताको निर्णय पनि निजी तजबिजमा गरे । 

यसबाहेक राजदूत चयन होस् वा संवैधानिक अंगका पदाधिकारीहरूको नियुक्ति अथवा राजनीतिक भागबन्डाका आधारमा हुने नियुक्तिसमेतमा पार्टीमा कुनै छलफल हुँदैन । अधिकांश निर्णयहरू नेताले आफ्नै तजबिजमा गर्छन् । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउने निर्णय होस् वा लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय– यति महत्त्वपूर्ण नियुक्तिका विषयमा समेत कुनै पार्टीमा औपचारिक छलफल भएका थिएनन् । कांग्रेस, एमाले, तत्कालीन एमाओवादीका शीर्ष नेताहरूले निजी तवरमा रेग्मीलाई सरकार प्रमुख र कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय गरेका थिए । 

यी यस्ता निर्णय र प्रवृत्ति हुन्, जसले पार्टी कार्यालयभन्दा निवासमै बैठक र निर्णयहरू भएको पुष्टि गर्छन् । कांग्रेस होस् या एमाले वा माओवादी, सबैले आफ्ना नेता प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै पार्टीका धेरै खालका बैठक र निर्णय गराएका छन् । यो भनेको पार्टीभन्दा नेता ठूलो रहेको प्रमाण हो । यस्तो संस्कारले व्यक्तिकेन्द्रित पद्धति मात्रै बसाउँछ, संस्थाकेन्द्रित होइन । र, हामीकहाँ भइरहेको पनि यही नै छ । 

कोइरालाको सिको

बहुदलीय व्यवस्था पुन:स्थापनापछि पार्टी र राजनीतिमा आफूलाई स्थापित गर्न निवासमा कार्यकर्ताहरूको भीड जम्मा गर्ने कार्यको व्यवस्थित सुरुआत नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए । पार्टी केन्द्रीय कार्यालय र अन्य निकायमा सभापति कृष्णप्रसाद भट्टराईको प्रभाव रहेका कारण कोइरालाले महाराजगन्जमा छुट्टै सम्पर्क कार्यालय स्थापना गरे, जसको उद्देश्य सभापति भट्टराईलाई कमजोर बनाएर पार्टीमा आफ्नो वर्चस्व स्थापित गर्नु थियो । 

पार्टी केन्द्रीय कार्यालय आफ्ना लागि सुविधाजनक नठानेपछि कोइरालाले त्यो कदम चालेका थिए, जहाँ पार्टी कार्यालयमा भन्दा धेरै अर्थात् १० जना कर्मचारीका साथै आवश्यक टेलिफोन र फ्याक्स लाइन मात्र होइन, प्रेससमेत राखिएको थियो । सम्पर्क कार्यालयको मुख्य जिम्मेवारी सुशील कोइरालामाथि थियो, जो पछि पार्टी सभापति र पछि प्रधानमन्त्रीसमेत भए ।

पार्टी संगठनमा पकड जमाएका कोइराला निवासमा त कार्यकर्ताहरूको भीड लाग्थ्यो नै, सम्पर्क कार्यालयको स्थापनापछि कार्यकर्ताहरू पार्टी कार्यालयको साटो त्यतै जम्मा हुन थाले । पार्टीले गर्नुपर्ने महत्त्वपूर्ण निर्णयमा कोइराला निवास र उनको सम्पर्क कार्यालयको भूमिका महत्त्वपूर्ण हुन थाल्यो । किनभने, गिरिजाप्रसादमाथि सम्पर्क कार्यालयका प्रमुख बनाइएका सुशील कोइराला हावी थिए । पछि, सम्पर्क कार्यालय बन्द गरियो । तर, कोइरालाले जस्तै अभ्यास कांग्रेस र अरू पार्टीका नेताहरूले पनि गर्न थालिसकेका थिए । र, आजपर्यन्त गरिरहेका छन् । 
 

 

प्रकाशित: जेष्ठ ३०, २०७४