आमाका पीडा

  • कम उमेरमा गर्भवती, रगत अभाव र अस्पताल टाढा हुँदा समस्या

- अर्जुन शाह

मार्तडी ।। बाजुराको विकट साप्पाटा, रुणीगाउँकी  सुर्मादेवी धामी, ४०, पहिलाझैँ घरमै सुत्केरी भइहाल्लिन् भन्नेमा ढुक्क थियो, परिवार । तर, कुर्दाकुर्दै दोस्रो दिन बित्यो । सुर्मालाई भने व्यथाले च्याप्दै गयो । सास्ती बढ्दै गएपछि तेस्रो दिन बल्ल उनका पति कृष्ण धामीले छिमेकीलाई गुहार्दै स्वास्थ्य चौकी लैजाने सुरसार गरे । 

रुणीबाट नजिकको स्वास्थ्य चौकी पुग्न तन्दुरुस्त मान्छेलाई कम्तीमा पनि ६ घन्टा लाग्छ । भिरको अनकन्टार बाटोमा व्यथाले च्यापेकी गर्भवती बोकेर राती अबेर स्वास्थ्य चौकी पुगे, उनीहरू । चौकीकी अनमि सबिता चौधरीले चेकजाँच गर्दा आफूले सम्हाल्न नसक्ने बताउँदै प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी लैजान भनेपछि उनीहरू राती नै कोल्टीका लागि हिँडे । तर, बीच बाटोमै सुर्मा सुत्केरी भइन् । उनको कोखबाट दुई घन्टाको फरकमा दुइटा शिशु जन्मे । दोस्रो जन्मँदा पहिलोको मृत्यु भइसकेको थियो । “कोल्टीका लागि रातारात हिँड्यौँ तर बाटैमा सुत्केरी भइन्,” कृष्ण भन्छन्, “पहिलो बच्चा मृत भएकामा भन्दा पनि सुर्माको ज्यान तलमाथि पर्ला कि भन्ने चिन्ता थियो ।” 

बाजुराको बिच्छयाँका कुनै पनि गर्भवतीले हालसम्म स्वास्थ्य संस्थामा बच्चा जन्माएका छैनन् । गुम्बालगायत अधिकांश गाउँमा सुत्केरी व्यथा सुरु हुनेबित्तिकै गोठमा राख्ने चलन छ । “गुम्बाका कुनै पनि शिशु हालसम्म गोठबाहिर जन्मिएका छैनन्,” गाउँकै छिरिङ लामा भन्छन् ।

मुगु, हुम्लाका बासिन्दासमेतको उपचार गराउने मुख्य थलो बाजुराकै कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र हो । केन्द्रमा कार्यरत चिकित्सक विजयकुमार साह भन्छन्, “४५ वर्षको उमेरसम्म बच्चा जन्माउने, कम उमेरमा गर्भवती हुने, गोठमा सुत्केरी राख्ने,  नियमित गर्भजाँच नगराउने चलनले यस क्षेत्रका गर्भवतीहरूको जीवन ज्यादै असुरक्षित छ ।”

बाजुराका ग्रामीण क्षेत्रमा धेरैजसो २० वर्ष उमेर नपुगेका गर्भवतीले सुत्केरी हुने बेला जोखिम उठाउनुपरेको छ । तोली स्वास्थ्य चौकीको तथ्यांक अनुसार गत वर्ष सुत्केरी गराउन आएकामध्ये ४० जनाको उमेर २० वर्षभन्दा कम थियो । कोल्टी स्वास्थ्य केन्द्रमा गत वर्ष सुत्केरी गराउन आएका २ सय ४७ मध्ये ९७ जना २० वर्षभन्दा कम उमेरका रहेको तथ्यांक छ । 

स्वास्थ्य कार्यालयका रामचन्द्र यादवका अनुसार बाजुरा जिल्लाभरको तथ्यांक हेर्दा गत वर्ष कुल २ हजार २ सय ८८ गर्भवतीमध्ये ६ सय ८२ जनाको उमेर २० वर्षमुनि रहेको छ । 

रगत अभाव

आँटीचौर–८, नाइना गाउँकी दीर्घदेवी चँदारा, ३०, घरमै सुत्केरी भएको ६ दिनसम्म रक्तश्राव नरोकिएपछि परिवारले जिल्ला अस्पताल मार्तडी पुर्‍यायो । उनको हेमोग्लोबिन रिपोर्ट हेरेपछि उपचारमा संलग्न चिकित्सक अत्तालिए । दीर्घदेवीको शरीरमा हेमोग्लोबिनको मात्रा १ दशमलव ५ मात्रै थियो । जबकि, हेमोग्लोबिनको मात्रा ६ प्वाइन्टभन्दा न्यून भए खतरा हुन्छ । 

डाक्टरले बिरामीका परिवारलाई रक्तदाता खोज्न भने । तर, बिरामीका परिवारले रक्तदाता जुटाउन सकेनन् । अस्पतालमा रहेका अन्य बिरामीका कुरुवाहरूलाई रक्तदानका लागि रातभर हारगुहार गरे । तर, कोही पनि रगत दिन तयार भएनन् । रक्तदान गर्दा शरीर कमजोर हुन्छ भन्ने भ्रम भएकाले रक्तदान गर्न अधिकांश स्थानीय तयार हुँदैनन् । केही उपाय नलागेपछि अस्पतालकै स्वास्थ्यकर्मीले रगत दिएर सुत्केरीको ज्यान बचाए । 

बाजुराका अधिकांश ग्रामीण समाजमा महिलाहरूले चुलोचौकोदेखि मेलापातको सबै काम सम्हाल्नुपर्ने चलन बदलिएको छैन । पुरुषका लागि समाज खुला छ भने महिलाले गर्भवती र सुत्केरी हुँदा पनि कडा परिश्रमका काम गर्नुपरेको छ । महिला तथा बालबालिका कार्यालयकी महिला निरीक्षक बिन्दु बडाल भन्छिन्, “व्यवस्था फेरियो, जमाना फेरियो तर महिलाका कष्टका दिन फेरिएका छैनन् यहाँ ।” 

 

प्रकाशित: जेष्ठ २९, २०७४