आजीवन जंगलमा

  • सहरबजारमा रमाउनै नसक्ने रामप्रीत यादवलाई जंगल घरजस्तो लाग्छ, गैँडा–बाघ–गोही पारिवारिक सदस्य ।

- राजकुमार बानियाँ

एसिया महाद्वीपकै उत्कृष्ट १० स्थानमा आउँछ, चितवन राष्ट्रिय निकुञ्ज । नेपालको यो पहिलो निकुञ्जको जन्मकुण्डली दिने एक्लो व्यक्ति हुन्, रामप्रीत यादव, ७२, । निकुञ्जसँग सालनाल जोडिएका रामप्रीतले यसकै सेरोफेरोमा ४७ वर्ष बिताइसकेका छन् । सहरबजारमा रमाउनै नसक्ने उनलाई जंगल घरजस्तो लाग्छ, गैँडा–बाघ–गोही पारिवारिक सदस्य ।

जन्मथलो सिरहा, तेनुवापट्टीभन्दा कर्मथलो चितवन निकुञ्ज नै प्रीतम लाग्छ उनलाई । ‘रोयल चितवन नेसनल पार्क’ उनको जिन्दगीकै गजुर हो । निकुञ्जमा ‘रोयल’ शब्द छुटेकामा कताकता खिन्नता हुन्छ उनलाई । “रोयल राजा–महाराजाभन्दा पनि विशेष भन्ने अर्थमा हो,” उनलाई खेद छ, “बदलिँदो परिस्थितिमा त्यसको महत्त्व नकारिएको छ । तर, रोयलको गरिमा बेग्लै छ ।”

प्रसंग ०२७ को हो । भीमफेदी (मकवानपुर)मा वन विभागको डिमार्केसन–कोर्स गरिरहेका थिए, रामप्रीत । राष्ट्रिय निकुञ्ज स्थापनाका लागि सरकारले विश्वनाथ (बीएन) उप्रेतीको अध्यक्षतामा कर्ण शाक्यलगायतको सर्वे समिति बनायो । पार्क कन्सल्ट्यान्ट थिए, जोन ब्लोर । त्यसमा कर्णले फिल्ड सहयोगीका रूपमा थपे रामप्रीतलाई । 

कर्णसित रामप्रीतको साइनो थियो, गुरु–चेला । वनविज्ञान क्याम्पस हेटौँडामा पढाएका कर्णले नै उनलाई राष्ट्रिय निकुञ्जतिर नसनाता जोडिदिए । त्यतिबेला सौराहा, गैँडाचोकनेर जम्मा एउटा चियापसल थियो रामकाजी श्रेष्ठको । थारु जमिन्दार मल्लु महतोको इँटाको घरबाहेक अरू घाँँसपातले छाएका देखिन्थे । त्यहीँको चौतारामा बीएन, कर्ण शाक्यलगायतको टिम पाल गाडेर बस्यो । “टेन्ट कति ठूलो भने बोक्नै तीन–चार जना चाहिन्थ्यो,” उनी भन्छन्, “नेपाली घुर्छन् कि भनेर जोन ब्लोर एक्लै सुते । म जनावरले मार्छ भन्ने डरले रातभरि सुत्नै सकिनँ ।”

खासमा नुन लिन ठोरी जाने बाटो थियो, सौराहा । चुरेको डाँडानेर सिस्ने ठाँटीमा बास बसेको पनि उनलाई छर्लंग सम्झना छ । नवलपरासी, मुहानखोलापारिको मैदानी भूभागमा हजारौँ बस्तुभाउ, गाग्राका गाग्रा दूध, दही र घिउको छेलोखेलो, चार–पाँच सय गाउँले उल्टिएर माछा मार्न आएको अनि हाँगाबिँगाले खोला नै फर्काइदिएको अपूर्व दृश्य । 

काठमाडौँको टिम केही दिन बसेर फर्किहाल्थ्यो । रामप्रीतचाहिँ सुक्खा सिजनमा कम्पास चेनबाट बगरैबगर फित्ता लतारेर सिमाना लगाउँथे अनि बर्खामा खोलानाला बढ्दा गैँडा गस्तीतिर लाग्थे । गैँडा गस्ती राणाकालीन नाम हो । १९८४ मै टिकौलीमा पोस्ट खडा गरेर गैँडा गस्ती सुरु भएको रहेछ । 
३ सय ६० वर्गमाइल सिमाना लगाउन एक–डेढ वर्ष लाग्यो रामप्रीतलाई । उत्तरी सिमाना राप्ती, पश्चिमी नारायणी, पूर्व नेपाल–भारत सीमा ठोरी पैरेवास, दक्षिण माडीसम्म । पछि पूर्व–पश्चिम सिमाना बढाएर ९ सय ३२ वर्ग किलोमिटर बनाइएको छ । रामप्रीतले सिमाना मात्र लगाएनन्, बाटाघाटो बनाए र सुरक्षा पोस्ट पनि खडा गरे । 

सन् १९७३ अर्थात् ०२९ मा ‘पार्क हेडक्वाटर’ बन्यो कसरा दरबार । सन् १९३९ मै बनेको नेपालकै पहिलो कङ्क्रिट भवन कसरा दरबार खासमा बेलायती सम्राट जर्ज छैटौँका लागि बनेको ‘हन्टिङ प्यालेस’ हो । कति बलियो भवन भने गोरखा भूकम्प झेलेर पनि दुरुस्तै छ । ब्रिटिस डिजाइनरले बनाएको यो भवनमा जर्ज आएनन्, भाइसराय आए । 

पहिलो निकुञ्जको पहिलो वार्डेन (संरक्षण अधिकृत) भए तीर्थमान मास्के । सहायक वार्डेन उनै रामप्रीत । दुर्लभ वन्यजन्तु संरक्षणको अवधारणा कसको हो ? “निकुञ्जको रोलमोडल त अफ्रिकी वाइल्ड लाइफ पार्क नै हो,” उनी भन्छन्, “राजा महेन्द्रले अफ्रिकामा राष्ट्रिय निकुञ्ज बनाएका जोन ब्लोरलाई बोलाए ।” 
कस्तो बेला निकुञ्ज बन्यो भने गैँडाको संख्या नौ सयबाट घटेर एक सय पनि थिएन । गैँडा गस्ती भन्नु मात्र । गस्तीवालासँग पड्किने बन्दुक थिएन । थोत्रो थ्रीनट्थ्रीको भर, न रासन न युनिफर्म । एन्टी पोचिङ गाडी दिए गजानन्द वैद्यले । गस्ती गर्दागर्दै १०–१५ वटा गैँडा मारिए । 

राजा वीरेन्द्रको चासोमा ०३२ सालमा सेना उतारिएपछि गैँडा र बाघको संख्या ह्वात्तै बढ्यो । यसरी सबैभन्दा पछि बनाएको निकुञ्जले एकदमै चाँडो प्रख्याति पायो । अहिले गैँडा ६ सय ४५ पुगेका छन् भने पाटेबाघ १ सय ९८ । त्यसैले विदेशी संरक्षणकर्मीले उनलाई पटक–पटक सोध्छन्, ‘यसको रहस्य के हो ?’ 

तीर्थमान मास्के पढ्नलाई देशबाहिर गएपछि कायममुकायम वार्डेन भए रामप्रीत । एकाध वर्षपछि उनी पनि पार्क म्यानेजमेन्टको थप डिग्रीका लागि न्युजिल्यान्ड गए । त्यसमा प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारीको सहयोग उनी बिर्संदैनन् । त्यतिबेला हिलारीले तीन शेर्पासहित उनलाई पढ्ने मेसो मिलाइदिएका थिए । 

खासमा रामप्रीतको सम्पूर्ण परिचय संरक्षण शिक्षामै छ । पहिले राष्ट्रिय निकुञ्ज आयो भनेर सराप्नेहरू अहिले राष्ट्रिय निकुञ्ज–जिन्दावाद भन्न हिचकिचाउँदैनन् । उनलाई सिकारीले त रुचाएनन् नै, समुदायले पनि उतिसारो रुचाएन । गैँडाका निम्ति गाउँलेको सुविधा हरेको बात झेले उनले ।
रामप्रीतले घाँस–दाउरा र चरिचरण रोकिदिए । अझ कान्जी हाउसमा बस्तुभाउ थुनेर पाँच रुपियाँ जरिवाना गरिदिए । हँसिया–बन्चरो खोस्नुको मूल्य कति चर्को पर्‍यो भने गैँडा मारिँदा मुचुल्का उठाउन र सर्जमिन गर्न पनि साथ नपाउने । एकपटक त उनलाई गाउँलेले घेराउ नै गरे । सिपाही कुटिए । गाउँलेले कब्जा गरेका हँसिया–बन्चरो फिर्ता दिने सर्तमा राती उनलाई छाडिदिए । “म दुई–तीन महिना त्यो बाटै हिँडिनँ,” उनी भन्छन्, “हँसिया–बन्चरा क–कसका हुन्, कसरी फिर्ता गर्ने ?”

एक जना नेता उनलाई किचकिच गरिरहन्थे, ‘गैँडा ठूलो कि मान्छे वार्डेन सा’प ?’ गलत सवाल कति दिन सहने ? उनले मुखभरिको जवाफ दिए, ‘गैँडा–बाघ हेर्न हजारौँ डलर तिरेर पर्यटक आउँछन्, तपाईंको अनुहारलाई त कसैले पाँच पैसा पनि तिर्दैन ।’ त्यसपछि ती नेताले अझै पानीखेदो गरे, ‘मान्छेलाई जनावरभन्दा पनि तल खसाल्यो वार्डेनले ।’

कानुनमा गैँडा मार्नेलाई पाँच हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना र पाँचदेखि १५ वर्ष जेल सजाय तोकिएको थियो । उनले जहिल्यै एक लाख जरिवाना र १५ वर्ष जेल तोके । “वन्यजन्तु प्रकृतिका उपहार हुन्,” उनी दाबी गर्छन्, “आफ्नै इष्टमित्र मार्नेलाई कसरी थोरैतिनो सजाय गर्ने ?” 

गैँडाको चोरीसिकारी कसरी हुन्छ ? त्यो रहस्य पनि थाहा पाए उनले । काठमाडौँबाट आएका पाहुनालाई गैँडा देखाउनुपर्‍यो उनले । माउ गैँडा बच्चासहित तालमा बसेको रहेछ । उनी सुस्तरी नजिकै गए । उनले के थाहा पाए भने गैँडाको ‘आई–साइट’ कमजोर हुँदो रहेछ । बरू, ४० मिटरसम्म सुन्ने क्षमता हुँदो रहेछ । 
रामप्रीतले स्वाँस्वाँ गरेको गैँडाले थाहा पाइहाल्यो । उनी बेतोड भागे ।  “सिकारीहरूले नजिकै गएर पछाडिबाट राइफल हानेर खाग लैजाँदा रहेछन्,” उनी सुनाउँछन्, “गैँडा शाकाहारी हो । बच्चासँग भएका बेला या समागमका बेला मात्र उसले झम्टन्छ ।”

फोटो मात्र देखेकाले पनि बाघको बदनाम गरिरहेको देख्दा रामप्रीतलाई उदेक लाग्छ । “बाघ एकदमै शान्तिप्रिय, सुन्दर र बलिष्ठ अनि भद्र र लजालु जनावर हो, नरभक्षी हुँदै होइन । उसका आहारा त जरायो, लगुना, चित्तल हुन्,” उनी बाघमा महानता देख्छन्, “डिस्ट्रर्ब भयो या प्राइभेसीको ख्याल गरिएन भने बाघुझापु लगाइदिन्छ । मान्छेलाई मर्का परिहाल्छ ।”

उनको खुसीको दिन भनेकै पाटेबाघसँग जम्काभेट हो । ९० सीसीको हिरोहोन्डा मोटरबाइकमा एक्लै गुडिरहँदा उनले पहिलोचोटि बाघको दर्शन पाए । बाघ अगाडि–अगाडि, वार्डेन पछाडि–पछाडि । खुसीमा उनको ढुकढुकी कति बढेर गयो भने कतिलाई सुनाए, सुनाए । “विदेशी बाघ देखेर रमाउने, हामी बाघको नामै सुनेर ज्वरो निकाल्ने ?” उनी प्रतिप्रश्न गर्छन्, “विदेशी २० लाख रुपियाँ खर्चेर बाघको दर्शनका लागि आउने, हामीचाहिँ उल्टै बाघको बदनामी गर्दै हिँड्ने ?”

गैँडा र बाघ मात्र नभएर गोहीका पनि साथी हुन्, रामप्रीत । कसरामा घडियाल प्रोजेक्ट (विसं ०३४) ‘ए टू जेड’ उनकै सपना हो । चार वर्ष ‘फुलटाइम’ घडियाललाई नै दिए । नारायणीका घडियाल अहिले राप्तीमा समेत छन् । घडियाल माछा खाने र सफा बगुवा पानीमा बस्ने जलचर हो । 

रामप्रीतको जंगल–जिन्दगी रोमाञ्चक छ । राजा वीरेन्द्रले हुकुम प्रमांगीबाट चिफ वार्डेन बनाइदिएका दुई जनामध्ये एक हुन्, रामप्रीत । “म जहिल्यै जंगलमा कुदेको देखेर होला, मेरो तारिफ राजासम्म पुगेछ,” उनी भन्छन्, “०४२ मा हुकुम प्रमांगीबाट म चिफ वार्डेन भएँ ।” 

चितवन बसुन्जेल रामप्रीत दसैँमा समेत घर गएनन् । गोहीको अन्डा जोगाउनु सजिलो थिएन । प्राय: टीकाको भोलिपल्ट राजा वीरेन्द्र टुप्लुक्क आइपुग्थे । हरेक सवारीमा उनलाई बोलावट हुन्थ्यो । “वीरेन्द्र शान्तिप्रिय, अल्प तर मिष्ठभाषी राजा थिए, म उनको खानपिन र जंगल सफारीमा साथै हुन्थेँ,” उनी अतीततिर फर्किन्छन् ।

सौराहा र उनको सम्बन्ध मीठो छ । दिनहुँजसो सौराहा नआई उनलाई चित्त बुझ्दैन । आजको व्यस्त पर्यटकीय थलो सौराहा गैँडा–बाघकै देनजस्तो लाग्छ उनलाई । सौराहा यति भव्य होला भनेर उनले कल्पेका पनि थिएनन् । उनले पुरानो सौराहामा जमिन्दार मल्लु महतोलाई सम्झाएका थिए, ‘पर्यटकलाई कमसेकम कोक–फ्यान्टा खुवाउने व्यवस्था गर ।’ रैथाने युवकहरूलाई उनले नेचर गाइड तालिम लिन हौसाएका थिए । 

उनले हेर्दाहेर्दै सौराहाको विस्तार हुँदै गयो । हात्ती क्याम्प, गैँडा वाइल्डलाइफ क्याम्प खुले । पहिलो वर्ष ०२९ मा २६ पर्यटक सौराहा आएको उनलाई हिजोजस्तै लाग्छ । हात्ती सफारी, डुंगा शयर, जिप सफारी, जंगल वाक आयआर्जनका माध्यम भए । अहिले होटल नै १ सय ५ वटा पुगेका छन् । “सौराहामा जमिन्दारको ज पनि बाँकी छैन,” उनी ठट्यौली भावमा भन्छन्, “तर, व्यक्तिले नै एक करोड दरका ६० वटा हात्ती पालेका छन् ।”

मलेरियाविरुद्ध डीडीटी छर्किएपछि सौराहामा बाहिरियाको आगमन बढ्यो । बस्ती योजना अन्तर्गत एक रुपियाँको टिकट टाँसेर पाँच बिघा जग्गा सित्तैँमा पाउने भएपछि सौराहाको कायकल्प नै भयो । रमाइलो के भने ५० हजार रुपियाँमा १० कट्ठा जग्गा दिँदा पनि उनले लिन सकेनन् । ०५२ मा क्यान्सर अस्पतालको गेट नम्बर–१ नजिक आफ्नै ड्राइभरसँग दुई लाखको एक कट्ठा जग्गा लिएर एकतले घर बनाए । “अहिले पनि कतिपय चिफ वार्डेनको घर भनेर अरूकै घरतिर जान्छन्,” उनी भन्छन्, “मलाई एकतले घरमै परमानन्द छ ।” 

संरक्षण क्षेत्रका महारथी रामप्रीतका निम्ति असली जीवन भनेकै प्रकृति हो । उनको नारा नै छ– नो लाइफ विद्आउट वाइल्डलाइफ । समुदायलाई संरक्षण बुझाउने क्रममा नाच्न सिके उनले । राष्ट्रिय निकुञ्जको क्याप्टेन भएर हात्तीपोलो च्याम्पियन भए, १० पटक । लाइफटाइम कन्जरभेसन अवार्ड पाए, ग्लोबल ५०० पनि पाए । “जागिर मात्र खाने मान्छे संरक्षणमा काम लाग्दैन, आत्मादेखि नै संरक्षणकर्मी हुनुपर्छ,” उनी गर्व गर्छन्, “मेरो काम हुकुम प्रमांगी या बढुवा केहीका लागि पनि थिएन ।”

दौडेको दौड्यै छन्, रामप्रीत । धन्न संरक्षणमा लाग्नु पहिल्यै बिहे गर्न भ्याइसकेका थिए । १८–१९ वर्षको उमेरमा सिरहाकै कन्यासित बिहे गरेका उनका दुई छोरा छन्, २० वर्षे जन्मान्तरका । जेठा सिरहामै खेतीपातीमा छन् भने कान्छा भर्खर बीबीए पढ्दै छन् । उनीसँग परिवारको एउटै गुनासो छ, समय नदिएको । आफ्नो कर्मप्रति किञ्चित् खेद छैन उनलाई । 

सिरहाको यादव परिवारका चार दाजुभाइमा रामप्रीतको रोल नम्बर २ हो । गाउँमै अक्षरारम्भ गरेपछि थप शिक्षाका लागि छिमेकी भारतको मधुवनी डिभिजन अन्तर्गत जनता चेथ्रु केशवलाल (जेसीकेएल) हाई स्कुल खजेडिहा जानुपर्ने बाध्यता थियो उनमा । 

प्रशस्त दूध–घिउ खाने अनि पहलवानीमा जाने चलन थियो परिवारमा । उनका दाजुभाइ अहिले पनि खेतीकिसानीमै रमाइरहेका छन् । बाल्यकालमै जंगल, वन्यजन्तु र चराचुरुंगीमा चाख बस्यो उनलाई । उनलाई लाग्यो, ‘म वनमै काम गर्छु ।’ नभन्दै त्यस्तै भयो । 

जहाँ–जहाँ गैँडा मारिए, त्यहाँ–त्यहाँ पुगे रामप्रीत । चितवन राष्ट्रिय निकुञ्जपछि बर्दियामा साढे तीन वर्ष चिफ वार्डेन भए । शुक्लाफाँटामा एक वर्ष बसेर पर्सामा दुई वर्ष चिफ वार्डेन । वर्षको १५ वटासम्म गैँडा मारिन्थे, द्वन्द्वकालमा ३५ वटा मारिए । गैँडा धेरै मारिन थालेपछि फेरि चितवनै आए । सगरमाथा, कोसीटप्पु, लाङटाङ, रारासित पनि उनको थोरबहुत सम्बन्ध छ ।

लाङटाङमा सिमाना लगाउन जोन ब्लोरसँग ४५ दिन हिँड्दा नौ किलो घटेछन् रामप्रीत । “जोन स्लिपिङ ब्याग, चस्मा, औषधि लिएर गएका थिए, मैले पनि थोत्रो चस्मा लगाएकै थिएँ,” उनी सम्झन्छन्, “बिचरा भरियाले हिउँबाट जोगिन गोल पिँधी आँखामा कालो धर्सा कोरेर ज्यान जोगाए ।” पहिलो प्लेन यात्रा त्यहीँ गरे उनले । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा समेत काम गरेका रामप्रीतले ३४ वर्षे जागिरे जीवन ०५७ मा बिसाए । 

अवकाशपछि पनि उनको दौडधूप सकिएको छैन । डब्लूडब्लूएफको चार जिल्लाको समुदायमा आधारित तराई भूपरिधि परियोजना (ताल प्राजेक्ट)को संरक्षण शिक्षामा जुटिरहेकै छन् । “छालाको शान जिउँदो बाघमा हुन्छ, खागको शान जिउँदो गैँडामा हुन्छ,” उनका कुरा ऐजन–ऐजन हुन्, “जंगलमा मानिस एक सय प्रतिशत सुरक्षित हुन्छ भने सहर–बजारमा दुई सय प्रतिशत असुरक्षित ।” 

प्रकाशित: जेष्ठ २९, २०७४