[झटारो] अद्भुत अनुगमन पद्धति

  • हुन पनि पहिला पहिला जानकारी नै नदिई एक्कासि अनुगमन गर्न जाँदा दुवै पक्षले ठूलठूला चुनौती र हैरानी बेहोर्नुपरेको थियो ।

- लक्ष्मण गाम्नागे

हाम्रो सरकारले बजार अनुगमन गर्ने नौलो पद्धतिको घोषणा गरेको छ । व्यापारी व्यवसायीहरूलाई जानकारी दिएर अनुगमन गर्ने, एकदमै पारदर्शी र लोकतान्त्रिक पद्धति । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग भन्ने निकायको प्रमुखमा जसै एक नयाँ प्रतिभा आए, उनले यो अद्भुत आइडिया निकाले । उनले सबै व्यापारी व्यवसायीलाई भेला गरेर भने, ‘ अबदेखि तपाईंहरूलाई जानकारी दिएर हामी अनुगमन गर्न आउँछौँ, सचेत रहनु होला ।’ 

हुन पनि पहिला पहिला जानकारी नै नदिई एक्कासि अनुगमन गर्न जाँदा दुवै पक्षले ठूलठूला चुनौती र हैरानी बेहोर्नुपरेको थियो । अनुगमन गर्न जाँदा कहिले अनुगमनकारी कर्मचारीलाई व्यापारीहरूले कटहर र इस्कुसले आक्रमण गर्ने, कहिले पोसाक च्यातिदिएर सटरमा थुन्ने, कहिले ढुंगामुढा गरेर लघार्ने । कर्मचारीले पनि कहिले पुर्जी काट्नुपर्ने, कहिले पसलमा सिलबन्दी गर्नुपर्ने, कहिले ढकतराजु खोसाखोस गर्नुपर्ने । त्यो बेला कर्मचारी र व्यापारीको सम्बन्ध जोगी र भैँसीको जस्तो थियो । यी सबै समस्या समाधानको अचूक उपाय निस्कियो, जानकार ीसहितको अनुगमन पद्धति । यस्तो अग्रगामी अवधारणा ल्याउने विभागका महानिर्देशक महा–धन्यवादका पात्र छन् । 

अब पहिलाजस्तो अनुगमन टोलीले सुटुक्क अफिसबाट निस्किएर लुसुक्क व्यापारी व्यवसायीको पछाडिको ढोकाबाट छिरेर अप्रत्याशित रूपमा उनीहरूका मालसामानमा हात हाल्नेछैन । सरकारले राष्ट्रिय स्तरका पत्रपत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरेर कुन मितिमा कति बजे कुन कुन क्षेत्रमा अनुगमनमा आउने हो तालिका नै प्रकाशित गर्नेछ । अनुगमन गर्न जाने दिन पनि ‘हामी आउँदै छौँ, तपाईंहरू सबै तयार ?’ भनेर सोधेपछि मात्रै जानेछ । तयारी पुगेको छैन, फलानो दिन आउनूस् भनेर व्यापारीले अनुरोध गरेमा सोही अनुसार गरिनेछ ।  

अनुगमन टोलीको सवारी हुनुभन्दा पहिले नै सबै उद्योगी, व्यवसायी, व्यापारीहरूले आफ्ना व्यापार, व्यवसाय वा उत्पादनहरूमा जे–जति कैफियत छन्, सबै मिलाइसक्नुपर्ने छ । छोप्नुपर्ने कुरा छोपिसक्नुपर्ने छ । लुकाउनुपर्ने कुरा लुुकाइसक्नुपर्ने छ । म्याद गुज्रिएका मालताल बेलैमा बेचिसक्नुपर्ने छ अथवा नयाँ मितिको स्टिकर टाँसिसक्नुपर्ने छ । कुहिएका, मकाएका, मिसावट भएका माल गोदाममा थन्क्याइसक्नुपर्ने छ । भ्याट बिलबिना सामान बेचेका बिलका अधकट्टीहरू गायब गरिसक्नुपर्ने छ । अनुगमन टोली आउँदा व्यवसायस्थल धोइपखाली पुछपाछ गरेर सबै चट्याकचिटिक पारी धूप बालेर वा अत्तर छर्केर मगमग बास्ना चल्ने बनाउनुपर्ने छ । इच्छुक व्यापारीहरूले चिसो–तातो खाजा–भुजा तयार गरिराखे पनि अन्यथा लिइनेछैन । अरू दिन जे भए पनि अनुगमन गर्न आएको दिन एउटा पनि कैफियत फेला नपर्ने वातावरणको सिर्जना गर्ने काम स्वयं व्यापारी व्यवसायीको हुनेछ ।

यो नौलो र प्रजातान्त्रिक पद्धति लागू भएपछि बजार एकदमै स्वच्छ देखिनेछ । सरकारी निकाय र व्यापारीहरू मिलेर बजारमा रहेका विकृतिहरूलाई ढाकेर, छोपेर, पुरेर, लुकाएर, कसिंगरलाई कार्पेटमुनि छोपछाप पारेर हाम्रो व्यापार व्यवसायलाई पूर्ण रूपमा चोखो देखिने बनाउनेछन् । देशको छवि सुध्रिनेछ । यस्तो अभूतपूर्व अनुगमन पद्धतिको सबैले स्वागत गरौँ र यसलाई अख्तियार र भ्रष्टाचारीबीच, प्रहरी र अपराधीबीच र अरू पनि धेरै त्यस्ता निकायहरूमा लागू गर्दै जान सरकारलाई दबाब दिऊँ । आगे नयाँ सरकारको जो विचार !

प्रकाशित: जेष्ठ २८, २०७४