यति धेरैपटक आरोहण गर्ने तागत कहाँदेखि आइरहेछ ?

  • छरिएर भन्दा निर्दिष्ट लक्ष्य बनाएर हिँड्छु । यो नै मेरो तागत हो ।

- मनबहादुर बस्नेत

संखुवासभाको मकालु गाउँपालिकामा जन्मिएकी ल्हाक्पा शेर्पा, ४४, ले यसपालि आठौँपटक सगरमाथा आरोहण गरेर सबैभन्दा बढी सर्वोच्च शिखरमा पुग्ने महिलाको कीर्तिमान कायम राखिन् । युरोपका विभिन्न देशका आरोहण दललाई लिएर सगरमाथा पुगेकी उनी सन् २००० मा पहिलोपटक सर्वोच्च शिखर टेकेकी थिइन् । दुई सन्तानकी आमा उनी सकुन्जेल सगरमाथा चढिरहने बताउँछिन् । ल्हाक्पासँग गरिएको कुराकानी:

आरोहणमा कहिलेदेखि लाग्नुभयो ? 

१५ वर्षको उमेरदेखि । मैले तल्लो लेभलदेखि नै काम गरेकी हुँ । पोर्टर, किचन गर्ल हुँदै शेर्पा (उचाइमा काम गर्ने) भएँ । 

कसरी जोडिनुभयो यतातिर ? 

परिवारका सदस्य यही पेसासँग आबद्ध छन् । बुबा, बाजे, भाइ सबै पर्यटन क्षेत्रमै भएकाले मलाई यो क्षेत्रमा लाग्न सहज भयो । म आरोहण पेसामा लाग्ने परिवारको तेस्रो पुस्ता हुँ । 

पहिलोपटक सगरमाथाको टुप्पोमा पुग्दा कस्तो लागेको थियो ? 

सन् २००० मा म पहिलोपटक सगरमाथा चढेकी थिएँ । छुट्टै संसारमा पुगेजस्तो लाग्यो । यति खुसी भएँ कि त्यो म भन्नै सक्दिनँ । नेपाली महिला सफलतापूर्वक साहसी काम गर्न सक्दा रहेछन् भन्ने सन्देश विश्वलाई दिन पाएकामा गर्व लागेको छ । 

हरेकचोटि सगरमाथा चढ्दा एकै ठाउँमा कतिपटक आउनु जस्तो लाग्दैन ? 

कहाँ लाग्नू ? सगरमाथा त गतिशील छ । जतिचोटि पुग्दा पनि यसको ‘लुक्स’ भिन्नभिन्न देखिन्छ । टाढादेखि हेर्दा सगरमाथाको स्वरूप एउटै देखिने भए पनि त्यहाँ पुग्दा सधैँ बदलिएको पाइन्छ । हावाको वेग कताबाट आउँछ, त्यही अनुसारको आकार तयार हुन्छ ।

हरेकपटक सगरमाथा चुम्नुको आनन्दचाहिँ के हो ? 

यति सुन्दर र भिन्न दृश्य देखिन्छ कि रकेटबाट जमिनमा हेरेजस्तो देखिन्छ । हावाको चापले गर्दा शरीर हलुंगो हुन्छ । मन शून्यतामा पुग्छ । सायद, ध्यान गर्दा पनि यस्तै हुन्छ कि !

यसपालिचाहिँ पहिलेको स्वरूपभन्दा के बदलिएछ ? 

गत साल टुप्पोमा टेन्ट लगाएर बस्न सकिने ठाउँ थियो । यसपालि चार जना मात्रै उभिन सक्ने ठाउँ छ । टुप्पोमा पुग्दा अडिने ठाउँ नै नभएपछि डर लाग्यो । 

‘हिलारी स्टेप’को बेस नै सरेको भन्ने खबर फैलिएको छ । तपाईंले कस्तो देख्नुभयो ? 

यो हल्ला मात्रै हो । केही भएको छैन । हिउँ पग्लने, हिम पहिरो जाने र हावाको झोक्काले यसको स्वरूप बदलिरहन्छ । त्यही देखेर कतिपयले यो स्टेपको चट्टानी आधार नै सरेको भनेर हल्ला फिजाएका हुन् । 

तपाईंले १० पटकसम्म सगरमाथा चढ्ने लक्ष्य लिनुभएको रहेछ । त्यसभन्दा बढी चढ्न सकिन्न भनेर हो ? 

कम्तीमा त्यतिपटक चढ्न सक्छु भन्ने विश्वासले हो । शरीरले साथ दिएमा त्यसभन्दा बढी पनि चढ्न सक्छु । स्वास्थ्यले साथ दिएन भने त्यो लक्ष्यमा नपुग्न पनि सक्छु ।  

यति धेरैपटक आरोहण गर्ने तागत कहाँदेखि आइरहेछ ? 

म एकदमै बलियो महिला हुँ जस्तो लाग्छ, आफूलाई । फेरि मेरो बानी के छ भने जे कुरा  आँटे पनि पुर्‍याएरै छोड्ने । यो पनि गर्छु, त्यो पनि गर्छु भन्ने सोचाइ राख्ने मेरो बानी छैन । छरिएर भन्दा निर्दिष्ट लक्ष्य बनाएर हिँड्छु । यो नै मेरो तागत हो । 

पर्वतारोही नभएको भए के बन्नुहुन्थ्यो होला ?

मलाई रकेटमा उडेर चन्द्रमामा जान मन लाग्थ्यो । रकेटमा नउडे पनि त्यत्तिकै उचाइमा पुगेकी छु जस्तो लाग्छ मलाई त !

तपाईं अमेरिकामै बस्नुहुन्छ । किन आरोहीहरू विदेशतिरै भासिन्छन् ? 

शेर्पाहरूले ज्यान जोखिममा मोलेर ज्यादै दु:ख गरेका हुन्छन् । आरोहणमा आउने विदेशीहरूले शिखर पुर्‍याएर सकुशल तल ल्याउन सकेमा आफ्नो देशमा बोलाउने वाचा दिएका हुन्छन्, शेर्पाहरूलाई । उनीहरूको सपना सफल पार्न सहयोग गरिदिएपछि खुसी भएर विदेश बोलाउँछन् । अर्को कुरा, शेर्पा जातिको इमानदारी र मित्रवत् व्यवहार पनि कारक हो ।

अब तपाईं विदेशतिरै बस्ने कि नेपालमै ? 

सिजनमा हिमाल चढ्न आइरहेकी छु । नेपालबारे बाहिर बसेर प्रचारप्रसार गरिरहेकी छु । मैले यति धेरैपटक सगरमाथा चढ्नुको कारण पनि देशको प्रचार होस् र पर्यटकहरू घुम्न आऊन् भन्ने नै हो । जहाँ बसे पनि हिमालसँग भने जोडिनेछु । 

प्रकाशित: जेष्ठ २८, २०७४