नोटबुक

  • महाभियोग फिर्ताको सूचना प्रस्तावक सांसदहरुले दिइसकेपछि भने मैले हक जमाएरै भनेँ, ‘अबचाहिँ बोल्नुपर्छ ।’

- रामबहादुर रावल

बोल्न नमान्ने कार्की 

मिडियाबाट टाढै रहन चाहने प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो कार्यकालभरिमा सञ्चारकर्मीसँग कहिल्यै औपचारिक अन्तक्र्रिया गर्न रुचाइनन् । सञ्चारकर्मीकै पहलमा भएका कार्यक्रममा न्यायाधीश गोपाल पराजुली सहजै गए तर उनी उपलब्ध भइनन् । लोकमानसिंह कार्कीलाई मोसो दलेको घटनापछि त हामी सञ्चारकर्मीले सर्वोच्च अदालत प्रवेशका लागि समेत निकै संघर्ष गर्नुपर्‍यो । अरु नै परिचय बोकेर बालुवाटारस्थित प्रधानन्यायाधीश निवास प्रवेश गरेका एक जना पत्रकारले अन्तर्वार्ताको कुरा गर्दा बाहिर निकालेको प्रसंग पनि सुनिएको थियो । त्यसैले भेटिहाले पनि हत्पत्ति अन्तर्वार्ता वा समाचार लेख्ने कुरा गर्नु उनका अगाडि अलि ‘धक’कै विषय थियो ।

कहिलेकाहीँ सार्वजनिक कार्यक्रममा गएर भने मिडियालाई राम्रै खुराक दिन्थिन् उनी । उनको हकी स्वभाव यसको प्रमुख कारण थियो । त्यस्तो पात्रलाई भेट्नु हामी पत्रकारका लागि भने निकै उपयोगी हुन्छ । पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको स्वभाव पनि करिब यस्तै थियो । मनमा केही कुरा नराख्ने । कुनै कुरा तौलेर नबोल्ने । आफूलाई फाइदा हुने कुरा मात्र बोलेर मिडियालाई प्रयोग गर्न खोज्ने शक्तिशाली व्यक्ति र तिनका ‘स्पिन डक्टर’हरु त जति पनि भेटिन्छन् । तिनले दिने सूचनाको नियत बुझ्न सक्नु नै हाम्रो पहिलो चुनौती हुने गर्छ । यस्ता स्रोतहरु नभेटी पनि नहुने, भेटेर पनि सुख नपाइने खालका हुन्छन् । नि:स्वार्थ रुपमा यथार्थ कुरा बताइदिने ‘हाइप्रोफाइल’ स्रोतहरु पाउन गाह्रो पर्छ ।

कार्की प्रधानन्यायाधीश भएपछि जतिपटक भेटियो, उनले कुनै कुरा आफ्नो पक्षमा हुने गरी मात्र प्रवाहित गर्न खोजिनन् । कतिपल्ट भावनात्मक कुरा हुन्थ्यो भने कतिपल्ट पेसा–व्यवसायसम्बन्धी मात्र । प्राय: घरायसी, स्वास्थ्य र कार्यबोझबारे गफ हुन्थ्यो । 

उनी पदमा हुन्जेल मैले कहिल्यै अन्तर्वार्ता वा समाचारयोग्य सूचनाका लागि दबाब दिइनँ, उनको पदको संवेदनशीलतालाई विचार गरेर । १ वैशाखका दिन तस्बिर खिचेका थियौँ, बस् ।

महाभियोग नै लागेपछि भने धेरै घटनाक्रमसँग नजिक भएर नियाल्न पाइयो । उनीमाथिको महाभियोगले अरुलाई जस्तै मलाई पनि ननिको लागिरहेको थियो । भेट्दा पनि के कुरा गर्नु जस्तो लाग्थ्यो । यसबीचमा उनी स्वयं भने कत्ति विचलित थिइनन् । बरु, उनीप्रति सहानुभूति जनाउन पुग्ने आफन्तजन, शुभेच्छुकहरुलाई उल्टै ढाडस दिन्थिन् । काम गर्दै जाँदा यस्ता बाधा–अवरोध आइहाल्छन् नि भनेर एकदमै सामान्य रुपमा उनले त्यो समय गुजारिन् ।

बोल्न थालेपछिकी कार्की

महाभियोग फिर्ताको सूचना प्रस्तावक सांसदहरुले दिइसकेपछि भने मैले हक जमाएरै भनेँ, ‘अबचाहिँ बोल्नुपर्छ ।’ बल्लतल्ल बोल्न त मनाइयो तर पदबाट बिदा भएपछि मात्र बोल्ने अर्को सर्त तेस्र्याइन् उनले । बिदा हुँदासम्मका लागि धैर्य हामीसँग थिएन । निकै धेरै अनुरोधपछि अन्तत: अवकाश हुने सातामा प्रकाशित गर्ने गरी उनी अन्तर्वार्ताका लागि तयार भइन् ।

बोल्न थालेपछि उनले मन फुकाएर बोलिन् । हरेक प्रश्नको जवाफ दिइन् । कुनै प्रश्नमा उनले आनाकानी गरिनन् । हुन पनि केही अघि हामीसँग भनेकी थिइन्, ‘बोलेपछि छारस्टै पारौँला नि !’ 

उनका कुरा सुन्दा आङ सिरिङ्ग हुन्थ्यो । जीउमा काँडा उम्रिन्थे । यो पनि सम्भव होला र जस्तो लाग्थ्यो । अझ उनको बोलीमा कुनै कृत्रिमता थिएन । आत्मविश्वाससाथ प्रस्तुत हुन्थिन् । कोही रिसाउलान् कि, कसैलाई पीर पर्ला कि भन्ने कुनै चिन्ता थिएन । जनताले तिरेको करबाट तलबभत्ता खाएपछि आफूले देखेभोगेको कुरा जनतालाई थाहा दिएर जानुपर्छ भन्ने उनको सोच रहेछ ।

 

अदालतको त्यो कोतपर्व 

अदालत सरल रेखामा चल्दो हो त आजका दिनमा प्रधानन्यायाधीशको कुर्सीमा प्रकाश वस्ती हुन्थे, सुशीला कार्कीका उत्तराधिकारीका रुपमा । उनको निश्चित स्वभाव र स्थापित छवि थियो, जुन रामप्रसाद श्रेष्ठ र कार्कीसँग मिल्दोजुल्दो थियो । वस्तीको प्राज्ञिक उचाइचाहिँ अझ माथि थियो ।

उनको त्यो छविबाट छटपटाएकाहरु पर्दापछाडिबाट सक्रिय भए । दृश्यमा तत्कालीन प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायपरिषद् सदस्य उपेन्द्रकेशरी न्यौपानेहरुले भूमिका मञ्चन गरे । वस्तीलाई सडकमा पुर्‍याएबापत सर्वोच्चमा एउटा नयाँ सेट आइपुग्यो । वस्तीसँगै सडकमा पुर्‍याइएका चार जनामध्ये एक जना न्यायाधीश भरतराज उप्रेतीले त सहन नसकी आत्महत्या नै गरे । यो घटना न्याय क्षेत्रमा कोतपर्वका नामले चर्चित छ । कोत पर्वका कर्ता र कारणीहरुको काम सुशीला कार्कीलाई असफल पार्नु र असहयोग गर्नु रह्यो । कार्कीले लिएका पहलकदमीमा हलो अड्काउनु भयो । कार्कीलाई आफ्नो स्वार्थमा नचाउन नसकेपछि उनीहरुले गर्न सक्ने काम त्यही थियो । तिनीहरु नै अहिले कार्कीमाथि गुटबन्दीको आरोप लगाइरहेका छन् । अनुमान गर्नूस्, न्यायपालिकाको गुटबन्दी कस्तो छ, कसले गरिरहेको छ ? 

प्रकाशित: जेष्ठ २८, २०७४