[फिल्म] पूर्वजन्मको सम्बन्ध

  • सुशान्त–कृतिको अभिनय र प्रविधिको अब्बल पक्ष स्वाद चाख्नबाहेक राब्ता हेर्नुपर्ने अर्को कारण छैन

- गोकर्ण गौतम

अघिल्लो जन्मको कथा कतिपयलाई पत्यार नलाग्न सक्छ । आजको आधुनिक युगमा यस्ता प्रसंग रूढिवादी लाग्नु स्वाभाविक हो । सत्य जे भए पनि यसका विभिन्न स्वरूप बेलाबखत पर्दामा देख्न पाइन्छ । आधा दर्जन फिल्म निर्माण गरेका दिनेश विजनले पूर्वजन्मकै कथामाथि फिल्म राब्ता बनाएर निर्देशनमा डेब्यु गरेका छन् । तथापि, यो पूर्वजन्ममै केन्द्रित फिल्म भने होइन । बरू, वर्तमान र शताब्दीऔँअघिको घटनालाई जोड्ने प्रयास गरिएको छ । कथाको सेतुचाहिँ उही हो– प्रेम । सुशान्त सिंह राजपुत र कृति सानोनको जबर्जस्त जोडी फिल्मको आकर्षण हो । तर, आफ्नो कथालाई विश्वसनीय बनाउन निर्देशकमा ‘कमान्ड’को अभाव छ । अनावश्यक र लम्बेतान प्रसंगले मूल कथाको वहाबलाई अलमल्याएको छ । 

पन्जाबको मध्यम परिवारको ठिटो शिव (सुशान्त)ले हंगेरीस्थित बैंकमा नोकरीको अवसर पाउँछ । त्यहाँ उसको भेट हुन्छ, चकलेट स्टोरमा काम गर्ने सायरा (कृति)सँग । एक रात बिताउने उद्देश्यमा भएको भेट प्रेममा परिणत हुन्छ । केटी पट्याउन माहिर शिव पनि सायराको प्रेममा गम्भीर हुन्छन् । तर, त्यही बेला उनीहरूको सम्बन्धमा तगारो बन्न आइपुग्छन्, अर्बपति व्यापारी ज्याक (जिम सरब) । त्यसपछि कथामा ‘ट्वीस्ट’ आउँछ । र, सायरालाई बारम्बार सताउने सपनाको राज खुल्दै जान्छ । खासमा उनीहरू को–को हुन्छन् ? के ज्याकले भनेजस्तै उसले अघिल्लो जन्ममा पनि सायरालाई माया गथ्र्यो त ? यस्तै रहस्य खुल्न थाल्छ । तर, फिल्मको क्लाइमेक्स चक्मा दिने खालको छैन ।

मुख्य प्लट आफैँमा सशक्त लाग्छ तर त्यसलाई पस्कने क्रममा स्वादिलो बनाइएको छैन । मध्यान्तरअघि अघिल्लो जन्मबारे केही बताइँदैन, केवल संकेत मात्र दिइन्छ । यहाँसम्म आइपुग्दा अन्य हिन्दी फिल्ममा देखिने प्रेमकथाभन्दा अलग लाग्दैन । तर, ज्याकको आगमनपश्चात् कथा फ्ल्यासब्याकमा जान्छ । अघिल्लो जन्मको कथा त्यति रोचक लाग्दैन तर भीएफएक्स, कलाकारको हुलिया, अभिनय, ध्वनिचाहिँ निकै उम्दा छ । कथावाचनभन्दा प्राविधिक पक्षमा निर्देशक सफल देखिन्छन् । पटकथाकारद्वय सिद्धार्थ–गरिमा आफैँ अन्योलमा देखिन्छन्, पात्रको मनोविज्ञान र सम्बन्धका सवालमा । 

डरलाग्दो सपनाले हररात तनाव दिए पनि हंगेरीजस्तो सम्पन्न ठाउँमा बस्ने सायरा कहिल्यै चिकित्सककहाँ पुग्दिनन् । उनकै पृष्ठभूमि नजरअन्दाज गरिएको छ । शिवको ‘लेडिकिलर’ स्वभाव मजबुत ढंगले स्थापित हुन्न । ज्याकलाई त झन् टपक्कै टिपेर राखिएजस्तो । न ऊ कसरी त्यतिविघ्न धनी भयो भन्ने देखाइएको छ, न उसको पारिवारिक अवस्था थाहा हुन्छ । त्यसैले पात्र र तिनीहरूबीचको सम्बन्ध गहिरो र मार्मिक महसुस हुन्न । पटकथामा पर्याप्त छिद्र भए पनि लोकेसन र खिँचाइ भने आकर्षक छ । फ्ल्यासब्याक दृश्यलाई जीवन्तता दिन निकै मिहिनेत गरिएको छ ।

कलाकार छनोट र उनीहरूको प्रस्तुति सम्भवत: राब्ताको सबैभन्दा सुन्दर पक्ष हो । योद्धा र सामान्य केटा दुवै चरित्रमा सुशान्त जमेका छन् । टेलिभिजन हुँदै फिल्ममा फड्को मारेका सुशान्तले फेरि एकपटक जस्तोसुकै भूमिकालाई न्याय गर्न सक्छु भन्ने प्रमाणित गरेका छन् । कृति पनि ‘सो–अप’मा सीमित छैनन् । उनको पनि अघिल्लो जन्मको भूमिका दमदार छ । नकारात्मक भूमिकामा देखिएका जिम सरब अर्का सम्झनलायक कलाकार हुन् । उनको हुलिया, हाउभाउ र संवाद बोलाइले जोकोहीको मन जित्छ । राष्ट्रिय अवार्ड विजेता अभिनेता राजकुमार रावको केमियो उस्तै दमदार छ ।

सुशान्त–कृतिको अभिनय र प्रविधिको अब्बल पक्ष स्वाद चाख्नबाहेक राब्ता हेर्नुपर्ने अर्को कारण छैन । 

प्रकाशित: जेष्ठ २८, २०७४