[अनुभूति] एक थोपा आन्दोलन

  • परिवर्तनको पनि धङधङी मात्रै बाँकी छ । काठमाडौँ आन्दोलन थियो । एक थोपा भए पनि यो आन्दोलन जारी रहेको छ ।

- किशोर नेपाल

विवर, मछली मरी हुई, एक चादर मैली सी । दि प्लेग, थिभ्स जर्नल, ओल्ड म्यान एन्ड दी सी । काठमाडौँ गुलजार थियो साहित्यमा । मल्टिप्लेक्सहरू थिएनन् । विभिन्न राष्ट्रियताका विभिन्न खानाहरूको प्रतिनिधित्व गर्ने तमाम रेस्टुराँहरू पनि थिएनन् । झोंछें थियो । पर्यटकको एरिया । त्यो बेला ठमेल थिएन । जहाँ जे थिए, ती सीमित थिए । साहित्य आन्दोलनमा थियो । राजनीति आन्दोलनमा थियो । तन्नेरीहरूको भयरहित मनमा आन्दोलनको उफान थियो । विद्रोह थियो । समरेश वसु, राजकमल चौधरी, राजेन्द्रसिंह वेदी, ज्याँ पाल सात्र्र, अलवेयर क्यामु, ज्याँ जेने, अर्नेस्ट हेमिंगवे ।

मानिसहरू बाटो खोजिरहेका थिए । एन्जेला डेभिस, म्यालकम एक्स, चे ग्वेवारा । माक्र्सका स–साना संस्करणहरू । गजबको टक्कर थियो त्यतिखेर । साहै्र रमाइलो खेल हुन्थ्यो सत्तालाई जिस्क्याउनु । काठमाडौँको डाउन टाउन पीपलबोट थियो, गतिविधिको केन्द्र । आन्दोलनको जन्म पीपलबोटबाट हुन्थ्यो र त्यहीँबाट सुरु पनि हुन्थ्यो । अधिकांश आन्दोलनको टुंगो पनि त्यहीँबाट लाग्थ्यो । 

कुनै जमानामा कपालमा जवाकुसुमको तेल हालेर जुल्फी लर्काएर सडकमा हिँड्दा मानिसहरू आफैँतिर आकर्षित भएझैँ लाग्थ्यो । मन्द किसिमको वास्ना हुन्थ्यो जवाकुसुमको । हेयर जेलको चलन सुरु भएको थिएन । व्राइलक्रिम पनि बजारमा उपलब्ध थिएन । एक दिन गणेश रसिक र म भोटाहिटी रत्न पुस्तक भण्डारसँगैको कस्मेटिक पसलमा छिरेका थियौँ । रसिक पोतो र पिम्पल विरोधी साबुनको खोजीमा थिए । क्यामे साबुनको नाम यही थियो । पिम्पलका लागि क्लियरासिल नाम गरेको क्रिम पनि पाइन्थ्यो । बजारमा अत्तरहरू थिए । अहिलेको जस्तो ब्रान्डेड होइन । शुद्ध अरबी । लोमा केश काला तेलको विज्ञापनको लर्को देखिन्थ्यो । कपाल फुलेर चिन्ताएका महिलाहरू कपालमा लोमा लगाएर भूगोल पार्क घुम्न निस्किन्थे । लोमा केश काला तेल भए पनि यसको प्रयोग गर्नेहरूको कपालमा रातो मेंहदीको इफेक्ट स्पष्ट देखिन्थ्यो । 

अहिले त सहरमा फेसनको तारमा झंकार बढेको छ । बानेश्वरदेखि बालुवाटारसम्म खुलेका दर्जनौँ प्लस टू शिक्षालयमा बिहानैदेखि जम्मा हुने सयौँ केटाकेटीहरूको शरीरबाट एकसाथ डेओडोरेन्टको सुवास आउँछ । शिक्षकहरूको शरीरबाट पनि त्यस्तै सुवास आउँछ । कोही पनि शिक्षक र छात्रछात्राले सफाइका लागि नुहाउनुपर्नेमा जोड दिन पाएका छैनन् । पिउने पानी छैन, नुहाउने चिन्ता । हुनेखाने पनि छन्, जो आक्वा हँड्रेडले नुहाउँछन् । जनतालाई मेलम्चीको पानीको आशा देखाएर सहरभरिका सडकहरू खोतलिएका छन् । पानी बग्ने सुरुङको निर्माण भइरहेको छ । सरकारको अनुमान छ, मेलम्चीको पानी आएपछि सबैले नुहाउने अवसर त पाइहाल्नेछन् । कति विशेषज्ञले अहिले नै भन्न थालेका छन्, मेलम्चीको पानी काठमाडौँको प्यास मेटाउन पर्याप्त छैन । छ कि छैन ? पानी आएपछि थाहा हुने विषय हो । अहिलेसम्म मेलम्चीको सुरुङ नै पूरा खुलेको छैन ।

सहरभरि ख्याति फैलिएको रन्जना सिनेमाको कफी स्टल । एस्प्रेसो कफीको स्वादमा रमाउँथे मानिसहरू । सहरका नामुद पत्रपत्रिका वितरक कम्पनी सन्देश गृहबाट धक्कामुक्का गरेर किनेको टाइम्स अफ इन्डिया र नवभारत टाइम्स काखीमुनि च्यापेका त्यति बेलाका बुद्धिजीवीहरू एस्प्रेसो कफीका लागि रन्जनामा जम्मा हुन्थे । एस्प्रसो कफी बनाउने तरिका पनि गजबको थियो । आलम्युनियमको मगमा कफी, चिनी, दूध र पानी मिसाएर ठूलो मसिनमा जोडिएको हिटिङ रड त्यसमा डुबाएपछि एकैछिनमा त्यसबाट फिर्रफिर्र फिरफिरको आवाज आउँथ्यो । गिलासको बिटसम्म फिँज फैलिथ्यो र कफी तयार हुन्थ्यो । क्य्राभेन ‘ए’ सिगरेट मानिन्थ्यो, सर्वश्रेष्ठ । पाँचसय पचपन्न पनि चल्तीमा थियो ।

मानिसहरूले अहिले पनि टाइम्स अफ इन्डिया र नवभारत टाइम्स पढ्न छाडेका छैनन् । कृष्णप्रसाद भट्टराई आफ्ना अनुयायी र कार्यकर्तालाई बताउनु हुन्थ्यो, ‘हिन्दुस्तान र त्यहाँको सरकारलाई बुझ्न यो टाइम्स अफ इन्डिया पढ्नुपर्छ । यसले हिन्दुस्तान सरकारको विचारको प्रतिनिधित्व गर्छ । तिमी अंग्रेजी सिक्ने केटाकेटीहरूले दी स्टेट्सम्यान पढ्नुपर्छ । त्यसले पक्का अंग्रेजी सिकाउँछ ।’

म सोध्थेँ, ‘इन्डियन एक्सप्रेस नि किशुनजी ?’

जतिबेला बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरू जेलमा हुनुहुन्थ्यो, त्यतिबेला पनि नेपालमा राष्ट्रवाद पपुलर आइटम थियो । भृकुटीमण्डपमा राष्ट्रवादकै नाममा कम्युनिस्ट र डेमोक्र्याट विद्यार्थीहरू हानाहान गर्थे । कोट वा कमिजमा माओको लकेट लाउने र नलाउनेबीच झडप हुन्थ्यो । ती झडपका खबर दी टाइम्स अफ इन्डियामा छापिन्थे । समाचारमा नाम क्वोट गरिएकाहरू अभिमानले फुलेर गम्भीर हुने गर्थे । राष्ट्रवादको त्यो लडाइँ लड्दालड्दै सन् १९६५ मा राजा महेन्द्रले भारतसँग सन्धि गरिसकेका रहेछन् । यो पछि मात्रै थाहा भएको अथवा चर्चामा आएको विषय थियो । 

मानिसले पढ्न छाडेका छैनन् । तैपनि, पत्रिकाहरूको बिक्री घटेको छ । समाचारप्रति मानिसको चासो घट्दै गएको छ । किनभने, मानिस अब आफैँ समाचार बनिसकेको छ । पढ्नु भनेको सधैँ ज्ञान आर्जन गर्नु होइन । पढ्दापढ्दै निद्रा लाग्नु पनि ज्ञान आर्जन गरेसरह नै मानिनुपर्छ । 

सहर साँघुरिँदै छ । सहरमा साँघुरा घर बढ्दै छन् । यो अवस्थामा पढ्नुका धेरै झन्झट छन् । पढिसकेका अखबार र पुस्तकहरू घरको कुन कुनामा थुप्य्राउनु ? उसै त काठमाडौँका घरमा स्पेस खोज्नु हुँदैन । भरेङमुनि ‘बाथरुम’ बनाइएको हुन्छ । देशको राजधानी सहरको पेट सधैँ गड्याङगुडुङ गर्छ । सहर दिसामुक्त क्षेत्र घोषित भइसकेको छैन । घरमा स्पेस नै नभएपछि कहाँ थन्क्याउनु पुराना कागजलाई ? खाली सिसीवालालाई पुराना अखबार बेच्नु पनि घाटाको सौदा । मानिस नाफा मात्रै हेर्न थालेको छ ।

अखबार किन्नुभन्दा नेटको प्रयोग सस्तो परेपछि किन किन्नु अखबार ? तर, बालाई त्यही नभई हुँदैन । बा रेडियो सुनेर वा टेलिभिजन हेरेर पत्याउनै सक्दैनन् । गोरखापत्रले लेखेपछि मात्रै विश्वास हुन्छ ।
ऊ जमानाका लेखकहरू रोमान्टिक हुन्थे । सुप्रसिद्ध कथाकार तथा नाटककार विजय मल्लको कथा ‘कालो चश्मा’ले सनसनी मच्चाएको थियो सहरमा । कथाकार मल्ल हरेक दिन बिहानै रन्जनाअगाडिको सोडा पसलमा डबल सोडा पिएर आफूलाई तरोताजा बनाउँथे । अघिल्लो साँझ जो–जो उनको साथमा हुन्थे, ती–ती बिहान पनि त्यहाँ देखिन्थे । कोही किन बरबाद होस् ? विजय आफैँले लेखेको नाटकजस्ता व्यक्तित्व थिए । कोही किन बरबाद होस् ? नजिकै मुनक्का साहूको काजु, किसमिस र मुनक्का बिस्कुटको प्रसिद्ध पसल थियो । मानिसहरू त्यहाँ काजु किन्थे । रातीको रतिक्रीडापछि काजु र दूधको सेवनले बढ्ता शक्ति दिने मान्यता काजु किन्न सक्ने वर्गका परिवारमा प्रचलित थियो । सुवर्णभष्मको सेवन शक्ति सञ्चयको चरमोत्कर्ष मानिन्थ्यो । 

अहिले त्यस्तो केही छैन । सहरको सूचना केन्द्रका रूपमा स्थापित र संगठित पीपलको बोटको रूप फेरिइसकेको छ । केही अघिसम्म चौतारो खाली हुन्थ्यो । अहिले गोदाम भएको छ । बजार खुला भएपछि अखबारको बजार पनि खुला भएको छ । सन्देश गृहको एकाधिकार छैन अखबारको व्यापारमा । पार्किङ गरिएका मोटरसाइकलहरूले घेरिएको मानिसको भीड । धन्न, पीपलको रूख भएकै कारण यो रूखले समय र सम्झनाको छहारी बनेर अहिलेसम्म उभिन पाएको छ । टुँडिखेलको बीचमा रहेको ऐतिहासिक खरीको रूख, जहाँबाट ठूलठूला घोषणा भए, जस्तो नामेट भएको छैन । 

समय चेतना तीव्र छ काठमाडौँ सहरमा । १२ वैशाख ०७२ को भुइँचालोमा धरहरा ढाल्यो । तर, सहरका भित्री घर र घन्टाघरलाई केही भएन । रूपान्तरित हुने चेष्टामा रहेको सहरको प्रतीक भवन काष्ठमण्डप फेदैसम्म भत्कियो । मन्दिर, गुम्बा र दरबारहरू भत्किए । अब ती भग्न भइसकेका भवनहरूको निर्माण कसरी हुने हो ? अस्ति मात्रै ढोका टोलका नरेन्द्रमान गुभाजु भन्दै थिए, “क्षमापूजा नगरी पुन:निर्माण थाल्नै हुन्न । पूजापछि सामूहिक भोज खानैपर्छ । त्यसको व्यवस्था गुठीले गर्नुपर्छ ।” 

भुइँचालोभन्दा पनि डरलाग्दा बनेका छन् सहरका सडकहरू । यस्तो कहिल्यै थिएन काठमाडौँ । केही वर्षअघिसम्म सडक खाली खाली नै हुन्थे । तर, सडक जति खोलियो, सहर त्यति नै साँघुरियो ।

चल्तीको सडक एउटै थियो, सिनामंगल–रत्नपार्क । गौशाला–तीनधारा सडक प्राय: शून्य हुन्थ्यो । कम मानिस हिँड्थे यो बाटो । धोबीखोलाको पुल स्टिलले बनेको थियो । त्यो पुल रातो रङले सिँगारिएकाले रातो पुल नामले प्रचलित भयो । हाँडीगाउँ र चाबहिल जोड्ने पुल बनाउनेबित्तिकै भत्कियो । त्यसपछि त्यसको नाम रह्यो, भत्केको पुल । अहिले त्यो पुल बनिसकेको छ र पनि नाम उही छ, भत्केको पुल ।
भुइँचालोपछि कम्पिटिसन सुरु भएको छ । को कति अग्लो बन्ने ? काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा भयानक अग्लो, अजंगको व्यापारिक भवन बनाउँदै छ । उता धरहरा बनाउने पनि तयारी छ । वास्तवमा किन चाहिएका हुन् यी दुई अग्ला र अजंगका भवन ? कुनै तुक देखिँदैन । व्यापारिक भवनको सबभन्दा माथिल्लो तलाबाट हेर्दा धरहरा नै पुड्को देखिनेछ । भवन जतिसुकै भव्य भए पनि थप कुरा, जस्तै बाथरुम, काठमाडौँ सहरको चलन अनुसार नै त हुने होला, ‘ बाथरुम सुविधाका लागि दोस्रो लिफ्ट चढेर दसौँ तलमा जानुहोला ।’

सिलिगुडी–सिक्किम पहाडी राजमार्गका ठाउँठाउँमा लेखिएका भेटिन्छन्, ‘अगाडि सडक साँघुरो छ, आस्ते हाँक्नु होला ।’ के रहेछ यो आस्ते ? माथि ग्याङटोकमा एमजी रोड पुगेपछि थाहा भयो, त्यो त आहिस्ता शब्दलाई नेपालीकरण गरिएको रहेछ, ‘ओ, आस्ते है आस्ते ।’ सहरमा हिजोआज हर्न निषेध छ ।

बजाउनेले जरिवाना तिर्नुपर्छ । मारमा परेका छन्, स्कुटी चलाउने युवती । उनीहरू आस्ते त हाँक्नै जान्दैनन् । अलिकति मानिस देखे भने आत्तिन्छन् । आफू पनि लड्छन् र अरूलाई पनि लडाइदिन्छन् । त्यसपछि आफैँ रुन थाल्छन् । काठमाडौँमा धनी र गरिब दुवैथरीका लागि रुनुपर्ने कारण प्रशस्त छन् । ती कारण खोजिरहनु पर्दैन । सडकको के कुरा भो र ? मानिस पार्लियामेन्टमा रोइदिन्छन्, टेलिभिजनमा रोइदिन्छन । रुनु भनेको एक प्रकारको उन्मुक्ति पनि त हो ।

केही मानिसको कुरा छाडौँ । साधारण मानिसहरू कठपुतली बनेका छन्, सहरमा । अस्पतालको लाइन, शव दाहगृहको लाइन, औषधि पसलको लाइन, केमोथेरापीको लाइन, डायलासिसको लाइन । मानिस विभिन्न लाइनहरूमा विभाजित छ । एक छाक दाल–भातको लाइन छँदै छ । केटाकेटीको स्कुल । जागिर र जागिरसँगै आउने मानसिक तनाव । सहरमा एकथरी मानिस दयाको खानी बनेका छन् । उनीहरू सामान्य जनताको हितमा उपभोक्ता मञ्च चलाउँछन् । अनशन बस्छन् । पार्टी खोल्छन् । चुनाव लड्छन् । के तालका मानिस हुन् ? थाहा पाउन कसैले सक्दैन । जसरी काठमाडौँ सहरको आदि र अन्त्यको जानकारी कसैलाई छैन । कसरी बन्यो यो सहर ?

के आदि पुरुषको परिकल्पना यस्तै थियो ?

बितेका कुरामा रमाउनु मानिसको आदत हो । एडिक्सन । नयाँ पाएपछि पुरानो त सम्झना मात्र हो । मानिसका सारा प्रयत्न नयाँ गतिमा, नयाँ लयमा, नयाँ सिर्जनामा केन्द्रित रहेको छ । काठमाडौँ सहर परिवर्तनको खोजीमा छ, निरन्तर । यो साह्रै राम्रो कुरा हो । भन्नैपर्छ, हाम्रो गति अझै पनि इतिहासतिर केन्द्रित छ । भविष्य नयाँ बनाउने परिकल्पना सिसिफसको कथाजस्तो भएको छ । अब त यस्तो लाग्न थालेको छ : परिवर्तनको पनि धङधङी मात्रै बाँकी छ । काठमाडौँ आन्दोलन थियो । एक थोपा भए पनि यो आन्दोलन जारी रहेको छ । 

प्रकाशित: जेष्ठ २६, २०७४