नाटक कि नाटकघर ?

  • अब्बल नाटकको खोजीभन्दा क्षणिक लाभ र लहडमा नाटकघर खोल्ने प्रवृत्ति

- गोकर्ण गौतम

नौ वर्ष चलेर आरोहण गुरुकुल बन्द हुँदा राजधानीमा जम्मा एउटा नाटकघर थियो, सर्वनाम । त्यसपछि भटाभट चार नाटकघर खुले । सबैमा नियमित नाटक मञ्चन हुन थाल्यो । दर्शकको आगमन पनि बढ्यो तर दुर्भाग्य † चार नयाँमध्ये दुई नाटकघरले लामो आयु पाएनन् । लाजिम्पाटस्थित थिएटर भिलेज भत्किएको डेढ वर्ष भयो भने सुन्धारास्थित थिएटर मल जेठ दोस्रो सातादेखि बन्द छ । भन्नलाई दुवै फेरि खुल्छन् भनिएको छ । तर, कहिले र कहाँ ? टुंगो छैन । गुरुकुल भत्कँदा पनि त्यस्तै भनिएको थियो । खोइ, ६ वर्ष बित्यो । अत्तोपत्तो छैन । बरू गुरुकुलका जननी सुनील पोखरेल आफैँ नाट्यकर्मबाट बिदा हुने निष्कर्षमा पुगेका छन् । जबकि, यी तीनै नाटकघरमा दर्शकको चाप तुलनात्मक रूपमा बढोत्तरी हुँदै थियो । त्यसो भए किन टिक्न सकेनन् ? अनामनगरस्थित मण्डला थिएटरका कला निर्देशक राजन खतिवडा भन्छन्, “भिजनभन्दा भावनामा बगेर नाटकघर खुले । व्यावसायिक र दीर्घकालीन योजना बनाउन सकिएन । त्यसैले बन्द हुनु बाध्यता भइदियो ।” विद्यमान तीन नाटकघर पनि हराभरा अवस्थामा छैनन् । मण्डलाको सम्झौता सकिन ६ वर्ष बाँकी छ । त्यसपछि के होला, यसै भन्न सकिने अवस्था नभएको उनी स्वीकार्छन् । 

नाटक हेर्ने संस्कृति बढेकामा कसैको विमति छैन । कुनै समय पाँचवटै नाटकघर एकसाथ ‘हाउसफुल’ हुन्थे । तैपनि, भटाभट बन्द हुनुले एउटा सवाल पेचिलो बन्दै गइरहेको छ, अहिलेको आवश्यकता स्तरीय नाटक हो कि नाटकघर ? किनभने, हिजो गुरुकुल हुँदा नेपाली रंगमञ्च जति गतिशील थियो, त्यही अनुपातमा आज हुन नसकेको तीतो यथार्थ हो । नाटकघरको संरचना पनि गुरुकुलको भन्दा सुविधासम्पन्न र आधुनिक छैन । ६ वर्ष भयो, कुनै अन्तर्राष्ट्रिय नाट्य महोत्सव नभएको ।

नाटकसम्बन्धी अन्तक्र्रिया र बहसको अभ्यास हुन सकेको छैन । नाटक मञ्चन र अभिनय प्रशिक्षणमै रमाइरहेका छन् नाटकघर । भारतको नेसनल स्कुल अफ ड्रामा (एनएसडी)का पासआउट अनुप बरालको अनुभवमा नेपाली रंगकर्मीमा नाट्य चेतना र विकासका लागि आवश्यकीय पहल हुन सकेको छैन तर घर बनाउने चाहिँ लहड नै आएको छ । बौद्धिक खुराक भन्दा भौतिक संरचनामा केन्द्रित हुँदा परिणाम फलदायी हुन नसकेको हो । एक्टर्स स्टुडियोका संस्थापक अनुप भन्छन्, “नाटकघर त ओत लाग्ने ठाउँ मात्र हो । खासमा त नाटक नै स्तरीय बनाउनु पर्छ । त्यसमाथि व्यावसायिक दक्षताबिना त नाटकघर खोल्नुको अर्थ छैन ।” 

अनुप एनएसडीबाट फर्किएको दुई दशक बित्यो । उतिबेलाबाटै सबैले नाटकघर कहिले खोल्ने भनेर सोध्थे, उनी आफैँलाई पनि मन थियो । उनीभन्दा अगाडिका एनएसडी पास आउट सुनीलले गुरुकुल र उनीभन्दा पछिका विमल सुवेदीले थियटर भिलेज खोले । तर, अनुपले अहिलेसम्म खोलेका छैनन् । किन त ? भन्छन्, “काठमाडौँमा आफ्नो जग्गा थिएन, भाडामा लिएर खोल्दा भत्काउनुपर्छ । र, त्यसले निराशा मात्र जगाउँछ भन्ने हेक्का थियो । त्यसैले हतारिनँ ।” तर, यसको मतलब अनुप निष्क्रिय रहे भन्ने होइन । एक्टर्स स्टुडियोमार्फत उनले नाटक मञ्चन गरे र दर्जनौँ कलाकार जन्माए पनि । काठमाडौँका नाटकघरमा भाडा लिएरै नाटक देखाएका छन् उनले । जस्तो : थिएटर भिलेजमा कोर्ट मार्सल, सर्वनाममा ओह † स्टार दुनियाँ अनि शिल्पीमा थाङला आदि । अबचाहिँ उनी पोखरा नदीपुरस्थित आफ्नै जग्गामा नाटकघर खोल्ने गृहकार्यमा जुटेका छन् । काठमाडौँका नाटकघरका हबिगत र नाटकलाई विकेन्द्रीकरण गर्न पनि पोखरातिर लहसिएका हुन् सायद । 

हामीकहाँ विडम्बना के छ भने जति पनि नाट्य समूह र केही वर्ष काम गरेका रंगकर्मी छन्, ती सबैलाई आफ्नै नाटकघर चाहिएको छ । मण्डलाका राजनकै शब्दमा पहिचानको समस्या जस्तो भइदिएको छ । दुई वर्षलाई जग्गा भाडामा पायो र १५–२० लाख रुपियाँ बन्दोबस्त भयो भने नाटकघर खोल्ने हुटहुटी पलाइहाल्छ, दीर्घकालीन सुझबुझबिनै । शिल्पी थिएटरका संस्थापक सदस्य घिमिरे युवराज क्षणिक लाभ र लहडमा नाटकघर खोल्ने प्रवृत्ति बढ्नु दु:खद रहेको बताउँछन् किनभने नाटकघर बनाउनभन्दा चलाउन मुस्किल पर्छ । उनको अनुभवले यही भन्छ । तर, धमाधम नाटकघर बन्द हुनुले नाटक र नाट्यकर्मीको साख गुम्छ । 

धेरैले ख्याल नगरेको अर्को तथ्य के छ भने मारामार नाटक चल्दा पनि नाटकघर बचाउन गाह्रो पर्छ । जस्तो : अहिले भएका नाटकघरको सिट संख्या दुई सयको हाराहारी छ । एक महिना पूरै भरिँदा पनि दर्शक संख्या ६ हजारमा सीमित हुन्छन् । अभिनय र निर्देशनमा चिनिएका राजन भन्छन्, “अनि, त्यसमै दंग हुुनुपर्छ हामी । जबकि, रिहर्सल र सो गर्दाको खाजा खर्च, हल भाडा, सेटको खर्च पनि उठ्न धौधौ पर्छ ।” यथार्थ पनि यही हो कि नेपाली रंगमञ्च जति व्यावसायिक भयो भनेर प्रचार गरिएको छ, त्यति हुन सकेको छैन । 

तर, नाटकघर खोल्नेको आफ्नै व्यथा छ । थिएटर मलको बिदाइ कार्यक्रममा यसका कला निर्देशक केदार श्रेष्ठ दुखेसो पोख्दै थिए, ‘हामीलाई नाटकघर खोल्ने कुनै रहर थिएन तर चाहेजस्तो काम देखाउने ठाउँ पाएनौँ । सिर्जनात्मक व्यवधानको सामना गर्नुपर्‍यो ।’ जस्तो :

कमलादीस्थित प्रज्ञा भवन र जमलस्थित सांस्कृतिक संस्थानमा एक त प्रतिदिनकै भाडा ४० हजार रुपियाँ छ, अर्कोतिर ती भवन नाटकमैत्री पनि छैनन् । अर्को तीतो–सत्यचाहिँ सक्रिय रहेका युवाकर्मीबीचको समन्वय र समझदारीमा खडेरी छ । अर्काको नाटकघरमा नाटक देखाउन गाह्रो मान्छन् । विधागतभन्दा प्रवृत्तिगत गुटबन्दी छ । 

“अग्रजहरूले अपेक्षाकृत समन्वयकारी भूमिका खेलिरहेको अवस्था छैन । हाम्रो समकालीनबाट नेतृत्व गर्ने कोही भएनन्,” आरोहण गुरुकुलबाट दीक्षित घिमिरे भन्छन्, “तर, अब हामीबीच सहकार्य नभई सुखै छैन । हिजोको प्रतिशोधको अब अन्त्य हुनुपर्छ ।” त्यसका केही सकारात्मक बाछिटा भने देखा परिरहेका छन् । जस्तो : शिल्पीमा केही समयअगाडि सुनील पोखरेलले मिडनाइट समर ड्रिम मञ्चन गरेका थिए । त्यस्तै, यतिबेला त्यहाँ मञ्चन भइरहेको नाटक अनि देउराली रुन्छ सहकार्यकै प्रतिफल हो । मण्डलामै पनि बाहिरका नाट्य समूहका ज्यानमाया, दाँतको डोब, ऊ कसको, एक बोली एक दाम, लू, जयमाया आफूमात्र लिखापानी आइपुगी लगायतका नाटक मञ्चन भए । यी दुवै नाटकघरमा प्रति सो आठ हजार रुपियाँ भाडा तिर्नुपर्छ । ङ, एक्टर्स स्टुडियो, शैली, ज्ञ लगायतका नाट्य समूह नाटक मञ्चनमा अगाडि छन् । 

पुराना रंगकर्मी अशेष मल्ल पनि नाटकघर खोल्न हतारिएर मात्र उपलब्धि नहुने धारणा राख्छन् । भन्छन्, “जस्तो ठाउँ उपलब्ध छ, त्यही अनुसार नाटक गर्न सक्नुपर्छ । नाटकघरकै कारण रोकिनु हुन्न ।” उनी भारतका विख्यात नाट्यकर्मी बादल सरकारले नाटकघर नहुँदा आँगनमा नाटक गरेर छलाङ मारेको उदाहरण दिन्छन् । र, आफ्नो नाटकघर सर्वनाम सधैँ सबैका लागि खुला रहेको बताउँछन् । तर, थिएटर भिलेजका कला निर्देशक विमल सुवेदीका भनाइमा चाहिँ नाटकघर भनेको नाटक देखाउने ठाउँमा मात्र सीमित हुन्न । त्यहाँ आफ्नो समूहको सपना पनि जोडिएको हुन्छ । आफ्नो रोजाइ अनुसारका विषय र विधाका नाटक देखाउन पाइन्छ । “हो, हाम्रो नाटकघरको व्यवस्थापन बलियो हुन सकेको छैन । यसबाट पाठ सिक्ने हो,” प्रयोगात्मक नाटकमा रुचि राख्ने विमल भन्छन्, “तर, नाटकघर नै नखोल्ने भन्ने होइन । किनभने, नेपाली रंगमञ्चको विकासका लागि अब्बल नाटक र सुविधासम्पन्न नाटकघर दुवै आवश्यक छ ।” 

नाटक कला–संस्कृतिको वाहक र समाजको प्रतिविम्ब मानिन्छ । संसारमा नाटकको विकासमा सरकार र व्यावसायिक घरानाले अनुदान दिन्छन् । दर्शकबाट उठेकै पैसाबाट रंगमञ्च कहीँ टिकेको उदाहरण छैन । तर, हामीकहाँ न राज्यले नाटकलाई गम्भीर रूपमा लिएको छ, न निजी क्षेत्रले यसको महत्त्व बुझेको छ । नेपाली रंगमञ्चले जति प्रगति गरेको छ, त्यो सबै व्यक्तिगत प्रयासकै प्रतिफल हो । त्यसैले अब अझ सशक्त सामूहिक भावनाको विकास हुनुपर्ने बेला आएको रंगकर्मीहरू बताउँछन् । शिल्पीका घिमिरे भन्छन्, “तत्कालका लागि नयाँ थिएटर बनाउनुभन्दा भइरहेका थिएटरलाई दीर्घकालीन बनाउनु जरुरी छ ।” 

प्रकाशित: जेष्ठ २६, २०७४