तिब्बती शरणार्थीलाई हेर्ने तेस्रो आँखा

  • विश्व भू–राजनीतिमा प्राय: बहसको विषय बन्ने तिब्बती शरणार्थीलाई हेर्ने मानवीय दृष्टि पस्केका छन्, श्रीभक्त खनालले अप्ठ्यारो बाटो पुस्तकमा ।

- मनबहादुर बस्नेत

जब अंग्रेजी क्यालेन्डरमा १० मार्च र १३ फेब्रुअरी नजिकिन्छ, तब नेपालको कान ठाडो हुन्छ । सुरक्षा सतर्कता बढाइन्छ । गुम्बाहरूमा विशेष निगरानी राखिन्छ । बौद्ध, स्वयम्भूजस्ता ठाउँमा बर्दीधारी प्रहरीको उपस्थिति अन्य बेलाभन्दा बाक्लो हुन्छ । उत्तरी नाकामा कडाइ हुन्छ । नेपालमा निर्वासित जीवन बिताइरहेका तिब्बतीहरूले ‘ एक चीन’विरुद्ध प्रदर्शन गर्लान् र उत्तरी छिमेकी एवं विश्व महाशक्ति बन्ने प्रयत्न गरिरहेको चीनसँगको सम्बन्ध असन्तुलित बन्ला भनेर नेपाल ‘ फ्रि तिब्बत’का दिन बढी नै सतर्क हुन्छ । १० मार्चलाई तिब्बत विद्रोह दिवस र १३ फेब्रुअरीलाई तिब्बत स्वतन्त्रता घोषणाको दिन मान्छन्, तिब्बतीहरू । महत्त्वपूर्ण राजनीतिक अर्थ राख्ने दिन भएकाले यस बेला नेपाल मात्रै होइन, विश्वकै ध्यान तिब्बतीहरूतिर हुन्छ । अझ सन् २०१३ मा काठमाडौँको बौद्धनाथमा एक जना २० वर्षीय भिक्षुले आत्मदाह गरेपछि यो विश्वभर ‘हाइप’ बन्यो । 

विश्व भू–राजनीतिमा प्राय: बहसको विषय बन्ने तिब्बती शरणार्थीलाई हेर्ने मानवीय दृष्टि पस्केका छन्, श्रीभक्त खनालले अप्ठ्यारो बाटो पुस्तकमा । तिब्बती शरणार्थीहरू विश्वभर छरिएका भए पनि नेपालमा रहेकाहरूलाई मात्रै पुस्तकले समेटेको छ । पुस्तकमा शरणार्थीका कारुणिक कथा प्रशस्त छन् । नागरिक र अनागरिक हुनुबीचको पीडादायी भिन्नता के हुन्छ भनेर पुस्तकले प्रस्ट पार्छ । राज्य जोगाउन वा हडप्न र पहिचानका लागि यस्तै पीडादायी परिणतिका कारण विश्व भू–राजनीतिले ठूलठूला नरसंहार निम्त्याउँछन् । राज्यविहीनताको अवस्थाबाट गुज्रनुपर्दा कस्ता दु:ख सहनुपर्छ भन्ने कथा त छ नै, गाँसैमा आएका अवसर कसरी हुत्तिन्छन् र जीवन अकल्पनीय अन्धकारतिर बतासिन्छ भन्ने फेहरिस्त छन्, पुस्तकमा । आफन्तजन, जीवनसंगिनी र सन्तति तिब्बतमै छुटेको, शरणार्थी श्रीमान् मातृभूमि फर्कन नसकेको र आफ्नी छोरी भोकै मरेको खबर आश्रय भूमिमै सुनेका जस्ता कुरा बिझाउने खालका मात्र छैनन्, खिलसरी गढ्ने किसिमका छन् । 

तिब्बती शरणार्थीलाई हेर्ने दृष्टि एकांगी भएको पुस्तकमा लेखिएका मर्मभेद्य कुराहरूबाट थाहा पाइन्छ । दारुण अवस्थामा उनीहरूले नेपालका शरणार्थी क्याम्पहरूमा जीवन गुजारा गरेका छन् । कतिपय परिचयहीन छन् । कतिको जन्मदर्ता छैन । त्यही कारण कतिले पढ्न पाएका छैनन् । पढेकाले जागिर पाएका छैनन् । ग्युर्मोले लाखौँ रुपियाँ खर्चेर एमबीबीएस पढ्छन् । तर, नागरिकता नभएकाले चिकित्सकीय अनुमतिपत्र (अस्थायी लाइसेन्स) पाउन सक्दैनन् र अन्तत: ७० कटेका बा–आमालाई लमजुङको शरणार्थी क्याम्पमै छोडेर युरोप पुग्छन् पढेको खर्च तिर्न । पहिले समेत भेटेकाले युरोप भासिएको कथा लेखकसँग भन्नुपर्ने हो, ग्युर्मोले । तर, पीडा उप्काउन चाहँदैनन् । अनिहृदयविदारक शैलीमा लेखक भन्छन्, ‘पहिले मसँग कुरा गर्दा उसका आँखा टलपलाएका थिए । कुरा गर्न पाएको भए यसपालि आँसु नै झथ्र्यो होला ।’ कतिसम्म भने एक जना शरणार्थीले त लेखकलाई भन्छन्, ‘दाइ यो फोटो तपाईं लैजानोस् । अब म ठूलो भएँ । हेर्न सक्दिनँ । पीडा हुन्छ ।’ परिचयविहीन शरणार्थी भूकम्पको राहत पाउनबाट नागरिकताको अभावमा वञ्चित रहे । रसुवाका भूकम्पपीडित शरणार्थीलाई राहत लिन प्रहरीले नागरिकता मागेपछि उनीहरूले एक बोरा चामलबाहेक थप सहयोग पाएनन् । बडो गहिरो विभेदको सन्देश छ, यसमा । 

यस्ता कथा र पात्रहरूसँगसँगै लेखकले पाठकलाई तिब्बती शरणार्थी क्याम्पहरूतिर लैजान्छन् । संस्मरणात्मक शैलीमा लेखिएको पुस्तक पढ्दा क्याम्पमा पुगिन्छ । उनीहरूको दु:खमा एकाकार हौँ जस्तो बनाउन सफल छ, पुस्तक । शरणार्थीका रूपमा नेपाल छिर्दा उनीहरूले पैसा, गरगहना होइन कि पशुधनजस्ता चल सम्पत्ति बोकेर ल्याएका थिए । बोकेर भाग्न अति कठिन गह्रौँ चीज ल्याएको कुरा पुस्तकले सम्झाउँदा शरणार्थीको इतिहास आफैँ बोल्छ, वस्तु विनिमय प्रणालीको समाजदेखि उनीहरू यो कालसम्म नै शरणार्थी छन् । शरणार्थीहरूको सास्तीको इतिहास कति लामो भइसकेछ भन्ने सम्झाउन यसभन्दा सटीक उदाहरण अरू हुन सक्दैन । तिब्बती शरणार्थीको आयु केलाउन औँला भाँच्नै पर्दैन । 

‘अमेरिकामा तालिम’ शीर्षकमा गें टासीसँगको कुराकानी छ । टासीले तिब्बतविरुद्ध लड्न अमेरिकामा तालिम लिन गएको बताएका छन् । तिब्बतलाई चीनदेखि अलग्याउन अमेरिकाले चलाखीपूर्ण तवरमा तिब्बतीहरूलाई उपयोग गरेको ‘ओपन सेक्रेट’ माथिको बयान हो, यो । पुस्तकमा टासी अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी ( सीआईए)मा तालिम लिएर र नेपालमा बस्ने एक मात्र जीवित पात्र हुन सक्ने बताइएको छ । त्यस हिसाबले उनीसँग अझै बढी महत्त्वपूर्ण स्मरण हुन सक्थे । तर, ऐतिहासिक कुरा विस्तृतमा खोतल्न सकिएको छैन । नक्सा हेर्ने, कम्पास प्रयोग गर्ने र अत्याधुनिक हतियार चलाउन २६ जनालाई सीआईएले सिकाएको मात्र उल्लेख छ । 

अत्यावश्यक वस्तुको सहयोगका नाममा सीआईएले अत्याधुनिक हतियार तिब्बतीहरूलाई आपूर्ति गरेका महत्त्वपूर्ण तथ्यले पुस्तकलाई गहकिलो बनाएको छ । अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले अत्यावश्यक मानवीय सामग्री सहयोगको आवरणमा युद्धका बन्दोबस्ती सामान आपूर्ति गरिएका कुरा अर्थपूर्ण छन् । अमेरिकी सहयोग नियोग (यूएसएड)ले खाद्यान्नसँगै हतियार ओसारेको बयान पढ्न पाइन्छ, पुस्तकमा । यी दूरगामी असर पार्ने विषय हुन् । सन् १९५९ देखि १९७४ सम्म भएको यो युद्धमा सीआईएले सहयोग गरेको थियो । 

प्राय: क्याम्पमा शरणार्थीको संख्या बढेको देखिए पनि ढोरपाटन, रसुवा, मुस्ताङका क्याम्पमा भने घटेको छ । अन्यत्र जनसंख्या बढ्दा यहाँ किन घट्यो ? उत्तर पुस्तकमा पाइन्न । सायद, भूगोलको कारण हो वा अवसरका खोजीमा ती शरणार्थी अन्यत्र लागे कि ? पाठकलाई अनुमान लगाउने 
झन्झट दिइएको छ । 

एउटा तथ्य भने उल्टो परेको छ । ‘नागरिकता’ शीर्षकमा कस्ता शरणार्थीले अंगीकृत नागरिकता पाए भन्ने प्रसंग छ । पुस्तकमा आर्थिक हिनामिनाको आरोपमा खम्पा विद्रोहका नेता गेँ वाङ्दीलाई नेतृत्वबाट हटाएर गेँ यासीलाई ल्याएको उल्लेख छ । तर, यासीलाई उक्त आरोपमा हटाएर वाङ्दीलाई ल्याइएको हो । त्यसपछि वाङ्दी र यासी दुईवटा समूहमा विभाजित भएका थिए, खम्पा विद्रोहीका रूपमा । 

नेपालले यो विद्रोह दबाउने योजना ल्याएपछि यासी समूहले आत्मसमर्पण गर्‍यो र उनीहरूले अंगीकृत नागरिकता पाए । तर, वाङ्दी समूहले आत्मसमर्पण गर्न मानेन । वाङ्दी मुस्ताङ, डोल्पा हुँदै भागेर भारत जान खोज्दा तत्कालीन शाही नेपाली सेनाले थापेको एम्बुसमा परी मारिएको पुस्तकमा उल्लेख छ । तर, मारिएको मिति छैन । साथै उक्त एम्बुस आत्मसमर्पण गर्न नमान्ने तिब्बती शरणार्थीलाई तह लगाउन थापिएको हो वा अन्य उद्देश्यका लागि ? यसको उत्तर पुस्तकको पछिल्लो भागमा मात्रै भेटिन्छ । क्रम नमिलाइएकाले पाठकले खम्पा विद्रोहीलाई निशस्त्र बनाउनै एम्बुस थापिएको निकै ढिलो मात्र चाल पाउँछन् । पाठकलाई अलमल्याउनु राम्रो पुस्तकको गुण हुँदै होइन । 

पुस्तकको अन्तिममा पुगेपछि सन्दर्भ सामग्रीका रूपमा अरूका पुस्तकहरू बेसी नै साभार गरिएको छ, साभार गरेको खण्ड र लेखक आफैँले लेखेको खण्ड छुट्याउन मुस्किल पर्ने गरी । इन्भर्टेड कमा, छुट्टै फन्ट, बोल्ड, इटालिकको प्रयोग नगर्दा यी कुरामा पाठक अलमलिन्छन् । कतिपय ठाउँमा त सिंगो शीर्षक नै साभार भएको जस्तो लाग्छ । लेखकको मूल कुरा सिला खोजेझैँ खोज्दा पनि भेटिँदैन । जस्तो ‘भुइँचालो’ शीर्षकमा मोहन मैनालीको डकुमेन्ट्रीबाट साभार गरिएको हो वा लेखकको भोगाइ, दृष्टिकोण पनि मिसिएको छ छुट्याउन सकिँदैन । यी प्राविधिक गल्ती मात्रै भनेर पन्छिन मिल्दैन । 

पुस्तकमा कतिपय असान्दर्भिक प्रसंग पनि परेका छन् । ‘सुरक्षामा नेपाली’ शीर्षकमा संखुवासभा जाँदाको प्रसंग तिब्बत प्रकरणसँग जोडिँदैन । भ्रमण विवरण दिएर किताब अनावश्यक लामो बनाइएको छ । कतिपय फुटनोट वा सन्दर्भ सामग्रीमा सीमित गर्नुपर्ने कुराहरू लेखकले मूल अंशमै राखेका छन् । ‘ अमेरिकी चासो’ भन्ने शीर्षकले गहन कुरा आउने अनुमान लगाइन्छ । किनभने, तिब्बत मामिलामा अमेरिकाको चासो चीनलाई विश्व महाशक्ति हुनबाट रोक्ने एउटा कडीसमेत हो । तर, यसमा गुदी केही भेटिन्न । 

हुन त पुस्तक राजनीतिक विषयवस्तुप्रति केन्द्रित छैन भनेर लेखकले पेटबोलीमै भनेका छन् । तर, शक्तिकेन्द्रहरूको लडाइँका कारण कसरी सामान्यजनलाई समेत राजनीतिमा तान्छ भन्ने सन्देश पुस्तक पढेपछि पाइन्छ । राजनीतिक लडाइँकै सहउत्पादन हो, शरणार्थी समस्या । अमेरिकाले कसरी भूगोलविहीन तिब्बतीलाई आफ्नो स्वार्थ जोगाउन उचालिरहेको छ भन्ने चित्रणले तिब्बतीहरूले समेत सोच्ने दिन आएको हो कि भन्ने संकेत गर्छ । 

यो पुस्तक किन पनि अनुभवजन्य छ भने जीवनमा सजिलो खोज्दै लेखक स्वयं परदेशिएका छन् । फरक यत्ति हो, लेखक मन लागे उतै बस्न सक्छन्, नलागे आफ्नो भूमिमा फर्कन सक्छन् । उनीसँग पहिचान छ, परिचय छ । तर, शरणार्थीहरू बन्धनमा छन् । अनुभवजन्य यो तुलनाले भक्कानो फुटाउँछ, पाठकको । यति चाहिँ ठोकुवा गर्न सकिन्छ, तिब्बती शरणार्थीहरू राजनीतिक स्वार्थका लागि मात्रै प्रयोग भएका छैनन्, अवैध गतिविधिमा मात्रै संलग्न छैनन् । उनीहरूका दु:खको पर्खाल हामीले कल्पना गरेभन्दा धेरै ठूलो छ । ग्रेटवालभन्दा पनि लामो, जसको समाधान नगरिए नेपालसमेत समस्याको चंगुलमा पर्छ । 

मानिसलाई सुखी राख्ने सूत्र लेखकले आफ्ना बा र दलाई लामामा देखेका छन् । यसको सन्देश शक्तिशाली छ । सबै धर्म, जात, वर्गका मानिसमा करुणा, अरूको भलाइको भाव हुने चेत भएमा संसारमा हार्ने र जित्ने केही रहँदैन भनेर लेखकले निष्कर्ष निकालेका छन् । तर, सामान्यजन शरणार्थीको जीवन भने सधैँ हारिरहेको छ, आश्रयभूमिमा । 

अप्ठ्यारो बाटो
तिब्बती शरणार्थीको संघर्ष–कथा
लेखक    :    श्रीभक्त खनाल
प्रकाशक    :    सांग्रिला बुक्स
पृष्ठ    :    २१८
मूल्य    :    ३५० रुपियाँ

प्रकाशित: जेष्ठ २६, २०७४