[स्मरण] मलाउन गढीमा पुर्खाको वीरता

  • काँगडामा पहिलो गोर्खा राइफल बस्न पुग्दा मेरा पूर्वज त्यहाँ गएका थिए ।

- खड्गजीत बराल

पृथ्वीनारायण शाहद्वारा राज्य एकीकरण गरिसकेपछि पूर्व–पश्चिम राज्य विस्तार गर्ने क्रममा विभिन्न सैनिक कमान्डर तोकिए । पश्चिम रुद्रपुर गढीको सैनिक कमान्डरमा मेरा पुर्खा शंखशूर बराल सामेल भए । त्यसै गरी, विशाल नेपाल अभियान अन्तर्गत भक्ति थापाको नेतृत्वको फौज तत्कालीन मलाउन गढीलाई सैनिक अड्डा बनाई जम्मु (हाल : जम्मु–कश्मीर) राज्यको राबी/ताबी नदीसम्म पुगेको थियो । त्यस फौजमा हाम्रै जिजुहजुरबुबा रामवीर बरालले सहभागिता जनाएका थिए । तर, इतिहासमा गोर्खाली सेना सतलजको गढीसम्म पुगेको भनेर लेखियो । अहिले त्यही साँचो भयो । त्यही इतिहास मानियो ।

सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धमा गोर्खाली सेनाको चतुर्‍याइँ र बहादुरीपूर्ण युद्ध कौशललाई अंग्रेज अर्थात् तत्कालीन इस्ट इन्डिया कम्पनीका सरोकारवाला निकायले नजिकबाट नियालेका थिए ।

उनीहरूले मोरङ, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउ, नाहन, जैथोक, मलाउन, देउथल तथा नालापानीमा आक्रमण गरेका थिए । तालिमप्राप्त सैनिकको अभावका बाबजुद नेपाली फौजले पाल्पा, मकवानपुरजस्ता ठाउँमा बहादुरीपूर्वक लडेर विजय हासिल गरेको थियो । सायद त्यसैले सन् १८१६ मा पहिलो पटक गोर्खा पल्टन खडा गरेर गोर्खाली फौजलाई अंग्रेज सेनामा आउन आह् वान गरिएको थियो । त्यति बेलादेखि नै मेरा पुर्खा पनि त्यस फौजमा सरिक भएका थिए ।
 
अन्तिम एङ्ग्लो गोर्खा युद्धमा अंग्रेज जनरल गिलेस्पी मारिएपछि गोर्खाली फौजको नाम अझ चम्किएको थियो । जनरल अक्टरलोनी, मार्ले र वुडका साथै गिलेस्पीले नेपाली फौजका बारेमा धेरै प्रशंसा गरेकाले गोर्खाली फौजको बहादुरी र रण–कौशल अंग्रेजहरूबीच विशेष चर्चामा आएको हो । गिलेस्पी स्वयं गोर्खाली फौजबाट मारिएपछि गोर्खा फौजको बहादुरी र रण–कौशलबारे खास चर्चा चुलिएको थियो ।

तर, नैतिक बल कमजोर भएपछि जितेको क्षेत्र पनि हारेजस्तै हुँदो रहेछ । विजयी मन र ऊर्जा भर्ने काम तत्कालीन नेपाल दरबारका शासक वर्गबाट हुन सकेन । काँगडाको घटनाले त्यस्तै देखाउँछ । काँगडाका स्थानीयवासीले गोर्खाली फौजलाई असहयोग गर्नुको मुख्य कारण काँगडामा रसदपानीको समस्या पर्न थालेपछि गोर्खाली फौजले स्थानीय जनतासँग बेलुका दूध माग्ने र बिहान दही देऊ भन्न जाने स्थितिमा पुगेकाले थियो । बेलुका दूध खाइदिएपछि बिहान कहाँबाट दही दिऊन् ? त्यति पनि हेक्का राख्न नसक्ने अवस्थामा पुगेपछि स्थानीयवासीको असहयोग गोर्खाली फौजले बेहोरेको थियो । नालापानीको किल्लामा पानीको स्रोतमा हमला बोले । मलाउन गढीमा उत्तरदेखि हमला गरे सहजै विजय हासिल गर्न सकिन्छ भनेर त्यहाँ हमला गरे । 

काँगडाका डोगरा राजा संसार चन्दलाई नेपाली फौजले परास्त गर्न लागेको थाहा पाएपछि पन्जाबका शिख राजा रन्जित सिंहको सहयोग पुगेपछि गोर्खाली फौज त्यहाँबाट परास्त हुनुपरेको थियो । पछि गोर्खाली फौजको बहादुरी देखेर नै शिख राजाको फौजमा गोर्खाली फौजलाई स्वागत गरिएको थियो । पछि शिख पल्टनको उच्च ओहदामा गोर्खालीहरू पनि पुग्न सफल भए । शिख सेनाको कश्मीर–अफगानिस्तानसम्मको विजय अभियानमा तिनै गोर्खालीले सहयोग गरे, अग्रणी भूमिका निर्वाह गरे । 
मलाउनको हारपछि गोर्खाली सैनिक स्वदेश फर्किने वातावरण नै बनेन । तर, गोर्खाली सैनिकको वीरता देखेर अंग्रेजहरूले आफ्नो फौजमा सम्मिलित गराए । त्यसरी सुरु भएको अंग्रेज सेनामा गोर्खालीहरूको सैनिक सम्बद्धता हालसम्म निरन्तर छ । पछि आएर (सन् १८५७ मा) भारतको प्रथम स्वतन्त्रता विद्रोह, जसलाई सिपाही विद्रोह अर्थात् गदर पनि भनिन्छ, मा पराजय भोगेको इस्ट इन्डिया कम्पनीलाई त्यही गोर्खाली फौजले मद्दत नगरेको भए उसले गुमाएको दिल्ली पुन: फिर्ता पाउन असम्भव थियो । इतिहासको यो गुन उसले बिर्सिनु हुँदैन ।

तर, यति सबैका बाबजुद पनि अंग्रेजसँगको युद्ध सुगौली सन्धिमा गएर टुंगियो । पूर्वी पाल्पाको देउचुली पहाडको काखमा रहेको चुलीबोझाका ती पुर्खाले लडेको वीरताको गाथा अवश्य पनि प्रशंसनीय छ । मेरा जिजुहजुरबुबाले भक्ति थापाको फौजमा सरिक भएर लडाइँ गर्ने क्रममा अनुभव गरेको त्यो वीरता मेरा लागि पनि जीवनको एउटा मार्गदर्शक बनेको छ, जसलाई आजपर्यन्त म पनि पछ्याइरहेको छु । मेरो आफ्नै हजुरबुबा ब्रिटिस भारतीय सेनामा आबद्ध हुनुहुन्थ्यो । काँगडामा पहिलो गोर्खा राइफल बस्न पुग्दा मेरा पूर्वज त्यहाँ गएका थिए ।

ब्रिटिस इन्डियन आर्मीमा मेरो हजुरबुबाले महत्त्वपूर्ण सफलता पाउनुभएको थियो । हजुरबुबा लन्डनस्थित बकिंगम प्यालेसमा गई रानी भिक्टोरियाको एडीसी भएर काम गर्नुभयो । ६ वर्षसम्म उहाँले बकिंगम प्यालेसमा बसेर काम गर्नुभयो । बुबा पनि ब्रिटिस इन्डियन आर्मीमै हुनुहुन्थ्यो । उहाँ कप्तान हुनुहुन्थ्यो ।

(बराल नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हुन् ।)

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: जेष्ठ २४, २०७४