वैदिक साम्यवाद

  • शैक्षिक र सामाजिक जागरणको उद्गम थलो

- राजकुमार बानियाँ

देवघाटधाम (तनहुँ) ।। नि :शुल्क भोजन, नि:शुल्क आवास, नि:शुल्क शिक्षा, नि:शुल्क उपचार । 

यो कुनै कम्युनिस्ट पार्टीको नारा होइन । दार्शनिक कार्ल माक्र्सको परिकल्पना पनि होइन । बरू प्रसिद्ध धार्मिकस्थल देवघाटधामस्थित गलेश्वर आश्रमको यथार्थ हो । साँझ–बिहान देवघाट टेकेका पाहुना या पर्यटक भोकै पर्दैनन् । उनीहरूका लागि सात्विक भोजन हाजिर छ । 

नेपालकै आधिकारिक स्थायी अन्नक्षेत्र हो, देवघाट । यसका लागि कसैले कसैलाई चिन्नु आवश्यक छैन । यहाँ भोकाएकालाई खाना छ, तिर्खालुलाई पानी छ, छाना नभएकालाई बास छ अनि बिरामीका लागि धर्मार्थ औषधालयमा उपचार । 

“गलेश्वर आश्रममा नियमित तीन सय जनालाई खाना पाक्छ,” आश्रमका कार्यालय सचिव महेन्द्रराज प्याकुरेल भन्छन्, “१०–१५ जना बढ्दा चामल र दालमा पानी थपेको छैन ।” विशेष अवसरमा सिंगो देवघाटबासीकै निम्ति भण्डारा पनि लाग्छ । 

‘विद्या नभए काशी जानू’ भन्ने लोक आहान बदलिएको छ, ‘विद्या नभए देवघाट जानू ।’ यहाँका चार गुरुकुलले त्यसलाई सार्थक पारिदिएका छन् । गुरुकुलहरू देख्दामा आधुनिक छन् तर ब्रह्मचारी वटुकहरू ठ्याक्कै प्राचीन जीवनशैली बिताउँछन् । बिहान ४ बजेदेखि राती १० बजेसम्म उनीहरू घन्टीकै सुरतालमा नाचिरहेका हुन्छन् । त्यसैले त नेपालको काशी !
 
यहाँका कतिपय दृश्यले भारतीय तीर्थस्थल हरिद्वार र ऋषिकेशको झझल्को दिलाइदिन्छन् । नित्य पूजाआजा, योग, ऋचा–मन्त्र, कथा प्रवचन, स्वाध्याय, सत्संग, सन्ध्या वन्दना । जताततै शिखर शैलीका मन्दिर अनि आश्रम, जताततै भक्त–भक्तिनीहरू । पाइलैपिच्छे जटाधारी, गेरुवस्त्रधारी, ज्ञानी, साधु–सन्त–सन्न्यासी, माईआमाहरूसँग जम्काभेट हुन्छ । 

देवघाट क्षेत्रमा ‘ह्यान्डसेक–हाई–हेलो’ दुर्लभ छन् । जिन्स प्यान्ट त यहाँ नौलो फेसन लाग्छ । लम्बेतान टुपी पालेका, धोती बेरेका, तीनधर्के चन्दन लगाएका, रामनामी ओढेकाकै बोलवाला छ । ‘प्रभुको प्यार’मा रमाएका उनीहरूको सम्बोधनको शैली पनि बेग्लै छ, नारायण, हरिओम, राधेश्याम, रामराम, हरिहरि, हरिओम विष्णु, ओम नम: शिवाय । शैव, कृष्ण प्रणामी, रामानुज, साईभक्त र वैष्णवहरू आ–आफ्नै शैलीमा अभिवादन गर्छन्– नारायण, प्रेमीजी, राधेराधे, सीताराम आदि इत्यादि ।

मुग्लिन–नारायणगढ सडकको आँपटारीबाट देवघाट गेट लागेपछि साँच्चै वैदिक साम्यवादमा प्रवेश गरेजस्तो लाग्छ । यहाँ कुनै झैझगडा छैन । मात्र भगवान्को आराधना छ । स्वर्गको स्वर्णढोका खोल्ने आकांक्षा छ सबैमा । जतिसुकै धमिलो पानी होस्, कालीगण्डकी र सप्तगण्डकीको संगमस्थल नौगंगामा डुबुल्की मार्न भक्तजनलाई संकोच छैन । बरू बोतलमा पानी उघाएर घर लैजान उत्सुक हुन्छन् । एक प्रकारले सांसारिक रीतिको चञ्चल मन विसर्जन हुन जान्छ ।

यहाँ पर्व र मेला लाग्छ अचानक । लुम्बिनी मेला होस् कि गढीमाई । पशुपतिको होस् या साउने सोमबारको मेला, थाहा नपाई लाग्छ । देवघाटबासी त्यसमै रंगिइहाल्छन् । यहाँको दीर्घायु कस्तो छ भने सय उमेर काटेका थुप्रै भेटिन्छन् । तीमध्ये एक हुन्, वन बाबा । हेर्दा ७५ कटेका लाग्ने वन बाबा उमेर नपत्याएकाले १ साउन १९७१ कायम भएको नागरिकता गोजीमै बोकेर हिँड्छन् । ७० वर्ष देवघाटमै बिताएका उनी राजा त्रिभुवन, महेन्द्र, महात्मा गान्धी, जवाहरलाल नेहरुका कुरा गर्छन् । 

१ सय ७ वर्षकै अर्की आमा छन् सरकारी वृद्धाश्रममा । मकवानपुर, ज्यामिरेकी लक्ष्मी ठकुरी । काठमाडौँ सीतापाइलाकी उमादेवी खनाल १ सय ३ वर्षकी छन् । उमादेवी गुनासो गर्दै थिइन्, “पंखा चलेको छैन । उडुस आतंक छ ।” मांस, मदिरा, धूमपान र मद्यपान निषेध छ भित्री देवघाट क्षेत्रमा । तर, विकृति न हो, रमाइरमाइ आइहाल्छ । तिनलाई रोक्न सादा पोसाकका प्रहरी परिचालित छन् । आदिवासी बोटे, मगर, गुरुङ, भुजेलहरूको बसोवास छ, बाहिरी देवघाटमा । अहिलेको देवघाटधामको सेरोफेरो जम्मै उनीहरूकै हो । 

पहिलेको निर्जन, सुनसान देवघाट क्षेत्रमा दासढुंगातर्फबाट गाडी आउन थालेको छ भने काली र त्रिशूलीबाट आउने क्रममा छ । तीन जिल्ला जोड्ने त्रिकोणात्मक पुलको सर्भे भइसकेको छ । कंक्रिटका बहुतले घर उभिन थालेका छन् यहाँ । पाखे छाना, बार्दली, ससाना झ्याल भएका ढुंगा–माटोका घर थुप्रै छन् । ३० फिटभन्दा अग्ला संरचना नबनाउने मापदण्ड तोकेको छ, देवघाट क्षेत्रविकास समितिले । 
देवघाटको भौगोलिक विशेषता के भने यहाँ पानी जम्दैन । धमिराका कारण दिसालगायत फोहोरजन्य पदार्थ भोलिपल्टै माटो हुन्छ । सर्प लाग्दैन । दशकयता जग्गाको भाउ अकासिएको छ । एउटा घडेरीकै १० देखि २५ लाख रुपियाँसम्म पर्छ । “नवनिर्माण धमाधम भइरहेकाले कसैले फाल्तु बस्नु पर्दैन,” देवघाट क्षेत्र विकास समितिका सदस्य विष्णुप्रसाद सापकोटा भन्छन्, “काम गर्छु भन्नेलाई काम, भक्तिभाव गर्छु भन्नेलाई राम ।”

समितिको कार्यक्षेत्र तनहुँ, चितवन र नवलपरासी जिल्ला (तीन अञ्चल पनि)को सीमान्त नदीतटीय क्षेत्र ९४. ३४ वर्ग किलोमिटर छ । देवघाट क्षेत्रभित्र कति ज्येष्ठ नागरिक छन् ? कति मठमन्दिर छन् ? कति विद्यालय छन् ? कति सामाजिक संघसंस्था छन् र कसले कति वार्षिक आम्दानी गर्छ भन्ने अध्ययन अझै भएको छैन । 

अनौपचारिक जानकारी अनुसार यहाँ तीन वृद्धाश्रम, चार गुरुकुल, तीन ठूला आश्रम, २० वटा मठमन्दिर र ५० वटा धार्मिक संस्था छन् । १ करोड ५० लाख वार्षिक बजेटलाई ६ करोड पुर्‍याउने अभियानमा क्षेत्र विकास समिति लागेको छ । 

पहिलो साधक गलेश्वर बाबा
हिन्दु धर्मका बराह पुराण, स्कन्द पुराण र भागवत्मा देवघाटको चर्चा छ । देवताहरूको प्रिय ठाउँ मानिएको छ यसलाई । पन्ध्रौँ शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेन वैरागी भएर देवघाटलाई १२ वर्षसम्म साधनाभूमि बनाएको इतिहास पनि छ । त्यसको साक्षीका रूपमा चक्रवर्ती मन्दिर, चक्रशिला, पाञ्चायन मन्दिरलगायत छन् । 

देवघाटका पहिलो साधक मानिएका छन्, म्याग्दी गलेश्वरमा बसेका ईश्वरानन्द ब्रह्मचारी उर्फ गलेश्वर बाबा । उनी आएपछि नै बाहिरिया भक्त र साधकको ओहोरदोहार बढ्यो । नत्र विभिन्न तिथि पर्वविशेषमा स्नान, दानादि कर्म गरी फर्कने चलन थियो, कल्पवासको चलन थिएन ।
 
सुरुमा गलेश्वर बाबा पनि त्रिशूली किनारको गुफा र कृष्णगण्डकीको भरत गुफातिरै रत्तिए । १९९० को आसपास उनी पहिलोपटक देवघाट आएर १२ वर्ष साधना गरेको जनश्रुति छ । दोस्रोपटक देवघाट आएछन् ०२२ तिर । गलेश्वर बाबालाई यहाँ भूपू सांसद एवं समाजसेवी मैयाँदेवी श्रेष्ठले निम्त्याएकी थिइन् । उनका पिता डिट्ठा वीरबहादुरका गुरु रहेछन् बाबा ।

“०१५ को आमचुनावमा उम्मेदवारी फिर्तापछि आत्मशान्तिको खोजीमा लागेकी थिएँ, ०२२ मा मुक्तिनाथबाट फर्किंदा बाबा बोलाएँ,” मैयाँदेवी भन्छिन्, “बाबाले दाता सम्मेलन गरी पाँच लाख रुपियाँ जुटाए र वेद वेदांग विद्यालय स्थापना गरे ।” त्यो नै यहाँको सबभन्दा पुरानो गुरुकुल हो । 

त्यतिबेला त्रिशूलीमा काठे डुंगा मात्र चल्थ्यो । ०२९ मा चितवनको प्रमुख जिल्ला अधिकारी रहेका आत्माराम पौडेलका शब्दमा पारि ब्रह्मचारी डिल्लीराम बाबा देवघाटको विकासका पक्षमा उभिएका थिए भने वारि अघोरी बाबा र गलेश्वर बाबा विकासले पर्यावरण बिग्रने र मौलिक संस्कृति तहसनहस हुने चिन्तामा थिए । झोलुंगे पुल बनेको पनि गलेश्वर बाबाले त्यति रुचाएनन् । 

गलेश्वर आश्रममा केही कुटी थिए तिनताका । रामनामीले मुख छोपी गायत्री मन्त्र मात्र जपेर बस्ने गलेश्वर बाबा १ सय २५ वर्ष बाँचेको जनश्रुति छ । देवघाट क्षेत्रकै अर्का सन्त परमानन्द सरस्वती भने ‘विद्यामा काशी, विकासमा हरिद्वार’ बनाउने ध्याउन्नमा थिए । अहिले त्यसकै संकेत देखिएको छ ।
मैयाँदेवीको शब्द सापटी लिने हो भने बीपी कोइरालाले पनि रुचाएको ठाउँ हो, देवघाट । ०३६ मा जनमतसंग्रहताका चितवनको आमसभापछि बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई आफ्नो कुटीमा ल्याएको मैयाँदेवीको भनाइ छ । “त्यतिबेला सान्दाजुले यहीँ बसेर जीवनको उत्तराद्र्ध अध्ययन र लेखनमा बिताउने सोच्नुभएको थियो,” उनी भन्छिन्, “गिरिजाबाबुले कोदालीले खनेको खाल्टोमा बीपीले एउटा ठूलो ढुंगा उचालेर कुटी शिलान्यास गर्नुभएको थियो ।” नेताहरू हिँडेपछि पावन तीर्थस्थलमा कांग्रेसका नेता ल्याएर बिटुल्याएको आरोप पनि खेपिन् उनले । त्यो ठाउँमा उनले वर, पीपल र समीको बिरुवा रोपेर विशाल चौतारो बनाएकी छन् ।

मेयरभन्दा महत्त्वाकांक्षी
देवघाट क्षेत्र विकास समितिमा अहिले पनि मैयाँदेवीकै प्रभाव छ । समिति अध्यक्ष टंकनाथ पौडेल उनका धर्मपुत्र हुन् भने सदस्य विष्णुप्रसाद सापकोटा ‘साइराम’ धर्मभाइ । अध्यक्ष पौडेल १ असोज ०६६ मा सरकारबाट स्वीकृत गुरुयोजनाको परिमार्जनमा लागेका छन् । “विद्युतीय शवदाहगृह, वाटर डान्स पोखरी, स्वीमिङ पुल, मौलाकालिका–देवघाट केबलकार, पर्यटकीय पदमार्ग निर्माण आदि योजना छन्,” उनी भन्छन्, “भरतपुर महानगरपालिकाको मेयरको भन्दा महत्त्वाकांक्षी योजना छन् । तर, बजेट छैन ।”

यहाँका मणिमुकुन्द धार्मिक उद्यान, मौलाकालिका मन्दिर, अघोर आश्रम, हरिहर मन्दिर, विद्येश्वर मन्दिर निकै लोभलाग्दा छन् । धार्मिक पर्यटनका साथै व्यापार, व्यवसाय र मनोरञ्जन फस्टाउन भने सकेको छैन । हिमशिखरबाट बगेका ठाडा नदीमा नौका विहार लगायतका एडभेन्चर दिलाउन सकिएको छैन । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे भन्छन्, “हामीले चाहेर पनि सौराहाबाट पर्यटन त्यता पठाउने स्थिति छैन । त्यसका लागि सुविधासम्पन्न होटल खोल्न क्षेत्र विकास समिति उदार हुनु आवश्यक छ ।” 

कल्पवासमा करुणा


काठमाडौँ, बालाजुका प्रेमप्रसाद, ८५, देवघाटमा ‘जलमन्त्री’, ‘पानी बा’, ‘जलबाबा’ आदि उपनामबाट चिनिन्छन् । उनी हरेक दिन देवघाटको झोलुंगे पुल नजिकै चौतारामा १२ वटा पानीका बोतल राख्छन् र बटुवाको सेवामा तल्लीन छन् । केही वर्षयता देवघाट–एनआरएन वृद्धाश्रममा बस्दै आएका उनी घरको नियास्रो लागे कहिलेकाहीँ काठमाडौँ पुग्छन् । उनी सुनाउँछन्, “छोराछोरी आउँदैनन्, मै जान्छु ।” घर जाँदा नातिनातिनाले ‘देवघाटका हजुरबा आउनुभयो’ भन्छन् । 

सिन्धुपाल्चोक, मेलम्चीका रामहरि सिग्देल, ६९, छटपटाउँदै थिए वृद्धाश्रममा कोठा नपाएर । “भुइँचालोले अझै पनि मुटु कामिरहेको छ, भत्किएको घर हेरेर कति बस्नु ?” उनी सुनाउँदै थिए, “भेँडा भेँडासँग, बाख्रा बाख्रासँग भन्छन्, मलाई पनि यतै बसूँ बसूँजस्तो लाग्यो ।” 

देवघाट–एनआरएन वृद्धाश्रम जहिल्यै ‘हाउसफुल’ हुन्छ । वृद्धाश्रमका व्यवस्थापक स्वामी परमेश्वरानन्द गिरी, ६७, भन्छन्, “खाली हुने भनेको बुबाआमा परमधाम भएपछि नै हो ।” आश्रममा २८ कोठा छन् भने ६३ जना बस्छन् । तीमध्ये आमाहरू २८ जना छन् । साधारण कोठामा चार जना बस्छन् भने विशेषमा दुई जना । आजीवन बस्ने सात जना छन् । अरूले वार्षिक रूपमा ३१ हजार १ सय र २६ हजार १ सय रुपियाँ तिर्छन् । आजीवन शुल्क ३ लाख ७५ हजार (विशेष) छ भने साधारणतर्फ तीन लाख छ । 

वृद्धाश्रममा ९८ वर्षका गुरुङ बा पनि छन् । नेपाल प्रहरीका बहालवाला एसपीले उनलाई यहाँ एक प्रहरीसहित राखिदिएका छन् । बा उनको घरमा घरेलु कामदार रहेछन् । घरमा तालमेल नमिलेर मात्र होइन, गंगास्नान र धर्मकर्मका लागि देवघाट रोजेका कतिपय बाबुआमा अहिले युरोप–अमेरिका–अस्ट्रेलिया यात्रामा छन् ।

०६७ देखि सञ्चालित यो वृद्धाश्रम सम्हालेको डेढ वर्ष पुग्यो परमेश्वरानन्दले । लामो समय भारतको आर्य समाजमा काम गरेर केही वर्ष मात्र भयो घरबार त्यागेको । बाबुआमा र छोराछोरीबीच विचार नमिल्नुलाई उनी ‘जेनेरेसन ग्याप’ मान्छन् । “जुग–जमाना अनुसार छोराछोरी गलत होइनन् । बूढाबूढीको चित्त बुझाउन गाह्रो छ,” उनी भन्छन्, “कोही पनि नभएको र केही पनि नभएकालाई राख्ने व्यवस्था विधानमै छैन । उनीहरूलाई सरकारी वृद्धाश्रममा पठाइदिन्छौँ ।”

सरकारी वृद्धाश्रम अर्थात् देवघाट समाजकल्याण केन्द्र (०५२) देवघाट क्षेत्रविकास समितिको छातामुनि छ । वृद्धाश्रमका ३३ जनामध्ये ६७ देखि १ सय ७ वर्षसम्मका २३ आमाहरू छन् । बसाइँसराइको कागज भए वृद्धभत्ता यतै पाउँछन् । सबेरै उठेर तीर्थस्थल जान्छन्, अरू समय भजनकीर्तनमा रमाउँछन् । गोरखा, बुंकोटका मोतीलाल जोशी गुनासो गर्दै थिए, “आफ्ना छोराछोरी भएनन्, दाजुका छोराछोरी पालेँ । आफूले जन्माएकाले त हेर्दा रहेनछन्, अरूले के हेर्थे ?”

नारायणी किनारामा रहेको रोटरी करुणालयमा समाजका उपेक्षित, अपहेलित, असमर्थ ३० जना वृद्धवृद्धाले आश्रय पाएका छन् । पुरुष र महिलाका लागि छुट्टाछुट्टै विश्रान्ति गृह छन् । व्यवस्थापक डिल्ली ढुंगानाका अनुसार यहाँ १९ जना आमा छन् भने ११ जना बुबा । 

चितवन रोटरी क्लबको अगुवाइमा खुलेको करुणालयमा थाहा–सदावर्त भोजन हुन्छ । बिहान–बेलुकी आउनेलाई भोजन खुला छ । नाम चलेका डाक्टर, इन्जिनियर, प्रशासकहरूका आमाबुबाहरू पनि वृद्धाश्रममा छन् । कतिपय खुलेर बोल्छन्, कतिपय खुल्दैनन् । वृद्धाश्रमको बसाइ घरभन्दा रमाइलो भएको वृद्धवृद्धाको अनुभव छ । “बुबाआमालाई महिनावारी पाँच सय तोकेका छौँ,” सञ्चालक रमेशकुमार पिया भन्छन्, “सक्नेले वृद्धभत्ताबाट तिर्छन्, नसक्नेसित लिएका छैनौँ ।” 

ज्येष्ठ नागरिक ग्राम भएको छ, देवघाट । गलेश्वर आश्रम अन्तर्गत ‘मिनी वृद्धाश्रम’का रूपमा २ सय ३५ कुटी छन् । कल्पवासमा तीन सयको हाराहारीमा भक्तिनी आमाहरू छन् । कुनैमा सासू–बुहारी बसेका छन्, कुनैमा आमा–छोरी, कुनैमा सौता–सौती । “जीवनको उत्तराद्र्धमा एक विषय लागेर आएका बुबाआमा थुप्रै छन्,” गलेश्वर आश्रमका कार्यालय सचिव महेन्द्रराज प्याकुरेल भन्छन्, “कतिपयलाई देवघाटमा बस्दा इज्जत जान्छ भनेर छोराछोरीले लिएर गए ।”

आश्रमको जोड पनि मेलमिलाप र पुन:स्थापनामै हुन्छ । कुटीमा बाँदर र लामखुट्टेले अचाक्ली सताउँछन् । आफू बस्ने कुटी आफैँ मर्मत गर्नुपर्छ । सुदूरपश्चिमका बाहेक हरेक जिल्लाका वृद्धवृद्धा यहाँ छन् । “यहाँ दाताहरूको चापाचापै छ,” प्याकुरेल कटाक्ष गर्छन्, “आफ्ना बाबुआमालाई बाँचुञ्जेल दु:ख दिने, वर्षदिनमा तिनका नाममा भात खुवाउने, फलफूल बाँड्ने र फेसबुकमा फोटो टाँस्ने त फेसनै भइसक्यो ।”

गुरुकुलको केन्द्र

ऋषिकुल, देवकुल, पितृकुल अनेक नाम छन् गुरुकुलका । खासमा यो आफ्ना शिष्यलाई आफ्नै निरीक्षण र अधीनमा राखी शिक्षा एवं तालिम दिने प्राचीन पद्धति हो । चौबीसै घन्टा शिष्य गुरुको सान्निध्यमा हुन्छन् । गुरुकुलको नेतृत्व सन्न्यास आश्रमका साधु–सन्तले नै गर्छन् । सन्तहरू निस्पृह हुन्छन् तर पनि अलौकिक कार्य गरिरहन्छन् । 

शिक्षाका लागि काशी धाउने चलन विस्थापित गरिदिएको छ, देवघाटले । यहाँ कक्षा ६ देखि आचार्यसम्म अध्ययन–अध्यापन भइरहेको छ । खास गरी बहुदलीय व्यवस्थाको आगमनपछि देवघाट क्षेत्रमा मात्रै चार गुरुकुल पुगेका छन् । वेद वेदांग विद्यालय (०२३), परमानन्द गुरुकुल (०४७) र महेश गुरुकुल (०५२) मा छात्र मात्र पढ्छन् भने कन्या गुरुकुल (०६८) मा छात्रा मात्र । 

यी गुरुकुल गलेश्वर बाबा, परमानन्द सरस्वती र रामानन्द गिरीका आश्रमले चलाइरहेका छन् । महेश गुरुकुलमा आचार्यसम्म दुई सय, परमामन्द गुरुकुलमा शास्त्रीसम्म १ सय ५० र वेदवेदांग विद्यालयमा कक्षा १० सम्म ७० जना वटुक ब्रह्मचारी आवासीय सुविधासहित पढिरहेका छन् । 

गुरुकुलका प्राय: शिक्षक यहीँ पढेका छन् । माथिल्ला तहका विद्यार्थीले तल्ला तहमा राजीखुसीले पढाउँछन् । विद्यार्थीले भान्सामा पनि सघाउँछन् । “हामी शिक्षकमा सेवाभाव छ । यतिका वर्षसम्म एक सुका नतिरी पढियो, बसियो, खाइयो,” परमानन्द गुरुकुलका मनोज भण्डारी भन्छन्, “अब हामीले शुल्क लिन मिल्छ ?”

गुरुकुलहरूका प्रधानाध्यापकदेखि प्राचार्यसम्म पीएचडीधारी छन् । महेशका गुरुप्रसाददेखि परमानन्दका प्रधानाध्यापक नवराज ब्रह्मचारी र प्राचार्य ब्रह्मचारी सुभाव चैतन्यसम्म । वनारस र देवघाटको शिक्षा मिल्दोजुल्दो छ ? नवराज भन्छन्, “वनारसमा संस्कृत मात्र पढाइ हुन्छ, हामी आधुनिक विषयसँग पनि जोडिएका छौँ ।”

महेश गुरुकुलका प्रधानाध्यापक र व्यवस्थापक केशवानन्द गिरी आफ्नो विद्यालयलाई औपचारिक धारको एक मात्र गुरुकुल ठोकुवा गर्छन् । छात्रा किन समावेश छैनन् गुरुकुलमा ? ०६३ मा बूढानीलकण्ठ मन्दिरका मठाधीश भइसकेका केशवानन्द भन्छन्, “छात्राको व्यवस्थापन संवेदनशील हुन्छ । महिला शिक्षक र छात्रावास चाहिन्छ ।”

केशवानन्दले व्यवस्थापन गाह्रो मानेको कन्या गुरुकुल सम्हालिरहेकी छन्, सावित्री टण्डनले । लोककल्याण सेवा प्रतिष्ठान अन्तर्गत रहेको रामजानकी बालिकाश्रममा १ देखि १४ वर्षसम्मका नितान्त अनाथ २८ जना बालिका छन् । उनीहरू स्थानीय सीताराम संस्कृत माविमा पढ्छन् । भजन, प्रवचन, देवीभागवत् वाचन गरेर भक्तजनको मन पगालिदिन्छन् ।

विभिन्न जिल्लामा महायज्ञ लगाउने क्रममा कन्या गुरुकुलको सोच आएको हो सावित्रीलाई । ललितपुरकी समाजसेवी भगवती घिमिरे उपाध्यायको घरमा चलेको यो आश्रममा अंगुरबाबा जोशीको संरक्षकत्व रहेको गार्गी कन्या गुरुकुलका १४ जना थपिएका छन् भर्खरै । “छोराका संरक्षक धेरै देखिए, छोरीको एउटै देखिएनन्,” माताजी भनिने सावित्री भन्छिन्, “सडकमा छोरा प्रकृतिको गुणले नै संरक्षित हुन्छ, बालिकाहरू सडकमा छाडिएर कोठी या मसाजकेन्द्रमा बेचिने स्थितिका कारण आश्रम खोल्नु बाध्यता भयो ।” एनजीओ, आईएनजीओ, विदेशी सहयोग नलिईकन देशभरिका यस्ता बालिकालाई विदूषी बनाएर छाड्ने उनको संकल्प छ । 

शिक्षा मन्त्रालयको गुरुकुल आश्रम व्यवस्थापन परिषद्मा दुई कार्यकाल अध्यक्ष रहिसकेका गुरुप्रसाद सुवेदीका अनुसार सयवटा गुरुकुल दर्ता छन्, दुई सयजति दर्ता हुन बाँकी छन् । “महेश गुरुकुलमा बर्सेनि सय विद्यार्थी आउँछन् नयाँ भर्नाका लागि । त्यसमा ७५ प्रतिशतलाई फर्काउनुपर्ने स्थिति छ,” सुवेदी भन्छन्, “संस्कृत मगन्ते होइन, सानसँग पढिने विद्या हो । हातोहात रोजगार छ ।”

गन्यमान्यको रोजाइमा 

‘देवघाटकी देवी’ मैयाँदेवी श्रेष्ठ बुढ्यौलीका कारण भरतपुरमै बस्छिन् । उनको ओम शान्ति मैयाँदेवी ट्रस्ट सेवा संस्था कुरिरहेका छन्, राम्रप्रसाद श्रेष्ठ, ८५ । काठमाडौँका श्रेष्ठले त्यसको रेखदेख गर्न थालेको दशकौँ भयो । आश्रम बनाएर गलेश्वर बाबासँग घनिष्ट रहेका योगी नरहरिनाथ बितिसके । नरहरिनाथले १ सय ८ भन्दा बढी कोटिहोम लगाए देवघाटलाई केन्द्र बनाएर ।

आचार्य खेमराज केशवशरणले पनि देवघाटमै रहेर शरणागति आश्रम एवं राधामाधव वैदिक गुरुकुल खोले । देवघाटमै रहेका उनी अल्जाइमरपीडित छन् । पत्रकार मणिराज उपाध्याय र पूर्वसचिव आत्माराम पौडेलले यतै जीवन बिताए । चक्रबन्धु अर्याल, भगवतीप्रसाद काफ्ले पनि यहाँ आइरहनेमा पर्छन् । 

पूर्वसचिव, न्यायाधीशहरूले बाहिरी देवघाट क्षेत्रमा घर पनि बनाएका छन् । कतिपयले अतिथि भवनमा कोठा बनाएका छन् । गलेश्वर आश्रममा न्यायाधीश योगनाथ उपाध्याय, भगवती काफ्ले, प्राध्यापक भीमनाथ वियोगी आदिले तीन लाख रुपियाँ दिएर कोठा बनाएको गलेश्वर आश्रमका कार्यालय सचिव महेन्द्रराज प्याकुरेल सुनाउँछन् । “अलिअलि हुनेले नबनाए धर्मशाला कसरी बन्छ ?” प्याकुरेल भन्छन्, “नेता, मन्त्रीहरू त भात खान आउने मात्र हो ।” 

प्याकुरेलका अनुसार नेताहरूको देवघाट आगमन नै प्रतिकूल हुने गरेको छ । पूर्वमन्त्री चिरञ्जीवी वाग्ले तीनवटै गुरुको दर्शन गरेको एक हप्तामै भ्रष्टाचार आरोपमा थुनामा परे । देवघाटमा कोटिहोम लगाएका अर्का पूर्वमन्त्री खुमबहादुर खड्का २१ दिनपछि पक्राउ परे । राजा वीरेन्द्र पुलबाट हिँडेर हरिहर आश्रम दर्शन गरेको केही महिनामै दरबार हत्याकाण्ड भयो । 

पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले पारिपट्टि श्रीअखण्डानन्द निकेतन खोलेका छन् । उनी पनि कहिलेकाहीँ मात्र झुल्किन्छन् । पूर्वसचिव रेवतीरमण पोखरेलको घर पारिपट्टि नै छ । कांग्रेसका पूर्वमन्त्री ढुण्डीराज शास्त्री पनि यतै घुमेका देखिन्छन् । उनका दुई पत्नी पनि यतै छन् । पूर्वसांसद दीनबन्धु अर्याल, पूर्वसचिव कृष्णप्रसाद अर्याल, प्रशासक राममणि रिसालले पनि देवघाटलाई नै रुचाए । एमालेका नेता मदन भण्डारीका दाजु स्वामी महिधराचार्य उपनिषद् कुटीरम् खोलेर बसेका छन् । 
“देवघाट बसाइ एउटा लहरजस्तो भयो,” देवघाट क्षेत्रविकास समितिका पूर्वअध्यक्ष गुरुप्रसाद सुवेदी भन्छन्, “द्वन्द्वकालमा भेल स्वाट्ट आयो, त्यो क्रम अहिले रोकिएको छ ।”
 

 

 

 

प्रकाशित: जेष्ठ २४, २०७४