[झटारो] नग्नश्री सुप्रबल प्रथम

  • सत्तामा रहँदा जाबो पदक बाँड्न पनि नपाउने हो भने हामीले गणतन्त्र ल्याएको के अर्थ ?

- लक्ष्मण गाम्नागे

हाम्रो सरकारले भर्खरै मुलुकका विभिन्न क्षेत्रमा अतुलनीय काम गर्ने महान् व्यक्तित्वहरूलाई पाँच–सात सय थान गौरवशाली मानपदक तथा विभूषण वितरण गर्‍यो । केही नकारात्मक पात्रहरूले सरकारको यस पुण्यकार्यको विरोध गरे पनि सरकारले एक कानले सुनेर अर्को कानले उडाउने परम्परालाई कायमै राख्यो । असल कामको आलोचना हाम्रो समाजमा भई नै रहन्छ । हातमा डाडुपन्यु हुँदा आफूलाई जन्म दिने मातापिता, आफूले जन्माएका छोराछोरी, ज्वाइँ, भान्जा, भान्जी, सम्धी, पूवप्रेमी, चम्चे, चमरे वा ढोकेका घाँटीमा दुई–चारवटा पदक झुन्ड्याइदिनुलाई अस्वाभाविक रूपमा लिनुपर्ने कुनै कारण छैन । सत्तामा रहँदा जाबो पदक बाँड्न पनि नपाउने हो भने हामीले गणतन्त्र ल्याएको के अर्थ ? 

राजालाई फालेर ल्याएको गणतन्त्रमा राष्ट्रपति, प्रधानमन्त्री, नेता वा मन्त्रीहरू राजाभन्दा अग्रगामी नहुने हो भने किन फाल्नुपथ्र्यो राजा ! तसर्थ, राजाले भन्दा जोडतोडले मान–पदक बाँड्नु गणतन्त्र कार्यान्वयनको एक सबल पक्ष हो । यसमा कसैले आपत्ति जनाउनु आवश्यक छैन । बरू सरकारले जति र ज–जसलाई बाँड्नुपर्ने हो, त्यति बाँड्न नसकेकामा आलोचनाचाहिँ गर्न सकिन्छ । 

खड्कुलोमा मान–पदक लिई बसेका सरकारी अधिकारीहरूले दिल खोलेर पदक, पुरस्कार र विभूषणहरू वितरण गर्न सकेको देखिएन । सरकारले विभिन्न दलका भूतपूर्व नेताहरूलाई मरणोपरान्त मान–पदवी दियो तर एकदमै कन्जुस्याइँपूर्वक । तर, सरकारले २०/३० वर्षअघि मरेकाहरूसम्मलाई मात्र विभूषित गर्‍यो, त्यहाँभन्दा उता गएन । आगामी सरकारहरूलाई ने मुनि, मन्जुश्री, अंशुवर्मा, अरिमल्ल, फौदसिंह, यलम्बर, भानुभक्त, भीमसेन थापा, सीता, भृकुटी तथा स्रङचङगम्पोहरूलाई मरणोपरान्त मान–पदक दिन सकिने बाटो भने खोलिदिएको छ । यो सकारात्मक पक्ष हो । 

केही केही सरकारी छोराछोरी, साथी, बा एवं काकाहरूलाई सरकारले सम्मान गर्‍यो तर अझै धेरैलाई सम्मान पुगेको छैन । गृहसचिवज्यूले आफू र आफ्ना बालाई पदक लगाइदिनुभयो, सासू बाँकी नै हुनुहुन्छ । मुख्य सचिवज्यू आफूले लगातार दुई वर्ष लिनुभो, उहाँकी जहानको गला खाली नै रह्यो । गृहमन्त्रीका बाले सम्मान पाउनुभयो तर घरका पाले रित्तै रहे । उपराष्ट्रपतिका घरको कुकुर, अर्थमन्त्रीका घरको बिरालो, कृषिमन्त्रीको स्वर्गीय भैँसी, प्रधानमन्त्रीकी प्रथम सम्धिनी, प्रतिपक्षी दलका नेताको जन्मिन बाँकी पनाति, सत्ता साझेदार दलका नेताका स्वर्गीय कुप्राबाहरू यसपालि पनि छुटे ।

पदक वितरणमा अरू पनि केही कमजोरी देखिएका छन् । सरकारले ठग, लुटेरा, हत्यारा, भ्रष्ट, समाजद्रोहीजस्ता जिउँदै मरिरहेका व्यक्तित्वहरूका घाँटीमा पदक भिराउँदै जाँदा भूलवश दुई–चार जना जिउँदा मानिसका घाँटीमा पनि झुन्ड्याइएको पाइयो । त्यस्ताहरू समाजमा यसै सम्मानित हुने हँुदा उनीहरूका लागि सरकारले मान–पदवी खेर फाल्नु हुने थिएन । बरू आगामी दिनमा मरिसकेका र जिउँदै मरिरहेकाहरूका लागि मरणोपरान्त पदक मात्र वितरण गर्दा यस्ता गल्तीहरू दोहोरिने डर हुँदैन ।   

यस्ता सामान्य कमजोरीका बाबजुद पदक पाउनयोग्य व्यक्तिहरूको छनोट गर्ने समितिका सदस्यहरूले यति मिहिनेत गर्नुभएको छ, योग्य व्यक्ति खोज्दाखोज्दा नभेट्टाएपछि आफैँलाई पदक दिनुभएको छ । यतिसम्म त्याग गर्नुभएको छ कि आफूले लगाएका लुगा पूरै खोलेर घाँटीमा पदक मात्रै झुन्ड्याएको अवस्थामा उहाँहरू सार्वजनिक हुनुभएको छ । यस्ता सबै सम्बन्धित प्रतिभाहरूलाई आगामी वर्ष लगातार तेस्रोपटक पनि नग्नश्री सुप्रबल प्रथमद्वारा सम्मानित भई थप सामाजिक प्रतिष्ठा आर्जन होओस् भनी हार्दिक शुभकामना व्यक्त गरिन्छ । 

प्रकाशित: जेष्ठ २२, २०७४